बालेन र रविको सहकार्यमा निर्भर समृद्धिको सपना

एकै व्यक्तिले दुवै पद सम्हाल्दा छोटो अवधिमै द्रुत र एकीकृत निर्णय लिन सकिन्छ, जसले देशलाई फाइदै हुन्छ । तर, दीर्घकालीन संस्थागत सुदृढीकरण, समय व्यवस्थापन र स्वार्थ सन्तुलनका चुनौतीले यो मोडेललाई जोखिमपूर्ण बनाउँछ । नेपालको सन्दर्भमा ‘फाइदा’ र ‘चुनौती’ को सन्तुलन कसरी मिलाउने ? यो नेतृत्वको दूरदर्शिता र पार्टीको आन्तरिक संस्कृतिमा निर्भर गर्छ ।

चैत्र १५, २०८२

रमेश अधिकारी

Balen and Ravi's dream of prosperity depends on their collaboration

What you should know

२०१५ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ सिटमा विजय हासिल गरेको थियो । त्यसपछि गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जितेर करिब दुईतिहाइको एकल र सानदार बहुमतको सरकार गठन गर्‍यो । रास्वपाले प्रधानमन्त्री तथा संसदीय दलको नेताको जिम्मेवारी वालेन्द्र शाह (बालेन) लाई दिएको छ । पार्टी सभापति रवि लामिछाने नै छन् ।

हामीलाई सामान्यतः चुनावको ज्वरो नै आउँछ अर्थात् नेपालीलाई निर्वाचनले मज्जैसँग छोप्छ । मतदान गर्ने दिनको प्रतीक्षामा मात्र होइन, मतदान सकिएको हप्तौंपछि पनि ‘पोस्ट इलेक्सन फिवर’ ले छोड्दैन । नयाँ सरकार नै बनिसकेको यो अवस्थामा प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेको सहकार्य कस्तो होला ? यो लामो समयसम्म जाला कि नजाला भन्ने चिन्ताले जनतालाई सताइरहेको देखिन्छ । सामान्य रूपमा टाढै बसेर हेर्दा, एउटा अन्तरमुखी लाग्ने र अर्को बाह्यमुखी जस्तो लाग्ने दुई मित्रको मित्रताले देशको भविष्य डोरिने देखिएको छ । र, अहिले नेपालका चौतारा, चिया पसल, चमेनागृह, चोक–चोकमा हुने चर्चाको विषय यही बनेको छ । जनतामा पार्टी अध्यक्ष र प्रधानमन्त्री/संसदीय दलको नेता एकै व्यक्ति हुँदा वा फरक–फरक हुँदा त्यसको प्रभावकारिता वा नकारात्मक पक्ष के–के होलान् भन्ने कौतुहलता जागेका बेला यो आलेखमा २०४८ देखिको अनुभव, अन्तर्राष्ट्रिय अभ्यास र रास्वपाको वर्तमान संरचनालाई केन्द्रमा राखेर विश्लेषण गर्न खोजिएको छ ।

राजनीतिक संरचनामा आदर्श मोडेलको परिकल्पना गर्न सकिँदैन । स्वभावैले दुवै मोडलका आफ्नै चुनौती तथा अवसर छन् । अनुभवका आधारमा समग्रमा भन्नुपर्दा, दुई पद दुई व्यक्तिमा विभाजित नेतृत्वले लगातार व्यक्तित्वको टकराबका कारण शक्ति संघर्ष निम्त्याएको छ । एक व्यक्तिको दुई पद अवधारणाले संस्थागत विकासमा बाधा पुर्‍याएर नेतृत्वमा अधिकारको केन्द्रीकरण भई प्रणालीभन्दा व्यक्तिवाद हाबी भएको छ । र, उसको कार्यशैली प्रभावकारी नहुने देखिएको छ । अहिलेको कौतुहलताको चर्चा रास्वपाको यो प्रयोगले भविष्यमा कस्तो समन्वय दिन्छ भन्ने नै हो । विगतका केही अनुभव हेरौं ः

घटना : १– कोइराला र भट्टराई

२०४८ को निर्वाचनमा हाईहाई भएको नेपाली कांग्रेसले सहज बहुमत प्राप्त गर्‍यो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पार्टी सभापति कृष्णप्रसाद भट्टराई थिए । संसदीय दलका नेता वा प्रधानमन्त्री कोइराला र पार्टी सभापति भट्टराई सम्बन्धमा सत्ता सञ्चालन गरेपछि नै तिक्तता सुरु भयो । सन्त नेता मानिएका भट्टराई र महत्त्वाकांक्षी मानिएका कोइरालाको एकापसमा सुरुदेखि नै दोषारोपण प्रारम्भ भयो । र, प्रधानमन्त्रीले पार्टी संगठनलाई बेवास्ता गरेको, एकलौटी शासन गरेको, पार्टीले सरकारलाई असहयोग गरेको आरोप सार्वजनिक रूपमै लाग्न थाल्यो ।

२०५० माघमा काठमाडौं–१ को उपनिर्वाचन हुने भयो– नेता मदन भण्डारीको निधनका कारण रिक्त संसदीय सिटका लागि । त्यस उपनिर्वाचनमा कोइराला र भट्टराई–द्वन्द्वको चरमोत्कर्ष नै देखियो । सभापति भट्टराई उम्मेदवार भएको उक्त क्षेत्रमा निर्वाचनको एक साताअघि प्रधानमन्त्री कोइरालाले ‘रेडियो नेपाल’ बाट पढेको १७ मिनेटको वक्तव्यले नयाँ मोड लियो । भट्टराई र नेपाली कांग्रेसका अर्का नेता गणेशमान सिंहसमेतलाई लक्षित कोइरालाको भाषणपछि पार्टीभित्र ५६ जना सांसदले कोइरालाविरुद्ध विद्रोह गरे । परिणामतः उपनिर्वाचनमा भट्टराई पराजित भए र मदन भण्डारीकी पत्नी विद्या भण्डारी विजयी भइन् । भनिन्छ– कोइराला समर्थकहरूले भट्टराईलाई भोट हालेनन् र आदर्शका प्रतिमूर्ति मानिएका भट्टराईले अनपेक्षित रूपमा पराजय भोग्नुपर्‍यो । त्यतिबेलै रोपिएको तुष अहिले पनि कांग्रेसमा देखिन्छ ।

त्यस घटनाले देखायो– शक्ति दुई ठाउँमा विभाजित भयो र पार्टीभित्र ‘कोभन्दा को शक्तिशाली’ भन्ने प्रतिस्पर्धै सुरु भयो । प्रधानमन्त्रीले पार्टी निर्णयलाई गम्भीरतापूर्वक नलिँदा र गुटबन्दी (गणेशमान सिंह–भट्टराई–कोइराला त्रिकोण) कडा हुँदा स्थिति जटिल बन्यो । पछि सुशील कोइराला, शेरबहादुर देउवा हुँदै गगन थापा–देउवाबीच पनि यही शक्ति संघर्षको यात्रा टुंगिएको छैन । र, त्यसको परिणाम फागुन २१ को निर्वाचनमा सडकमै आयो । कांग्रेसभित्र एकै व्यक्तिले दुवै पद सम्हाल्नुपर्छ भन्ने भाष्य प्रबल भयो । तर, स्थायित्व आउन सकेन ।

घटना : २– ओली र प्रचण्ड

२०७५ मा नेपालका कम्युनिस्टहरू मात्रै नभई कुनै एक छिमेकी राष्ट्रसमेत दंग पर्ने गरी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बन्यो । र, शक्ति सन्तुलनका नाममा ओली–प्रचण्ड दुवै पार्टी अध्यक्ष बन्ने नयाँ प्रचलनको सुरुवात भयो । प्रधानमन्त्रीको श्रीगणेश ओलीले गर्ने र त्यसपछि प्रचण्डलाई हस्तान्तरण गर्ने गरी एकीकरणको मौखिक सहमति भयो । तर, ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्न अस्वीकार गरेपछि द्वन्द्व चरम विन्दुमा पुग्यो ।

नेपालको इतिहासमा सधैं राजनीतिक अस्थिरताको जडका रूपमा उल्लेख गरिने घटना २०७७ पुस ५ मा घट्यो । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरे । ओलीले आफूलाई ‘पार्टीले घेराबन्दी गरेको’ भने र प्रधानमन्त्रीको अधिकार प्रयोग गर्दै सहज संसद् विघटनको बाटो रोजे । तर, सर्वोच्च अदालतले २०७८ फागुन ११ मा जब विघटन असंवैधानिक ठहर्‍याएर संसद् पुनःस्थापना गर्‍यो तब द्वन्द्वले दुई वर्षमै पार्टी फुटायो अनि राजनीतिक अस्थिरता देखिने गरी नै निम्तियो । त्यो जुँगाको लडाइँको अवशेष अझै पनि बाँकी भएको महसुस हुन्छ ।

विगतका दुवै तीतो र नेपालको राजनीतिमा दीर्घकालीन असर राख्ने घटनाबाट प्रमाणित भयो– फरक–फरक व्यक्तिमा पद हुँदा समन्वयको अभाव, गुटबन्दी र संस्थागत अस्थिरता देखिन्छ । तर, आफ्नै देशको विगतको गल्तीबाट आफ्नै देशमा सिक्ने र त्यसलाई नदोहोर्‍याउने जिम्मा अब आशा गरिएका युवा नेताद्वय वालेन्द्र र रविमाथि गएको छ । यसका लागि हामीले सिक्न सक्ने अन्तर्राष्ट्रिय उदाहरण पनि हेरौं ः

समन्वयको वैकल्पिक मोडेल : सिमाना बाहिरको कथा

हाम्रो छिमेकी राष्ट्र भारतमा भाजपा अध्यक्ष ४६ वर्षीय नितिन नवीन हुन् भन्ने कम नेपालीलाई थाहा छ, जो मोदीभन्दा करिब ३० वर्ष कान्छा हुन् । चाहे यस अगाडिका जेपी नड्डा हुन् वा अहिलेका नितिन– दुवैको नाम विरलै चर्चामा आउँछ । प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता विश्वमै असीमित छ । भनिन्छ, प्रधानमन्त्री मोदी र उनका निकट मित्र गृहमन्त्री अमित शाहबीचको सम्बन्ध न्यानो र उदाहरणीय छ । शाहले पार्टी अध्यक्षसँग मिलेर पार्टी संगठन, उम्मेदवार चयन र अभियानको नेतृत्व गर्छन् भने मोदीले सफल सरकार सञ्चालन गरेका छन् ।

त्यसो त मोदी र भाजपाको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को खटपट बेलाबेलामा सतहमा आउँछ र त्यही कारण लामो समयदेखि भाजपाले अध्यक्ष नियुक्त गर्न सकेको थिएन । कमजोर पार्टी अध्यक्ष बनाएर मोदीले आफूखुसी सरकार र पार्टी चलाएको भनेर आरएसएसले मोदीबारे असन्तुष्टि व्यक्त गरेको सुनिन्छ । भारतमा आरएसएसको मौन सहमति वा ‘ग्रिन सिग्नल’ बेगर अध्यक्ष चयन गर्न त्यति सहज छैन । आरएसएसको ग्रीन सिग्नल नपाएर लामो समयदेखि नड्डाकै कार्यकाल लम्ब्याउँदै नितिनलाई गत साल मात्रै अध्यक्ष बनाइएको थियो ।

त्यसो हुँदाहुँदै पनि मोदी लगातार १२ वर्षदेखि प्रधानमन्त्रीका रूपमा भारतको स्थिर र शक्तिशाली नेतृत्व प्रदान गरिरहेका छन् । औसतमा एक वर्षमा एक प्रधानमन्त्री बेहोरेको नेपालका लागि यो केवल कल्पना हुने देखिन्छ ।

भाजपामा अध्यक्ष र प्रधानमन्त्रीको सहकार्यमा केही मुख्य पक्षहरूले काम गरेको देखिन्छ । पहिलो, प्रधानमन्त्रीले सरकारको प्रशासनिक र विकासका कार्यहरू हेर्छन् भने भाजपा अध्यक्षले संगठन विस्तार र पार्टीका राजनीतिक गतिविधि व्यवस्थापन गर्छन् । दोस्रो, उनीहरू देशको राजनीतिक अवस्था, निर्वाचन रणनीति र पार्टीका मुद्दाहरूबारे नियमित छलफल र सल्लाह गर्छन । तेस्रो, पार्टीको नीति र सरकारको कार्यदिशाबीच समन्वय कायम राख्न अध्यक्ष र प्रधानमन्त्रीबीच निरन्तर सञ्चार हुन्छ । चौथो, चुनावको समयमा प्रधानमन्त्रीले प्रचार–प्रसारको जिम्मा लिन्छन्, जबकि अध्यक्ष पार्टीको संगठनलाई सक्रिय बनाउने र चुनाव व्यवस्थापनमा केन्द्रित हुन्छन् । यसरी स्पष्ट कार्यविभाजन हुन्छ ।

अब विश्वकै पुरानो र परिपक्व लोकतान्त्रिक प्रणाली भएको अमेरिकाको कुरा गरौं । अमेरिकी रिपब्लिकन पार्टीको औपचारिक रिपब्लिकन नेसनल कमिटीको राष्ट्रिय अध्यक्ष अहिले माइकल वाट्ली हुन् । अमेरिकामा रिपब्लिकन पार्टीको औपचारिक अध्यक्षको नामभन्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव, शक्ति र अधिकार स्वभावैले प्रधान हुन्छ । तर, पार्टी र सरकारको समन्वयकै कारण नेपालको जस्तो विवादहरू अमेरिकामा सुनिँदैन । अमेरिकामा पार्टी अध्यक्षको मुख्य काम कोष संकलन, चुनाव व्यवस्थापन र तल्लो तहको संगठन परिचालन गर्नु हो । नीतिगत र राजनीतिक निर्णयहरूमा राष्ट्रपति वा प्रमुख उम्मेदवार नै सर्वेसर्वा हुन्छन् ।

माथिका उदाहरणले फरक पदमा फरक व्यक्ति हुँदा स्पष्ट अधिकार, भूमिका, दायित्व विभाजन र रणनीतिक एकता आवश्यक छ भन्ने देखाउँछ ।

के फाइदा के बेफाइदा ?

पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुँदा राजनीतिक प्रणालीमा सहजताको दृष्टिकोणले सकारात्मक पक्ष पनि देखिन्छन् । यसमा प्रधानमन्त्रीले कार्यकर्ता सम्हाल्नुपर्ने स्थिति नआउँदा राज्य सञ्चालनमा बढी समय दिन पाउँछन् । अर्को फाइदा– निर्णय प्रक्रियामा एकरूपता र स्थिरता आउनु हो । नीति निर्माणदेखि कार्यान्वयनसम्म पार्टीको संगठनात्मक दृष्टिकोण र सरकारको कार्यकारी निर्णयबीच कुनै द्वन्द्व वा विरोधाभास हुँदैन । पार्टीभित्रको बहस वा असहमतिले सरकारमा प्रभाव नपारी सरकारले छिटो र प्रभावकारी रूपमा काम अघि बढाउन सक्छ ।

यसले विशेषगरी संकटकालीन अवस्था वा तत्काल नीति परिवर्तन आवश्यक पर्ने बेला द्रुत निर्णय लिन सहज बनाउँछ । उदाहरणका लागि, ठूला पूर्वाधार परियोजना वा आर्थिक सुधार जस्ता विषयमा पार्टी र सरकारबीच एकै धारणा हुँदा कार्यान्वयनमा ढिलासुस्ती कम हुन्छ ।

जवाफदेहिताको स्पष्टतालाई अर्को फाइदाका रूपमा हेर्न सकिन्छ । जनताले सफलता वा असफलताको श्रेय वा दोष एकै व्यक्तिलाई दिने हुँदा नेतृत्वलाई थप जिम्मेवार बनाउने र उत्तरदायित्वको बोध गराउने सम्भावना बढी हुन्छ । विपक्षीले पनि स्पष्ट रूपमा एउटै व्यक्तिलाई लक्षित गरी आलोचना गर्छ । त्यसो हुँदा राजनीतिक बहसलाई केन्द्रित र जनमुखी बनाउन मद्दत गर्छ । संसदीय प्रणालीमा प्रधानमन्त्रीको पद संसद्प्रति जवाफदेही हुनुपर्ने हुँदा यसले सहज बनाउँछ ।

तर, विगततिर हेर्दा यो संरचनाका अपठ्यारा पक्षहरू पनि छन् । सबभन्दा ठूलो समस्या समय व्यवस्थापन हो । दैनिक प्रशासन, अन्तर्राष्ट्रिय सम्बन्ध, मन्त्रिपरिषद् व्यवस्थापन र संसद् बैठकमा ध्यान दिनुपर्ने प्रधानमन्त्री पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता व्यवस्थापन, महाधिवेशन तयारीदेखि गुट मिलाउने कामसम्ममा बाँडिँदा समय व्यवस्थापन नै ठूलो चुनौतीका रूपमा देखापर्छ ।

प्रधानमन्त्रीले दुवै भूमिकालाई पूर्ण रूपमा प्रभावकारी बनाउन नसक्दा पार्टी संगठन कमजोर हुने वा सरकारको नीति कार्यान्वयनमा ढिलाइ हुने जोखिम बढ्छ, जुन नेपालले भोगेकै हो । नेपालमा विगतमा नेताहरूले दुवै पद सम्हाल्दा पार्टीभित्रका असन्तुष्टि र गुटबन्दी नियन्त्रण गर्न पूर्ण सफल भएका छैनन् भन्ने उदाहरणले यो चुनौतीलाई प्रमाणित गर्छ ।

नेपालमा प्रायः सरकार सिंहदरबारबाट नभई बालुवाटारबाट चल्ने गर्छ । सरकारको निर्णय कहिलेकाहीँ पार्टीका कार्यकर्ता खुसी पार्न र झाँगिएको गुट सन्तुलन मिलाउन पनि गरिन्छ । र, योग्य व्यक्तिभन्दा पार्टीका कार्यकर्ता नियुक्ति गर्नुपर्दा स्वार्थको द्वन्द्व स्पष्ट देखिन्छ । एकै व्यक्तिले दुवैलाई सन्तुलन गर्नुपर्दा निर्णयमा पक्षपात वा कमजोरी देखिएका छन् । यसले दीर्घकालमा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउन सक्छ र सरकारको छवि पनि प्रभावित हुन्छ ।

दुवै प्रमुख पद एकै व्यक्तिमा केन्द्रित हुँदा पार्टी र सरकारभित्र दोस्रो तहका नेताहरूको नेतृत्व विकास हुने सम्भावना कम हुन्छ । यसले समग्र संस्थागत विकासमा बाधा पुग्ने जोखिम पनि उत्तिकै रहन्छ । यसले संस्थालाई व्यक्तिकेन्द्रित बनाउँछ, जसले नेपाल जस्तो राजनीतिक अस्थिरता भएको देशमा दीर्घकालीन स्थिरताका लागि हानिकारक हुन सक्छ ।

समग्रमा, एकै व्यक्तिले दुवै पद सम्हाल्दा छोटो अवधिमै द्रुत र एकीकृत निर्णय लिन सकिन्छ, जसले देशलाई फाइदा हुन्छ । तर, दीर्घकालीन संस्थागत सुदृढीकरण, समय व्यवस्थापन र स्वार्थ सन्तुलनका चुनौतीले यो मोडेललाई जोखिमपूर्ण बनाउँछ । नेपालको सन्दर्भमा ‘फाइदा’ र ‘चुनौती’ को सन्तुलन कसरी मिलाउने ? यो नेतृत्वको दूरदर्शिता र पार्टीको आन्तरिक संस्कृतिमा निर्भर गर्छ ।

रास्वपाको नयाँ संरचना : अवसर र जोखिम

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री अनि संसदीय दल नेता वालेन्द्र शाहको नेतृत्व संरचनाका केही सम्भावित चुनौती छन् । वालेन्द्र र रवि दुवै प्रखर व्यक्ति भएका हुँदा उनीहरू दीर्घकालीन रूपमा अगाडि बढ्न सक्दैनन् कि भनेर अहिले धेरै नेपाली चिन्तित छन् । त्यसकारण यस संरचनामै व्यक्तित्वको टकराब हुने सम्भावना रहन्छ । यसैगरी नीति–निर्माण, संगठन सुदृढीकरणमा समन्वय कसरी होला र भूमिकाको स्पष्टता कसरी होला ? यो जिज्ञासा पनि छँदै छ । संघीयता र धर्मनिरपेक्षताजस्ता संवेदनशील विषयमा दुवै जनाको विचारको स्पष्टता कत्तिको होला ? यसको चासो हुनु अस्वाभाविक होइन ।

देश बनाउने हुटहुटी बोकेका ५० वर्षीय रवि र ३६ टेकेका वालेन्द्रको सहकार्यको सफलताका आधार पनि त्यत्तिकै देखिन्छन् । दुवै युवालाई यसभन्दा अगाडि कांग्रेस र एमालेले जानेर/नजानेर गरेको गल्ती दोहोर्‍याउने छुट छैन । यस पटकको मतको सुनामी पनि त्यही विश्वासमा दिइएको हो । रविको संगठनमा भएको पकड र वालेन्द्रको जनआकर्षण तथा सुशासन छविले एकअर्काको पूरक हुने र कमजोरी पूर्ति गर्न सक्छन् । १८२ सिटको ऐतिहासिक बहुमतले दुवैलाई देश सकारात्मक मार्गमा जान सहकार्यमा बाध्य पार्नेछ । अन्तर्राष्ट्रिय अनुभव, चाहे त्यो भारत होस् वा अमेरिकाबाट सिक्ने हो भने स्पष्ट भूमिका विभाजन र विश्वासले मात्र सम्भाव्य द्वन्द्व टार्न सकिन्छ ।

सहकार्यको परीक्षा

२०८२ फागुन २१ को निर्वाचनले रवि लामिछाने र वालेन्द्र शाह दुवै जनताको आकांक्षाका प्रतीकका रूपमा अगाडि आएका छन् । दुई युवाको व्यक्तिगत प्रतिस्पर्धा होइन, पूरक सहकार्यले मात्रै जनताको अपेक्षाअनुरूप ५ वर्षको राजनीतिक स्थिरता र देश विकास सम्भव छ । पार्टी सभापतिले संगठन सुदृढीकरणमा र प्रधानमन्त्रीले सुशासन तथा नीति कार्यान्वयनमा केन्द्रित हुने अर्जुनदृष्टि भए मात्रै दुई रथीले नेपाली राजनीतिमा नयाँ मानक स्थापित गर्न सक्छन् ।

रवि र वालेन्द्रको मधुमासमा न्यूनतम पनि पाँच वर्षका लागि किरा धमिरा नलाओस् र आउने ५ वर्ष नेपालको राजनीतिक स्थायित्व र समृद्धिले सकारात्मक कोल्टे फेरोस् । रास्वपाको यो प्रयोग असफल हुने कुनै छुट छैन । समन्वयको उत्कृष्ट उदाहरण बन्दै देशलाई विकासको पथमा अघि बढोस् ।

रमेश अधिकारी सुशासन तथा निर्वाचन प्रक्रियाका विज्ञ हुन्। उनले नेपालसहित अफगानिस्थान र श्रीलंकामा समेत गरी तीन दशक यो क्षेत्रमा काम गरेका छन्।

Link copied successfully