कृषिको रूपान्तरणबाट समृद्धि

कल्पना नेपाल आचार्यको लेख -तीन तहका सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक, यन्त्रीकरण, वैज्ञानिक, हरित र व्यावसायिक नाफामूलक उद्यममा रूपान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।

चैत्र १८, २०८२

कल्पना नेपाल आचार्य

Prosperity through agricultural transformation

What you should know

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा ६२ प्रतिशत परिवारहरू कृषि पेसामा संलग्न छन् । त्यसको १० वर्षअघि यो संख्या ७१ प्रतिशत थियो । तथ्यांकले कृषिमा आधारित परिवारको संख्या घट्दै गएको देखिन्छ । नेपालको आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार, नेपालको कुल जनसंख्याको करिब ६६.७ प्रतिशत जनसंख्या कृषिमा आधारित परिवारभित्र छन् । यो कुल जनसख्याको करिब दुईतिहाइ हुन आउँछ । उपलब्ध तथ्यांकहरूले कृषि क्षेत्रमा व्यापक सुधारको खाँचो देखिन्छ ।

कृषि कार्यमा महिलाको संलग्नता ५० प्रतिशतभन्दा बढी छ । तर जग्गामा स्वामित्व र निर्णय प्रक्रियामा महिलाको पहुँच अझै न्यून छ । त्यसैले महिला सहभागितामा ध्यान दिनुपर्छ । खेती गर्ने परिवारमध्ये २५ प्रतिशतले मात्र व्यावसायिक उद्देश्यका लागि उत्पादनलाई जोड दिएका छन् । बाँकीले निर्वाहमुखी खेती गर्छन् । त्यसैले कृषिको व्यवसायीकरण गरिनुपर्छ ।

समयमै मल, बीउ र सिँचाइको सुनिश्चिततामा जोड दिनुपर्छ । हरेक वर्ष खेतीको समयमा हुने रासायनिक मलको हाहाकारलाई अन्त्य गर्न ‘मल आपूर्ति क्यालेन्डर’ लागू गरी समयमै कृषकलाई उपलब्ध गराउनुपर्छ । सिँचाइका लागि अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई निराकरण गर्न साना तथा मझौला सिँचाइ आयोजना र मधेशका सुक्खा क्षेत्रमा स्यालो ट्युबवेलको विस्तार गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । माटो परीक्षण गरी सुहाउँदो किसिमका उन्नत र जलवायु–अनुकूल स्थानीय बीउबिजनको विकासमा जोड दिनुका साथै बीउमा आत्मनिर्भर बनाउने योजना ल्याउनुपर्छ ।

उत्पादनमा आधारित अनुदान र सस्तो ऋण व्यवस्थाको सुनिश्चित गरिनुपर्दछ । पहुँचका आधारमा दिइने अनुदानलाई खारेज गरी ‘उत्पादनका आधारमा नगद अनुदान’ दिने व्यवस्था गर्नुपर्छ । कृषि ऋण वास्तविक किसानलाई बिनाधितो वा कम ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने व्यवस्थाको सुनिश्चित गरिनुपर्दछ ।

जमिनको खण्डीकरण रोक्नका लागि चक्लाबन्दीको नीति ल्याई ठूलो परिमाणमा व्यावसायिक खेती गर्न/गराउनका लागि प्रोत्साहन गर्नुपर्छ । साना किसानलाई कृषि औजार र मेसिन खरिदमा सहुलियत दिइनुपर्छ । किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि बाली लगाउनुपूर्व नै न्यूनतम समर्थन मूल्य तोक्ने र सरकारले नै खरिद गर्ने ग्यारेन्टी गरिनुपर्छ । कृषि बिमा र जोखिम न्यूनीकरणका लागि प्राकृतिक प्रकोप, रोगव्याधि वा वन्यजन्तुबाट हुने क्षतिबाट जोगाउन बिमा कार्यक्रम ल्याइनुपर्छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषिमा आकर्षण गर्न ‘सुरुवात पुँजी’ (सिड मनी) र प्रविधि हस्तान्तरणको विशेष प्याकेज ल्याउनुपर्छ । कृषिलाई ‘तल्लो तहको पेसा वा काम’ मान्ने पुरातनवादी सामाजिक सोच बदल्नका लागि ‘मर्यादित किसान कार्ड’ र पेन्सनको व्यवस्था गर्न सकिन्छ ।

यसलगायत अन्य क्षेत्र, भूगोल र बालीनालीका प्रकृतिअनुसारका समस्या समाधानका लागि सोही किसिमका रणनीति अख्तियार गरिनुपर्छ ।

नेपालमा जनसंख्या धेरै तर उत्पादन कम भएको स्थिति छ । अब संघ, प्रदेश र स्थानीय सरकारको आगामी लक्ष्य ६६ प्रतिशत जनसंख्यालाई कृषिबाट घटाएर अन्य उद्योगमा लैजाने वा कृषि उत्पादकत्वलाई १० गुणाले बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । मधेशमा सिँचाइ र सीमावर्ती बजारको प्रतिस्पर्धा मुख्य समस्याका रूपमा रहेको छ । तीन तहका सरकारले डिप बोरिङमा विद्युत् महसुल छुट र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । पहाडमा जंगली जनावर र जनशक्ति अभाव नै मुख्य समस्या भएको छ । यसलाई सम्बोधन गर्नका लागि सामूहिक खेती र आधुनिक यन्त्रको प्रयोगमा जोड दिने विषय समेटिनुपर्छ । हिमाली भेगमा ढुवानी र भण्डारणको मुख्य समस्या रहेको छ । शीतभण्डार र हिमाली ब्रान्डिङमा विशेष जोड दिनुपर्छ । सहरी क्षेत्रमा जग्गाको प्लटिङ र कंक्रिटीकरण मुख्य समस्या रहेको छ । खेतीयोग्य जमिनलाई ‘कृषि क्षेत्र’ तोकी कित्ताकाटमा रोक लगाउनुपर्छ । तीन तहका सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक, यन्त्रीकरण, वैज्ञानिक, हरित र व्यावसायिक नाफामूलक उद्यममा रूपान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । अनि मात्र, देश र जनताको समृद्धिको सपना पूरा हुनेछ ।

कल्पना

Link copied successfully