प्रशंसाले बालबालिकामा आत्मविश्वास वृद्धि गर्छ । जब बालबालिका आफ्ना कामको सकारात्मक प्रतिक्रिया पाउँछन्, तब ती आफूलाई सक्षम र मूल्यवान् महसुस गर्न थाल्छन् ।
बालबालिका हाम्रो मुस्कानका आधार हुन् । उनीहरूको हाँसोमा संसार जित्ने शक्ति हुन्छ भन्नेमा प्रायः सबै सहमत हुन्छन् । तर, सिद्धान्त र व्यवहारमा निकै फरक देखिन्छ । हाल परिवारमा मोबाइलले बिस्तारै राज गर्दै गएको छ । जति परिवार संख्या हुन्छ त्यति नै मोबाइल र ट्याब छन् । यसले परिवारमा छलफल गर्ने, कुराकानी गरी आफ्ना विचार राख्ने क्रम बिस्तारै कम हुँदै गइरहेको छ ।
देशको भविष्य बालबालिकामा निर्भर हुन्छ । बालबालिका केवल परिवारका सदस्य होइनन्, भविष्यमा देश विकास गर्ने जिम्मेवार नागरिक हुन् । त्यसैले उनीहरूको व्यक्तित्व विकास, सोच र व्यवहारलाई सही दिशामा लैजानु अभिभावक, घरपरिवार, छिमेक, शिक्षक र समाजको साझा दायित्व हो । यस सन्दर्भमा बालबालिकालाई सही समयमा गरिने प्रशंसा अत्यन्तै महत्त्वपूर्ण साधन मानिन्छ ।
प्रशंसाले बालबालिकामा आत्मविश्वास वृद्धि गर्छ । जब बालबालिका आफ्ना कामको सकारात्मक प्रतिक्रिया पाउँछन्, तब ती आफूलाई सक्षम र मूल्यवान् महसुस गर्न थाल्छन् ।बालबालिकाले गरेका राम्रा काम, प्रयास वा सकारात्मक व्यवहारलाई हामीले प्रशंसा गर्नुपर्छ । उनीहरूको मिहिनेत र प्रयासलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूले गरेका सानातिना कामको पनि हामीले ‘केयर’ गर्न थाले तिनमा ‘केही गरौं’ भन्ने भावना विकास हुन्छ । साना कुराबाटै उनीहरूले भोलिका दिनमा महत्त्वपूर्ण सिर्जनात्मक काम गर्न सक्छन् । बालबालिकालाई काँचो माटोसँग तुलना गर्न सकिन्छ । यदि त्यो माटो राम्रो कालिगडको हातमा परेमा राम्रा र आकर्षक वस्तु बन्छ भने त्यतिकै रहे त्यो सुकेर कामै नलाग्ने बन्छ । त्यसैले पनि बालबालिकालाई सानैदेखि राम्रो र असल व्यवहार सिकाउनुपर्छ ।
प्रशंसाले बालबालिकामा आत्मविश्वास बढाउँछ । जब उनीहरू आफूले गरेको कामको सकारात्मक प्रतिक्रिया पाउँछन्, आफूलाई सक्षम र मूल्यवान् महसुस गर्न थाल्छन् । उदाहरणका लागि बालबालिकाले आफ्नो गृहकार्य समयमै पूरा गरे भने अभिभावक र शिक्षक खुसी भई उनीहरूको प्रशंसा गरे त्यसबाट ती बालबालिका गृहकार्य गर्न झन् उत्साहित हुन्छन् ।
कतिपय अवस्थामा राम्रो पढ्ने बालबालिकालाई गलत किसिमले व्यवहार गर्नाले उनीहरू नपढ्ने र अटेरी बन्न पुग्छन् । यसतर्फ पनि हामी सचेत रहनुपर्छ । सकारात्मक व्यवहारले प्रशंसा पाउँदा बालबालिका ती काम निकै उत्सुकताले गर्छन् ।
जस्तो आफ्ना लागि बालबालिकाले खेलौना मिलाउँदा, कोठा सरसफाइ गर्दा, गृहकार्य गर्दा, घरको काममा सहयोग गर्दा, सानालाई माया र ठूलालाई सम्मान गर्दा त्यसको खुलेरै प्रशंसा गर्नुपर्छ । यस्ता व्यवहारले तिनलाई जिम्मेवार बन्न सिकाउँछ । यस्तो वातावरणमा हुर्केका बालबालिका अनुशासित बन्छन् ।
त्यसैगरी प्रशंसाले बालबालिकाको पढाइ र सिकाइमा रुचि बढाउँछ । प्रायः नानीहरू पढाइलाई बोझका रूपमा लिन्छन्, स्कुल जान मन नपराउने नानीहरू पनि निकै भेटिन्छन् । स्कुलको वातावरणले पनि सिकाइ प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । स्कुलमा सर–मिसले केही राम्रो भन्नु हुँदा नानीबाबु घर आउँदा उसै फुरुङ्ग भई हँसिला देखिन्छन् । प्रशंसाले बालबालिकामा निरन्तर सिक्ने बानीको विकास गर्छ । र, असफलतामा पनि सफलताको दियो बाल्न सफल हुन्छन् ।
प्रशंसाले बालबालिकालाई जीवनमा आइपर्ने असफलता पनि सामना गर्ने क्षमता प्रदान गर्छ । त्यसैले आफ्ना बालबालिकालाई उनीहरूको व्यवहार हेरी बेलाबेला प्रशंसा गर्नुपर्छ । प्रशंसाले बालबालिकालाई जीवनमा आइपर्ने असफलता पनि सामना गर्ने क्षमता प्रदान गर्छ । त्यसैले आफ्ना बालबालिकालाई उनीहरूको व्यवहार हेरी बेलाबेला प्रशंसा गर्नुपर्छ । यसले अभिभावक र बाबुनानीबीचको सम्बन्ध निकै बलियो बनाउन मद्दत गर्छ । यसको कमीकै कारण हालका बालबालिकाको साझा गुनासो सुनिन्छ– हाम्रो कुरा अभिभावकले बुझ्दै बुझ्दैनन् ।
बालबालिकालाई घरबाटै राम्रो शिक्षा दिन सके उनीहरूको जीवनमा सकारात्मकता विकास हुन्छ । त्यसैले घरपरिवार मानिसको जीवनको पहिलो स्कुल हो । उनीहरू परिवारबाट जे सिक्छन्, त्यसैलाई जीवनभर निरन्तरता दिन्छन् । परिवारबाटै बच्चाले संस्कार, व्यवहार जस्ता महत्त्वपूर्ण विषय सिक्छन् ।
कहिलेकाहीं हामीले गरेको व्यवहारकै कारण हामी नानीहरूको भविष्य बिगार्न मद्दत गरिरहेका हुन्छौं । जस्तैः बच्चाले दुःख दियो मोबाइलमा गेम खेल्न दिने, बच्चाले खाना खाएन मोबाइल देखाउँदै ख्वाउने, यसो बिदा भयो रेस्टुरेन्ट वा होटलतिर खाना खान जाने । यस्ता कार्यमार्फत हामीले बालबालिकालाई आफूबाट टाढा पुर्याइरहेका छौं ।
पहिलेझैं घरपरिवारमा सबै सदस्य भेला भएर खाना खाने, कुराकानी गर्ने, समस्याबारे छलफल गर्ने, दिनभरका अनुभव साटासाट गर्ने वातावरण निकै कम हुँदै गएको छ । यसले गर्दा बच्चाहरूले बाआमाप्रति गर्ने माया–ममतामा पनि कम हुँदै गएको छ । आपसी सम्बन्धले नै समस्या समाधान गर्न मद्दत गर्छ । यसका लागि परिवारमा बसेर कुराकानी गर्ने वातावरण बनाउनुपर्छ ।
कतिपय साथी सुनाउँछन्, ‘खाना त सबै परिवार जम्मा भएरै खाने हो, तर खान खाँदा सबैजना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, कसैलाई कसैको मतलबै हुँदैन ।’ भौतिक रूपमा सबैजना एउटै टेबलमा बसेर खाना खाइरहेका हुन्छन्, तर कुराकानी चाहिँ हुँदैन । खानाको स्वादभन्दा मोबाइलमा आएका विषयमा बच्चादेखि बूढासम्मै व्यस्त हुन्छन् ।
बालबालिकालाई सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा पनि उत्तिकै आवश्यक छ । मेलापर्वतिर पनि बालबालिकालाई लैजाने गर्नुपर्छ । हाल धेरै बालबालिका आफ्नो कोठालाई नै सिंगो दुनियाँ मानिरहेका छन् ।बालबालिकालाई सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा पनि उत्तिकै आवश्यक छ । मेलापर्वतिर पनि बालबालिकालाई लैजाने गर्नुपर्छ । हाल धेरै बालबालिका आफ्नो कोठालाई नै सिंगो दुनियाँ मानिरहेका छन् । बाहिरको संसार नियाल्न पनि हाम्रा चाडपर्वमा सामेल गराउने, सक्ने काममा जिम्मेवारी दिने गर्नाले उनीहरूले सामाजिक पक्ष सिक्ने र सम्बन्धको महत्त्व बुझ्ने मौका पाउँछन् ।
कहिलेकाहीं उनीहरूले गलत गरे पनि सकारात्मक र सिर्जनात्मक रूपमा सम्झाउँदा बालमस्तिष्क विकासमा राम्रो र सकारात्मक सहयोग पुग्छ । त्यसैले परिवारमा पनि बालबालिकाका अघि झैंझगडा गर्नु हुँदैन । बाल्यकालमा उनीहरूले जे देख्छन्, त्यही कुरा भविष्यमा पनि अपनाउँछन् ।
बालबालिकाका लागि परिवारमा पनि सकारात्मक वातावरण बनाउनुपर्छ । व्यस्त जीवनशैलीका कारण हालका आमा–बुबा बालबालिकाले भनेजति पैसा दिन सक्ने, तर समय दिन नसक्ने अवस्थामा छन् । त्यसले गर्दा हाल समाजमा विभिन्न विकृति फैलिरहेको छ । बालबालिकाको प्रशंसा किन गर्ने ? निम्न कारण छन्–
प्रशंसाले बालबालिकामा आत्मविश्वास बढाउँछ, प्रेरणा दिन्छ, सकारात्मक व्यवहारको विकास हुन्छ । बालबालिकाहरू राम्रो, असल काम गर्न निरन्तर प्रयास गर्छन् । प्रशंसाले तिनको व्यक्तित्वमा समय सुहाउँदो विकास गर्छ, तिनलाई अघि बढ्न प्रेरणा दिन्छ । तर, अत्यधिक प्रशंसा हानिकारक हुन्छ, त्यसैले अनावश्यक रूपमा प्रशंसा गर्नु हुँदैन । आफ्ना बालबालिकाको स्वभाव र आनीबानीलाई निकै विचार गर्नुपर्छ । उमेर बढ्दै जाँदा हुने शारीरिक र मानसिक परिवर्तनमाथि पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ ।
आजका बालबालिका भोलिका देश सम्हाल्ने नागरिक हुन् । त्यसैले उनीहरूलाई व्यावहारिक शिक्षा पनि उमेर अनुसार दिँदै जानुपर्छ । त्यसो भयो भने उनीहरूले समय अनुसारको ज्ञान र सीप सिक्दै जान्छन् । र, समाजका लागि आवश्यक दक्ष जनशक्ति तयार हुन्छ ।
बालबालिकालाई आफ्नो समाज, परिवेश, धर्म, संस्कृति, परम्परा, संस्कारको महत्त्वबारे बुझाउनुपर्छ । त्यसले बालबालिका अनावश्यक रूपमा बहकिन पाउँदैनन् । नानीबाबुलाई भनेर मात्रै हुँदैन, उनीहरूका अगाडि ती कार्य आफैंले गरेर देखाउनुपर्छ । त्यसका लागि बाबु–आमा पनि सचेत हुनुपर्छ । जस्तैः बालबालिकाले मोबाइल हेरे भनेर गाली गर्ने अनि आफू चाहिँ हरसमय मोबाइलमै व्यस्त हुनाले ती बालबालिका पनि अटेरी भई मोबाइल हेर्ने गर्छन् । त्यसैले बालबालिकालाई राम्रो, असल संस्कार दिन आमा–बुबाले पनि नियम र अनुशासनमा रहनुपर्छ ।
बालबालिकालाई गाली गरेर होइन, सम्झाएर उनीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । नानीबाबुको ‘रोडमोडल’ भनेकै तिनका आमा र बुबा हुन् । त्यसैले आफ्ना नानीबाबुहरूलाई सही दिशामा लैजान अभिभावकले अति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
