धर्मको सार्वजनिक उपस्थितिको विरोध होइन, बरु ‘त्यो धर्म मेरो पनि हो’ भन्नु धर्मको राजनीतिकरण गर्दै सत्ता हत्याउने धार्मिक राष्ट्रवादलाई कमजोर बनाउनु हो ।
वालेन्द्र शाहको शपथ ग्रहण समारोहको धार्मिक अनुष्ठानले कतिलाई हाइसञ्चो भएको छ, कतिलाई टाउको दुखाइ । तर आम नेपालीलाई भने यो एउटा अनौठो रमिता भने पक्कै भएको छ । किनभने यतिविघ्न बटुक र बौद्ध भिक्षु एकै ठाउँमा उभिएर स्वस्तिवाचन गरेको तिनले पहिलो पटक देखेका होलान् ।
बालेन चोटिला, चोखिला र्याप गीत मात्र कोर्दैनन्, उनी स्वयं कविता बनेका छन्, जसलाई बिना व्याख्या बुझ्न गाह्रो छ । व्याख्या किन पनि आवश्यक छ भने उनी सबैका आशाका केन्द्रका रूपमा प्रधानमन्त्री भएका छन् र उनको दल झन्डै दुईतिहाइ बहुमतसहित प्रतिनिधिसभामा उपस्थित छ ।
नौ शंख ध्वनि, १०८ बटुकद्वारा वेदोच्चारण र १०७ भिक्षुको स्वस्तिवाचन नाटकीय मञ्चन (परफर्मेन्स) अवश्य हो तर यसलाई यत्तिकैमा सीमित पार्नु अधुरो हुन्छ जान्छ । यसलाई एउटा नेपालीले आफ्नो र आफ्नो परिवार, परिवेश, संस्कारको व्यक्तिगत अभिव्यक्ति पनि मान्न सकिन्छ । तर यो धार्मिक आध्यात्मिक अभिव्यक्ति अनौठो किसिमको किन भयो भने, यो कुनै धार्मिक मोडलसँग मेल खाँदैन । नेपालसहित दक्षिण एसियाको राजनीतिमा राजनीतिक अभिव्यक्ति विभिन्न किसिमले देखापरेका छन् । एउटा, भारतको भारतीय जनता पार्टीको हिन्दुत्ववादी मोडललाई लिन सकिन्छ, जसको रूप बर्मा र श्रीलंकामा राजनीति गर्नेले बौद्ध र पाकिस्तानमा जेनेरल जियाउल हकले ल्याएको इस्लाम धर्मसँग राष्ट्रलाई जोड्ने प्रवृत्तिसँग मिल्छ । यसका अरू उदाहरण पनि छन् । जस्तै, अमेरिकामा हालै ट्रम्पकालमा क्रिस्चियन राष्ट्रवादको उदय, इरानको आयातुल्ला मोडल, अफगानिस्तानको तालिबानी मोडल र कतिपय मुस्लिम बाहुल्य मुलुकका इस्लामिक मोडल । यी सबै राजनीतिक धार्मिकता (पोलिटिकल रिलिजिओसिटी) का उदाहरण हुन् ।
जहाँजहाँ यस्तो व्यवस्था वा प्रवृत्ति छ, जहाँ बहुसंख्यकको धर्मलाई राज्यसँग गाँसिएको छ वा गाँस्ने प्रयास गरिएको छ, त्यहाँ त्यहाँ अल्पसंख्यक धर्मावलम्बीमाथि विभेद र हिंसाका घटना सामान्य भएका छन् । यस्ता ठाउँमा आफ्नै धर्मावलम्बीहरूलाई धार्मिक ग्रन्थमा उल्लिखित ‘पाषाण’ युगीन संहिताअनुसार दण्डसजाय गरेर वर्चस्वशाली लिंग र समूहले सत्ता र शक्ति आफ्नो हातमा राखी समाज व्यवस्थापन गरेको देखिन्छ । साउदी अरबमा कुरानमा आधारित सरिया, नेपालमा जंगबहादुरद्वारा जारी सन् १८५४ को मनुस्मृतिमा आधारित मुलुकी ऐन र बेलायतमा पहिला बाइबलमा आधारित दण्ड संहिता, पछि प्रोटेस्टेन्ट विभाजनपछि हेनरी आठौंले अँगालेको एङ्लिकन चर्चको सिद्धान्तले गर्दा केथोलिकहरूलाई जेलनेलदेखि मृत्युदण्डसम्म अनेकौं विभेदका उदाहरण इतिहासमा देखिन्छन् । युरोपमा राज्यसँग धर्म गाँसिएकाले सयौं वर्ष राज्य–राज्यबीच धर्मका नाममा युद्ध भयो र आठौं शताब्दीसम्म एउटै राज्यभित्र पनि इसाई धर्मभित्रै अरू पन्थ (डिनोमिनेसन) का धर्मावलम्बीमाथि अत्याचार र दमन जारी रह्यो ।
बेलायतबाट अमेरिका बसाइँसराइ गरेर आएका १६२० पछिका प्युरिटन (पवित्रतावादी कट्टरपन्थी) र तिनका सन्तानहरूले गैरइसाई आदिवासीमाथि अत्याचार त गरे–गरे, आफ्नै धर्मभित्र पनि धार्मिक मामिलामा फरक मत राख्ने रोजर विलिम्स र एन हचिन्सन जस्ता विद्वान्–विदुषीलाई आफ्नो कलोनीबाट खेदे । त्यसको परिणामस्वरूप रोजर विलिम्स र पछि सत्रौं शताब्दीको उत्तरार्धमा जान लकले राजाको दैविक शक्तिको अधिकार (डिभाइन राइट्स) को आलोचना गर्दै लोकतन्त्रसँगै धार्मिक सहिष्णुताको सिद्धान्त प्रतिपादन गरे । अठारौं शताब्दीसम्म आइपुग्दा युरोपका इन्लाइटनमेन्ट दार्शनिक रुसो, ह्युम, वाल्टेयर, दिदरो आदिले धर्मको विरोध गरेर आधुनिकता (मोडर्निटी) को सिद्धान्त प्रतिपादन गरे, जसलाई हामी युरोपेली इन्लाइटेनमेन्ट भन्छौं । यही सिद्धान्तलाई अमेरिकाका राजनीतिक राष्ट्रपिताहरू (जेफरसन, फ्र्याङ्कलिन आदि) ले डिइज्म पथ (प्रकृतिजन्य ईश्वर मान्ने तर कुनै एउटै बाटो, धर्मग्रन्थ वा पैगम्बर नमान्ने) अँगाले र चर्च (धर्म) र राज्यबीच दूरीको सिद्धान्त संविधानमा लागू गरे । फ्रान्सेली क्रान्तिपछि त्यहाँ अझ कट्टर धर्मनिरपेक्षता अँगालियो, जसले सार्वजनिक स्थलमा कुनै पनि धार्मिक पहिरन वा आचरणलाई निषेध गर्यो, जो आजपर्यन्त कायम छ । नेपालको सन् २०१५ को संविधानको धर्मनिरपेक्षता र खास गरी बालेनको शपथ ग्रहणको धार्मिकतालाई बुझ्न यो धार्मिकता र धर्मनिरपेक्षताको संक्षिप्त इतिहासलाई बुझ्न आवश्यक छ ।
एकातिर तानाशाही (ओथोरिटरियन) कम्युनिस्टहरूले सोभियत रुस र चीनमा माथिबाट नास्तिकवाद राज्यको शक्ति लगाएर लागू गरे भने उता टर्किएका कमालपासा, इराकका सद्दाम हुसैन, इजिप्टका नसर, ट्युनिसियाका बुर्गिभा र पछि बेन अली जस्ता सैनिक तानाशाहहरूले सैन्यबल लगाएर जबर्जस्ती धर्मनिरपेक्षता थोपरे । सन् २००० मा दाह्री–जुँगा भएको म कन्फेरेन्समा भाग लिन ट्युनिसिया जाँदा ट्युनिसमा म जस्तो दाह्रीवाल कोही नदेखिएको मात्र होइनन् कि मलाई त्यहाँका पसलेहरूले समेत आँखा तन्काएर हेरेका थिए– पाकिस्तानी तालिबान हो कि भनेर । र, मेरो होटलको कोठा मेरो अनुपस्थितिमा खोतलखातल मात्र गरेनन्, मेरो ब्यागका सामान पनि कोठाभरि छरपस्ट पारिएको थियो । साँझ फर्किंदा त्यस्तो दृश्य देखेपछि मैले ‘हाउस किपिङ’ले गरेको हुन सक्ने ठानें र पछि सोधौंला भनेर टारें । अनि मात्र मलाई लाग्यो, मलाई अमेरिकाबाट भिसा दिनमा ढिलाइ किन गरे ? एयरपोर्टबाट निस्कनेबित्तिकै ‘क्लिन कट्’ कपाल भएको एउटा युवकले ट्याक्सीको अगाडि ड्राइभरको छेउमा बसेर किन सोधपुछ गर्यो ? पछि राजधानीबाट चार घण्टाको यात्रापछि कारवान सहरमा जाँदा मोफसलका पसले र आम मानिसले मलाई आफ्नै भुलेबिर्सेको नातेदार जस्तो स्वागत किन गरे ? सरकारी कडा आँखा नभएको मोफसलमा दाह्री भएको मानिस हेर्न ती लालायित थिए भन्ने भान हुन्थ्यो । ट्युनिसियामा सैनिक शासक बेन अलीले दाह्रीविरुद्ध उर्दी जारी गरेको पछि मात्रै थाहा भयो ।
तर लोकतन्त्रमा भने धर्मनिरपेक्षता दुई किसिमले देखा परेको छ । एउटा कट्टर र अर्को समावेशी । भारतमा नेहरूको धर्मनिरपेक्षता उनको बेलायती फेबियन समाजवादी वैचारिक र दार्शनिक दृष्टिकोणबाट जन्मेको थियो, जो फ्रान्समा सन् १७८९ को फ्रान्सेली क्रान्तिको कट्टर धर्मनिरपेक्षतासँग मिल्दोजुल्दो थियो । किनभने यो पनि इन्लाइटेनमेन्ट दार्शनिकहरूको धर्मविरोधी दर्शन र फ्रान्सेली क्रान्तिमा सम्भ्रान्त वर्गसँगको गठजोड भएको धर्मले गरेको शोषणको तीतो अनुभवबाट जन्मेको थियो । तर महात्मा गान्धीको धर्मनिरपेक्षता भने सर्वधर्म समभावबाट जन्मेको थियो । उनको दक्षिण अफ्रिकामा मुसलमान, यहुदी र इसाईहरूसँगको अभिन्न मित्रता र सहकार्यले गर्दा त्यस्तो धारणा बनेको हो । गान्धीको धर्मनिरपेक्षतालाई अमेरिकी सहिष्णु धर्मनिरपेक्षतासँग दाँज्न सकिन्छ, किनभने अमेरिकाको स्थापना नै धार्मिक स्वतन्त्रताका लागि भएको थियो ।
तर आज संसारका प्रायः सबै ठाउँमा धर्मनिरपेक्षता संकटमा छ । भारतमा हिन्दु राष्ट्रवाद (हिन्दुत्ववाद) को उदय, टर्किएमा इस्लामिक दलको सत्ता, अमेरिकामा क्रिस्चियन राष्ट्रवादको ट्रम्पकालमा दह्रो उदय आदिले के देखाएको छ भने धर्मनिरपेक्षता माथिबाट थोपरिएकाले आम मानिसले यसलाई बुझ्न नसकेको हुन सक्छ । फलस्वरूप दक्षिणपन्थी धार्मिक राष्ट्रवादी दलले वा समूहले धर्म, संस्कृति र राष्ट्र खतरामा छ भन्ने नारा दिएर आम मानिसलाई तर्साउन सफल भएका छन् र त्यसका नाममा राजनीति गरेका छन् । यस हिसाबले हेर्दा तालिबानी धर्म सापेक्षता एउटा अति हो भने नास्तिकवाद र धर्मविरोधी कट्टर धर्मनिरपेक्षता अर्को अति हुन पुगेको छ । यी दुवै आम जनतासँग मेल नखाएकाले धार्मिक राष्ट्रवादले अनेकौं मुलुकमा राजनीतिक स्पेस बनाउन सफल हुँदै गएको छ । हो, व्यक्तिगत रूपमा प्रबुद्ध कोही व्यक्ति नास्तिक वा धर्मप्रति उदासीन हुनु अर्कै विषय हो, तर सामाजिक वा राष्ट्रिय हिसाबले धर्मविरोधी हुनु भनेको आम जनतालाई धार्मिक राष्ट्रवादीतर्फ धकेल्नु त होइन ? भनेर हामीले आफूलाई सोध्ने बेला भएको छ ।
त्यसैले तेस्रो विकल्पले पो काम गर्छ कि भनेर सोच्ने बेला भएको छ । त्यो तेस्रो विकल्प हो, मानवशास्त्रीय धार्मिकताको सार्वजनिक सम्मान । वालेन्द्रले शपथ ग्रहणका बेला यही धार्मिकता प्रदर्शन गरेको भान हुन्छ । आम मानिसमा केही न केही आस्था हुन्छ । त्यो आस्था जीवन चक्रमा— जन्म, विवाह, मरन, चाडबाड, अनुष्ठान– मानिसका विभिन्न कार्यमा सँगै हुन्छ र सहारा बन्छ । यस्तो धार्मिक उपस्थितिलाई सम्मान गर्दा मात्रै दक्षिणपन्थी धार्मिक राष्ट्रवादलाई रोक्न सकिन्छ कि भन्ने सोच्नुपर्ने भएको छ । यस मानेमा धर्मको सार्वजनिक उपस्थितिको विरोध होइन, बरु त्यो धर्म मेरो पनि हो र त्यसमाथि मेरो पनि दाबी छ भन्नु धर्मको राजनीतीकरण गर्ने र धर्मको नारा दिएर सत्ता हत्याउने धार्मिक राष्ट्रवादको टायरको हावा खुस्काउनु हो । र, आम जनतालाई यो पनि भन्नु हो कि यो धर्म हाम्रो हो र हाम्रोमा एउटा मात्र धर्म नभई अनेकको धर्मलाई स्थान छ भन्नु पनि हो ।
नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासमा सन् २०१५ देखि यिनै धर्मनिरपेक्षताका रूपहरू व्यवहारमा देखापरेका छन् । माओवादी कम्युनिस्टहरू पितृको श्राद्ध पनि नगर्ने धर्मनिरपेक्षतामा पर्छन् भने वालेन्द्र शाह धर्मभिरु मानिसका आदिम आध्यात्मिक आस्था हुन्छन् भन्ने दृष्टिले हिन्दु–बौद्ध स्वस्तिवाचन र घर सर्ने बेला पूजाआजा र लिम्बूहरूको धार्मिक आस्थाको प्रतीक सिलाम साक्मा भिर्छन् र मुसलमानको इदमा सँगै बसेर इफ्तार गर्छन् र इद मनाउँछन् । रवि लामिछानेले संसद्को पहिलो सत्रमै सरकारका तर्फबाट हजारौं वर्षदेखि विभेदभित्र पिल्सिएका दलितसँग माफी माग्छन्, जुन काम हाम्रा कांग्रेसी र कम्युनिस्टहरूले कहिल्यै गर्ने कल्पना गरेनन् । यी सब एउटा नयाँ किसिमले, मानवशास्त्रीय किसिमले धर्मनिरपेक्ष हुने मौलिक प्रयोग र अभ्यास हुन सक्छ । किनभने धार्मिकताले एकातिर भित्र र बाहिर विभेद र प्रताडना सिर्जना गरेको छ, हामी र अरूबीच खाल्डो खनेको छ भने अर्कोतिर यसले निरक्षर मानिसलाई पनि ठीक–बेठिक, न्याय–अन्यायबारे नैतिक बोध पनि गराएको छ । जीवनमा आइपर्ने ठूला समस्या र प्रश्नसँग सामना गर्ने शक्ति र उत्तर खोज्ने उत्सुकता पनि प्रदान गरेको छ । अनि संस्कृति र सभ्यता निर्माणमा (स्थापत्यकला, मूर्तिकला, चित्रकला, साहित्य र यस्तै अनेकौं सभ्यताका मानक) योगदान गरेको छ । काठमाडौंमा मेयरका रूपमा त्यहाँको संस्कृति–मन्दिर, पाटीपौवा, पोखरी आदिको संरक्षणको अनुभव पनि त छ, वालेन्द्रसँग ।
तर धर्मनिरपेक्ष संविधान भएको मुलुकमा धार्मिक परम्परा सार्वजनिक समारोहमा अँगाल्नु धर्मनिरपेक्षताको नयाँ प्रयोग हुन सक्छ । तर अमेरिकामा राष्ट्रपतिले शपथ ग्रहण धर्मग्रन्थमा हात राखेर गर्नु र त्यसपूर्व राजधानीको केथेड्रलमा प्रार्थना गर्नु एउटा विषय हो तर भारतमा वा यस्तै अरू लोकतान्त्रिक मुलुकमा धर्मका नाममा राष्ट्रियताको परिभाषा गरेर भोटको राजनीति, कसैलाई काखा र कसैलाई पाखा पार्नु धर्मको विद्रूप रूप अँगाल्नु वा अँगाल्न खोज्नु अर्कै विषय हो । रास्वपा र वालेन्द्रको प्रयोगात्मक राजनीतिको निरन्तर व्याख्या र विश्लेषण प्रमाणका आधारमा आवश्यक छ । यो भविष्यमा मानवशास्त्रीय धर्मनिरपेक्षता पनि रहिरहन सक्छ तर चुनावी राजनीतिमा संकटका बेला दक्षिणपन्थी पनि हुन सक्छ । यसबारे धार्मिक आस्था बोकेका वा नबोकेका धर्मनिरपेक्ष नागरिकले सचेत हुनुका साथै खबरदारी गरिरहनु आवश्यक हुन्छ । तर अहिलेका लागि भने शंकाको लाभ दिनु उचित हुन्छ ।
(मिश्र अमेरिकास्थित लुइस विश्वविद्यालयमा साहित्य र सिद्धान्त विषयका प्राध्यापक हुन्)
