अमेरिका–चीनको प्रतिस्पर्धा ती राष्ट्रको रणनीतिक संस्कृतिमा निर्भर हुनेछ । अमेरिका दबाब, सैन्य गठबन्धन र आर्थिक प्रतिबन्धमार्फत अघि बढिरहेको छ । चीन भने आर्थिक सञ्जाल, व्यापार र कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वमै प्रभावशाली बन्दै छ ।
What you should know
विश्व राजनीतिलाई प्रभावकारी बिम्बमा बुझाउन कहिलेकाहीं खेलका रूपक प्रयोग गरिन्छ । वर्तमान समयमा अमेरिका–चीनबीच बढ्दो रणनीतिक प्रतिस्पर्धा बुझ्न चेस र वेई–छी (जसलाई गो पनि भनिन्छ) बीचको तुलना अर्थपूर्ण हुन सक्छ ।
वेई–छीको अर्थ हुन्छ– घेराबन्दी गर्नु । ३ सय ६१ वटा प्रतिच्छेद (इन्टरसेक्सन) भएको ठूलो बोर्डमा खेलिने यो खेलमा दुवैतर्फ राजा, रानी वा पदानुक्रम हुँदैन । गोटीका रूपमा प्रयोग हुने सबै ढुंगा बराबरै हुन्छन् । चेसमा सबै गोटी एकै पटक बोर्डमा निकाल्नुपर्छ, तर वेई–छीमा गोटीको आवश्वकता अनुसार मात्रै निकालिन्छ ।
खेलको उद्देश्य हुन्छ– प्रतिद्वन्द्वीको गोटी नष्ट गर्नु होइन, बरु क्रमशः आफ्नो प्रभाव फैलाउँदै धेरै भूभाग घेराबन्दी गर्नु । नेपालमा खेलिने बाघचालका केही गुण वेई–छीसँग मिल्छ । तर, बाघचाल सानो घेरामा र २४ गोटीसहित खेलिन्छ । यसको परिधि वेई–छीको भन्दा निक्कै कम हुन्छ । अब यहाँ भन्नै पर्दैन, परिधि सानो हुनु भनेको प्रयोग हुने रणनीति पनि कम हुनु हो ।
हेनरी किसिन्जर, जसले २० औं शताब्दीमा अमेरिकाको एक प्रमुख र प्रभावशाली रणनीतिकारको परिचय बनाएका थिए । उनले चेस र वेई–छीबारे सन् २०११ मै प्रकाशन भएको आफ्नो पुस्तक ‘अन चाइना’ मा वर्णन गरेका छन् ।
वेई–छीका खेलाडीले बोर्डमा देखिएका गोटी मात्रै होइन, विपक्षीले थप्न सक्ने सम्भावित सुदृढ बलको पनि आकलन गर्न सक्छ । चेस खेलले भने क्लाउजभिट्जको ‘गुरुत्त्वाकर्षणको केन्द्र’ र ‘निर्णायक बिन्दु’ जस्ता अवधारणालाई सम्झाउँछ । खेल प्रायः बोर्डको बीचभाग कब्जा गर्ने संघर्षबाट सुरु हुन्छ । युद्धसम्बन्धी उनको मुख्य दुई धारणा छ– शत्रुको शक्तिको मुख्य स्रोत पहिचान गर्ने र त्यस मुख्य केन्द्रलाई आक्रमण गरी नष्ट पार्ने ।
त्यही रणनीति अनुसार, भेनुजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै निवासबाट बन्दी बनाएर अमेरिका लैजाँदा देश नै अमेरिकाको नियन्त्रणमा गएको देखिन्छ । इरानसँग हाल अमेरिकाको युद्धविरामको अवस्था छ । इरानका प्रमुख नेता आयतुल्ला अली खामिनीको हत्यापछि पनि इरानलाई नै नियन्त्रणमा लिन नसक्दा युद्धको परिणाम अमेरिकाको पक्षमा नआउने सम्भावना प्रबल छ ।
अमेरिका–चीनको प्रतिस्पर्धा कसरी खेलिन्छ ? यो विषय राष्ट्रको रणनीतिक संस्कृतिमा निर्भर हुन्छ । अमेरिकाले प्रायः प्रत्यक्ष दबाब, सैन्य गठबन्धन र आर्थिक प्रतिबन्धमार्फत अघि बढ्ने प्रयास गरेको देखिन्छ ।अमेरिकी राजनीतिशास्त्री रबर्ट डाहलले शक्तिलाई सम्बन्धात्मक र व्यवहारात्मक अवधारणाका रूपमा परिभाषित गरेका छन् । उनी शक्तिबारे लेख्छन्– ‘क’ ले ‘ख’ माथि त्यति हदसम्म मात्रै शक्ति राख्छ, जुन हदसम्म उसले ‘ख’ लाई त्यस्तो काम गर्न लगाउन सक्छ । जुन काम ‘ख’ ले अन्यथा गर्ने नै थिएन ।
डाहलको शक्तिको व्याख्या अनुसार, अहिलेको अमेरिकालाई ‘क’ र अन्य देशलाई ‘ख’ मानौं । भेनेजुएला र इरानमाथि विगतमा अमेरिकाले बोलेकै भरमा काबुमा राख्ने स्थिति थियो । अहिलेका केही विशिष्ट दृष्टान्तहरूले त्यो स्थिति अब क्षीण हुँदै गएको देखाउँछ । कारण हो– ती देशहरूको सरहदमा अमेरिका उत्रिनै बाध्य भएको हो कि ! त्यसो त परिवर्तित परिस्थितिमा पेट्रो–डलरको दबदबा बढाउनुपर्ने चुनौती पनि अमेरिकासँग छँदै थियो ।
अमेरिकाको प्रतिस्पर्धी राष्ट्र हो– चीन । ताइवानसँगको चीनको सम्बन्ध पछिल्ला केही दशकदेखि तनावपूर्ण छ । अलि अघिसम्म केही पश्चिमा विश्लेषकहरू सन् २०२७ मा चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँथे । त्यो विचारमा उनीहरू अहिले सम्भवतः अडिग छैनन् । सन् १९४९ मा चीन स्वतन्त्र भएसँगै ताइवानसँग उसको सम्बन्ध राम्रो छैन । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ, ताइवानचाहिँ आफूलाई स्वतन्त्र राष्ट्र दाबी गर्छ ।
अप्रिल १० मा चीनको राजधानी बेइजिङमा ताइवानकी प्रमुख प्रतिपक्ष दलकी नेताले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरिन् । त्यस भेटलाई ‘बीसीसी विश्व सेवा’ ले दुर्लभ भेटवार्ताको संज्ञा दिएको थियो । दुई देशबीच युद्धको अवस्था आउन सक्ने आकलनबीच ताइवानकी प्रमुख प्रतिपक्षी दलकी नेतृ चेंग ली वुनले पछिल्लो १० वर्षमा पहिलो पटक चीन भ्रमण गरेकी थिइन् ।
सन् २०१६ मा सत्तारूढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ की नेता साई इङ वेन राष्ट्रपति बनिन् । त्यसपछि उनले एक चीन अवधारणालाई समर्थन नगर्ने बताएसँगै बेइजिङले ताइवानसँगको उच्चस्तरीय सम्पर्क तोडेको थियो ।
चीन र ताइवानबीचको एक उच्चस्तरीय भेटले समस्याको निराकरण गर्छ भन्न त सकिँदैन । तर, विश्वको शक्तिशाली देश अमेरिका विपक्षीहरूसँग युद्धमा जाँदा प्रतिस्पर्धी चीनले फरक बाटो अपनाउने प्रयास चाहिँ गरिरहेकै देखिन्छ । यसलाई वेई–छी खेल रणनीतिकै एक हिस्सा भन्न पक्कै सकिन्छ ।
यी घटनालाई चेस र वेई–छी खेलको सिद्धान्तको आँखाबाट हेरौं । कुशल चेस खेलाडीले प्रतिद्वन्द्वीका गोटीलाई भिडन्तमा एक–एक गरी हटाउन खोज्छ । वेई–छीका खेलाडीले बोर्डका खाली ठाउँमा आफ्नो स्थान बनाउँछन् । यसरी वेई–छीका खेलाडीहरू विपक्षीका गोटीको रणनीतिक प्रभाव कमजोर बनाउँछन् ।
चिनियाँ रणनीतिक परम्परा दीर्घकालीन सोच, अप्रत्यक्ष दबाब र अनावश्यक टकरावबाट बच्ने सिद्धान्तमा आधारित छ । प्राचीन चिनियाँ रणनीतिकार सुन चु आफ्नो प्रसिद्ध कृति ‘द आर्ट आफ वार’ मा लेख्छन्, ‘युद्धको सर्वोच्च कला हो– लडाइँ नै नगरी शत्रुलाई वशमा पार्नु ।’
यो प्राचीन विचार वेई–छीको दर्शनसँग मेल खान्छ । प्रतिद्वन्द्वीलाई तुरुन्तै परास्त गर्नु होइन, बरु चारैतिरबाट घेराबन्दी गर्ने अनि विकल्पहरू घटाउँदै लैजाने– यही नै युद्धको मुख्य रणनीति हुन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तले यो प्रतिस्पर्धा बुझ्न मद्दत गर्छ । अमेरिकी विद्वान् जोन जे. मियरसाइमरले प्रतिपादन गरेको ‘अफेन्सिभ रियालिजम’ अनुसार, अन्तर्राष्ट्रिय प्रणालीमा कुनै सर्वोच्च प्राधिकारी नभएकाले शक्तिशाली राष्ट्रहरू सधैं प्रभाव विस्तार गर्न खोज्छन् । मियरसाइमर भन्छन्– चीनको उदयले स्वाभाविक रूपमा अमेरिकासँग प्रतिस्पर्धा जन्माउँछ । २०१४ मा प्रकाशित मियरसाइमरको पुस्तक ‘द ट्र्याजेडी अफ ग्रेट पावर पोलिटिक्स’ ले ‘अफेन्सिभ रियालिजम’ का मुख्य पाँच आधार दिन्छ । किताबले अमेरिका–चीनबीचको प्रतिस्पर्धाबारे पनि भन्छन् ।
अमेरिका–चीनको प्रतिस्पर्धा कसरी खेलिन्छ ? यो विषय राष्ट्रको रणनीतिक संस्कृतिमा निर्भर हुन्छ । अमेरिकाले प्रायः प्रत्यक्ष दबाब, सैन्य गठबन्धन र आर्थिक प्रतिबन्धमार्फत अघि बढ्ने प्रयास गरेको देखिन्छ । चीनचाहिँ धेरैजसो आर्थिक सञ्जाल, व्यापार र कूटनीतिक सम्बन्ध विस्तार गरेर प्रभाव बढाउँछ ।
अमेरिकाको रणनीति प्रायः चेस खेलजस्तै देखिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनविरुद्ध ठूला व्यापारिक कर, प्रविधि निर्यातमा प्रतिबन्ध र चिनियाँ कम्पनीलाई पश्चिमी बजारबाट अलग गर्ने प्रयास गरिरहेको छ । यस प्रकारका कदमको उद्देश्य हुन्छ– प्रतिद्वन्द्वीको महत्त्वपूर्ण क्षमतालाई कमजोर पार्नु ।
अमेरिकाले ‘नेटो’ जस्ता सैन्य गठबन्धन तथा ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा साझेदार विस्तार गरेर चीनलाई रणनीतिक रूपमा सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ । अमेरिकाले नै विश्व बजारको दुर्लभ खनिज पदार्थमा चीनको एकाधिकार तोड्न डिसेम्बर २०२५ मै ‘प्याक्स सिलिका’ पनि गठन गरेको छ ।
इरानसँग जोडिएको तनावले पनि यी फरक रणनीतिबारे स्पष्ट चित्र देखाउँछन् । अमेरिकाले लामै समयदेखि आर्थिक प्रतिबन्ध र सैन्य दबाबमार्फत इरानलाई सीमित पार्न खाजेको थियो । विशेषगरी अमेरिका चाहन्थ्यो– आणविक हतियारमा इरानको पहुँच नहोस् ।
चीनले चाहिँ फरक बाटो अपनाएको छ । बेइजिङले एकातिर इरानसँग आर्थिक सम्बन्ध विस्तार गरेको छ भने अर्कोतर्फ साउदी अरब र खाडीका अन्य देशसँग पनि निकट सम्बन्ध कायम राखेको छ । सन् २०२३ मा भएको इरान–साउदी अरब समझदारीमा चीनको भूमिका यही रणनीतिक लचकताको उदाहरण मानिन्छ । वेई–छीको भाषामा, चीनले एउटै क्षेत्रका विभिन्न ठाउँमा ढुंगाहरू राखेर आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।
चेस र वेई–छीको तुलना विश्व राजनीतिलाई पूर्ण रूपमा व्याख्या गर्ने साधन होइन । तर, यसले अमेरिका र चीनबीचको रणनीतिक भिन्नता बुझ्न प्रभावकारी रूपकचाहिँ अवश्य प्रदान गर्छ ।
यदि वेई–छीको रूपक सही ठहरियो भने यस प्रतिस्पर्धाको परिणाम ठूलो निर्णायक घटनाबाट तय हुनेछैन । बरु, विश्वका विभिन्न भू–राजनीतिक ‘प्रतिच्छेद’ हरूमा कसले बढी प्रभाव कायम गर्छ ? यो विषय अब विस्तारै सतहमा तैरिनेछ ।
अन्ततः २१ औं शताब्दीको शक्ति सन्तुलन कसले बढी भूभाग, सम्बन्ध र विकल्पमा अधिक नियन्त्रण गर्छ भन्ने विषयले निर्धारण गर्न सक्छ– राजालाई चेकमेट गरेर होइन, सम्पूर्ण बोर्डलाई घेराबन्दी गरेर ।
(पौडेल दि काठमान्डु पोस्टका संवाददाता एवं अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी हुन्)
