ओर्बानको पराजय र ‘पपुलिजम’को भविष्य 

ओर्बानको उत्थान र पतनको वस्तुनिष्ठ विश्लेषण गर्दा ‘पपुलिजम’को लहर र आयु अल्पकालीन भएको तथा म्यागरको विजयले लोकतन्त्र र उदारवादको विकल्प नभएको वास्तविकता पुनर्पुष्टि भएको छ ।

वैशाख ११, २०८३

गेजा शर्मा वाग्ले

Orbán's defeat and the future of 'populism'

What you should know

सन् २०१० मा दुईतिहाइ हासिल गरी हंगेरीका प्रधानमन्त्री भएका भिक्टर ओर्बान यही १२ अप्रिलमा सम्पन्न निर्वाचनमा लज्जास्पद रूपमा पराजित भएपछि ‘पपुलिजम’ र उग्रराष्ट्रवादको भविष्यबारे नयाँ बहस प्रारम्भ भएको छ । सन् १९९० देखि सुरु भएको लोकतन्त्र र उदारवादको विश्वव्यापी लहरका बाबजुद अनुदारवादी लोकतन्त्र पक्षधर भएको सगौरव घोषणा गरेका ‘पपुलिस्ट’ ओर्बानको आकस्मिक उदय र अप्रत्याशित विजयले अर्थपूर्ण सन्देश दिएको थियो । सोभियत संघको हस्तक्षेपका आधारमा सन् १९४९ मा स्थापित गरिएको कम्युनिस्ट सत्ता अन्त्य गरी १९८९ मा लोकतन्त्र स्थापना भएपछिको पोस्ट–कम्युनिस्ट हंगेरीमा ओर्बानको विजयसँगै ‘पपुलिजम’, उग्रराष्ट्रवाद र अनुदारवादको लहर सुरु भएको थियो । त्यसैले ओर्बानको विजयपछि उदारवादी, बहुलवादी तथा लोकतान्त्रिक प्रणाली र पार्टीहरू ‘पपुलिजम’, अनुदारवाद र उग्रराष्ट्रवादको सिकार हुँदै आएको छ ।

हंगेरीको इतिहासमै सबैभन्दा धेरै करिब ८० प्रतिशत मतदान भएको निर्वाचनमा केवल ओर्बान मात्रै पराजित भएनन्, उदारवादी, मध्यमार्गी तथा बहुलवादी टिस्जा पार्टीले ऐतिहासिक विजय हासिल गरेको छ । १९९ सदस्यीय संसद्‍मा टिस्जा पार्टीले दुईतिहाइभन्दा बढी १४१ सिट र करिब ५६ प्रतिशत लोकप्रिय मत हासिल गरेको छ । तर ओर्बानको फिडेज पार्टी केवल ५२ सिटमा सीमित भएको छ । ‘पपुलिस्ट’, अनुदारवादी र उग्रराष्ट्रवादी ओर्बानको पराजय तथा मध्यमार्गी, उदारवादी र बहुलवादी पार्टीका नेता पिटर म्यागरको विजयको राजनीतिक सन्देश के हो ? के ओर्बानको पराजयसँगै ‘पपुलिस्ट’, अनुदारवादी र उग्रराष्ट्रवादी धारको पराजय र म्यागरको विजयसँगै मध्यमार्गी, उदारवादी तथा बहुलवादी धारको विजय भएको हो ? भन्ने ज्वलन्त बहस अहिले विश्वव्यापी रूपमा चलिरहेको छ । 

ओर्बानको पराजयको सन्देश

लोकतान्त्रिक प्रणालीलाई उपयोग गरी निर्वाचित भएका ओर्बानले विगत १६ वर्षदेखि लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीलाई चुनौती दिँदै अनुत्तरदायी, सर्वसत्तावादी र अधिनायकवादी शासन चलाउँदै आएका थिए । आप्रवासी तथा बहुलवादी समाज र संस्कृतिविरोधी ओर्बान केवल निर्वाचित तानाशाह मात्रै होइन, फासीवादीसमेत हुँदै गएका थिए । नेपालमा जस्तै लोकतान्त्रिक मूल्यमान्यताविपरीत लोकतान्त्रिक तथा संवैधानिक संस्थाहरूलाई कि कमजोर बनाएका थिए कि फिडेज पार्टीकरण गरेका थिए । राज्यशक्ति पूर्णरूपमा आफूमा केन्द्रीकृत गरी फरक मत तथा विपक्षी पार्टी, नेता र कार्यकर्तालाई दमन गर्दै आएका थिए । लोकतन्त्रको नैसर्गिक अधिकार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता नियन्त्रण गरी मानवअधिकार हनन गरेका थिए । सत्ताको आडमा निर्वाचन प्रणालीसमेत आफ्नो अनुकूल बनाएका ओर्बानलाई पराजित गर्नु असम्भव प्रायः भएको संज्ञा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका थिए । सन् २०२२ मा ५४ प्रतिशत लोकप्रिय मतसहित दुईतिहाइ हासिल गरेको परिदृश्यमा उक्त निष्कर्ष अस्वाभाविक पनि थिएन । तर जनता परिवर्तनको पक्षमा भएका कारणले अभेद्य मानिएको ओर्बानको किल्लालाई पराजित गरी म्यागरलाई विजय गराए ।

पंक्तिकारको विचारमा ओर्बानको पराजय भनेको अनुदारवाद, उग्रराष्ट्रवाद र ‘पपुलिजम’को पराजय हो । अर्थात् पतनको प्रारम्भ हो । यसैगरी म्यागरको विजय भनेको उदारवादी र बहुलवादी लोकतन्त्रको विजय हो । कुशासन, भ्रष्टाचार र राज्यको साधन–स्रोतमाथिको कब्जा पराजयका थप कारण थिए । ट्रान्सपरेन्सी इन्टरनेसनल २०२५ को प्रतिवेदनअनुसार युरोपेली संघका राष्ट्रहरूमध्ये हंगेरी सबैभन्दा भ्रष्ट देशका रूपमा सूचीकृत भएको थियो । सन् १९९९ मा नेटो र २००४ मा युरोपेली संघको सदस्य भएको हंगेरी युरोपसँग टाढा र अमेरिका, रुस र चीनसँग नजिक हुँदै गएको थियो । त्यसैले ओर्बानको पराजयले हंगेरीसँगै सम्पूर्ण युरोपमा नै प्रसन्नता छाएको छ । सम्भवतः नयाँ सरकार बन्नासाथ युरोपेली संघले ओर्बान कार्यकालमा संकटमा परेको हंगेरीसँगको निकट सम्बन्ध र आर्थिक सहयोग पुनःस्थापित गर्नेछ ।

पंक्तिकारको विचारमा ओर्बानको पराजय भनेको अनुदारवाद, उग्रराष्ट्रवाद र ‘पपुलिजम’को पराजय हो । अर्थात् पतनको प्रारम्भ हो । यसैगरी म्यागरको विजय भनेको उदारवादी र बहुलवादी लोकतन्त्रको विजय हो । पश्चिमा राजनीतिशास्त्री र न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, सीएनएन, बीबीसी, दी इकोनोमिस्ट लगायतका सञ्चारमाध्यमहरूले पनि सोही निष्कर्ष निकालेका छन् । त्यसैले ओर्बानको उत्थान र पतनको वस्तुनिष्ठ विश्लेषण गर्दा ‘पपुलिजम’को लहर र आयु अल्पकालीन भएको तथा म्यागरको विजयले लोकतन्त्र र उदारवादको विकल्प नभएको वास्तविकता पुनर्पुष्टि भएको छ । तर ‘पपुलिजम’को उत्थान र पतनको शृंखलाबाट उदारवादी, बहुलवादी तथा मध्यमार्गीहरूले शिक्षा लिनु अपरिहार्य छ । 

ओर्बानको विजयसँगै विश्वव्यापी रूपमा ‘पपुलिजम’, अनुदार र आप्रवासनविरोधी राजनीति, पार्टी र नेताहरूको लहर फैलिँदै गयो । यसैगरी मध्यमार्गी, उदारवादी र बहुलवादी पार्टीहरू पनि ‘पपुलिस्ट’, अनुदार र आप्रवासनविरोधी हुँदै गए । इटलीकी जर्जिया मेलोनी, टर्कियाका रिसेप तय्यैप यर्दोगान, अर्जेन्टिनाका ज्याभिएर मिलेई, स्लोभाकियाका रोबर्ट फिको लगायतका नेताहरू त्यही ‘पपुलिस्ट’ एजेन्डाका आधारमा सत्तामा पुग्न सफल भए । बेलायतको रिफर्म, जर्मनीको अल्टरनेटिभ फर जर्मनी, फ्रान्सको न्यासनल र्‍याली, नेदरल्यान्ड्सको फ्रिडम लगायतका ‘पपुलिस्ट’ पार्टीहरू सशक्त रूपमा उदाएका छन् । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय पनि यही कालखण्डमा भयो । लोकतन्त्र, उदारवाद, बहुलवाद, विविधताको जन्मभूमि मानिने युरोप, अमेरिका नै पपुलिजम, उग्रराष्ट्रवाद, अनुदारवादको उर्वर भूमि हुँदै आइरहेको छ । 

अहिले लोकतन्त्रका जस्ता संकटहरू देखिएका छन्, त्यसको प्रक्षेपण हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र डेनियल जिबलटले सन् १९१८ मा प्रकाशित ‘हाउ डेमोक्रेसिस डाई’ पुस्तकमा गरेका छन् । लिभित्स्की र जिबलटको निष्कर्ष छ– ‘शीतयुद्धकालीन साम्यवाद, फासीवाद, सैन्य शासन तथा एकदलीय तानाशाह अहिलेका चुनौती होइनन् । ‘पपुलिजम’, उग्रराष्ट्रवाद, अनुदारवाद, अराजकतावाद, निर्वाचित अधिनायकवाद प्रमुख चुनौती हुन् ।’ यदि यस्ता जटिल चुनौतीहरूको समयमै समाधान गरिएन भने थप संकट सिर्जना हुने भविष्यवाणीसमेत गरेका छन् । लिभित्स्की र जिबलटले जे भविष्यवाणी गरेका थिए, अहिले लोकतन्त्रको नियति त्यही भएको छ ।

लोकतन्त्रको लहर–प्रतिलहरको शृंखला 

लोकतन्त्र र ‘पपुलिजम’को लहर–प्रतिलहर केवल अहिले मात्रै होइन, १९औं शताब्दीदेखि नै चल्दै आएको छ । अमेरिकी राजनीतिशास्त्री स्यामुएल हन्टिङ्टनले यस्तो लहर–प्रतिलहर नियमित आकस्मिकता जस्तै भएको विचार व्यक्त गरेका छन् । सन् १८२८ देखि १९९० सम्मको लोकतन्त्रको आरोह–अवरोहको अध्ययन–अनुसन्धान गरी सन् १९९१ मा प्रकाशित ‘लोकतन्त्रको तेस्रो लहर’ पुस्तकमा उक्त निष्कर्ष निकालेका हुन् । हन्टिङ्टनका अनुसार हालसम्म लोकतन्त्रका तीनवटा लहर र तीनैवटा प्रतिलहर आएका छन् ।

पहिलो, सन् १८२८ देखि १९२२ सम्म पहिलो लहर थियो । करिब एक शताब्दी लामो अवधिमा ३३ देशमा लोकतन्त्र स्थापना भएको थियो । तर सन् १९२२ देखि १९४२ सम्म बीस वर्ष पहिलो पटक प्रतिलहर आयो । सन् २०२२ मा इटलीको भ्रष्ट र अलोकप्रिय सरकारलाई अपदस्थ गरी बेनिटो मुसोलिनीले सत्ता कब्जा गरेपछि पहिलो प्रतिलहर सुरु भएको थियो । सन् १९३३ मा लोकतन्त्र समाप्त गरी जर्मनीमा एडोल्फ हिटलरले सत्ता कब्जा गरेपछि यस्तो प्रतिलहर उत्कर्षमा पुगेको थियो । पहिलो विश्वयुद्ध सुरु हुनुपूर्व वा विश्वयुद्ध समाप्त भएपछि लोकतन्त्र स्थापना भएका देश यस्तो प्रतिलहरको सिकार भएका थिए । 

दोस्रो, दोस्रो विश्वयुद्धको अन्त्यसँगै सन् १९४३ देखि १९६२ सम्म पुनः लोकतन्त्रको दोस्रो लहर आयो । यही अवधिमा नेपालमा पनि राणा शासनको अन्त्य भई सन् १९५१ मा लोकतन्त्र स्थापना भएको थियो । जर्मनी, इटली, अस्ट्रिया, जापान, कोरिया, टर्किय, ग्रीस, ब्राजिल, कोस्टारिका, पेरु, कोलम्बिया, अर्जेन्टिनालगायत देशमा यही अवधिमा लोकतन्त्र स्थापना भयो । संविधान र कागजमा लोकतान्त्रिक तथा आवधिक निर्वाचन भए पनि नवस्थापित लोकतन्त्र अधिनायकवादी तथा सर्वसत्तावादी दिशातर्फ उन्मुख हुँदै गएका थिए । सन् १९६२ मा पेरुमा सैन्य हस्तक्षेपसँगै लोकतन्त्रको पुनः अर्को प्रतिलहर सुरु भयो । सन् १९६२ देखि १९७४ सम्म १२ वर्षको दोस्रो प्रतिलहरको छोटो अवधि थियो । यो अवधिमा ग्रीस, टर्किय, ब्राजिल, बोलिभिया, अर्जेन्टिना, इक्वेडर, चिली, उरुग्वे, पाकिस्तान, दक्षिण कोरियालगायत देशमा लोकतन्त्र समाप्त भएका थिए । सन् १९६२ मा विश्वमा १३ देशमा सैन्य शासन थियो भने सन् १९७४ मा ३८ पुगेको थियो । 

तेस्रो, सन् १९७४ देखि १९९० सम्मको अवधिलाई तेस्रो लहर मानिन्छ । २५ अप्रिल १९७४ को मध्यरातमा पोर्चुगलको राजधानी लिब्सनको रेडियोबाट ‘ग्रेन्डोला भिला मोरेना’ गीत प्रसारण भएसँगै तेस्रो लहरको शंखनाद भएको थियो । यो अवधिमा करिब ३० देशमा लोकतन्त्र स्थापना भएका थिए । सोभियत संघ, पूर्वी जर्मनी, हंगेरी, चेकोस्लोभाकिया, रोमानिया, पोल्यान्ड, बुल्गेरिया, मंगोलिया, निकारागुवालगायत देशका कम्युनिस्ट सत्ता पतन भई लोकतन्त्र स्थापना भएको थियो । यही अवधिमा सन् १९९० मा नेपालमा पनि लोकतन्त्र पुनः स्थापना भएको थियो । सन् १९२२ मा केवल २९ देशमा मात्रै लोकतन्त्र थियो भने सन् १९९० मा यो संख्या बढेर १३० पुग्यो । हन्टिङ्टनले तेस्रो प्रतिलहरको पनि प्रक्षेपण गरेका छन् । तर सन् १९९० सम्मको अनुसन्धान गरिएको तथा त्यो बेलासम्म नआएका कारणले पुस्तकमा तेस्रो प्रतिलहर उल्लेख छैन ।

‘पपुलिजम’को अल्पकालीन लहर
हन्टिङ्टनले प्रक्षेपण गरेजस्तै सन् २०१० देखि तेस्रो प्रतिलहर सुरु भएको मानिन्छ । तर विगतमा जस्तो लोकतन्त्र अपदस्थ गरी कम्युनिस्ट, सैन्य तथा अधिनायकवादी सत्ता स्थापना भएको होइन, लोकतान्त्रिक प्रणालीमा निर्वाचनमार्फत सत्तामा पुगेका पार्टी, राष्ट्रपति र प्रधानमन्त्रीले नै लोकतन्त्र कमजोर बनाउँदै आइरहेका छन् । सन् १९२९ बाट अमेरिका, युरोपमा सुरु भएको आर्थिक संकटको कारणले सिर्जना भएको निराशा र असन्तुष्टिको अधिकतम मनोवैज्ञानिक शोषण गरी ‘पपुलिस्ट’ तथा उग्रराष्ट्रवादी हिटलर, मुसोलिनीहरू सत्ता कब्जा गर्न सफल भएका थिए । सन् २००८ देखि सुरु भएको अर्को आर्थिक मन्दीका कारणले २०१० देखि तेस्रो प्रतिलहर आएको पश्चिमा राजनीतिशास्त्रीहरूको अभिमत छ । जसरी उग्रराष्ट्रवाद, ‘पपुलिजम’ र ‘प्रोपोगान्डा’को आधारमा हिटलर, मुसोलिनीहरू उदाएका थिए, त्यसरी नै हंगेरीमा ओर्बान, अर्जेन्टिनामा मिलेई, टर्कियमा यर्दोगान, इटलीमा मेलोनी, बेलायतमा नाइजेल फराजहरू उदाएका हुन् । 

यस्ता ‘पपुलिस्ट’, उग्रराष्ट्रवादी र अनुदारवादी पार्टी, प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली तथा निर्वाचन प्रक्रियालाई उपयोग गरेर लोकतन्त्रका नाममा लोकतन्त्रलाई नै चुनौती दिँदै आएका छन् । उनीहरूले लोकतन्त्र, लोकतान्त्रिक संस्था र उदारवादी मूल्यमान्यतामाथि आक्रमण गर्दै आइरहेका छन् । सत्तामा पुगेको घडीदेखि नै ओर्बान, मिलेई, यर्दोगानहरूले लोकतान्त्रिक, बहुलवादी र उदारवादी मूल्यमान्यता, प्रणाली र संस्थामाथि आक्रमण गरी कमजोर बनाउँदै आइरहेका छन् । तर ‘पपुलिजम’को लहर क्षणिक, अल्पकालीन र प्रतिक्रियात्मक हो । सन् २०२२ मा ब्राजिलका ‘पपुलिस्ट’ पूर्वराष्ट्रपति जायर बोल्सोनारो पराजित भए । अहिले ओर्बान पराजित भए । बोल्सोनारो र ओर्बान मात्रै होइन, ‘पपुलिस्ट’, उग्रराष्ट्रवादी र अनुदारवादी पार्टी र पात्रहरू क्रमिक रूपमा कमजोर र अलोकप्रिय हुँदै गएका छन् । त्यसैले सन् २०२६ पछि लोकतन्त्र र उदारवादको लहर तथा ‘पपुलिजम’को प्रतिलहर सुरु भएको देखिन्छ ।

सत्तामा पुगेको घडीदेखि नै ओर्बान, मिलेई, यर्दोगानहरूले लोकतान्त्रिक, बहुलवादी र उदारवादी मूल्यमान्यता, प्रणाली र संस्थामाथि आक्रमण गरी कमजोर बनाउँदै आइरहेका छन् । तर ‘पपुलिजम’को लहर क्षणिक, अल्पकालीन र प्रतिक्रियात्मक हो । सामाजिक सञ्जालको विस्फोट
यसरी ‘पपुलिजम’, उग्रराष्ट्रवाद, अनुदारवादको विश्वव्यापी लहर सिर्जना हुनुमा सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्मको विशेष भूमिका भएको निष्कर्ष यससम्बन्धी अध्ययन–अनुसन्धान गर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूले निकालेका छन् । सामाजिक सञ्जाल ‘पपुलिजम’, अनुदारवाद र अतिवादको प्रोपोगान्डा मेसिन भएको संज्ञा दिँदै मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, घृणा, असहिष्णुता फैलाउने औजार भएको ठहर गरेका छन् । वैकल्पिक भाष्य निर्माण गर्ने नाममा यस्ता माध्यमहरूमा तथ्य र तथ्यांकका आधारमा सिद्धान्त, विचार, नीतिमाथि बहस र विमर्श गरिँदैन, मिथ्यांकका आधारमा अतिरञ्जित र अस्वस्थ आरोप–प्रत्यारोप गरिन्छ । जसले चर्को स्वरमा निन्दा र भर्त्सना गर्‍यो, त्यही क्रान्तिकारी भन्ने भ्रामक मानक र भाष्य स्थापित हुँदै गएको देखिन्छ । 

अहिले मूलधार, मध्यमार्ग तथा उदार मूल्यमान्यतामाथि आक्रमण गरी ‘लोकप्रिय’ र ‘नायक’ हुने सस्तो, ‘पपुलिस्ट’ र ‘स्टन्टवादी’ प्रवृत्ति हावी भएको देखिन्छ । असत्य पनि हजार पटक भन्यो भने सत्य जस्तै स्थापित हुन्छ भन्ने ‘प्रोपोगान्डा’ सिद्धान्तका प्रणेता हिटलरका प्रचारमन्त्री जोसेफ गोयवल्सका ‘प्रेतात्मा’हरू ‘पपुलिजम’को मानसपुत्रका रूपमा उदाएका छन् । उदारवाद, लोकतन्त्र, मूलधार, सञ्चारमाध्यम, बौद्धिक समुदायमाथि आक्रमण गरेर ‘पपुलिस्ट’ र उग्रराष्ट्रवादीहरू उदाएका हुन् । तर नयाँ भनिने यस्ता पार्टी, पात्र र प्रवृत्तिहरू ‘पपुलिस्ट’, उग्रराष्ट्रवादी, अनुदारवादी हुन् । विरोध, आक्रोश र गालीबाहेक उनीहरूसँग कुनै राजनीतिक दृष्टिकोण, विचार र नीति छैन । त्यसैले ‘पपुलिजम’ समाधान होइन, समस्या हो ।

अहिले सत्ताका सौदागर र निराशाका व्यापारीहरू राजनीतिक सट्टाबजारमा आश्चर्यजनक रूपमा हावी हुँदै गइरहेका छन् । अतिरञ्जित, असहिष्णु र विषाक्त प्रोपोगान्डालाई लोकप्रिय भाष्यका रूपमा परिभाषित र आत्मसात् गर्ने दुर्भाग्यपूर्ण प्रवृत्ति बढ्दै गइरहेको छ । शीघ्र सूचना, प्रत्यक्ष संवाद र जीवन्त बहसका दृष्टिले फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल अत्यन्त लोकप्रिय र प्रभावशाली माध्यम भएका छन् । राजनीतिक पार्टी, नेता र कार्यकर्ताहरू पनि सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममा आधारित र केन्द्रित हुँदै गएको देखिन्छ । लन्डनबाट प्रकाशित हुने दी इकोनोमिस्टले पनि उदार लोकतन्त्र ‘पपुलिस्ट’, उग्रराष्ट्रवादी, अनुदारवादीहरूको अतिरञ्जित ‘प्रोपोगान्डा’को सिकार भएको निष्कर्ष निकालेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत सिर्जना भएको ‘पपुलिजम’, अतिवाद, अनुदारवादको घातक लहर आजको सबैभन्दा जटिल चुनौती हो ।

नेपालमा परेको राजनीतिक प्रभाव

अन्तर्राष्ट्रिय राजनीतिक लहर–प्रतिलहरको प्रत्यक्ष वा परोक्ष प्रभाव नेपालमा पर्दै आएको छ । रास्वपा, वालेन्द्र शाह, रवि लामिछानेहरूको चामत्कारिक उदय र २१ फागुनको निर्वाचन परिणाम पनि पुराना पार्टीको विपक्षमा तथा नयाँ र ‘पपुलिस्ट’ पार्टीको पक्षमा चलिरहेको लहरको प्रत्यक्ष प्रतिबिम्ब हो । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि जनआकांक्षाअनुसार लोकतान्त्रिक प्रणालीले डेलिभरी गर्न नसकेका कारणले जनतामा सिर्जना भएको असन्तुष्टि, आक्रोश र वितृष्णाको व्यापार गरी ‘पपुलिस्ट’हरूको उदय भएको देखिन्छ । लोकतन्त्रका अन्तर्निहित शासकीय कमीकमजोरीबारे प्रायोजित र विषाक्त भाष्य निर्माण गरी अधिकतम राजनीतिक लाभ लिन सफल भएको देखिन्छ । नेपाल ‘पपुलिजम’को राजनीतिका लागि उर्वरभूमि र बिनालगानीको नाफामूलक व्यवसाय भएको छ । त्यसैले नेपालमा पनि उदारवादी, लोकतन्त्रवादी, मध्यमार्गी पार्टी तथा विचार प्रतिरक्षात्मक र अलोकप्रिय भएका छन् भने ‘पपुलिस्ट’ र अनुदारवादी पार्टी, प्रवृत्ति र पात्रहरू आक्रामक र सफल ।

राजनीतिक विचारधाराका दृष्टिले कांग्रेस र कम्युनिस्ट जस्तो रास्वपा स्पष्ट छैन । हालसम्म प्रकाशित राजनीतिक दस्तावेजका आधारमा वर्गीकरण गर्दा रास्वपा गैरकम्युनिस्ट र लोकतन्त्रवादी पार्टी हो । तर गैरकम्युनिस्ट र लोकतन्त्रवादी भए पनि यसको सैद्धान्तिक रुझान ‘पपुलिस्ट’, मध्य–दक्षिणपन्थी र अनुदारवादी देखिन्छ । विश्वका अन्य ‘पपुलिस्ट’ पार्टी र नेताहरूको उदय जसरी भयो, त्यसरी नै सामाजिक सञ्जालमार्फत मूलधारका पार्टीलाई आक्रमण गरी सुशासनको मसिहाका रूपमा रास्वपा, वालेन्द्र शाह, रवि लामिछानेहरूले आफूलाई स्थापित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । यो रणनीति तत्कालका लागि सफल भएको देखिन्छ । तर करिब दुईतिहाइसहित शक्तिशाली सरकार बनेपछि अब प्रधानमन्त्री शाह र रास्वपाको अग्निपरीक्षा सुरु भएको छ । 

लोकतान्त्रिक प्रणालीले अपेक्षाकृत डेलिभरी गर्न सकेन । यो कटु सत्य हो । यही कारणले पूर्ववर्ती सरकार, पार्टी र नेतृत्व अलोकप्रिय र कमजोर भई सत्ताबाट समेत विस्थापित भए । सरकार र पार्टीहरूको असफलताको मूल्य केही हदसम्म लोकतन्त्र र संविधानले समेत चुकाउनुपर्‍यो । तर नोबेल पुरस्कार विजेता बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले भनेजस्तै पूर्ण नभए पनि हालसम्म अभ्यास गरिएकामध्ये सबैभन्दा उत्तम प्रणाली लोकतन्त्र नै हो । तत्कालीन र प्रतिक्रियात्मक रूपमा निर्वाचनमा सफलता हासिल गरे पनि ‘पपुलिजम’, उग्रराष्ट्रवाद र अनुदारवादको भविष्य छैन र उदारवादी तथा बहुलवादी लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प ‘पपुलिजम’, उग्रराष्ट्रवाद र अनुदारवाद हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन । @GejaWagle

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully