वामपन्थको विकल्पहीनता

नेपालमा वामपन्थको इतिहास जनआन्दोलन, माओवादी जनयुद्ध र संविधानसभाबाट गणतन्त्र स्थापनासम्म विस्तारित छ । यो यात्रामा वामपन्थले भूमिहीन किसान, दलित, जनजाति, महिला र सीमान्तकृत समुदायका आवाजलाई राजनीतिक मूल प्रवाहमा ल्याउने काम गरेको छ ।

वैशाख १५, २०८३

शुभशंकर कँडेल

The Left's Lack of Choice

What you should know

काठमाडौँ — समाजमा गरिबी, सामाजिक विभाजन र आर्थिक असमानता जति लामो समयसम्म कायम रहन्छ, त्यति लामो समयसम्म वामपन्थ नै एक मात्र जबाफी हतियार बन्ने रहेछ । यो कुनै एक विचारधारा, पार्टी वा संगठनको नारा होइन । यो दुनियाँभरका शोषित, पीडित, अपहेलनामा पारिएका र हासियामा धकेलिएका मानिसहरूको जीवित आवाज हो । फ्रान्सेली गणतन्त्रको स्थापनादेखि आजसम्म वामपन्थका बारेमा जति बहस, विवाद र आलोचना भएको अरू कुनै विषयमा सायदै भएको होला । तर इतिहासले प्रमाणित गरेको छ– वामपन्थले नै भुइँ तहका गरिखाने जनताको आवाजलाई विभिन्न रूपमा प्रस्फुटित गरेको छ ।

नेपालसहित दक्षिण एसियामा वामपन्थलाई प्रायः कम्युनिज्मको पर्याय मान्ने गलत धारणा छ । यसले केही विभ्रम पैदा गरेको छ । वामपन्थ कम्युनिज्मसँग निकट छ, तर वामपन्थ अनिवार्य रूपले कम्युनिज्म होइन । वामपन्थको अभियान, कार्यक्रम, नीति र सरकार सञ्चालनको कुनै निश्चित ‘साँचो’ छैन । यसमा विविधता छ, लचकता छ र समयअनुसार रूपान्तरणको क्षमता छ । जबकि साम्यवाद र पुँजीवादी प्रणालीका निश्चित मोडेलहरू छन् । यी दुवै प्रणालीबाट उत्पन्न अराजकता र विभ्रमले आज वैश्विक शासन प्रणालीमा गम्भीर संकट निम्त्याएको छ ।

फ्रान्सेली क्रान्तिदेखि वैश्विक वामपन्थ 

१७८९ को फ्रान्सेली क्रान्तिले संसारलाई दुई क्याम्पमा विभाजित गर्‍यो– वाम र दक्षिण । नेसनल एसेम्बलीमा क्रान्तिकारीहरू बायाँतिर बस्दा उनीहरूले सामन्तवाद, राजतन्त्र र चर्चको प्रभुत्वविरुद्ध आवाज उठाए । त्यही बायाँपट्टिको बसाइबाट ‘वामपन्थ’ (लेफ्टिज्म) को अवधारणा जन्मियो । फ्रान्सेली दार्शनिक भोल्टेयरले भनेझैं ‘सबै कुरा परिवर्तन गर्न सकिन्छ तर परिवर्तनका लागि संघर्ष आवश्यक छ ।’ वामपन्थले त्यहीखाले संघर्षको प्रतिनिधित्व गर्दै आयो ।

उन्नाइसौं शताब्दीमा औद्योगिक क्रान्तिले पुँजीवादलाई तीव्रता दिने क्रममा कारखानामा काम गर्ने मजदुरहरूको अवस्था दयनीय बन्दै गयो । त्यसकै अध्ययनको निष्कर्षका रूपमा विलक्षण र प्रतिभावान युवा कार्ल मार्क्स र फ्रेडरिक एन्गेल्सले १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरे । घोषणापत्रको सार थियो– ‘मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।’ अर्थात् मानव समाजको एउटा मूलभूत द्वन्द्व भनेको उत्पादन गर्नेहरू र उत्पादनका साधन कब्जा गर्नेहरूबीचको निरन्तर टकराव छ । यही अन्तरविरोधबाट वामपन्थी विचारधाराले आफ्नो नैतिक र बौद्धिक शक्ति ग्रहण गर्छ । 

बीसौं शताब्दीमा लेनिनले मार्क्सवादी भाष्यलाई विकसित गर्दै भने, साम्राज्यवाद पुँजीवादको उच्चतम चरण हो । अर्को शब्दमा ‘साम्राज्यवाद भनेको पुँजीवादको मृत्युशय्या हो ।’ लेनिनको नेतृत्वमा रुसी क्रान्ति (१९१७) ले पहिलो पटक समाजवादी राज्य स्थापना गर्नुका साथै विश्वभरका औपनिवेशिक राष्ट्रहरूलाई प्रेरणा दियो । बोल्सेभिक क्रान्तिका गम्भीर अनुयायी गैरकम्युनिस्ट व्यक्तित्वमा जवाहरलाल नेहरू खडा भएको समय र सन्दर्भ आजको दक्षिण एसियाली समाजका लागि शिक्षाप्रद मान्न सकिन्छ ।  

वामपन्थको विकास क्रममा इटालीका दार्शनिक एन्टोनियो ग्राम्सीले ‘सांस्कृतिक हेजेमोनी’ को अवधारणा अघि सारेका थिए । ‘शासक वर्गले आफ्नो विचारधारा संस्कृति, शिक्षा र मिडियामार्फत जनमानसमा घालमेल पारेर लठ्याउने हुनाले वामपन्थले त्यही हेजेमोनी तोड्नुपर्छ (ग्राम्सीः १९७१) ।’ शोषण केवल आर्थिक क्षेत्रमा मात्र नभएर वैचारिक र सांस्कृतिक पनि हुन्छ । यसको अर्थ वामपन्थले केवल आर्थिक क्रान्ति मात्र नभई सांस्कृतिक चेतनाको रूपान्तरण पनि खोज्छ । फ्रान्सेली अस्तित्ववादी दार्शनिक ज्याँ–पल सार्त्र भन्छन्– ‘मार्क्सवाद हाम्रो युगको अतिक्रम्य दर्शन हो’ अर्थात् यो विचारधारा समकालीन यथार्थको सबैभन्दा सान्दर्भिक व्याख्या हो, जसलाई सजिलै नाघ्न सकिँदैन । सार्त्र र ग्राम्सीको अवधारणाले समकालीन वैश्विक सांस्कृतिक संघर्षलाई बुझ्न मद्दत गरिरहेको छ । 

वामपन्थी विचारधाराको विशाल छाताभित्र सामाजिक–लोकतन्त्र, लोकतान्त्रिक समाजवाद, अराजकतावाद, हरित वामपन्थ, नारीवादी वामपन्थ, मुक्ति धर्मशास्त्र (लिब्रेसन थियोलोजी) देखि नेपालको मौलिकतामा संघीयता र पहिचानको नारालगायत अनेक धाराहरू समेटिएका छन् । नर्वे, स्वीडेन, डेनमार्कको सामाजिक–लोकतान्त्रिक मोडेल वामपन्थको नै उपज हो– जहाँ न त पूर्ण राज्य–स्वामित्व छ, न त नियन्त्रणमुक्त पुँजीवाद तर जनताले सार्वभौमिक स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा पाइरहेका छन् । हामीलाई नेपालमा चाहिएको पनि यही त हो । 

ब्रिटिस राजनीतिक दार्शनिक राल्फ मिलिबान्डले आफ्नो प्रसिद्ध कृति ‘द स्टेट इन क्यापिटलिस्ट सोसाइटी’ मा तर्क गरेका छन्– पुँजीवादी लोकतन्त्रमा राज्य तटस्थ हुँदैन, यसले पुँजीपति वर्गको हितमा काम गर्छ । यस दृष्टिकोणले वामपन्थले विविधतालाई एक साझा सूत्रमा बाँध्नुका साथै शासन–सत्तामा जनसाधारणको वास्तविक प्रतिनिधित्व र आर्थिक न्यायको ग्यारेन्टीलाई निर्देशित गर्छ भन्ने हो ।

दक्षिण एसियामा वामपन्थ 

दक्षिण एसियामा वामपन्थलाई प्रायः ‘कम्युनिज्म’ को पर्याय ठानिन्छ । तर यो धारणा आंशिक सत्य मात्र हो । नेपालमा वामपन्थको अर्थ राज्यको धर्मनिरपेक्षता, हासियामा पारिएकाहरूको सम्मानपूर्ण जीवन र सामाजिक न्यायदेखि पहिचानको राजनीतिसम्म हो । १९५० को दशकदेखि नै नेपालमा वाम आन्दोलन सुरु गर्दैगर्दा पुष्पलाल श्रेष्ठले भनेका थिए– ‘जनताको सेवा नै हाम्रो धर्म हो ।’ विडम्बना, नेपालको कम्युनिस्ट आन्दोलन सेवाबाट शासकीय उन्मादतर्फको अतिमा पुगेर बदनामीको दलदलमा फस्न पुग्यो ।

१९९० को जनआन्दोलन र २००६ को दोस्रो जनआन्दोलनमा वामपन्थी दलहरूको भूमिका निर्णायक थियो । १० वर्षे जनयुद्धले ग्रामीण नेपालमा सामन्ती शोषणविरुद्ध आवाज उठाएकै कारण नेपाल आजको सचेतन समाज बनेको मान्नु अन्यथा हुनेछैन । माओवादी नेतृत्वले माओ त्से–तुङको सिद्धान्तलाई नेपाली सन्दर्भमा रूपान्तरण गरेको दाबी गर्दै ‘राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने सूत्र वाक्यलाई अन्धानुकरण गर्ने उपक्रमका बाबजुद नेपालमा यो सिद्धान्तलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेर प्रचण्डले ऐतिहासिक योगदान गरेका छन् । त्यसो त पहिले नै मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ मार्फत कम्युनिस्ट पार्टीको सान्दर्भिकता र वामपन्थको नयाँ भाष्य अघि सारेका थिए । आजको एमाले त्यही भाष्यमा झुत्ती खेलिरहेको त छ तर उसको ओलीकृत व्यवहार दक्षिणपन्थी लोकरञ्जनावादको दलदलमा लड्खडाउँदै छ । तथापि नेपालमा वामपन्थको इतिहास जनआन्दोलन, माओवादी जनयुद्ध र संविधानसभाबाट गणतन्त्र स्थापनासम्म विस्तारित छ । यो यात्रामा वामपन्थले भूमिहीन किसान, दलित, जनजाति, महिला र सीमान्तकृत समुदायका आवाजलाई राजनीतिक मूल प्रवाहमा ल्याउने काम गरेको छ । नेपालको संविधान (२०७२) मा समाविष्ट समानुपातिक समावेशिता, संघीयता र धर्मनिरपेक्षतादेखि समाजवादउन्मुख राज्यको किटानी परिकल्पना जस्ता तत्त्वहरू वामपन्थी संघर्षको उपलब्धि हुन् भन्नेमा आम सहमति नै छ । 

भारतीय स्वतन्त्रता आन्दोलनमा वामपन्थको भूमिका अतुलनीय थियो । बीआर अम्बेडकरको दलित मुक्ति अभियान, भगत सिंहको क्रान्तिकारी राष्ट्रवाद र ईएमएस नम्बुदिरिपादको केरला प्रयोग– यी सबैले दक्षिण एसियाली वामपन्थको विशिष्ट चरित्र निर्माण गरेको मानिन्छ । त्यसमाथि भारतमा वामपन्थ र कम्युनिस्ट पार्टीबीचको उहापोह थप रोचक देखिन्छ । केरलामा १९५७ मा कम्युनिस्ट सरकारले भूमिसुधार र शिक्षा क्रान्ति गर्‍यो । पश्चिम बंगालमा ३४ वर्षसम्म वाम सरकारले किसान र मजदुरको हित संरक्षण गर्नमा ऐतिहासिक योगदान दिएको मानिन्छ । गैरकम्युनिस्ट वामपन्थले दक्षिण एसियामा जातीय, लैंगिक र क्षेत्रीय विभेदविरुद्ध पनि संघर्ष गरेको छ । भारतीय संविधानका निर्माता अम्बेडकरको दलित मुक्ति आन्दोलन र वामपन्थबीचको समानताको सार खिच्ने अब्बल भाष्यकारको हैसियत स्थापित गरेका छन् । अम्बेडकरले नै भनेका थिए, ‘राजनीतिक स्वतन्त्रताबिना आर्थिक समानता सम्भव छैन ।’ यसको समकालीन सान्दर्भिकता झन् बढी टड्कारो बनिरहेको छ ।

पुँजीवादी संकट र वामपन्थको पुनर्जागरण

२००८ को विश्वव्यापी आर्थिक संकटपछि एउटा रोचक परिघटना घटेको छ– कार्ल मार्क्सको ‘दास क्यापिटल’ को बिक्री अचानक बढ्यो । यो केवल संयोग मात्र होइन । जब पुँजीवादी व्यवस्था आफ्नै अन्तरविरोधमा डुब्छ, मानिसहरू विकल्पको खोजीमा वामपन्थतिर फर्किन्छन् । फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले आफ्नो चर्चित कृति ‘क्यापिटल इन द ट्वान्टी फर्स्ट सेन्चुरी’ (२०१३) मा ठोस तथ्यांकका आधारमा प्रमाणित गरेअनुसार पुँजीवादी अर्थव्यवस्थामा असमानता बढ्ने प्रवृत्ति अन्तर्निहित छ । पिकेटी थेसिसको सार नै सम्पत्तिमा प्रतिफलको दर, आर्थिक वृद्धिदरभन्दा सधैं बढी हुन्छ, जसले धनीलाई थप धनी र गरिबलाई थप गरिब बनाउँछ । यो सूत्रीय ढाँचा आधुनिक असमानताको गणितीय व्याख्या बनिरहेको छ ।

अमेरिकी भाषाविद् तथा वामपन्थी विचारक नोम चोम्स्कीले भनेका छन्– ‘पुँजीवाद मूलतः एउटा त्रुटिपूर्ण प्रणाली हो, जसले अल्पसंख्यक धनाढ्यहरूको सेवा गर्छ ।’ उनका अनुसार लोकतन्त्र र पुँजीवाद एकसाथ पूर्ण रूपमा फस्टाउन सक्दैनन् किनकि आर्थिक शक्तिको केन्द्रीकरणले राजनीतिक शक्तिलाई पनि कब्जा गर्छ ।

यी र यस्तै कारण र कारकले विश्वभर नयाँ वामपन्थी लहरहरू उठिरहेका छन्– ग्रीसमा ‘सिरिजा’, स्पेनमा ‘पोडेमोस’, ल्याटिन अमेरिकामा ‘पिंक टाइड’, बेलायतमा जेरेमी कोर्बिन र स्टारमरको मिश्रण र द्वन्द्व तथा अमेरिकामा बर्नी स्यान्डर्सले पैरवी गरेको आन्दोलनको सान्दर्भिकताको परिणाम वैश्विक पुँजीवादको राजधानीमा जोहरान ममदानीको विजय ।  यी सबै घटनाक्रम र विकासको साझा संकेत नै वामपन्थ ‘असफल विचारधारा’ नभएर यो नयाँ परिस्थितिमा पुनर्ताजगी रूप लिँदै पुनर्जीवित भइरहेको शक्तिशाली विकल्प हो ।

वामपन्थको सबैभन्दा ठूलो शक्ति यसको विविधतामा नै निहित छ । यसमा सोभियत मोडेल, चिनियाँ मोडेल, युरोपेली सोसल डेमोक्रेटिक मोडेल, ल्याटिन अमेरिकाको बोलिभारियन सोसलिजमसम्मका सबै रूप देख्न सकिन्छ । तर यसको बनिबनाउ कुनै निश्चित ‘साँचो’ छैन । वामपन्थले समय, स्थान र जनताको आवश्यकताअनुसार रूप बदल्छ । तर जनताको सेवा र सामाजिक न्यायमा सम्झौता गर्दैन । 

जबकि पुँजीवादको नियो–लिबरल मोडेलले १९८० को दशकदेखि विश्वलाई ‘ट्रिकल डाउन’ अर्थतन्त्रको सपना देखायो । तर जोसेफ स्टिग्लिट्ज जस्ता नोबेल पुरस्कार विजेता विद्वान्ले ‘ग्लोबलाइजेसन एन्ड इट्स डिस्कन्टेन्ट्स’ (२००२) थेसिसद्वारा प्रमाणित गरेका छन्– नवउदारवादी मोडेलले धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनायो । आज विश्वका १० प्रतिशत धनीले ७६ प्रतिशत सम्पत्ति ओगटेका छन् (अक्सफामः २०२४) । इतिहासका पानाहरू पल्टाउँदा एउटा सत्य बारम्बार दोहोरिन्छ– जहाँ भोक छ, त्यहाँ विद्रोह छ । जहाँ असमानता छ, त्यहाँ प्रश्न छ । र, जहाँ प्रश्न छ, त्यहाँ वामपन्थ छ । वामपन्थ कुनै दलको घोषणापत्र मात्र होइन, न त यो कुनै एक विचारकको दिमागबाट निस्किएको सिद्धान्त मात्र हो । यो त युगौंदेखि शोषित, पीडित र अपहेलनामा पारिएकाहरूको जिजीविषाको सामूहिक उद्घोष हो– एउटा यस्तो आवाज, जसलाई इतिहासका कुनै पनि कालखण्डमा पूर्णतः दबाउन सकिएको छैन । यद्यपि कुनै पनि प्रणाली जनताबाट टाढिएपछि ढल्छ । वामपन्थले त्यही गल्तीबाट सिकेर अगाडि बढ्दै जानुको विकल्प छैन । अब पालो नेपालको वामपन्थको नवीकृत हुनु हो ।

वामपन्थको प्रासंगिकता

कोभिड–१९ महामारी, जलवायु परिवर्तन, युक्रेन युद्ध र गाजा संकट तथा तेस्रो विश्वयुद्धको झल्को दिने इरानमाथिको युद्धले पुँजीवादी प्रणालीको संरचनात्मक कमजोरी मात्र उजागर गरेको छैन, नवउदारवादी तथा साम्राज्यवादी पुँजीवादको समय सकिएको प्रस्टै बुझिने गरी संकेत गरेको छ । धनी राष्ट्रहरूले खोप र सहायता आफ्नै लागि केन्द्रित गर्नेदेखि जलवायु संकटमा पनि विकसित देशहरूले उत्सर्जन बढाइरहेबाट प्रभावित गरिब देशहरूले मूल्य चुकाइरहनुपरेको छ । अब यो एजेन्डा नेपाली वामपन्थले मुखरित गर्न सक्नुपर्छ । 

नेपालमा असमानता बढ्दो छ । गाउँबाट सहर बसाइँ सर्ने युवाहरूको संख्या बढ्दो छ । बेरोजगारी, महँगी र भ्रष्टाचारले जनताको असन्तोष आक्रोशमा बदलिएकै कारण भदौरे विद्रोहका अनेकन परिणाम प्रकट भइरहेका छन् । यही बेला वामपन्थले नै वैकल्पिक आर्थिक मोडेल प्रस्तुत गरेर सहकारी, सामुदायिक उत्पादन र सामाजिक सुरक्षाको पैरवी गर्दै इमान्दारीपूर्वक वामपन्थी शक्ति संरचनाको पुनर्गठन गर्नु अपरिहार्य बनेको छ । नोम चोम्स्कीले ‘रिक्युम अफ दि अमेरिकन ड्रिम (२०१७)’ मा भने जस्तै ‘पुँजीवादले लोकतन्त्रलाई बन्धक बनाएको छ । वामपन्थले मात्र यसलाई मुक्त गर्न सक्छ ।’ चोम्स्कीको यो भनाइ आज नेपालका लागि समेत टड्कारो रूपले सान्दर्भिक बनेको छ ।

वामपन्थको भविष्य 

वामपन्थको विकल्पहीनता भनेको यसको अमरत्व होइन । यसको निरन्तर रूपान्तरणको प्रक्रिया हो । आजको डिजिटल युगमा वामपन्थले सामाजिक सञ्जाल, जलवायु न्याय र लैंगिक समानतालाई समेट्नुका साथै भुइँ तहका जनताको आर्थिक परिस्थितिका बारेमा मुखर हुनुपर्छ । नेपालमा वाम गठबन्धनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिए पनि ओली–प्रचण्डको तनावका कारण अलपत्र पर्न गयो । कथित वाम बेइमानीकै कारण समय क्रममा देश नै दुर्घटनामा परेको वास्तविकतालाई आत्मसात् गरेर वामपन्थले भ्रष्टाचार, नातावाद र सत्तालिप्साबाट मुक्त हुने संकल्पका साथ ‘जेनेरेसनल सिफ्ट’ लाई समेत स्विकार्न तयार हुनुपर्छ । सोहीअनुसार रूपान्तरण र पुस्तान्तरण गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन । अब नेपालमा वामपन्थ तथा कम्युनिस्ट पहिलो पुस्ताले खुसीसाथ अवकाश लिनु अनिवार्य छ । तथापि एक्काइसौं शताब्दीको वामपन्थले नयाँ चुनौतीहरूसँग जुध्नु त छँदै छ । जलवायु परिवर्तनदेखि कृत्रिम बुद्धिमत्ताले सिर्जना गर्ने रोजगार–संकट, डिजिटल एकाधिकार र वैश्वीकृत वित्तीय पुँजीको शक्ति संकेन्द्रणका विरुद्ध समेत योजनाबद्ध संघर्ष गर्नुपर्छ । 

जलवायु न्यायको आन्दोलन अनिवार्यतः वामपन्थी चरित्रको रहँदै आएको छ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार गरिब, अल्पविकसित देश र सीमान्तकृत समुदायले खेप्छन् नै, त्यसको पहिलो लहरमा नेपाल रहेको तथ्य आमरूपले महसुस हुँदै छ । पुँजीवादी उत्पादन प्रणाली र असीमित वृद्धिको दौडले पारिस्थितिक संकट सिर्जना गरेको छ । दक्षिण कोरियाली–अमेरिकी विचारक सुही–याङ पाईले ‘हाइपरट्रान्सपरेन्सी’ को अवधारणामा भनेका छन्– ‘डिजिटल पुँजीवादले मानवीय स्वतन्त्रता र गोपनीयतामाथि नयाँ प्रकारको वर्चस्व स्थापित गरिरहेको छ ।’ यस सन्दर्भमा वामपन्थले डिजिटल अधिकार, एल्गोरिदमिक न्याय र प्रविधिको लोकतान्त्रिक स्वामित्वको नयाँ एजेन्डा तय गर्नुपर्ने वैश्विक अवस्थाका लागि सञ्जाल निर्माण र सहभागिताको चरण ढिलो भइसकेको छ । 

वामपन्थ विकल्पहीनताको उपज मात्र होइन– यो मानव सभ्यताको अग्रगामी चेतनाको अभिव्यक्ति हो । जबसम्म एउटा बच्चाले भोकले रुनुपर्छ, एउटा किसानले ऋणको भारीमा थिचिनुपर्छ, एउटी महिला आफ्नै घरमा असुरक्षित हुनुपर्छ, दलितले मानवीय मर्यादाका लागि संघर्ष गर्नुपर्छ तबसम्म वामपन्थको प्रासंगिकता अरू बढी मुखरित भइरहन्छ । के नेपाल यिनै समस्याबाट प्रताडित छैन र ? 

अर्जेन्टिनाली क्रान्तिकारी चे ग्वेभाराले भनेका थिए– ‘यदि तपाईं अन्यायका सामु क्रोधित हुनुहुन्न भने तपाईंका संवेदनाहरू मरिसकेका छन् ।’ यसखाले क्रोध, यही संवेदना र यही न्यायको आकांक्षा नै वामपन्थको मूल ऊर्जा–स्रोत हो । तर भावनाले मात्र त परिवर्तन हुँदैन । वामपन्थले आफ्ना गल्ती र बेइमानीप्रति आत्मालोचना गर्न सक्नुपर्छ, लोकतान्त्रिक मूल्यहरूप्रतिको प्रतिबद्धताप्रति व्यावहारिक रूपमा खरो उत्रन सक्नुपर्छ, नागरिक स्वतन्त्रतालाई कहिल्यै बलिदान दिनु हुँदैन र जनताप्रतिको जवाफदेहितालाई सर्वोपरि राख्नुपर्छ । यिनै अर्थराजनीतिक कारण वामपन्थ विकल्पहीन मात्र नभएर अपरिहार्य बन्छ भनिएको हो । मानव जातिको इतिहासको शिक्षा भनेकै न्याय सधैं तिनीहरूकै पक्षमा रहेको छ, जो शोषितका पक्षमा उभिन तयार भए । तसर्थ नेपालको वामपन्थले आजको मौलिकता, पुस्तान्तरणको जायज माग र डिजिटल लोकतन्त्रले उपलब्ध गराएको अवसरलाई कुशलतापूर्वक सही सदुपयोग गर्ने नयाँ चरणका लागि ढिलाइ गर्नु आत्मघाती र इतिहासप्रतिको बेइमानी हुनेछ । 

(कँडेल राजनीति, कूटनीति र मिडियाको अध्ययन, अध्यापन र लेखनमा संलग्न छन्)

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully