उच्च शिक्षामा किन पढ्नुपर्छ मानविकी र समाज विज्ञान ? 

अहिले बहुसंख्यक युवामा समाज विज्ञान–चेतनाको अभाव छ । उच्च शिक्षामा मानविकी तथा समाज विज्ञान शिक्षाको महत्त्व अत्यन्तै गहिरो र बहुआयामिक हुन्छ ।

वैशाख १४, २०८३

सम्झना वाग्ले भट्टराई

Why should you study humanities and social sciences in higher education?

What you should know

विसं २०५४/५५ तिर अमृत साइन्स क्याम्पसमा विज्ञान विषयमा स्नातक अध्ययनरत एक युवा तत्कालीन नेकपा (माले) ले कालापानीको विषयलाई लिएर गरेको सडक आन्दोलनमा सक्रिय सहभागी थिए । ढुंगामुढा र प्रहरीसँग धक्कामुक्कीसहितको उक्त आन्दोलनमा सहभागी उनी विज्ञान विषयको प्रवीणता प्रमाणपत्र तहका ‘टपर’ थिए । उक्त क्याम्पसमा ग्रामीण क्षेत्रबाट विज्ञान पढ्न आएका अर्का युवालाई आफूभन्दा सिनियर ‘टपर’ राजनीतिक आन्दोलनमा लागेको चित्त बुझेनछ र मौका मिलाएर उनलाई सोधेछन्, ‘तपाईं जस्तो टपर मान्छे यसरी आन्दोलनमा लाग्दा पढाइ बिग्रँदैन ?’ ती दाइले उत्तर दिएछन्, ‘तिमी हामीले कक्षामा जे पढेका छौं, त्यो प्योर साइन्स हो, आन्दोलनमा लागेर जे सिकेका छौं त्यो सोसल साइन्सको एक हिस्सा हो, प्योर साइन्स र सोसल साइन्सको फ्युजनले हाम्रो ज्ञान पूर्ण बनाउँछ । एकअर्काबिना यी अधुरा हुन्छन् ।’ 

यसरी उत्तर दिने उनी अहिले नेपालका सुपरिचित प्राज्ञका रूपमा स्थापित छन् भने उनीसँग प्रश्न गर्ने व्यक्तिले केही वर्षअघि त्यतिबेलाको प्रसंग मलाई सुनाएका थिए । 

म सामुदायिक विकास विभागमा पढाउँछु । पठन सामग्रीभित्र समाजका विभिन्न पक्षहरू, राजनीतिक तथा सामाजिक आन्दोलनहरू, तिनले ल्याएका परिवर्तनजस्ता विषय छन् । तर, पढ्ने विद्यार्थीहरू ‘वी हेट पलिटिक्स’ भन्ने पुस्ताका छन् । अध्ययनको सिलसिलामा जब नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहास, त्यसले समाजमा पारेको प्रभाव र परिवर्तनबारे छलफल हुन्छ– उनीहरू बीपी कोइराला, पुष्पलाल जस्ता नेताहरू र ती आबद्ध राजनीतिक दलहरूप्रति अनुगृहीत देखिन्छन् । त्यस्तै, जब समावेशी हुँदै गएको राज्य संयन्त्र अनि त्यसको पृष्ठभूमिमा बलियोसँग रहेको माओवादी सशस्त्र संघर्ष र मधेश आन्दोलनको प्रसंग आउँछ तब उनीहरू राजनीतिक आन्दोलनलाई निरपेक्ष सत्तोसरापको पूर्वाग्रहबाट बाहिर निस्कन्छन् । 

त्यति मात्रै होइन, पृथ्वीनारायण शाहले सुरु गरेका गोरखा राज्य विस्तार अभियान र त्यसपछिको आधुनिक नेपालबारे पढ्दै गर्दा कतिपय विद्यार्थी तत्कालीन समयमा युद्धको त्रासले आफ्नो थातथलो छाड्न अभिशप्त उपत्यकाका मूलवासीप्रति भावुक हुन्छन् । कति तत्कालीन समयको भूराजनीतिमा पृथ्वीनारायण शाहको रणनीतिक अभियानमा गर्व गर्छन् । त्यस्तै, राणा शासनको कालखण्डमा त्रिचन्द्र कलेज तथा वीर अस्पतालहरू खुलेका प्रसंग हुन् वा सती प्रथाको अन्त्य जस्ता विषयले विद्यार्थीहरू ती कालखण्डमा भएका विविध घटनाले  समाज परिवर्तनमा पुर्‍याएका योगदानका तथ्यहरूसँग साक्षात्कार हुन्छन् । र त उनीहरू ढुक्कसँग भन्छन्– कुनै पनि व्यक्ति वा प्रणाली पूर्णतः कालो वा सेतो छैन, यो त बरु विविध रङ मिसिएर बनेको अनौठो कोलाजजस्तो छ– कहिले केही उज्यालो र कहिले केही छाया परेको जस्तो भइरहन्छ । 

हरेक आन्दोलन अँध्यारोबाट उज्यालोतर्फको यात्राका लागि सचेत मान्छेले गरेका पवित्र प्रयासहरू मान्छन् विद्यार्थीहरू । कक्षाकोठा एउटा जीवन्त बहसको थलो बनेको हुन्छ । र, कक्षाकोठामा हुने पक्ष–विपक्षका बहसहरू ध्वंसात्मक होइन, रचनात्मक लाग्छन् । 

तर, अहिलेको समयमा निर्णायक भूमिका खेल्ने सामाजिक सञ्जाल त्यस्तो छैन । के तपाईंले आजभोलि सामाजिक सञ्जालहरूमा राजनीतिसँग सम्बन्धित कन्टेन्टहरू र तिनमा आएका कमेन्टहरू हेर्नुभएको छ ? यदि छ भने तपाईं असहिष्णु र उग्र समाजको छाया स्पष्ट देख्नुहुन्छ । यहाँ गुण र दोषका आधारमा प्रतिक्रिया हुँदैन, बरु पक्षको देवत्वकरण र विपक्षको विद्रूपीकरण मात्रै भेट्नुहुन्छ । यसरी समाजमा हुर्कंदै गएको निरपेक्ष पक्षधरता र विभाजनले हरेक सचेत मान्छेको मनोबल भित्रैबाट कायल हुन्छ ।  

दैनिक युवा पुस्तासँग अन्तरक्रिया गरिरहने शिक्षकको आँखाबाट हेर्दा अहिले बहुसंख्यक युवाहरूमा समाज विज्ञानको चेतनाको अभाव देख्छु म । हुन पनि उच्च शिक्षामा मानविकी तथा समाज विज्ञान शिक्षाको महत्त्व अत्यन्त गहिरो र बहुआयामिक छ । मानविकीले भाषा, इतिहास, राजनीतिशास्त्र, दर्शन, साहित्य र संस्कृतिजस्ता विषयमार्फत मानिसलाई समाज र सभ्यताको विकासबारे गहिरो ज्ञान दिन्छ । यसले विद्यार्थीमा आलोचनात्मक सोच, नैतिक चेतना र सिर्जनशीलता विकास गराउँछ, जसले उनीहरूलाई जटिल सामाजिक, सांस्कृतिक र नैतिक समस्याहरू समाधान गर्न सक्षम बनाउँछ । विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानविकी शिक्षाले मानवीय मूल्य, सहानुभूति र जिम्मेवारीको भावना जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ । आजको जटिल र द्रुत रूपमा परिवर्तनशील समाजमा मानिसलाई प्राविधिक ज्ञान मात्रै होइन– मानवीय मूल्य, नैतिकता र सामाजिक उत्तरदायित्वबारे पनि सचेत बनाउनु अत्यन्तै आवश्यक छ । मानविकीले विज्ञान र प्रविधिको प्रयोगलाई मानवीय दृष्टिकोणबाट सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले, सन्तुलित र समावेशी समाज निर्माणका लागि उच्च शिक्षामा मानविकी शिक्षाको योगदान अपरिहार्य देखिन्छ ।

तर विद्यार्थी, अभिभावक तथा नीति–निर्माताहरूले भने मानविकी शिक्षालाई प्राथमिकतामा राखेको देखिँदैन । यस्तो जीवन्त विषय पढ्ने विद्यार्थीको संख्या बर्सेनि घट्दो छ । युवाहरू बिस्तारै यी विषयबाट विमुख हुँदै गएका छन् । अभिभावकहरूको लगाव पनि श्रम बजारमा उच्च माग भएका प्राविधिक विषयहरूसँग मात्रै भएको देखिन्छ । पछिल्ला पाँच वर्षमा उच्च शिक्षामा मानविकी तथा समाजशास्त्र संकायमा भर्ना भएका विद्यार्थी संख्याले पनि यो तथ्य उजागर गर्छ ।

Why should you study humanities and social sciences in higher education?विगत केही महिना म काठमाडौंका झन्डै एक दर्जन स्कुलमा १२ कक्षा अध्ययनरत विद्यार्थीहसँग उच्च शिक्षामा उनीहरूको रोजाइमा पर्ने विषयबारे अन्तरक्रियामा संलग्न रहें । अन्तरक्रियाको मुख्य उद्देश्य विद्यार्थीलाई मानविकी शिक्षा अध्ययनमा प्रेरित गर्नु पनि थियो । कक्षा १२ पछि अध्ययनलाई निरन्तरता दिन चाहने अधिकांश विद्यार्थीका प्राथमिकतामा सूचना–प्रविधि, चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन जस्ता विषय थिए र अधिकांश उनीहरूको उच्च शिक्षाको गन्तव्य भने विदेश नै थियो । 

यस्तो पृष्ठभूमिमा युवा विद्यार्थीलाई मानविकीका विषयतर्फ आकर्षित बनाउनु चुनौतीपूर्ण देखिन्छ । कतिपय अभिभावक तथा नीति–निर्माताहरू मानविकीअन्तर्गतका विषयलाई अनुत्पादक मान्ने रहेछन् । आलोचनात्मक चेतसहितका जनशक्ति उत्पादन गर्ने हुनाले सायद सरकारको प्राथमिकतामा पनि यी विषय परेनन् कि ? 

प्राज्ञहरू मानविकी विषयको महत्त्व उच्च रहेको निष्कर्षमा पुगेका छन् । नुस्वम 

(सन् २०१७) तथा पल इल्डर (सन् २००८) का अनुसार, मानविकी शिक्षाले रोजगार बजारमा अत्यन्तै आवश्यक मानिने सीपहरू (जस्तै– लेखन, मौखिक अभिव्यक्ति, सहकार्य र समस्या समाधान जस्ता क्षमता) को विकास गर्छ । आधुनिक श्रम बजारमा मात्रै होइन, समाजमा पनि यी सीपको अभाव देखिएको छ, जसलाई मानविकी शिक्षाले पूर्ति गर्न सक्छ । 

त्यस्तै मानविकी र समाज विज्ञानको अध्ययनले विभिन्न संस्कृति, इतिहास र सामाजिक संरचनाहरूको गहिरो बुझाइ प्रदान गर्छ, जसले सहिष्णुता र विश्व दृष्टिकोण विस्तार गर्छ । ब्रुनर (१९९०) का अनुसार, मानविकीको अध्ययनले विद्यार्थीलाई केवल तथ्य सिकाउने होइन, जीवन र समाजको अर्थ बुझ्न सहयोग गर्छ । यसले नागरिकको सिर्जनात्मक र आलोचनात्मक सोचलाई जोड्दै ‘मिनिङ मेकिङ’ प्रक्रिया विकास गर्छ, जुन ज्ञानको गहिरो प्रयोगसँग सम्बन्धित छ । अहिलेको नेपाली समाज हेर्दा युवाहरूमा मानविकी शिक्षाको अभाव खट्किएको भान हुन्छ । 

युवाहरू बढी नै संवेदनशील हुन्छन् । उनीहरूमा परिवार तथा समाजको मात्रै होइन, सामाजिक सञ्जालको प्रभाव झन् बढी देखिन्छ । पछिल्ला दिनमा उनीहरू सञ्जालमा आएका अल्गोरिदम निर्देशित कन्टेन्टहरूले झन् दिग्भ्रमित बनेका छन् । आजभोलि सामाजिक सञ्जालहरूमा अभिव्यक्त धारणाहरू हेर्ने हो भने तथ्यपरक आलोचना वा समर्थनको पक्ष कमजोर हुँदै गएको देखिन्छ । त्यसैले अब उच्च शिक्षामा मानविकी अध्ययनलाई जोड दिनु आवश्यक छ, जसले युवाहरूमा तथ्यपरक आलोचना र समर्थन संस्कारको विकास गरोस् । 

अहिले त ‘आई हेट पलिटिक्स’ भन्ने पुस्ताका प्रतिनिधि जबर्जस्त राजनीतिमा स्थापित भएका छन् । युवाहरूको यो हस्तक्षेप एकातर्फ ज्यादै सकारात्मक संकेत जस्तो देखिन्छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा पोखिने अन्ध पक्षधरता र उग्रताले समाजलाई नै विचलित बनाउने त्रास पनि देखिन्छ । गुण र दोषका आधारमा प्रतिक्रिया दिन चाहने मान्छे सामाजिक प्लाटफर्महरूमा देखापर्नै नचाहने वा देखापर्न नसक्ने स्थिति अझ डरमर्दो छ । यस्तो अवस्थामा स्वस्थ आलोचनाका लागि सरकारले नै वातावरण बनाउनु उपयुक्त हुन्छ । 

स्वस्थ र तथ्यपरक आलोचनाले आवेग तथा भूलवश हुन सक्ने गल्ती–कमजोरीलाई सच्याउने अवसर दिन्छ । भनिन्छ, बीपी कोइराला सरकारमा रहँदा पत्रकारहरूलाई सरकारको कमजोरी देखाउन र आलोचनात्मक समाचार वा लेख लेख्न प्रेरित गर्थे  । दीर्घकालमा भने युवालाई उच्च शिक्षामा मानविकी तथा समाजशास्त्र अध्ययन गर्न प्रेरित गर्ने हो भने स्वस्थ आलोचना गर्ने युवा संख्याको वृद्धि र संस्कारको विकास हुन्छ । 

वर्तमान प्रधानमन्त्री र्‍याप संगीतको क्षेत्रमा परिचित छन् । त्यसैले उनी सम्यक् आलोचना र वस्तुनिष्ठ खबरदारीलाई सम्मान गर्छन् भन्नेमा मलाई विश्वास छ । आलोचनात्मक चेत र खबरदारी रचनात्मक हुन्छन् न कि विध्वंसात्मक । वर्तमान मन्त्रिपरिषद्का एक जना सदस्यले भदौ २३/२४ लगत्तै ‘बालेनले कुनै गल्ती गर्ने कल्पनासमेत गर्न सकिन्न’ भन्ने आशयको भनाइ सामाजिक सञ्जालमा लेखेका थिए । आजभोलि सामाजिक सञ्जालहरूमा यस्तै आशयका भनाइहरू बढी आएका छन् । वर्तमान प्रधानमन्त्री यसै समाजका मान्छे हुन् । उनीबाट कमजोरी, गल्ती हुन सक्छन्, त्यसका लागि वस्तुनिष्ठ खबरदारी आवश्यकता पर्छ । तर, सामाजिक सञ्जालहरूमा यस्ता खबरदारी गर्नेहरूलाई बुलिङ गर्ने प्रवृत्ति डरलाग्दो छ । यसले प्रधानमन्त्रीलाई देश र जनताको आवश्यकताअनुसारको काम गर्न बाधा पार्छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ । 

मनपरेका प्रेमी/प्रेमिकाको अपानवायु पनि बास्नायुक्त हुन्छ भन्ने मनोवृत्तिले दीर्घकालीन रूपमा कसैलाई हित गर्दैन । यस्तो प्रवृत्तिबाट बाहिर आउनैपर्छ । नत्र ‘एम्पेरर्स न्यु क्लथ’ का नयाँ–नयाँ संस्करणहरूको पुनरावृत्ति हुँदै जानेछ ।

सम्झना काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्ने समाजशास्त्री भट्टराई लैङ्गिक तथा सामाजिक समावेशिता विषयको अध्येता हुन ।

Link copied successfully