कांग्रेसमा उमेर मात्रै होइन, ऊर्जा र योग्यताका हिसाबले पनि धेरै नेताहरू असान्दर्भिक भइसकेका छन् । अनुशासन उल्लंघनका आरोपीहरू पनि यहीभित्र छन् । ती सबैथरी प्रवृत्तिको बहिर्गमनको योजना र नीति कांग्रेस नेतृत्वसाग हुनुपर्छ ।
What you should know
राजनीतिमा न जित स्थायी हुन्छ, न त हारले सबै कुरा सकिन्छ । हरेक जित उत्साहसँगै भयानक चुनौती लिएर आएको हुन्छ भने हारपछि पनि सबै कुरा सकिँदैनन् । बरु, नयाँ अवसरका ढोका खुल्छन् । यतिबेला नेपाली कांग्रेसका सभापति गगन थापाको हकमा यस्तै भएको छ ।
२१ फागुनको निर्वाचनमा निर्मम पराजय बेहोरेका गगनलाई सर्वोच्च अदालतको शुक्रबारको फैसलाले कानुनी राहत मात्रै दिएको छैन, राजनीतिक पुनर्जीवनका लागि नयाँ ढोका खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित गगन नेतृत्वको कांग्रेसलाई वैधानिक मान्यता दिएको हो ।
सर्वोच्च अदालतको फैसलाले कांग्रेसको आन्तरिक जीवनमा ठूलै तरंग ल्याएको छ । गगनले यो फैसला कांग्रेसलाई बलियो बनाउने अवसर भनेका छन् । उनले असन्तुष्ट नेता–कार्यकर्ता पंक्तिलाई ‘जितहारको कुरा होइन, विधिको कुरा हो, एकताबद्ध होऔं’ भनेर मिल्न आह्वान गरेका छन् । निर्वाचनरूपी ‘जनअदालत’ बाट पराजित हुनुपरेपछि गगनको आत्मविश्वास गुमेर पिँधमा पुगेको थियो । चुनावी परिणामको बोझले थिचिएर उनी करिब–करिब अवसादको किनारासम्म धकेलिएको मनोदशामा थिए । यसैबीच, सर्वोच्च अदालतको फैसलाले विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको न्यायिक अनुमोदन गरिदिएको छ । र, उनलाई साढे सात दशक लामो राजनीतिक इतिहास भएको कांग्रेसको विरासतलाई नयाँपन दिने सम्भावनाका वाहकका रूपमा उभ्याइदिएको छ । उनी फेरि एउटा अर्को महापरीक्षामा होमिएका छन् ।
सर्वोच्च अदालतको फैसलाले कांग्रेसको आन्तरिक जीवनमा ठूलै तरंग ल्याएको छ । गगनले यो फैसला कांग्रेसलाई बलियो बनाउने अवसर भनेका छन् । उनले असन्तुष्ट नेता–कार्यकर्ता पंक्तिलाई ‘जितहारको कुरा होइन, विधिको कुरा हो, एकताबद्ध होऔं’ भनेर मिल्न आह्वान गरेका छन् । उनी पक्षीय अरू पदाधिकारीले पनि एकताबद्ध कांग्रेसको पक्षमा वकालत गरेका छन् ।
फैसलापछि आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले असहमतिका बाबजुद अदालतको फैसला स्वीकार्ने बताएका छन् । हाला कि, उनीहरूसँग अदालतको फैसलाको अवज्ञा गर्ने विकल्प थिएन/छैन । देउवा समूह निकट नेता विमलेन्द्र निधिले आवेगमा विशेष महाधिवेशनको नेतृत्वलाई नस्वीकार्ने प्रतिक्रिया दिए पनि यो समूहसँग गगन नेतृत्वको कांग्रेसमै समाहित हुने वा बेग्लै दल खोलेर नयाँ राजनीतिक यात्रा सुरु गर्ने दुईथरी विकल्प मात्रै छन् । अहिलेलाई यो समूहले पार्टी एकताबद्ध गराउने दायित्व गगनको काँधमा आएको भन्दै ‘पर्ख र हेर’ को रणनीति लिएको छ । अर्थात् सम्पूर्ण रूपमा ‘बल गगनको कोर्ट’ मा आइपुगेको छ ।
प्रश्न उठ्छ, अब गगन नेतृत्वको कांग्रेस कस्तो होला ? उनी एकताबद्ध पार्टी निर्माण, सबैलाई मिलाएर लैजाने भनेर नरम शैलीमा प्रस्तुत भएका छन् । के उनी पार्टी एकताबद्ध बनाउने नाममा पुरानै अयोग्य सांगठनिक चरित्र भएको कांग्रेस अघि बढाउन चाहन्छन् ? विशेष महाधिवेशनबाट चुनिएपछि गगनले आफ्नो नेतृत्वमा कांग्रेस बदलिएको दाबी गरे । उनले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प पनि गरे । तर, जनताले उनको संकल्पलाई अनुमोदन गरेनन् । खासमा कांग्रेस बदलिएको उनको उद्घोष आम मतदाताले पत्याएनन् । अब जनस्तरमा कांग्रेस बदलिएको अनुभूति दिलाउन पार्टीको पुरानै सांगठनिक एकतामा जोडबल गर्ने कि नयाँपन अंगीकार गर्ने ?
कांग्रेस एउटा सिङ्गो पुस्ता असफल र असान्दर्भिक भएको आजको तीतो यथार्थ हो । पार्टीको सफ्टवेयर खिया लागेर ‘आउटडेटेड’ भएको छ । एकताका नाममा खिया लागेको पार्टी मेसिनरीलाई ‘डेन्टिङ पेन्टिङ’ गर्ने कि फेर्ने ? सामान्य ‘डेन्टिङ पेन्टिङ’ ले मात्रै जनस्तरमा गुमेको विश्वास फर्किएला ? गगनसामु यस्ता अनेक पेचिला प्रश्नहरू छन् । ती प्रश्नको निरूपणले अबको कांग्रेसको भावी गन्तव्य अथवा यसको नियति तय गर्नेछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेस यतिबेला कमजोर र रक्षात्मक छ । हुन त संसद्को अंकगणितमा संख्यात्मक हिसाबले निकै तल भए पनि यो दोस्रो ठूलो दल हो । अर्थात् संसदीय भूमिकामा यो प्रमुख प्रतिपक्षी पार्टी हो । यद्यपि, यतिबेला यो पार्टी गम्भीर संक्रमणमा छ । पार्टीभित्र आन्तरिक बेमेल त छँदै छ, राष्ट्रिय राजनीतिक परिदृश्यमा पनि चर्को मनोवैज्ञानिक दबाबमा छ । कमजोर मनोविज्ञानमा रहेको कांग्रेसले आफू बदलिएको अनूभूति जनस्तरमा कसरी स्थापित गर्न सक्ला ? सम्पूर्ण रूपमा कांग्रेसको नेतृत्वदायी भूमिकामा अनुमोदन भएका गगनको भूमिका र चुनौती कस्ता होलान् ? यिनै विषयको सेरोफेरोमा यो विश्लेषण केन्द्रित रहनेछ ।
कांग्रेसको आजको नियति आकस्मिक होइन, यो दीर्घकालीन त्रुटि/कमजोरीहरूको समष्टि रूप हो । यो नियतिबाट कांग्रेसलाई निकाल्दै जनस्तरमा बदलिएको विश्वास दिलाउन सबैभन्दा पहिले नेतृत्वबाटै सुधारको प्रारम्भ हुनुपर्छ ।
कांग्रेसको आजको नियति आकस्मिक होइन, यो दीर्घकालीन त्रुटि/कमजोरीहरूको समष्टि रूप हो । यो नियतिबाट कांग्रेसलाई निकाल्दै जनस्तरमा बदलिएको विश्वास दिलाउन सबैभन्दा पहिले नेतृत्वबाटै सुधारको प्रारम्भ हुनुपर्छ ।पहिलो कुरा, स्वयं गगनले विगतका आफ्नै भूमिकामा देखिएका कमजोरीहरूको आत्मसमीक्षाबाट सुधारको प्रारम्भ गर्न सक्नुपर्छ । गगनको नेतृत्वमा कांग्रेसले विशेष महाधिवेशन गर्न सक्यो । यसले विधि र प्रक्रिया मिच्ने प्रवृत्तिलाई परास्त गर्यो । तर, पार्टीभित्र त्यो निर्णायक हस्तक्षेप गर्न उनले निकै ढिलो गरे । विशेष महाधिवेशनअघि उनी पार्टीको महामन्त्री थिए । महामन्त्रीका रूपमा उनले पार्टीभित्र हुर्कंदो अस्वस्थ गुटबन्दी र अलोकतान्त्रिक आचरणविरुद्ध आवाज त उठाए तर निर्णायक हस्तक्षेप गर्न सकेका थिएनन् ।
नयाँ सोच, कार्यशैली र मुद्दाहरू पनि अघि सारे, तर त्यसको कार्यान्वयन गर्ने परिणाममुखी नेता बन्न सकेनन् । उनकै पहल र प्रयासमा पार्टी सञ्चालनको क्यालेन्डर बन्यो, विभिन्न महत्त्वपूर्ण इभेन्टहरू आयोजना भयो, नियमित बैठक गरेर संस्थागत सुधार गर्ने प्रयत्न पनि भए तर त्यसलाई निरन्तरता दिन सकेनन् । उनले उठाएका कतिपय सन्दर्भहरू प्रचारात्मक खपतका विषयमा सीमित बने । जस्तो कि, सुशासन कायम गर्न उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्नेमध्येका उनी एक मुख्य नेता थिए ।
तर, आफ्नै पार्टी सरकारमा जाँदासमेत उनले त्यस्तो आयोग गठन गर्न दबाब दिन सकेनन । अहिले वालेन्द्र शाह नेतृत्वको सरकारले उनको त्यो मुद्दा सम्बोधन गरेको छ । अरू पनि जनमुखी सेवा प्रवाहका काममा सरकारलाई चुस्त–दुरुस्त गराउन दबाबमूलक भूमिका निर्वाह गर्न सकेनन् । कांग्रेसलाई नयाँ सिराबाट अघि बढाउँदै गर्दा गगनले विगतका यी र यस्ता आफ्ना कमजोरीहरूलाई पाठका रूपमा ग्रहण गर्न सक्नुपर्छ । पाठ हो, मुद्दा उठाएर मात्रै नपुग्ने रहेछ, नेतृत्वले त्यसको कार्यान्वयन पनि गर्न सक्नुपर्ने रहेछ ।
दोस्रो, कांग्रेसमा अहिले वैधानिकताको विवाद सकिएको हो । गुटगत द्वन्)द्व सकिएको होइन । गगनसामु पार्टीभित्र विद्यमान द्वन्द्वको व्यवस्थापन गर्दै जनताले पत्याउने गरी कांग्रेस बदल्ने जिम्मेवारी छ । के त्यो जिम्मेवारी पार्टीभित्रका फरक–फरक स्वार्थ बोकेका गुटहरूको व्यवस्थापनबाट मात्रै पूरा होला ? कांग्रेस सुधारको सबैभन्दा ठूलो बाधक यसभित्र हुर्केको गुटगत प्रवृत्ति हो ।
आलोचकहरू भन्छन्, कांग्रेस गुटप्रेरित स्वार्थ समूहको क्लब जस्तो मात्रै भएकाले विगतमा पुस्तान्तरणको मुद्दा कमजोर थियो । विशेष महाधिवेशनपछि पार्टीमा पुस्तान्तरण त भयो तर गुटगत राजनीति अन्त्य हुन सकेन । कांग्रेस माथिदेखि तलैसम्म विभाजित मानसिकतामा छ । भावनात्मक हिसाबले छिन्नभिन्न छ । जुन विषय निर्वाचनका बेला अझ बढी सतहमा आयो । नेता–कार्यकर्ता तहबाटै आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको मात्रै होइन, मतसमेत नदिएका नजिरहरू यत्रतत्र भेटिएका छन् । यो स्तरमा झरेको राजनीतिक स्खलनलाई ऊर्जामा बदल्नुपर्ने चुनौती आन्तरिक सन्तुलनका नाममा गुट व्यवस्थापनबाट मात्रै सम्भव हुनेछैन ।
तेस्रो, कांग्रेस गुटहरूको अखडा भयो, त्यहाँभित्र भावनात्मक एकता छैन । त्यसैले पुनर्गठन आवश्यक छ भनेर विश्लेषकहरूले पटक–पटक सुझाएका छन् । गगन नेतृत्वको कांग्रेसले त्यो पुनर्गठनको प्रारम्भ थाल्नुपर्छ । हुन त कांग्रेसले वडास्तरबाटै संगठनको शुद्धीकरण गर्ने भनेर जरा अभियान सुरु गरेको छ । यसलाई निरन्तरता दिँदै कांग्रेस तलदेखि माथिसम्म राजनीतिक/वैचारिक स्पष्टता भएको संगठन निर्माण गर्न सक्नुपर्छ ।
जस्तो कि, गगनले पार्टीको राजनीतिक कार्यदिशा भनेर सामाजिक लोकतन्त्रको अवधारणा ल्याएका छन् । यो अवधारणालाई अब संस्थागत गरेर लैजान सक्नुपर्नेछ । कांग्रेसमा राजनीतिक विमर्शहरू कम हुन्छ भन्ने आरोप लाग्ने गर्छ । सिर्जनात्मक राष्ट्रिय विमर्शभन्दा बढी प्रतिक्रियात्मक भयो भन्ने गरिन्छ । कांग्रेसको अबको नेतृत्वले पार्टीपंक्तिमा भएको सैद्धान्तिक उदासीनता चिर्दै प्रस्ट राजनीतिक बाटोमा हिँडाउन सक्नुपर्छ । जसको नीति उसकै नेतृत्वको अवधारणा व्यवहारमै अपनाउन सक्नुपर्छ ।
चौथो, आन्तरिक गुटको व्यवस्थापन र सन्तुलन खोज्नेतिर भन्दा विशेष महाधिवेशनबाट स्थापित पुस्तान्तरणको मुद्दालाई अझ संस्थागत गर्नेतिर गगन नेतृत्वको कांग्रेस लाग्नुपर्छ । गगनले बाम्बार अब गुटको अन्त्य हुने बताउँदै आएका छन् । अब त्यो कार्यकर्ता पंक्तिले अनुभूत हुने गरी अन्त्य हुनुपर्छ । कार्यक्षमता र योग्यताका आधारमा पार्टीको पुनर्गठन गर्ने, नयाँ पुस्तालाई निर्णायक भूमिका दिने र सबैभन्दा महत्त्वपूर्ण कुरा, पार्टीबाट बहिर्गमनको नीति पनि बनाउन सक्नुपर्छ ।
कांग्रेसमा उमेर मात्रै होइन, ऊर्जा र योग्यताका हिसाबले पनि धेरै नेताहरू असान्दर्भिक भइसकेका छन् । अनुशासन उल्लंघनका आरोपीहरू पनि यहीभित्र छन् ।कांग्रेसमा उमेर मात्रै होइन, ऊर्जा र योग्यताका हिसाबले पनि धेरै नेताहरू असान्दर्भिक भइसकेका छन् । अनुशासन उल्लंघनका आरोपीहरू पनि यहीभित्र छन् । ती सबैथरी प्रवृत्तिको बहिर्गमनको योजना र नीति कांग्रेस नेतृत्वसँग हुनुपर्छ । यसमा पनि गुट वा नेतानजिक होइन, उमेर, कार्यकाल, कार्यक्षमताका आधारमा गरिनुपर्छ ।
पाँचौं, कांग्रेसको यो नेतृत्वले सुशासन र भ्रष्टाचारका विरुद्ध कडा अडान राख्न सक्नुपर्ने छ । मुद्दा बोकेर पुग्दैन, ‘एक्सन’ मै जाने नेतृत्व कांग्रेसको आवश्यकता हो । कांग्रेससँग जनमत टुट्नु र यसको विश्वसनीयता ओर्लिनुको मुख्य कारण यो पार्टी नेतृत्वले सुशासन दिन सकेन भन्ने हो । अझ लामो समय राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति शेरबहादुर देउवामाथि आर्थिक अनियमितताको गम्भीर आरोप छ ।
अहिले नै पनि सरकारले देउवा र उनकी पत्नी आरजु देउवालाई पक्राउ पुर्जी जारी गरेको छ । जेन–जी आन्दोलनका बेला उनका घरमा जलेको अवस्थामा भेटिएका नोटहरूले अनेक आशंका र प्रश्न उठाएको छ । अरू नेताहरू पनि प्रश्नको घेरामा छन् ।
यो पृष्ठभूमिमा कांग्रेसको यो नेतृत्वले सुशासनका पक्षमा मुद्दा अघि सारेर मात्रै पुग्दैन । एक्सनमै जान सक्नुपर्छ । यतिबेला त्यो एक्सन भनेको कम्तीमा पार्टीभित्र भ्रष्टाचार आरोप लागेका नेताहरूलाई जिम्मेवारीमुक्त गर्ने र केन्द्रीय सदस्यसहित पदाधिकारी र आफ्ना सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने हुन सक्छ । यति मात्रै गर्न सके पनि त्यो पारदर्शिता र जवाफदेहिताको पक्षमा एउटा महत्त्वपूर्ण कदम हुनेछ ।
छैटौं, जेन–जी आन्दोलन र हालै सम्पन्न चुनावपछि नेपाली राजनीतिको शक्ति संरचनामा ठूलो फेरबदल आएको छ । स्थापनाको चार वर्ष पनि नपुगेको नवोदित पार्टीले प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट ल्याएको छ । कांग्रेस लगायतका पुराना पार्टीहरू निकै खुम्चिएका छन् । नयाँ पुस्तासँग यी पार्टीहरू करिब–करिब सम्बन्ध विच्छेद भएजस्तै अवस्था छ । जेन–जी आन्दोलनपछि गगनले यो पुस्तासँग आफूलाई जोड्ने निकै प्रयत्न गरे ।
२३ र २४ भदौको घटनामा आत्मआलोचित हुँदै किशोरपंक्तिसँग जोडिने प्रयास गरे । त्यसक्रममा उनले जेन–जी पुस्तालाई सम्बोधन गरेर अनेक पटक भिडियो सन्देशहरू पनि जारी गरे । तर, चुनावमा यो पुस्ता कांग्रेसतिर आकर्षित भएन । पछिल्लो प्रयत्नमा भएका आफ्ना कमजोरीको समीक्षा गर्दै गगन नेतृत्वको कांग्रेसले यो पुस्तासँग पार्टीको साइनो जोड्ने कामलाई प्रधानता दिन सक्नुपर्छ ।
सातौं, कांग्रेसले आफ्नो भूमिका सशक्त देखाउने महत्त्वपूर्ण मञ्च हो, संसद् । संसद्मा सांसद संख्या कम भए पनि कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । आमवृत्तमा संसद्मा प्रतिपक्षी आवाज को हुन सक्ला भनेर हेरिरहँदा धेरैको नजर श्रम संस्कृति पार्टीका हर्क सम्पाङतिर परेको छ । यो बेला कांग्रेसले सदनमा आफ्नो भूमिका सिद्ध गर्ने चुनौती छ । मुलुकले शक्तिशाली जनमतसहितको सरकार पाएको छ । शासकीय सुधारका नाममा उनले सुरुवाती दिनहरूमा देखाएका हडबडी र अपरिपक्वताले एउटा बलियो प्रतिपक्षको आवश्यकताबोध हुन थालिसकेको छ । कांग्रेसको यो नेतृत्वले यसतर्फ पनि ध्यान दिनुपर्नेछ ।
आठौं, सबैभन्दा मुख्य विषय, कांग्रेसले असोजमा पन्ध्रौं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । त्यसकारण अहिले आन्तरिक शक्ति सन्तुलन र सबैलाई खुसी पार्छु भन्नेतिर नेतृत्व लाग्नुभन्दा पन्ध्रौं महाधिवेशनलाई परिस्कृत कांग्रेस निर्माण गर्न सक्ने ऐतिहासिक पानीढलो बनाउनेतिर केन्द्रित हुनु उचित हुन्छ । अहिले तल्लो तहबाटै पार्टी सुधारका लागि चलाएको जरा अभियानलाई निरन्तता दिँदै पन्ध्रौं महाधिवेशनबाट आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न सकेमा कांग्रेसमा भएको नेतृत्व रूपान्तरणले सार्थकता पाउनेछ ।
यतिबेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको एउटा अभिव्यक्ति स्मरणीय छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले अपेक्षाभन्दा धेरै पराजय भोगेपछि कोइराला ‘पार्टी एकता ब्लन्डर भएछ’ भनेर पछुताएका थिए । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकीकरण भए पनि यी भिन्न गुटहरूबीच भावनात्मक एकता हुन सकेको थिएन । अहिले पनि राजनीतिक, वैचारिक, कार्यक्रमिक वा भावनात्मक एकता होइन, गुटहरूको व्यवस्थापन गर्ने नाममा एकताको बाँसुरी फुकिँदै छ । तर, अहिलेको अहम् प्रश्न पार्टी एकता अथवा गुट व्यवस्थापन होइन, व्यापक रूपान्तरणसहित नयाँपन भएको कांग्रेस कसरी निर्माण गर्ने ? सायद यो बेला गगनको सबैभन्दा ठूलो चुनौती फनि यही हो ।
