छाउगोठमा ती काला रातहरू

उहिल्यै उखेलेर मिल्काउनुपर्ने छाउपडी कुप्रथा मेरो गाउामा अझै छ । महिनावारीमा महिलाहरू छाउगोठमै बस्छन् ।

चैत्र २३, २०८२

तृप्ति शाही

Those dark nights in the hut

What you should know

केही महिनाअघिको कुरा हो– मुवाबुवा, बहिनी र म खाना खाने तयारी गरिरहेका थियौं । दुई दिनअघि मेरो महिनावारी भएको थियो । खाना पस्किँदै मुवा भुन्भुनाउन थाल्नुभयो, ‘यो बेला बार्न पर्छ भन्छु, मेरो कुरा बाउछोरी कसैले सुन्दैनन् । बिहे गरेपछि देउता लाग्छन् ।’ 

बुवा बोलिहाल्नुभयो, ‘छोरीहरूलाई बारबार यस्तो कुरा नभन त, यिनीहरूले गुनासो गरेपछि मुद्दा लाग्छ, प्रहरी आउँछन् फेरि लैजान ।’ 

हाम्रो घरमा महिनावारी बार्ने–नबार्ने विषयमा प्रायः बहस भइरहन्छ । चाडपर्वका समयमा वा आफन्तहरू घर आएका बेला यस्ता कुरा बढी उठ्छन् । अहिले नबारे पनि मैले महिनावारी कहिल्यै बार्नुपरेन भन्ने चाहिँ होइन । सुदूरपश्चिमको छाउपडीका कुरा धेरैले गरिरहेका/लेखिरहेका हुन्छन् । अछामबाट सुर्खेत बसाइँ सरेको हामीलाई धेरैले सोध्छन्, ‘त्यहाँ त छाउपडी छ हैन ?’ 

अछाममा जन्मे, हुर्केको मलाई छाउपडीबारे राम्रोसँग थाहा छ । ८ कक्षाको परीक्षा दिएर महिनावारी भएकी मैले करिब ३ वर्ष बढी छाउगोठमा बिताएकी छु । काला रातहरू घरभन्दा टाढाको असुरक्षित छाउपडी गोठमा बिताएकी छु । त्यस समय सम्झिँदा दिमाग एकदमै कमजोर भएको महसुस गर्छु । खै म कसरी पो बाँच्न सफल भएँ ? अचम्मै लाग्छ । छाउगोठमा आउने अनेकथरी किराहरू, सर्पहरू अनि कहिलेकाहीं गोठमा सुतेको थाहा पाएपछि पाहुनाहरूको चियोचर्चो...। 

चियोचर्चो गर्नेहरू नजिक पर्थेनन् । नजिककाले दिदीबहिनीको नजरले हेर्थे र टाढाकाहरू डराउँथे । मानसिक रूपमा कमजोर हुनु, सबैभन्दा कमजोर हुनुरहेछ । अहिले पनि तीे दिनहरूले मलाई जिउँदै मरेतुल्य बनाउँछन् । 

महिनाको हरेक हप्ता अँध्यारो गोठमा बस्नुपर्ने बाध्यता भएपछि नै हो– सधैं कक्षामा प्रथम आउने म दोस्रो हुन थालेको । गोठमा बस्नुपर्ने कारण मात्रै होइन, महिनावारीको समयमा के कसो गर्नुपर्ने हो भन्ने पनि थाहा नभएकै कारण अहिलेसम्म पनि मलाई महिनावारीको समयमा समस्या हुन्छ । त्यो समय मुवाले लगाउने धोतीको टालोले महिनावारीमा बग्ने रगत व्यवस्थापन गर्नुपर्थ्यो । सानै उमेर भएकाले हो सायद, टालो व्यवस्थापन गर्न नसक्दा हिँड्दा–हिँड्दै टालो धेरै पटक खसेको छ । एउटै टालो दिनैभरि प्रयोग गरिएको छ । अनि टालो कहिल्यै घाममा सुकाउन सकिएन– लाज हुन्छ भन्ने भाष्य थियो, त्यसैले अरू कपडामुनि लुकाएर सुकाउँथें । 

मेरा शिक्षक बुवा र १२ कक्षा पढ्नुभएकी आमाले पनि मलाई महिनावारीका बेला घरमा राख्न सक्नुभएन । समाजको नियम नै यस्तै भएर उहाँहरूले सामान्य रूपमै मलाई गोठमा पठाउनुभयो । बुवाले भने ‘गोठमा बस्नुपर्दैन’ भनेर धेरै प्रयास गर्नुभएको थियो । तर, परिवार र समाजको कडा नियमको अघि उहाँको केही लागेन । 

महिनावारीका बेला अधिकांश खानेकुरा खान पाइँदैनथ्यो । हरियो बोटबिरुवा छुनसम्म पाइँदैनथ्यो । गाउँमा महिनावारी भएका बेला धेरै दिदीबहिनी इच्छाविपरीत बिहे गर्न बाध्य थिए, जो सधैं असुरक्षित भएरै बसे । मेरो गाउँमा अझै बत्ती पुगेको छैन । महिलाहरू अध्याँरो गोठमा बस्न छोडेका छैनन् । छाउगोठ भत्काउने कार्यक्रमहरू अन्त गरिएको देख्छु, सुन्छु । तर, हाम्रो गाउँमा त्यो कार्यक्रम भएको जानकारी मलाई छैन । मेरो गाउँमा त्यस्ता कार्यक्रम खासै हुँदैनन् रे, भए पनि कसैले मान्नेवाला छैनन् ।

यस्तो अवस्थामा पनि अछाम क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने म जन्मिएको ढकारी र ढकारीको छिमेकी तुर्माखाद गाउँपालिकाका दिदीबहिनीले गोठमा बस्नुपरेको देख्दा, सुन्दा विरक्त लाग्छ । अछामका अन्य पालिकामा पनि यो अवस्था छ । छाउपडी कुप्रथा हटाउने भन्दै गरिँदै आएका विभिन्न कार्यक्रम व्यर्थ लाग्छन् । कहिलेसम्म ग्रामीण भेगका महिला असुरक्षित गोठमा सुत्नुपर्ने हो ? 

उहिल्यै उखेलेर मिल्काउनुपर्ने छाउपडी कुप्रथा मेरो गाउँमा अझै छ । महिनावारीका बेला महिलाहरू छाउगोठमै बस्छन् । कोही घरमुनि भैंसी–गोरु बाँध्ने गोठको कुनामा रात बिताउँछन् भने कोही घरभन्दा टाढा बारीमा बनाइएको सास फेर्नै मुस्किल पर्ने गोठमा ५ देखि ७ दिनसम्म कटाउँछन् । घरकी छोरीले ६ वा ७ दिनसम्म अनि बुहारीहरूले ५ वा ६ दिनसम्म बार्नुपर्छ भन्ने चलन छ । परिवार र टोलको नियमअनुसार फरक–फरक छ छाउपडी बार्ने अवधि । 

अछामको छाउपडी प्रथाबारे लेखिएका, भनिएका, देखाइएका ‘कन्टेन्ट’ पढ्दा, सुन्दा, देख्दा मलाई मेरो गाउँको गोठहरूबारे चिन्ता हुन्छ । म वर्षौं बसेका गोठहरू मर्मत गरी फेरि महिला बसेको कुराले मन अमिलो हुन्छ । अनि म बाँचेको कुरा सम्झिँदा लामो सास फेर्छु ।

अझै गाउँमा महिलाहरू असुरक्षित तरिकाले गोठमा बसिरहेका छन् । तर, यस विषयमा कोही गम्भीर छैनन् । किनकि छाउपडी गोठमा बस्नु गाउँमा ‘संस्कार/संस्कृति बचाउने महत्त्वपूर्ण’ विषय हो । कसैका लागि पनि यो अप्ठेरो र नौलो विषय नै होइन । गाउँका जनप्रतिनिधिदेखि कर्मचारीसम्म सबैले बार्छन् । कर्मचारीहरू अलि सुरक्षित तरिकाले बार्छन्– घरकै सफा कोठामा बस्छन् । अरू सबैको बस्ने स्थान उही हो– गोठ ।

अछामबाट बसाइँ सरेर सुर्खेत आएपछि बुवाको साथ पाएकी मैले महिनावारी बारेकी छैन । बहिनीले पनि बार्नु नपर्दा खुसी लाग्छ । तर, मेरै गाउँमा धेरै छोरी असुरक्षित छन् भन्दा मन भारी हुन्छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बसिरहेको मलाई लाग्छ, छाउपडी जतासुकै छ, स्वरूप मात्रै फेरिएको हो । यो विषयमा समाचार लेख्ने पत्रकारदेखि महिनावारी बार्नु हुँदैन भन्ने अभियन्तासम्मले आ–आफ्नै तरिकाले बारेका छन् । महिनावारी कुनै पनि तरिकाले बार्नु हुँदैन भन्ने कोही छैनन् । महिनावारीको ‘फोकस पर्सन’ भएर काम गरिरहेकादेखि मर्यादित महिनावारीका दूत भएर काम गर्नेहरूले पनि कुनै न कुनै तरिकारले महिनावारी बारेकै देख्छु ।

देउताका नाममा महिनावारी बार्नु महिलाका लागि भयानक सजाय हो ।

 (शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन्)

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully