इरानमाथि आक्रमण : सभ्यताविरुद्धको लडाइँ

प्राध्यापक स्यामुअल पी. हन्टिङ्ग्टनले आफ्नो पुस्तकमा सीमा जोडिएका सभ्यताका बीचमा लडाइँ हुने निष्कर्ष निकालेका थिए । बाँचिरहेको भए उनले पुस्तकमा नयाँ अध्याय थप्नुपर्ने रहेछ– र, त्यस्तो सभ्यताविरुद्धको लडाइँको नेतृत्व अमेरिकाले गर्नेछ ।

वैशाख ८, २०८३

विष्णु रिजाल

Attack on Iran: A War Against Civilization

What you should know

१७ अप्रिल २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विनाशकारी आक्रमण गर्ने जानकारी दिँदै सुन्दा पनि आङ सिरिङ्ग हुने घोषणा गरे, ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ (होल सिभिलाइजेसन विल डाइ टुनाइट) ।’ अर्थात् इरान आज राति नै ध्वस्त हुनेछ र त्यससँगै एउटा सभ्यता पनि ध्वस्त हुनेछ । संयोगवश त्यस्तो भएन । पर्दापछाडिबाट भइरहेका सुलहका प्रयासहरूले काम गरे र दुई साताका लागि अमेरिकाले युद्धविराम घोषणा गर्‍यो । युद्धविरामको घोषणाले तत्कालै त्यो संकट टरे पनि यसले गम्भीर कुराको संकेत गरेको छ । अर्थात् अमेरिकी आक्रमण इरान देश वा त्यहाँका कट्टरपन्थी शासकहरूमाथि लक्षित नभएर एक सिंगो सभ्यतामाथि रहेछ । इरान आफैंमा धेरै पुरानो इतिहास र सभ्यता भएको मुलुक हो । राजनीतिमा अतिवाद हावी हुँदै जाँदा त्यहाँ कट्टरपन्थीहरूले शासन गरिरहेका छन्, त्यो बेग्लै विषय हो । इरानमाथि आकस्मिक आक्रमण गरेर अमेरिकाले त्यहाँका सर्वोच्च धार्मिक नेता आयातोल्लाह खुमेनीलगायत ५० भन्दा बढी उच्च पदस्थहरूको ज्यान लिए पनि आक्रमण जारी छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता समाप्त पार्न आक्रमण गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा धेरैका कान ठाडा भएका छन् । यसबाट मुस्लिम विश्व मात्र आक्रान्त र आक्रोशित बनेको छैन, क्षेत्रीय रूपमा समेत त्यसका असरहरू देखा पर्न थालेका छन् ।

यस सन्दर्भमा तीन दशकअघि हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुअल पी. हन्टिङ्ग्टनले प्रक्षेपण गरेजस्तै स्वयम् अमेरिकाले आजको लडाइँ अर्थतन्त्र वा विचारधारामा आधारित नभई सभ्यताहरूबीचको टकरावमा केन्द्रित बनाइदिएको छ । ‘द क्ल्यास अफ सिभिलाइजेसन एन्ड द रिमेकिङ अफ वर्ल्ड अर्डर’ (१९९६) नामक आफ्नो बहुचर्चित पुस्तकमा ती अमेरिकी विद्वान्ले विश्वमा मूलरूपमा आठवटा सभ्यताहरू (पश्चिमा, चिनियाँ, इस्लामिक, हिन्दु, अर्थोडक्स, जापानी, ल्याटिन अमेरिकी र अफ्रिकी) प्रभावशाली रहेको चर्चा गर्दै सबभन्दा नजिक सीमा जोडिएका सभ्यताहरूका बीचमा लडाइँ हुने निष्कर्ष निकालेका थिए । सन् १९९३ मा ‘फरेन अफेयर्स’ पत्रिकामा छापिएको उनको लेखबाट बहस बढ्दै गएपछि तीन वर्षपछि उनले आफ्नो अवधारणालाई पुस्तकमा ल्याउँदा अमेरिकी राष्ट्रपतिले हाकाहाकी ‘म तिम्रो सभ्यतालाई आजै राति मार्छु’ भनेर असभ्य तरिकाले भन्छन् होला भन्ने अनुमान गरेका थिएनन् होला । सायद, बाँचिरहेको भए उनले आफ्नो पुस्तकमा नयाँ अध्याय थप्नुपर्ने रहेछ– र, त्यस्तो सभ्यताविरुद्धको लडाइँको नेतृत्व अमेरिकाले गर्नेछ ।

पहिले इराक र अहिले इरानमाथिको अमेरिकी आक्रमण हन्टिङ्ग्टनले भने जस्तो अरूभन्दा बढी ‘सभ्यताको द्वन्द्व‘ (क्ल्यास अफ सिभिलाइजेसन) का रूपमा देखा परेको छ । मुस्लिम समुदाय यसै पनि अमेरिकाप्रति सशंकित छ र अमेरिका पनि मुस्लिम देशहरूप्रति विश्वस्त छैन । धेरै पर जानैपर्दैन, यही शताब्दीको सुरुदेखिका अमेरिकी निसानाहरू हेर्ने हो भने पनि यो विषय स्पष्ट हुन्छ । इराकमाथिको आक्रमण कुनै आणविक हतियार बढेको चिन्ताले भएको थिएन, आफ्ना परम विरोधी सद्दाम हुसेनको सत्ता समाप्त गर्नका लागि भएको थियो भन्ने विषय त्यहाँ आणविक हतियारको कुनै संकेत नभेटिनुबाट पुष्टि भए पनि त्यसले अमेरिकालाई कुनै फरक पारेन । साथै, अफगानिस्तानमाथिको अमेरिकी आक्रमण, दशकौंको लगानी र अन्तिममा प्राप्त असफलताभित्र पनि कहीं नै कहीं सभ्यता नै जोडिएको पाइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले आक्रमण गरेर शान्ति कायम गर्छ भन्नु अमेरिकी सभ्यतागत प्रभुत्व (सिभिलाइजेसनल हेजेमनी) को प्रवर्द्धनबाहेक केही होइन ।  बिना कारण, बिना औचित्य र बिना सन्दर्भ इरानमाथि गरिएको यस आक्रमणले विश्व व्यवस्थालाई फेरि एक पटक नराम्ररी प्रभावित गरेको छ । अन्तर्राष्ट्रिय अनुबन्ध, अभिसन्धि, प्रोटोकल आदि देखाउनका लागि मात्रै हुन् र हान्स मोर्गनथाउ जस्ता शक्ति पक्षधर विद्वान्हरूले अघि सारेको रियलिज्मको अवधारणा नै आजको विश्व व्यवस्थाको मुख्य प्रवृत्ति हो भन्ने विषय फेरि एक पटक उजागर भएको छ । अमेरिकाले एकपछि अर्को गर्दै लगातार सार्वभौम देशहरूमाथि आक्रमण गर्दा उसलाई टक्कर दिनका लागि कुनै शक्ति तयार नहुनुले झन् भयावह भविष्यको संकेत गरेको छ । अरूसँग पनि शक्ति छ भन्ने कुरा महसुस नहुँदासम्म अमेरिकालाई यसैगरी अघि बढिरहनका लागि बलियो लाइसेन्स प्राप्त भएको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गर्नुपूर्व नै विश्व दुईवटा ठूला युद्धबाट गुज्रिरहेकै छ । मध्यपूर्व यसै पनि दुई वर्षअघिदेखि नै तनावमा छ । आधा शताब्दीअघिदेखि जारी इजरायल–प्यालेस्टाइन युद्ध चरम अवस्थामा पुग्दा प्यालेस्टाइन लगभग ध्वस्त भएको छ भने हजारौं निर्दोषले ज्यान गुमाएका छन् । शक्तिका आडमा क्रमशः देशविहीन बनाइएका प्यालेस्टिनीहरू इतिहासमा सबैभन्दा बढी संकटमा फसेका छन् । त्यसैगरी रुस र युक्रेनका बीचमा जारी युद्ध पनि स्थायी रूपमा रोकिने अवस्थामा पुगेको छैन । युक्रेनले एक तिहाइ भूभाग गुमाइसक्दासमेत रुसले उसमाथि पूर्ण विजय हासिल गर्न सम्भव छैन । यही बेलामा अमेरिकाले हठात् सुरु गरेको इरानमाथिको आक्रमणले विश्वमा थप अनिश्चय, अराजकता र संकट निम्त्याएको छ । युद्ध सुरु गर्नु मानिसकै हातमा भए पनि अन्त्य चाहिँ ऊ स्वयंको हातमा हुँदैन भन्ने तथ्य एकपछिका अर्का घटनाक्रमहरूले देखाइरहेका छन् । तर, ठ्याक्कै भने जस्तै सबै कुरा नभए पनि कम्तीमा अहिले चलिरहेका युद्धहरू रोक्ने लगाम चाहिँ अमेरिकाको हातमा छ । राष्ट्रपति ट्रम्पको उनकै देशमा तीव्र विरोध भइरहे पनि त्यसले उनलाई प्रभाव पारेको छैन । युद्धका विपक्षमा दैनिक भइरहेका हजारौंका स्वतःस्फूर्त प्रदर्शन, अखबारका कडा सम्पादकीय, विद्वान्हरूका तीखा लेख–रचना, रणनीतिकारहरूका खतरनाक चेतावनी र राजनीतिज्ञहरूका तीव्र आलोचनाहरूले ट्रम्पलाई कुनै फरक पारेको छैन । मानौं– यस अमानवीय युद्धका विपक्षमा कोही पनि छैन र यसले कसैलाई केही असर गरेकै छैन ।

डोनाल्ड ट्रम्पको सत्तारोहण नै गोरा सर्वोच्चता (ह्वाइट सुप्रिमेसी) लाई केन्द्रमा राख्ने घोषणाका कारण भएकाले उनले लिने नीतिहरू त्यसैबाट निःसृत छन् । उदार, विश्वका विभिन्न प्रतिभाहरूलाई स्वागत गर्ने र सबैका लागि सपनाको ठाउँ भएका कारण अमेरिका सबैको देश जस्तो हुन जाँदा प्राप्त भएको फाइदालाई नजरअन्दाज गरेर ट्रम्पले अवैध आप्रवासी निष्कासनका लागि चालेको अभियान उनको नीतिगत प्रतिबद्धताकै निरन्तरता हो । जुन दिन ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘माई गुड फ्रेन्ड’ भन्दै ह्वाइट हाउसमा स्वागत गरिरहेका थिए, त्यसै दिन भारतलाई समेत अन्तिम अवस्थामा जानकारी दिएर सय जनाभन्दा बढी भारतीय नागरिकलाई हातमा हतकडी र खुट्टामा नेल लगाएर अमृतसरमा झारेका थिए । यो आफ्ना देशलाई सुरक्षित राख्ने मान्यताबाट भन्दा पनि विश्वभरमै अमेरिकाले चाहेको गर्छ भनेर देखाउने अभ्यास स्वरूप सुरु गरिएको अभियान हो, जुन जारी छ ।

जी–२० बैठकलाई लिएर दक्षिण अफ्रिका सन्दर्भमा राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई पनि उनको फरक जाति र सभ्यताप्रतिको घृणाका रूपमा बुझ्न सकिन्छ । दक्षिण अफ्रिकीहरूले नेल्सन मण्डेलाको नेतृत्वमा कठोर संघर्ष गरेर प्राप्त गरेको स्वतन्त्रतालाई उनले ‘गोराहरूको सम्पत्ति लुटिएको, लखेटिएको’ रूपमा परिभाषित गर्दै त्यस्तो ठाउँमा आफू जान नसक्ने कुरा गर्नु सभ्यताकै अपमान हो । २०१८ मा पहिलो कार्यकालका बेला उनले सिंगो अफ्रिकाका देशहरूलाई ‘सिट होल कन्ट्री’ भनेर अपमान गरेका थिए । हालै आफ्नै निमन्त्रणमा ह्वाइट हाउस पुगेकी जापानी प्रधानमन्त्री सानाई ताकाइचीको सार्वजनिक अपमान पनि ट्रम्पको अरूको सभ्यताप्रतिको घृणाकै निरन्तरताका रूपमा देखा परेको छ । यस घटनाको जापानमा भएको तीव्र विरोध र प्रधानमन्त्री स्वदेश फर्केर चित्त दुखाउँदै आइन्दा अमेरिका नै नजाने घोषणा गर्नुपर्नेसम्मको लज्जास्पद अवस्था ल्याउँदा पनि ट्रम्पलाई कुनै ग्लानि छैन । 

राजनीतिक रूपमा मतभिन्नताहरू हुनु, अन्तर्राष्ट्रिय रूपमा आफ्नो प्रभुत्व स्थापित गर्नका लागि सक्दो प्रयास गर्नु र आफूलाई विश्वको नेताका रूपमा उभ्याउन कोसिस गर्नुको शक्तिको राजनीतिमा अन्यथा मान्न सकिएला । हाम्रा परम्परागत अभ्यासदेखि राजनीतिशास्त्रका धुरन्धर विद्वान्हरूले पनि बलियो राज्यले मात्रै आफू र आफ्ना नागरिकलाई सुरक्षित गर्न सक्छ भनेर रियालिज्मको वकालत गरेकै छन् । तर, अहिले त युद्धको तरिका र रूप दुवै बदलिएर यो त कहिल्यै पनि अन्त्य नहुने दिशातिर उन्मुख हुने खतरा बढेको छ । मानिसको सभ्यतामाथि जब आक्रमण हुन्छ, तब ऊ त्यसको जतिसुकै मूल्य चुकाउन पनि पछि पर्दैन । स्वयम् अमेरिकाले अहिले अंगीकार गरेका नीतिहरूको उसको परम्परागत सहयात्री मुलुकहरूले पनि साथ दिन मानिरहेका छैनन् । एउटा सार्वभौम देशका सुतिरहेका राष्ट्रपतिलाई मध्यरातमा उठाएर ल्याउनेदेखि मुख्य नेताहरूलाई ताकी–ताकी मार्ने कुराले विश्वलाई आतंकित बनाएको छ । यो त अमेरिकाले सन् २००१ मा ट्वीन टावरमा आक्रमण गरेपछि अघि बढाएको ‘आतंकवादविरोधी युद्ध’ भन्दा पनि आक्रामक र क्रूर रूपमा देखा परेको छ ।

इरानमाथिको अमेरिकी आक्रमण अहिले आएर अड्किए जस्तो हर्मुज घाँटीका लागि भएको होइन । यो त इरानले एउटा विन्दु भेटाएर प्र्रतिरक्षाका लागि उपयोग गरेको उपाय मात्र हो । अमेरिकाले युक्रेनलाई गरेको सहयोग होस् वा ल्याटिन अमेरिकी देशहरूमाथि दबाब होस्, खानी तथा खनिज पदार्थमाथिको प्रभुत्वबाट निर्देशित देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा बढीभन्दा बढी सहयात्री (अलाइ) बनाएरभन्दा त्रासमा राखेर आफ्नो प्रभुत्व कायम राख्ने यस नीतिले अमेरिकालाई थप एक्ल्याएको मात्र छैन, दुई वर्षपछि ट्रम्प बिदा भएपछि आउने राष्ट्रपतिलाई पनि अमेरिकी गलत नीति सच्याउन निकै कठिन हुने अवस्थामा पुर्‍याइदिएका छन् ।

इरानमाथिको अमेरिकी आक्रमणका कारण विश्व व्यवस्था नै अस्तव्यस्त बनेको छ । इरान–अमेरिका युद्धबाट विश्वका हरघरका चुलाचौका प्रभावित भएका छन्, खासगरी इन्धन संकटका कारण ।

संसारका जुनसुकै कुनामा युद्ध भएपछि त्यसका असर छिटो पर्ने मुलुकमध्ये नेपाल एक हो । कारगिलमा लडाइँ हुँदा नेपाली नवजवान शव बनेर नेपाल भित्रिन्छ । इराकमा आतंककारीले घाँटी रेट्दा सास नेपालीको रोकिन्छ । अनि रुस र युक्रेनबीच युद्ध चर्किंदा पीडाले नेपाली आमाहरूका छाती चर्किन्छन् । इजरायलका बंकरमाथि बम फालिँदा हाम्रा गाउँका कानका जालीमा धमाका सुनिन्छ । अहिले पनि त्यस्तै भएको छ । अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ । सात समुद्रपारि रहेको त्यस भूमिमा चलिरहेको भीषण युद्धका छर्राहरू हाम्रो मुलुक वरपर घुमिरहेका छन् । कहिले कुन नेपालीको शव आउने हो भन्ने त्रास त छँदै छ, रोजीरोटी गुमाएर नेपाल फर्किेनुपर्ने लाखौं नेपालीको अवस्थाले कहालीलाग्दो अवस्था सिर्जना हुन गइरहेको छ ।

सार्वजनिक भएका तथ्यांकअनुसार, खाडी क्षेत्रमा करिब १९ लाख नेपाली कामदारका रूपमा रहेका छन् । अमेरिकाको रिसमा इरानले छेउछाउका खाडी मुलुकमा रहेका अमेरिकी अखडाहरूलाई लक्ष्य गरेर आक्रमण गर्दा उत्पन्न त्रासले नेपाली श्रमिकहरू आतंकित बनेका छन् । त्यसभन्दा बढी आतंक हाम्रा गाउँघरमा रहेका आफन्तका दिमागमा चलिरहेको छ । कुन दिन नसोचेको समाचार सुन्नुपर्ला भनेर त्रसित मनोविज्ञानमा रहेका आफन्तलाई सरकारले खाडीमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्दछौं भने पनि यो नेपालको वशमा छैन । सन् १९९० को दशकमा इराकले कुबेतमाथि आक्रमण गर्दा त्रासदी भोग्ने नेपाली पुस्ता त्यता नभए पनि अहिलेको पुस्ताले यति धेरै त्रासमा बाँच्नुपर्ला भन्ने अनुमान गरेको थिएन । सरकारले खाडी क्षेत्रको अवस्थाका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको भनेर आश्वस्त पार्न खोजे पनि यो समस्या उसको काबुमा छैन । 

नेपाल जस्तो पेट्रोलियम पदार्थमा निर्भर अर्थतन्त्र भएका मुलुकहरूलाई तेलका खानी भएका ठाउँमा हुने युद्धले सबभन्दा बढी प्रभावित पार्दछन् । बत्तीमुनि अँध्यारो भनेजस्तो जलस्रोतको धनी देश भए पनि अझै लोडसेडिङसमेत हटाउन नसकेको नेपालमा विद्युत्लाई इन्धनका रूपमा प्रयोग गर्ने ठाउँ नै कहाँ छ र ? बल्लतल्ल विद्युतीय गाडीहरू चल्न थालेका छन्, सीमित मात्रामा । त्यसबाहेक खाना पकाउन इन्डक्सन चुलोको प्रयोगको मात्रा साह्रै न्यून छ । यातायातमा हुने भाडावृद्धिले अप्रभावित रहने क्षेत्र कुनै पनि छैन । विद्यालयदेखि खाद्यान्नसम्म, हवाई यात्रादेखि माइक्रो बससम्म सबैतिर भाडा बढेपछि मूल्यवृद्धिले हाम्रो आँकडाहरूको प्रक्षेपणलाई सिधै नाघिसकेको छ ।

यो नेपालको मात्र समस्या होइन । आज विश्व यति धेरै अन्तरनिर्भर भइसकेको छ, एक ठाउँमा हुने असामान्य अवस्थाले अर्को ठाउँलाई प्रभावित नगरिरहन सक्दैन । विश्व बजारमा तेल ढुवानी हुने पाँच नाकामध्येको एक प्रमुख नाक हर्मुजमा आएको अवरोधबाट हाम्रो जस्तो त्यो नामै नसुनिएका र तेस्रो देशबाट तेल निर्यात गर्ने राष्ट्रहरू पनि प्रभावित भएका छन् । यस युद्धका तत्कालीन असरहरू त खतरनाक छन् नै, विश्वका लागि दीर्घकालीन असरहरू झन् मन्द विषझैं विस्तारै देखिँदै जानेछन् । आशा गरौं, पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिकाबीच भइरहेको वार्ताले सार्थक परिणाम दिनेछ र यस त्रासदीबाट उम्केर विश्वले अलिकति भए पनि शान्तिले श्वास फेर्नेछ । 

(एमालेका केन्द्रीय सदस्य रिजाल अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अध्ययन, अनुसन्धान तथा लेख लेख्छन्)

विष्णु विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

Link copied successfully