नेपाली समाजमा दैनिक बढिरहेको बलात्कारपछिको हत्या एक असाध्यै डरलाग्दो मानसिक विकार हो । सबैभन्दा महत्वपूर्ण विषय हो– परिवार, समाजलाई सचेत बनाउनु ।
बिहान ब्युँझिएपछि सुनिने/पढिने समाचार हुन्, बालिका तथा महिलामाथिका आततायी बलात्कारका घटना– सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार ३ सय ६३ बालिका । आखिर किन ? के यो समाज भयानक अपराधतिर उन्मुख भइरहेको संकेत हो ?
एक चौध वर्षको बालकले चार वर्षीय बालिकालाई बलात्कार गरेर हत्या गरेको खबर, जसले जो कसैको मन झसंग बनाउँछ । बझाङकी १२ वर्षीय बालिकालाई बलात्कारपछि हत्या गरेर मन्दिर परिसरमा फालिएको घटना होस् या जनकपुरमा ५ वर्षीय बालकमाथि अप्राकृतिक यौन सम्बन्ध राखेर घाँटी थिचेर हत्या गरिएको घटना ।
अहिले फेरि इनिसा विकको बलात्कारपछि हत्याको खबरले उनका परिवार र सिंगो समाज नै आक्रान्त छ । अहिले टिकटकमा सुमधुर सुनिने एउटा गीत भाइरल भइरहेको छ– नछेक कान्छा नछेक बाटो घर जान आँटेको । बलात्कारको घटनापछि यो गीतको माधुर्यता हरायो । प्रेम जोडीहरूले प्रेम मात्रै गर्दा रहेनछन् । बाटोघाटो, वनजंगल घुम्न जाँदा किशोरी प्रेमिकालाई बलात्कार गरेर मृत्यु नै पो उपहार दिँदा रहेछन् ।
बलात्कार घटनामा परिवार र समाजको संलग्नता
केही वर्ष अगाडि एक घटना सर्वत्र समाचारमा आयो । बझाङकी एक एक्काइस वर्षीय युवतीमाथि उनको परिवारबाट नै भएको यौनजन्य दुर्व्यवहारले हाम्रो समाज कता छ भन्ने सोच्न बाध्य बनाउँछ । ती युवती अर्धचेत अवस्थामा उपचार गराइरहेको बारे पनि मिडियाले जानकारी गरायो । उनको शरीरलाई आफ्नै ससुरा, लोग्ने, सासू, नन्देभाइ मिलेर बेचेका छन्, बलात्कार गरेका छन् । यहाँसम्म कि उनको स्थायी बन्ध्याकरणसमेत गराएका छन् । गरिबीले, यौनिक विकृतिले, अचेतनाले या केले ती घरका परिवारलाई यतिसम्म एक निरीह महिलालाई घरपरिवारको सदस्य बनाएरै खेलबाड गर्न सघायो ?
यो एउटा उदाहरण काफी छ– हाम्रो समाजले महिला शरीरलाई कसरी भोगचलन र बेचबिखनसम्म गर्न पछि पर्दैन भन्ने बुझ्न । संरचनागत परम्परागत पितृसत्तात्मक व्यवस्था र चलनले नै कतिपय यौनजन्य हिंसाहरूको प्रवर्द्धन नै गरिरहेछन् । हाम्रा नेतृत्व व्यवस्था यो बहस गर्न डराइरहेको छ– पुरुष र महिलाले एकअर्कालाई बुझ्ने क्रममा पुरुष महिलाभन्दा शक्तिशाली छ भनेर सिकाइएको हो । यसको अर्थ यो पनि होइन कि सबै पुरुष बलात्कारी प्रवृत्तिका हुन्छन् । तर, हाम्रा धर्म ग्रन्थ, संस्कृति अनि तीबाटै प्रभावित नीति–नियम महिला विभेदी छ, तिनैले महिलालाई यौनिक वस्तु बनाइएका छन् ।
कतिपय मानिसको दृष्टिकोणमा महिलाका छोटा र पारदर्शी पहिरनले बलात्कार बढिरहेको छ । ती भन्छन्– महिलाले पढे–लेखेर मात्र के गर्नु ? आफ्नो मनलागी कपडा लगाएर निस्फिक्री बाहिर हिँड्छन् अनि यस्ता घटना घटिहाल्छ नि । लवाइकै कारण बलात्कार हुन्छ भन्ने सोच दूषित सोच हो ।
यौनजन्य घटनामा परेका पीडित र परिवारका सदस्यलाई मुद्दा फिर्ता लिन पीडक पक्षबाट धम्क्याइन्छन् । र, भविष्यमा हुने लाञ्छना, विभेदको डरले पनि बलात्कार भइसकेपछि पीडित पक्षहरू खुलेर बलात्कारको हिंसाबारे बोल्न सकिरहेको पाइँदैन ।
सबै पीडितले पीडकविरुद्ध बदलाको भावना राखेर अघि बढ्न पनि सक्दैनन् । बलात्कार, हत्याजस्ता घटनाविरुद्ध सबै समुदाय, संगठन, महिला, पुरुष मिलेरै अगाडि बढ्नुपर्ने हुन्छ । यसका सामाजिक संरचनाको जरो किलो पनि पत्ता लगाउनुपर्ने हुन्छ ।
बलात्कारका घटनामा मनोवैज्ञानिक, मनोसामाजिक कारण
कतिपय अवस्थामा बलात्कार अनि त्यसपछि हत्याको विषयलाई लिएर मनोसामाजिक, मनोवैज्ञानिक पक्ष पनि अध्ययन, अनुसन्धान गर्नुपर्ने विषय उठिरहेका छन् ।
यौन हिंसा पुरुषले महिलालाई, पुरुषले पुरुषलाई र महिलाले पनि पुरुष या महिलालाई नै पनि गर्न सक्छन् । संसारभरिको घटना हेर्ने हो भनेचाहिँ पुरुषले महिलामाथि गरेका यौन हिंसा नै बढी छन् । पुरुषले महिला या बालिकालाई गर्ने यौन हिंसाको सामाजिक संरचनात्मक पाटाहरू छन् । ती पाटो भनेका पुरुषप्रधान समाज, लैंगिकताको सामाजिक अवधारणा, जातीय छुवाछूत, विभेद र धर्म, संस्कृतिको पाटो एक हो । फेरि त्यही समाजमा बस्ने समुदायका व्यक्तिको मनोवैज्ञानिक र मनोसामाजिक पाटोले पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ । यी विभिन्न मनोवैज्ञानिक पाटोलाई पनि नजरअन्दाज गर्न
मिल्दैन । यस्तै आशय व्यक्त गर्न डा. कल्याण सुवेदीले आफ्नो जानकारीमूलक भिडियोमार्फत सन्देश दिन खोजेका छन् ।
व्यक्तिको सानैदेखिका पारिवारिक पृष्ठभूमि हुन्छन् नै । मदिरालगायत अन्य लागूऔषधको प्रयोगको आदत, घरमा बाबुले आमालाई गर्ने व्यवहार, दाजुभाइले दिदीबहिनीलाई गर्ने व्यवहार, छरछिमेक, समाजमा छोरा र छोरीलाई गर्ने व्यवहार बालबालिकाहरूले सानैदेखि अवलोकन गर्दै र सिक्दै आइरहेका हुन्छन् । अपराधमा सरिक हुने खालका युवा तथा किशोरले केही न केही उपद्रो गरी नै रहेका हुन्छन् । महिला नजिकै जाने, छुने, जिस्क्याउने, अश्लील जोक सुनाउने, घुरेर हेर्ने, अश्लील इसारा गर्ने गरिरहेका हुन्छन् । आम निम्नवर्गीय समुदाय, परिवार आफ्ना जीविकोपार्जनमै व्यस्त हुन्छन् । परिवारका छोराछोरीहरू हुर्कंदै त छन् तर कुन रूपमा हुर्कंदै छन् भन्ने ध्यान दिने फुर्सद र सचेतता पनि हुँदैन । अझ विखण्डित परिवार, श्रीमान्–श्रीमतीबीच झैझगडा भइरहने परिवार र मदिरामा धुत भइरहने परिवारका छोराहरू (छोरीहरू पनि) विशेषगरी आफ्नै परिवारको बाटो अँगाल्न पुग्छन् । यिनै क्रियाकलापमा सहभागी हुँदाहुँदै किशोर तथा युवाहरू समाजमा लागूऔषध, मदिरा, महिलाप्रति यौन दुर्व्यवहारमा संलग्न भइसकेका घटनाहरू पनि प्रशस्तै देख्न पाइन्छ ।
धार्मिक र सांस्कृतिक मूल्य मान्यताभित्रको विभेद कारक छँदै छ । दलित तथा गरिबीका रेखामुनि रहेका समुदायमाथि कथित ठूला जात र शक्तिशालीको थिचोमिचो, हेला पनि उत्तिकै छ । गन्यमान्य मानिएकै पुरुषका दम्भ, सोच र व्यवहारले पनि समाजमा कैयौं घटना घटाउने, दबाउने, हत्यासम्मका घटनासम्म पुग्ने गरेको देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक शक्तिहरूको आडमा गरिने बलात्कारजस्ता हिंसाका अन्य मनोवैज्ञानिक पाटाहरू पनि छन्, जसले गर्दा अपराधहरू मौलाउँदै गएको पाइन्छ ।
बलात्कारका घटना हुन नदिन के गर्ने ?
कम्तीमा पनि परिवारका सदस्यले बालबालिकाका सानैदेखिका चालचलनबारे अवलोकन गर्ने गर्नुपर्नेर् देखिन्छ । केटाकेटीहरूका आनीबानी परिवारले ध्यान नदिए पनि छिमेकी, शिक्षकहरूले त अवलोकन गरेकै हुन्छन् । यी कुरालाई बेवास्ता गर्दै गए ती बालबालिका अपराधउन्मुख क्रियाकलापमा संलग्न हुने सम्भावना धेरै नै हुन्छ ।
समाजमा दिनदिनै घटिरहेका बलात्कार र हत्या जस्ता जघन्य अपराधहरूले परिवार र समाज नै शोकमा डुबिराखेको छ । शक्तिशालीको पहुँचमा परेको अपराधी लगभग उसले अपराध गरेको भन्ने थाहा भइसक्दा पनि राजनीतिक शक्तिदेखि लिएर एक तप्का नै त्यो अपराध जोगाउनतिर लागेका घटनाहरू थुप्रै छन् हाम्रो समाजमा । गरिबी, अभाव, अचेतना त समाजमा व्याप्त छँदै छ ।
पहिले समाजलाई समानता र समताका आधारमा विकास गर्नुपर्छ । जातीय विभेद, लैंगिक विभेद,
चरम गरिबी, पछौटेपनलाई सम्बोधन हुने खालका विधि र व्यवस्था हुनुपर्छ । बल्ल समाजका सीमान्त वर्ग पनि चलमलाउन पाउने र उनीहरूले पनि पढ्ने–लेख्ने, सचेत हुने, सही–गलत छुट्याउन सक्ने हुन सक्छन् । शिक्षा र रोजगार भएपछि बल्ल आफूमाथिको अन्यायबारे सोच्ने र त्यसको
विरुद्ध सर्वसाधारण पनि बोल्न सक्ने हुन्छन् ।
नेतृत्व तह समाजको कुरीति, अपराधका जरो केलाउन लागेको देखिँदैन । बहस भने बलात्कारीलाई फाँसी दिने पनि हुने गरेको छ । नेपाल सरकारले बलात्कारका घटना मिलाउनेलाई पनि कैद सजायको प्रावधान तय गरेको छ । तर, अठार वर्षमाथिका व्यक्तिलाई बलात्कार गरेमा कम सजायको व्यवस्थाले फेरि प्रश्न खडा गरेको छ । बलात्कार आखिर बलात्कारै भएकाले यसमा जुनसुकै उमेर समूहकालाई अधिकतम सजाय हुनुपर्ने देखिन्छ ।
दिनदिनैको कलिला मुनाहरूको बलात्कार र हत्याको घटनाले साह्रै पीडाबोध त हुन्छ नै, तर यस्तो किन बढिरहेछ भन्ने जरो केलाउनैपर्ने हुन्छ । त्यसका लागि पनि अध्ययन, अनुसन्धान हुनुपर्छ । तर, त्यतातिर राज्यको ध्यान पुग्ने कहिले हो ? भारतमा मृत्युदण्ड पनि पाइसकेका छन् अपराधीहरूले, तर यस्तो घटनामा कमी आएको छैन ।
आफ्ना छोराछोरीले बाल्यकालमा के कस्ता असामान्य व्यवहार देखाइरहेका छन् भन्ने हेक्का परिवारका सदस्यले राख्नुपर्छ । र, बेलैमा सचेत गराउने, समस्या नै लाग्छ भने मनोविज्ञ तथा स्वास्थ्य कार्यकर्तासँग सहयोग लिने गर्नुपर्छ । विद्यालय शिक्षामा पनि यौन शिक्षा तथा दुर्व्यवहार र यसको नतिजाबारे पाठ्यक्रममै राखेर पढाउने, लेखाउने गराउनुपर्छ ।
सरकारी तथा गैरसरकारी संस्थाले पनि बाल यौन दुर्व्यवहार, यसको दीर्घकालीन असर र कानुनी उपचारबारेमा व्यापक जनचेतना फैलाउने कार्यक्रम गर्नुपर्छ । मदिरा, चुरोट, खैनी, लागूऔषधका कारण पनि समाजमा यस्ता यौन अपराध बढ्ने हुनाले यसको प्रयोगमा बन्देज गर्न स्थानीय निकाय, प्रहरी, सामाजिक संघसंस्था सक्रिय भएर लाग्नुपर्छ ।
भएका कानुनको पूर्ण पालना, बलात्कारको घटनामा मिलापत्र गर्ने, गराउने सबैलाई हदैसम्म कारबाहीले यसमा कमी ल्याउन सकिन्छ । नेपाली कानुनमा अपराधीलाई जेलमा राखेपछि दिन र रात गन्दै २४ घण्टाको दुई दिन जोड्ने चलन छ, जसले सजाय पाएकाहरू चाँडै छुट्ने र पुनः अपराध कर्ममा लाग्ने सम्भावना पनि रहन्छ । बलात्कारपछि हत्या गर्नु एक असाध्यै डरलाग्दो मानसिक विकार हो । त्यसैले सबैभन्दा महत्त्वपूर्ण विषय हो– परिवार, समाजलाई सचेत बनाउनु ।
