नेपालको अस्तित्व सिद्धान्त : बाह्य सन्तुलन र आन्तरिक सुदृढता

नेपालको दीर्घकालीन सुरक्षा र समृद्धि दुई परस्पर सम्बन्धित आयामहरूमा निर्भर हुन्छ— बाह्य रणनीतिक सन्तुलन र आन्तरिक राज्य सुदृढता । बाह्य शक्तिहरूबीच सन्तुलन कायम गर्नु महत्त्वपूर्ण भए पनि त्यो सफल हुनका लागि नेपालले आफ्ना आन्तरिक संस्थाहरू सुदृढ बनाउन, रणनीतिक स्थिरता कायम गर्न र अन्तर्राष्ट्रिय विश्वसनीयता निर्माण गर्न अनिवार्य हुन्छ ।

चैत्र ३०, २०८२

बिनोज बस्न्यात

Nepal's Existence Principle: External Balance and Internal Strength

What you should know

आधुनिक इतिहासको अधिकांश कालखण्डमा नेपालको परराष्ट्र नीति विचारधाराभन्दा बढी भूगोलले निर्देशित गरेको छ । एसियाका दुई ठूला शक्तिहरू भारत र चीनको बीचमा अवस्थित नेपालले लामो समयदेखि यस्तो जटिल रणनीतिक वातावरणमा आफूलाई सम्हाल्दै आएको छ, जहाँ सावधानी, सन्तुलन र अनुकूलनशीलता अपरिहार्य हुन्छ ।

राजनीतिक वैज्ञानिक लियो ई रोजले आफ्नो प्रसिद्ध पुस्तक ‘नेपालः स्ट्राजेजी फर सर्भाइभल’ मा यस यथार्थलाई स्पष्ट रूपमा व्याख्या गरेका थिए । उनका अनुसार नेपालको कूटनीति ऐतिहासिक रूपमा एउटा प्रमुख उद्देश्यबाट निर्देशित भएको छ— शक्तिशाली छिमेकीहरूको बीचमा एक सार्वभौम राज्यका रूपमा आफ्नो अस्तित्व जोगाइराख्नु ।

आधा शताब्दीभन्दा बढी समय बितिसक्दा रोजको यो विश्लेषण आज पनि उल्लेखनीय रूपमा सान्दर्भिक देखिन्छ । तर नेपाल वरिपरिको भूराजनीतिक परिवेश भने उल्लेखनीय रूपमा परिवर्तन भइसकेको छ । एसिया आज विश्व आर्थिक वृद्धिको प्रमुख केन्द्र बनेको छ, महाशक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएको छ र क्षेत्रीय कनेक्टिभिटी पहलहरूले व्यापार मार्ग र रणनीतिक समीकरणहरूलाई पुनःपरिभाषित गरिरहेका छन् ।

आज नेपालले भारत र चीनबीच सन्तुलन कायम गर्ने परम्परागत चुनौती मात्र होइन, विश्व शक्तिहरूको सक्रियता, क्षेत्रीय पूर्वाधार परियोजनाहरू र नयाँ आर्थिक करिडोरहरूको उदयबाट सिर्जित थप जटिल रणनीतिक अवस्थालाई पनि व्यवस्थापन गर्नुपर्ने भएको छ ।

यस परिवर्तित सन्दर्भमा नेपाललाई प्रतिक्रियात्मक कूटनीतिभन्दा बढी आवश्यकता छ— स्पष्ट र दीर्घकालीन रणनीतिक दृष्टिकोणको । यसलाई २१ औं शताब्दीको ‘नेपाल अस्तित्व सिद्धान्त’ भन्न सकिन्छ । यस सिद्धान्तले एउटा आधारभूत यथार्थलाई स्वीकार गर्नुपर्छ– नेपालको दीर्घकालीन सुरक्षा र समृद्धि दुई परस्पर सम्बन्धित आयामहरूमा निर्भर हुन्छ—बाह्य रणनीतिक सन्तुलन र आन्तरिक राज्य सुदृढता । बाह्य शक्तिहरूबीच सन्तुलन कायम गर्नु महत्त्वपूर्ण भए पनि त्यो सफल हुनका लागि नेपालले आफ्ना आन्तरिक संस्थाहरू सुदृढ बनाउन, रणनीतिक स्थिरता कायम गर्न र अन्तर्राष्ट्रिय विश्वसनीयता निर्माण गर्न अनिवार्य हुन्छ ।

यस रणनीतिक परिवेश पाँच आधारभूत सिद्धान्तमा आधारित हुन्छ– रणनीतिक सन्तुलन, बहुआयामिक कूटनीति, कनेक्टिभिटीको विविधीकरण, रणनीतिक तटस्थता, र सुदृढ आन्तरिक शासन । यी सिद्धान्तहरूले बढ्दो प्रतिस्पर्धात्मक भूराजनीतिक वातावरणमा नेपालको सार्वभौमिकता सुरक्षित राख्दै अवसरहरू अधिकतम रूपमा उपयोग गर्ने मार्गदर्शन प्रदान गर्छन् ।

भारत–चीनबीच रणनीतिक सन्तुलन

नेपालको अस्तित्व सिद्धान्तको पहिलो आधारस्तम्भ भारत र चीनबीच रणनीतिक सन्तुलन कायम राख्नु हो । नेपालको भूगोलले नै सुनिश्चित गर्छ कि यी दुई छिमेकीसँगको सम्बन्ध सधैं नेपालको विदेश नीतिको केन्द्रमा रहनेछ ।

भारत आज पनि नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र अन्तर्राष्ट्रिय व्यापारका लागि प्रमुख पारवहन मार्ग पनि हो । खुला सिमाना, गहिरो सांस्कृतिक सम्बन्ध र सामाजिक अन्तरसम्बन्धहरूले यी दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाएका छन् ।

अर्कोतर्फ, चीनको तीव्र आर्थिक उभारले नेपालका लागि लगानी, पूर्वाधार विकास र व्यापारिक कनेक्टिभिटीका नयाँ अवसरहरू खोलिदिएको छ । चीनसँगको सहकार्यले नेपालको आर्थिक विकल्पहरू विस्तार गर्ने सम्भावना पनि बढाएको छ ।

नेपालका लागि चुनौती भनेको यी दुवै शक्तिसँग सम्बन्ध विस्तार गर्दा कुनै एकतर्फ रणनीतिक रूपमा झुकेको देखिन नदिनु हो । रणनीतिक सन्तुलनको अर्थ निष्क्रिय तटस्थता होइन । यसको अर्थ नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुवैसँग सक्रिय र सन्तुलित सहकार्य गर्नु हो ।

इतिहासले देखाउँछ कि नेपालले लामो समयदेखि यस्तै सन्तुलनमार्फत आफ्नो स्वायत्तता जोगाउँदै आएको छ । २१ औं शताब्दीमा पनि यही सन्तुलन नेपालको रणनीतिक अस्तित्वको आधार रहनेछ ।

बहुआयामिक कूटनीति र बहुध्रुवीय विश्व

भारत र चीनसँगको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भए पनि नेपालले आफ्नो कूटनीतिक सम्बन्ध केवल यी दुई देशमा सीमित राख्न सक्दैन । त्यसैले नेपालको अस्तित्व सिद्धान्तको दोस्रो आधारस्तम्भ बहुआयामिक कूटनीति हो, अर्थात् बाह्य साझेदारीलाई विविध बनाउने नीति ।

आजको बहुध्रुवीय विश्व व्यवस्थामा नेपालले बीसौं शताब्दीमा अपनाइएका जस्तै संयुक्त राज्य अमेरिका, जापान, रुस र दक्षिण कोरिया तथा युरोपेली संघ जस्ता देश र संस्थासँग सम्बन्ध सुदृढ गर्ने अवसर पाएको छ । यस्ता साझेदारीहरूले लगानी, प्रविधि हस्तान्तरण, विकास सहकार्य तथा विश्व बजारमा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउन सक्छन् ।

सानो राष्ट्रका लागि विविधीकृत कूटनीति रणनीतिक स्वायत्तताको महत्त्वपूर्ण उपकरण हो । विविध अन्तर्राष्ट्रिय साझेदारीले नेपाललाई आफ्नो कूटनीतिक तथा राजनीतिक प्रभावशक्ति बढाउन मद्दत गर्न सक्छ । धेरै साझेदारहरूसँग सहकार्य गर्दा नेपालले कुनै एक बाह्य शक्तिमा अत्यधिक निर्भर हुने जोखिम कम गर्न सक्छ र आफ्ना कूटनीतिक तथा आर्थिक विकल्पहरू विस्तार गर्न सक्छ ।

कनेक्टिभिटी विविधीकरण र आर्थिक रणनीति

नेपाल भूपरिवेष्टित देश भएकाले यसको आर्थिक विकास र व्यापारिक पहुँच ऐतिहासिक रूपमा सीमित रहँदै आएको छ । दशकौंदेखि नेपालको व्यापार मार्ग मुख्यतः भारतमार्फत हुने ट्रान्जिट प्रणालीमा निर्भर रहँदै आएको छ ।

यसले आर्थिक एकीकरण सम्भव बनाएको भए पनि संरचनात्मक निर्भरता पनि सिर्जना गरेको छ । त्यसैले नेपालको अस्तित्व सिद्धान्तको तेस्रो आधारस्तम्भ ‘कनेक्टिभिटी’ को विविधीकरण हो ।

रेलमार्ग, राजमार्ग, ऊर्जा करिडोर र डिजिटल पूर्वाधार जस्ता परियोजनाहरूले नेपालको भौगोलिक अवस्थालाई सीमितताबाट अवसरमा रूपान्तरण गर्न सक्छन् । उदाहरणका रूपमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ जस्ता पहलहरूले क्षेत्रीय पूर्वाधार एकीकरणको प्रवृत्तिलाई स्पष्ट देखाउँछन् । तर यस्ता पहलहरूको पछाडि रहेका राजनीतिक र रणनीतिक स्वार्थहरू नेपालको राष्ट्रिय हितसँग कत्तिको अनुकूल छन् भन्ने कुराको सावधानीपूर्वक मूल्यांकन गर्नु आवश्यक हुन्छ । भारत तथा अन्य शक्तिशाली राष्ट्रहरूसँगको कूटनीतिलाई मुख्यतः विकास र रणनीतिक पूर्वाधार निर्माणको अवसरका रूपमा बुझ्नुपर्छ, जसमा कुनै एकपक्षीय भूराजनीतिक स्वार्थ हाबी हुनु हुँदैन ।

नेपालका लागि महत्त्वपूर्ण विषय भनेको कुनै एक पहलसँग मात्र निर्भर हुनु होइन, बरु उत्तर र दक्षिण दुवैतर्फ बहुविध कनेक्टिभिटी मार्गहरू निर्माण गर्नु हो । यस्तो रणनीतिले दीर्घकालीन रूपमा नेपाललाई भूपरिवेष्टित देशबाट दक्षिण एसिया, हिमालय क्षेत्र र व्यापक एसियाबीचको स्थलसम्बद्ध पुलमा रूपान्तरण गर्न सक्छ ।

महाशक्ति प्रतिस्पर्धामा रणनीतिक तटस्थता

नेपालको अस्तित्व सिद्धान्तको चौथो आधारस्तम्भ महाशक्ति प्रतिस्पर्धाबीच रणनीतिक तटस्थता हो । आजको भूराजनीतिक वातावरणमा संयुक्त राज्य अमेरिकाको ‘इन्डो–प्यासिफिक रणनीति’ वा चीनले अघि सारेको ‘साझा भविष्य भएको मानव समुदाय’ जस्ता अवधारणाअन्तर्गत आएका विभिन्न पहलहरूले साना राष्ट्रहरूलाई प्रतिस्पर्धी शक्ति संरचनाबीच छनोट गर्न दबाब सिर्जना गरिरहेका छन् ।

नेपालका लागि कुनै सैन्य गठबन्धन वा सुरक्षा संरचनामा औपचारिक रूपमा संलग्न हुनु आफ्नो रणनीतिक स्वायत्तता कमजोर बनाउने जोखिमपूर्ण कदम हुन सक्छ । त्यसैले नेपालले आर्थिक र कूटनीतिक रूपमा सबैसँग सहकार्य गर्ने तर सैन्य गठबन्धनबाट दूरी कायम राख्ने नीति अपनाउनु उपयुक्त हुन्छ । यस्तो तटस्थताले नेपाललाई महाशक्ति प्रतिस्पर्धाको अग्रपंक्तिमा उभिनुपर्ने अवस्था आउन नदिई बरु तिनीहरूबीच सहकार्यको पुल बन्ने सम्भावना प्रदान गर्न सक्छ ।

विदेश नीतिको मूल आधार

यद्यपि यी सबै बाह्य रणनीतिहरू तब मात्र सफल हुन सक्छन्, जब देशभित्र सुदृढ आधार तयार हुन्छ । त्यसैले नेपालको अस्तित्व सिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण पक्ष आन्तरिक राज्य क्षमता हो ।

नेपालको हालको राजनीतिक इतिहासले देखाउँछ कि आन्तरिक अस्थिरताले विदेश नीतिको निरन्तरता कमजोर बनाउँछ । बारम्बार सरकार परिवर्तन, नीतिगत असंगतता र संस्थागत कमजोरीले दीर्घकालीन रणनीति कार्यान्वयन गर्न कठिन बनाउँछ, जसको परिणामस्वरूप राष्ट्रको हितभन्दा राजनीतिक दलको स्वार्थ अग्रपंक्तिमा रहन्छ ।

त्यसैले नेपाल अस्तित्व सिद्धान्तमा तीन महत्त्वपूर्ण आन्तरिक स्तम्भहरू पनि समावेश हुनुपर्छ– संस्थागत क्षमता, राष्ट्रिय रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय विश्वसनीयता ।

संस्थागत क्षमता राज्य शक्तिको इन्जिन हो । सुदृढ संस्थाहरूले सरकारलाई नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आर्थिक विकासलाई व्यवस्थापन गर्न र संकटहरूको सामना गर्न सक्षम बनाउँछन् । व्यावसायिक प्रशासन, पारदर्शी नियामक प्रणाली र स्थिर प्रशासनिक अभ्यासहरूले नीति निरन्तरता सुनिश्चित गर्छन् । यी सबै संविधान तथा कानुनी व्यवस्थाहरू परिमार्जन गरी अगाडि बढ्न आवश्यक छ ।

संस्थागत सुदृढतासँग घनिष्ठ रूपमा जोडिएको अर्को तत्त्व हो– रणनीतिक स्थिरता । स्थिरताको अर्थ राजनीतिक प्रतिस्पर्धाको अभाव होइन । लोकतन्त्रमा बहस र प्रतिस्पर्धा स्वाभाविक हुन्छ । तर आर्थिक विकास, पूर्वाधार निर्माण र परराष्ट्र नीति जस्ता मुख्य राष्ट्रिय प्राथमिकताहरू राजनीतिक परिवर्तनसँगै निरन्तर रहनुपर्छ । साथै, आन्तरिक रूपमा अत्यधिक राजनीतिक हस्तक्षेपबाट व्यावसायिक कारण, भ्रष्टाचारमुक्त प्रशासन र अन्य विविध राष्ट्रिय चुनौतीहरूलाई सम्बोधन गर्नुपर्छ ।

अन्तिम स्तम्भ हो– अन्तर्राष्ट्रिय विश्वसनीयता । साना राष्ट्रहरूका लागि विश्वसनीयता आफैंमा एउटा रणनीतिक पुँजी हो । सीमित सैन्य शक्ति भएका देशहरूले आफ्नो प्रतिष्ठा—नीतिहरू स्थिर छन्, प्रतिबद्धता विश्वसनीय छन् र संस्थाहरू सक्षम छन् भन्ने धारणामार्फत प्रभाव निर्माण गर्छन् । राजनीति–कूटनीतिको माध्यमबाट विकास, सुशासन र विश्वसनीयतालाई अगाडि बढाउनुपर्छ । जब कुनै देशका नीतिहरू स्थिर र पूर्वानुमेय हुन्छन्, तब अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस देशलाई भरोसायोग्य साझेदारका रूपमा हेर्छन् ।

यी तीन स्तम्भहरू परस्पर सुदृढीकरण गर्ने तत्त्व हुन् । संस्थागत क्षमताले नीति निरन्तरता सिर्जना गर्छ, नीति निरन्तरताले रणनीतिक स्थिरता निर्माण गर्छ र स्थिरताले अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउँछ ।

सत्ताकेन्द्रितबाट राज्यकेन्द्रित राजनीतितर्फ

नेपालको दीर्घकालीन रणनीतिक सफलता केवल कूटनीतिक रणनीतिमा मात्र निर्भर हुँदैन, यो राजनीतिक संस्कृतिको गुणस्तरमा पनि निर्भर हुन्छ । नेपालको राजनीतिक विमर्श लामो समयदेखि शक्ति प्राप्तिको प्रतिस्पर्धामा केन्द्रित हुँदै आएको छ— गठबन्धन, समीकरण, नेतृत्व प्रतिस्पर्धा र सरकार गठनका गणनाहरूमा । लोकतन्त्रमा यस्तो प्रतिस्पर्धा स्वाभाविक भए पनि यदि राजनीति केवल सत्ताको संघर्षमा सीमित भयो भने राष्ट्रका दीर्घकालीन हित ओझेलमा पर्न सक्छ । नेपालको दीर्घकालीन रणनीतिक सफलता शक्तिका लागि राजनीतिबाट राज्यका लागि राजनीतितर्फको परिवर्तनमा निर्भर छ ।

राज्यका लागि राजनीति तीन प्राथमिकतामा केन्द्रित हुन्छ– विकासका लागि राजनीति, सुशासनका लागि राजनीति र विश्वसनीयताका लागि राजनीति । विकासलाई प्राथमिकता दिने राजनीतिक संस्कृतिले आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्छ । सुशासनका लागि प्राथमिकता दिने राजनीतिले संस्थागत सुधार र प्रशासनिक क्षमता सुदृढीकरणलाई प्राथमिकता दिन्छ । विश्वसनीयताका लागि राजनीतिले नेपालका जनताले राजनीतिक दलप्रति राख्ने विश्वास, नीतिहरू स्थिर, पूर्वानुमेय र भरोसायोग्य रहने सुनिश्चित गर्छ ।

भविष्यका लागि नेपालको रणनीतिक मार्ग

नेपालको अस्तित्व सिद्धान्त कुनै कठोर नीति–नक्सा होइन । यो नेपालको ऐतिहासिक अनुभव र समकालीन भूराजनीतिक यथार्थमा आधारित मार्गदर्शक दृष्टिकोण हो ।

भारत–चीनबीच रणनीतिक सन्तुलन, बहुआयामिक कूटनीति, कनेक्टिभिटी विस्तार र महाशक्ति प्रतिस्पर्धामा तटस्थता— यी सबैले नेपालको बाह्य वातावरण व्यवस्थापन गर्ने मार्ग देखाउँछन् । संस्थागत क्षमता, रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय विश्वसनीयता भने त्यस रणनीतिलाई टिकाउने आन्तरिक आधार हुन् ।

२१ औं शताब्दीमा नेपालको भूगोल परिवर्तन हुने छैन, तर त्यस वरिपरिका रणनीतिक अवसरहरू विस्तार भइरहेका छन् । अन्ततः नेपालको अस्तित्व बाह्य सन्तुलन र आन्तरिक सुदृढताको संयोजनमा निर्भर हुनेछ । भूगोलले नेपालको रणनीतिक परिवेशलाई प्रभाव पारिरहनेछ, तर देशको भविष्य अन्ततः यसको संस्थागत गुणस्तर र राजनीतिक परिपक्वताले निर्धारण गर्नेछ ।

पाँच दशकअघि लियो रोजले नेपालको कूटनीतिलाई ‘अस्तित्वका लागि रणनीति’ भनेका थिए । रोजले औंल्याएको जस्तै, नेपालको विदेश नीति कुनै पक्ष रोज्ने विषय होइन । यो सम्बन्धहरू सन्तुलित गर्ने, निर्भरताहरू व्यवस्थापन गर्ने र राष्ट्रिय स्वायत्तता जोगाउने रणनीति हो । तर आजको युगमा केवल अस्तित्व मात्र पर्याप्त छैन । नेपालले सक्षम, विश्वसनीय र विकासकेन्द्रित राज्य निर्माण गर्नुपर्छ । जब राजनीति दीर्घकालीन राष्ट्रिय हितको सेवामा लाग्छ, राज्य बलियो हुन्छ ।

विकासलाई शक्ति संघर्षभन्दा माथि राख्ने, सुशासनलाई राजनीतिक चालबाजीभन्दा प्राथमिकता दिने र विश्वसनीयतालाई अल्पकालीन लाभभन्दा महत्त्वपूर्ण मान्यता दिनुपर्छ । बलियो राज्य नै अनिश्चित विश्व व्यवस्थामा नेपालको अस्तित्व, स्वायत्तता र समृद्धिको सबैभन्दा विश्वसनीय आधार बन्न सक्छ । नेपालले बदलिँदो एसियाली भूराजनीतिमा केवल अस्तित्व जोगाउने होइन— समृद्धि हासिल गर्ने सम्भावना पनि निर्माण गर्न सक्छ ।

बिनोज बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त उपरथि हुन् ।

Link copied successfully