राजनीतिमा ‘टेक्टोनिक सिफ्ट’

रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, आर्थिक विकासजस्ता एजेन्डा लिएर जनतासँग गयो। जनताले उसैले कल्पना गरेभन्दा पनि धेरै मत दिए । यसबाट अब नेपालमा नीति र एजेन्डाको राजनीति प्रारम्भ भएको प्रतीत हुन्छ।

चैत्र १३, २०८२

गेजा शर्मा वाग्ले

'Tectonic shift' in politics

What you should know

‍२१फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमार्फत रास्वपाले करिब दुईतिहाइ सिट हासिल गरेपछि नयाँ राजनीतिक बहस प्रारम्भ भएको छ । लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेका तथा हालसम्मको मूलधार मानिने कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरूको लज्जास्पद पराजय तथा रास्वपाको अभूतपूर्व विजयले अर्थपूर्ण सन्देश दिएको छ ।

यो निर्वाचनले राजनीति, राजनीतिक पार्टी र निर्वाचनबारे हालसम्मका परम्परागत भाष्य, मानक र सूचकांकहरूलाई अप्रत्याशित रूपमा विनिर्माण गरिदिएको छ । लामो समयदेखि चल्दै आएको परम्परागत राजनीतिक बहससमेत असान्दर्भिक भएको छ । विगतमा विरलै हुने सीएनएन, बीबीसी, न्युयोर्क टाइम्सलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत यस पटकको निर्वाचन र परिणामबारे व्यापक चर्चा भइरहेको छ ।

विशेषगरी बालेन शाहको चामत्कारिक उदय र उनको लोकप्रियता तथा कम्युनिस्ट पार्टीहरूको पराजय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख चासो र प्राथमिकता भएको देखिन्छ । स्थापना भएको चार वर्ष पनि नपुग्दै तथा पहिलो महाधिवेशनसमेत नहुँदै रास्वपाले कसरी यति लोकप्रिय मत हासिल गर्न सफल भयो ? यो बालेनको विजय हो कि रास्वपाको ? कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरू किन पराजित भए ? आफ्नै राजनीतिक स्वास्थ्य र भविष्यका लागि कांग्रेस, एमाले, नेकपालगायतका पार्टीले मात्रै होइन, रास्वपाले समेत यी प्रश्नका उत्तर खोज्नु आवश्यक छ ।

पंक्तिकारको विचारमा नेपाली राजनीतिमा आएको ‘टेक्टोनिक सिफ्ट’ हो । अर्थात् वैचारिक, संरचनागत र पुस्तागत दृष्टिले मौलिक परिवर्तन भएको छ । यस्तो सिफ्टको तत्कालीन र दीर्घकालीन असर हुनेछ । तर यस्तो सिफ्ट कसरी आयो ? यसका कारण के हुन् ? यस्तो सिफ्टले भविष्यमा कस्तो असर पर्ला ? अहिलेका प्रमुख प्रश्न यिनै हुन् । यसबारेमा वस्तुनिष्ठ अध्ययन, अनुसन्धान र बहस आवश्यक छ ।

यस्तो सिफ्टका प्रमुख रूपमा सात कारण छन् ।  आइडियोलोजीबाट एजेन्डा अहिले नेपालको राजनीति आइडियोलोजी (विचारधारा वा वाद) बाट एजेन्डामा सिफ्ट भएको छ । कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरूले आइडियोलोजीका आधारमा राजनीति गर्दै आएका छन् । राष्ट्रवाद, समाजवाद, साम्यवाद, उदारवाद, अनुदारवाद, पुँजीवाद, अधिनायकवाद, साम्राज्यवाद, विस्तारवादजस्ता आइडियोलोजी र जार्गन गायत्री मन्त्रजस्तै जप्दै आएका छन् ।

यो निर्वाचनमा पनि यी पार्टीले आइडियोलोजीलाई नै प्राथमिकता दिए । तर वर्षौंदेखि सुन्दै आएका अमूर्त दर्शन, विचारधारा, वाद, सिद्धान्तप्रति जनताको आकर्षण थिएन । त्यसैले यी पार्टीहरू लज्जास्पद रूपमा पराजित भए । तर विचारधारा, वाद र दर्शनभन्दा पनि एजेन्डालाई प्रमुख प्राथमिकता दिँदै आएको रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, आर्थिक विकासजस्ता एजेन्डा लिएर जनतासँग गयो ।

उक्त एजेन्डालाई समर्थन गर्दै जनताले रास्वपालाई उसैले कल्पना गरेको भन्दा पनि धेरै मत दिए । यो परिदृश्यबाट विश्लेषण गर्दा अब नेपालमा नीति र एजेन्डाको राजनीति प्रारम्भ भएको प्रतीत हुन्छ । अहिलेको निर्वाचन परिणाम यसैको परिणति हो । तर अर्को कटु वास्तविकता के पनि हो भने निर्वाचनका क्रममा एजेन्डाका बारेमा अपेक्षाकृत बहस भएन ।

केवल पुराना पार्टी र पुस्ता भर्सेस नयाँ पार्टी र पुस्ताबीच आरोप–प्रत्यारोपको शृंखला मात्रै चल्यो । तथ्य होइन भाष्य, भिजन होइन इमोसन (भावना) र एजेन्डा होइन प्रोपोगान्डाका आधारमा ‘पार्टी होस् कि पुस्ता, पुराना सबै खराब र नयाँ सबै असल’ भन्ने भ्रामक र पपुलिस्ट भाष्य स्थापित भयो । ‘चिसो भनेकै कोकाकोला’ भन्ने विज्ञापनजस्तै ‘परिवर्तन भनेकै बालेन प्रधानमन्त्री’ भन्ने भाष्यप्रति सम्मोहित भएर जनताले चुपचाप घन्टीलाई भोट दिए ।

सन् १९६० मा अमेरिकी राजनीतिशास्त्री ड्यानियल बेलको ‘दी एन्ड अफ आइडियोलोजी’ नामक बहुचर्चित पुस्तक प्रकाशित भएपछि विश्वव्यापी रूपमा नै आइडियोलोजीको अन्त्यबारे बहस चल्दै आएको छ । बेलको तर्क छ, ‘१९औं र २०औं शताब्दीमा प्रभुत्व जमाएका प्रमुख विचारधारा साम्यवाद, मार्क्सवाद, फासीवाद, सामन्तवाद, अधिनायकवाद, सर्वसत्तावाद, निरंकुशतावाद असान्दर्भिक र असफल हुँदै गएका छन् ।’ उनको निष्कर्ष छ, ‘आइडियोलोजीको युग क्रमिक रूपमा अन्त्य भएर नीति, एजेन्डा र सुधारवादी युग प्रारम्भ भएको छ र लोकतन्त्रको भविष्य पनि यसैमा अन्तर्निहित छ ।’

२१औं शताब्दीको उत्तरआधुनिक (पोस्ट–मोडर्न), उत्तरवैचारिक (पोस्ट–आइडियोलोजी) तथा सत्योत्तर (पोस्ट–ट्रुथ) युगमा वाद, विचारधारा, सिद्धान्तको सान्दर्भिकता र औचित्य कति छ ? भन्ने प्रश्न स्वयं बहस र विवादको विषय हो । तर बेलको भविष्यवाणी जस्तै आइडियोलोजीको युग अन्त्य भने भएन । किनभने अहिले पनि विश्वव्यापी रूपमा आइडियोलोजीको बारेमा घनीभूत बहस भइरहेको छ । विश्वको राजनीति आइडियोलोजीकै आधारमा धुव्रीकृत भइरहेको छ र अमेरिका–युरोपका ख्याति प्राप्त विश्वविद्यालयहरूमा आइडियोलोजीकै बारेमा अध्ययन, अनुसन्धान र अध्यापन भइरहेको छ ।

किनभने विचारधारा र सिद्धान्त भनेको निरन्तर विकास, परिमार्जन र अद्यावधिक हुने प्रक्रिया हो । राजनीतिक विचारधाराले नै राज्य, सरकार र पार्टीहरूलाई मार्गनिर्देश गर्छ । अर्कोतिर, केवल राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक एजेन्डाले समान महत्त्व पाएका छन् । आर्थिक विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यावरण, जलवायु परिवर्तन, सामाजिक न्याय, लैंगिक समानता, दिगो विकासलगायतका एजेन्डाहरूले प्रमुखता पाएका छन् ।

त्यसैले परम्परागत र राजनीतिकभन्दा अहिलेका ज्वलन्त र जनताका एजेन्डाले प्राथमिकता पाएको देखिन्छ ।  मूलधारबाट वैकल्पिक धार अर्को राजनीतिक सिफ्ट हो– मूलधारबाट वैकल्पिक धार । अहिले विश्वव्यापी रूपमा नै मूलधार, मध्यमार्ग, उदारवाद अलोकप्रिय र प्रतिरक्षात्मक हुँदै गएको छ भने पपुलिस्ट, अनुदारवादी, राष्ट्रवादी प्रवृत्ति हाबी हुँदै गएको छ । २०४६ मा लोकतन्त्र स्थापना भएपछि तथा २०६३ मा मूल प्रवाहमा आएपछि कांग्रेस, एमाले, माओवादीलगायतका विरासत भएका मूलधारका पार्टीलाई जनताले विश्वास गर्दै आइरहेका थिए ।

त्यसैले यिनैले हालसम्म राज्यसत्ता सञ्चालन गर्दै आइरहेका थिए । तर हालसम्म मानिँदै आएको मूलधार अहिले प्रतिरक्षात्मक भएको छ र वैकल्पिक धार मूलधारका रूपमा स्थापित हुँदै गएको छ । वैकल्पिक धारको पार्टी भएको भाष्य स्थापित गर्न रास्वपा सफल भयो । कांग्रेस, एमाले, नेकपालगायतका पार्टीको पराजय र रास्वपाको दिग्विजय मूलधारबाट वैकल्पिक धारमा राजनीति सिफ्ट भएको प्रमाण हो । यसरी वैकल्पिक धार स्थापित भएको श्रेय विवेकशील पार्टी र उज्ज्वल थापालाई जान्छ ।

अहिले केवल मूलधारको राजनीति, पार्टी र नेतृत्व मात्रै होइन, समग्रमा मूलधार नै प्रतिरक्षात्मक र कमजोर भएको छ । मूलधारका सञ्चारमाध्यम, सम्पादक, बुद्धिजीवी, लेखक, अभियन्ताको व्यापक आलोचना र नकारात्मक टिप्पणी गर्दै आइएको छ । यसैगरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिकलगायतका समाजको ‘डिस्कोर्स’ नै मूलधारबाट वैकल्पिक धारमा सिफ्ट हुँदै गएको देखिन्छ । यसरी वैकल्पिक धार स्थापित हुनुमा वैकल्पिक तथा नयाँ मिडिया अर्थात् सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्मले उत्तोलकको भूमिका निर्वाह गरेका छन् । 

संगठनबाट सामाजिक सञ्जाल र अल्गोरिदम  पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, विचार, संगठन र नेतृत्व हुन् । १९औं र २०औं शताब्दीसम्म नेता तथा कार्यकर्ताले पार्टीका सिद्धान्त, विचार, नीति लिएर जनतासमक्ष जान्थे । त्यही आधारमा संगठन गरी जनमत हासिल गरिन्थ्यो । कुनै पनि पार्टीका लागि जनतासँग जाने माध्यम केही हदसम्म सञ्चारमाध्यम भए पनि मूलभूत रूपमा नेता र कार्यकर्ता मात्रै थिए ।

तर २१औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको डिजिटल र अल्गोरिदमको युगमा त्यस्ता परम्परागत पद्धति, प्रक्रिया र शैली मौलिक रूपमा परिवर्तन भएका छन् । अब परम्परागत होइन, गैरपरम्परागत पद्धतिले पार्टी निर्माण हुन्छन् ।  शैक्षिक स्तर, चेतनाको विकास, सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासको कारणले पार्टी निर्माणको नवीन अध्याय सुरु भएको छ ।

अहिले सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममार्फत जनतासँग प्रत्यक्ष संवाद गरी जनताको समर्थन हासिल गर्न सक्ने पार्टी र नेतृत्व स्थापित हुने डिजिटल परिवेश सिर्जना भएको छ । अब स्पष्ट भिजन, नीति र एजेन्डाका आधारमा पार्टी तथा भिजन र छविका आधारमा नेतृत्व विकसित हुने युग सुरु भएको छ । पार्टी निर्माण र नेतृत्व विकासको दृष्टिले यो उल्लेखनीय उपलब्धि हो ।

अहिले यही प्रक्रियामार्फत पार्टी, नेतृत्व र कार्यकर्ताले जनतासमक्ष प्रत्यक्ष संवाद र अन्तर्क्रिया गरिरहेका छन् । राजनीतिक सञ्चार र संवादका दृष्टिले यो प्रभावकारी र लोकप्रिय माध्यम भएको छ । अहिले स्वतन्त्र बुद्धिजीवी, सेलेब्रिटी, सामाजिक सञ्जालका ‘इन्फुन्सियसर’, समाजसेवी तथा प्रबुद्ध नागरिकमार्फत विचार निर्माण तथा न्यारेटिभ स्थापित हुने परिवेश विकसित हुँदै गएको छ ।

पार्टीका संगठन विभागभन्दा सामाजिक सञ्जाल र अल्गोरिदम विभाग शक्तिशाली र प्रभावशाली हुँदै गएका छन् । सञ्चारमाध्यम, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल व्यवस्थापन गरी निर्वाचनमा विजय हासिल गर्ने तथा प्रतिस्पर्धीलाई कमजोर बनाउने नयाँ अभ्यास र रणनीतिको प्रारम्भ भएको छ । अहिले जनताका वास्तविक एजेन्डाभन्दा पनि सामाजिक सञ्जालमा अल्गोरिदमले प्रवर्द्धन गरेको प्रायोजित र पपुलिस्ट भाष्य स्थापित हुने प्रवृत्ति बढ्दै गइरहेको छ ।

यही रणनीति अनुसरण गरी रास्वपा लोकप्रिय पार्टीका रूपमा स्थापित भएको छ । यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा कस्तो असर पर्ला ? त्यो पृथक् बहसको विषय हो । तर अहिलेको कटु यथार्थ यही हो ।  कार्यकर्ताबाट जनता  अर्को महत्त्वपूर्ण आयाम भनेको राजनीति अब पार्टीका नेता र कार्यकर्ताबाट सिधै जनतामा भएको सिफ्ट हो । हालसम्म राजनीति पार्टीका नेता र कार्यकर्ताले गर्दै आएका थिए । कुनै पनि पार्टीका नेता–कार्यकर्ता र जनताका बीचमा ठूलो पर्खाल थियो । त्यो पर्खाल स्वयं पार्टीका नेता र कार्यकर्ताले सिर्जना गरेका थिए । तर यो निर्वाचनले त्यो पर्खाल भत्काइदिएको छ ।

जनतामा आधारित पार्टी निर्माणका दृष्टिले यो सकारात्मक पक्ष हो । त्यसैले अब ‘कार्यकर्ता थोरै, सदस्य तथा समर्थक–शुभेच्छुक धेरै’ बनाउने नीति अख्तियार गर्नुपर्छ । अब धेरै कार्यकर्ता पार्टीलाई बोझ र धेरै सदस्य तथा शुभेच्छुक सम्पत्ति हुने परिवेश सिर्जना भएको छ । बौद्धिक समुदाय, नागरिक समाज, सामाजिक अभियन्ता, सेलेब्रिटीहरूको छवि सकारात्मक छ, विश्वसनीयता पनि छ र जनताले उनीहरूको कुरा सुन्छन् । तर पार्टीका नेता र कार्यकर्ताको छवि पनि सकारात्मक छैन र उनीहरूप्रति जनताको विश्वास छैन । 

क्रान्ति, आन्दोलन र संघर्षमार्फत निरंकुशतन्त्रको अन्त्य गरी लोकतन्त्र, गणतन्त्र स्थापना गर्नका लागि तत्कालीन सन्दर्भमा पार्टीहरू कार्यकर्तामा आधारित हुन जरुरी थियो र पूर्णकालीन कार्यकर्ता पनि आवश्यक थिए । तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई लोकतान्त्रिक र संवैधानिक प्रक्रिया क्रियाशील भइसकेको अवस्थामा अपवादबाहेक अब क्रान्ति वा संघर्ष गर्नुपर्ने आवश्यकता छैन ।

अर्कोतिर कार्यकर्तामा आधारित भनेको कम्युनिस्ट संगठन प्रणाली हो । लोकतन्त्रवादी भएर पनि कम्युनिस्ट प्रणालीबाट प्रभावित र प्रेरित भई कांग्रेस अर्धकार्यकर्ता तथा अर्धजनतामा आधारित पार्टी भएको छ । त्यसैले अब कांग्रेस मात्रै होइन, खुला तथा उदार प्रणाली अनुसरण गरी सबै जनतामा आधारित पार्टीका रूपमा रूपान्तरित हुनुपर्छ । 

एकातिर ठूलो संख्यामा नेता–कार्यकर्ता छन्, अर्कोतिर आर्थिक दृष्टिले आत्मनिर्भर छैनन् । कतिपय सन्दर्भमा नेता–कार्यकर्ताभन्दा पनि दलाल, बिचौलिया र कमिसन एजेन्ट बढी भएको देखिन्छ । पार्टीमा योगदान होइन कि राज्यको दोहन गर्ने उद्देश्यले पार्टीलाई प्रयोग मात्रै गरेको देखिन्छ । यही कारणले पार्टी र नेताहरू भ्रष्टाचारको दृश्य–अदृश्य स्रोत र संरक्षक भएका छन् ।

पार्टीलाई दोहनकारी निकाय बनाउने कि जनताको सेवा गर्ने निकाय ? यस्तो प्रवृत्ति र चरित्रले पार्टीलाई कहाँ पुर्‍याउला ?  पुरानो वा ‘स्थापित’ पुस्ताबाट नयाँ पुस्ता पुरानो र हालसम्मको मापदण्डअनुसार स्थापित पुस्ताबाट यो निर्वाचनमार्फत राजनीति नयाँ तथा युवा पुस्तामा मौलिक रूपमा सिफ्ट भएको देखिन्छ  ।

पुस्तान्तरणसहितको नयाँ नेतृत्व जनता विशेषगरी युवा पुस्ताको प्रमुख एजेन्डा थियो । जेन–जी विद्रोहपछि यो एजेन्डा स्थापित भयो । सापेक्षिक रूपमा युवा तथा नयाँ पुस्ताको पार्टी मानिने रास्वपाका पदाधिकारीहरू प्रायः ५० वर्षको हाराहारीमा छन् भने ३६ वर्षीय बालेन आज प्रधानमन्त्री नियुक्त हुँदै छन् । यो निर्वाचनबाट करिब १०० जना ४० वर्षमुनिका सांसद निर्वाचित भएका छन् । जसमध्ये १३ जना जेन–जी छन् ।

आधाभन्दा बढी सांसद ४५ वर्षमुनिका छन् । प्रत्यक्ष र समानुपातिक सांसदहरूको औसत उमेर नै करिब ४५ छ । यो नेपाली राजनीतिको क्रान्तिकारी पुस्तान्तरण र रूपान्तरण हो । यसको श्रेय बालेन र रास्वपालाई जान्छ । कांग्रेस सभापति गगन थापाले पुस्तान्तरणको मुद्दा विगत लामो समयदेखि उठाउँदै आएका थिए ।

उनले कार्यान्वयन गर्न सकेनन् वा समय पाएनन् । तर बालेन र रास्वपाले गरे । तर यसको ठीक विपरीत एमाले, नेकपा, राप्रपालगायतका पार्टी पुरानो पुस्ताले नेतृत्व गर्दै आएका छन् । लामो बहस र विवादपछि पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति हुन सफल भए । अब १५औं महाधिवेशनमार्फत केन्द्रदेखि वडासम्म कांग्रेसको नेतृत्व पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित गर्नु अपरिहार्य भएको देखिन्छ । त्यसपछि बल्ल कांग्रेसले पुनर्जीवन पाउनेछ ।

केवल कांग्रेसले मात्रै होइन, अन्य सबै पार्टीले पुस्तान्तरणसहितको नयाँ नेतृत्व स्थापित गर्नु अपरिहार्य छ । होइन भने पुनर्जीवन पाउने सम्भावना छैन । यथास्थितिवादबाट परिवर्तन यस पटकको निर्वाचनमा जनतामा परिवर्तनको उत्कट आकांक्षा थियो । यो केवल युवा पुस्तामा मात्रै होइन, सबै पुस्तामा थियो । त्यसैले यस पटक परिवर्तन राष्ट्रिय आकांक्षा भयो । कांग्रेस, एमाले, नेकपालगायतका पार्टी यथास्थितिवादी भए ।

जनताका अधिकार र लोकतन्त्र स्थापनाका लागि गरेको संघर्ष सुनौलो र गौरवपूर्ण भए पनि ती पार्टी र नेताहरू अतीत र इतिहासमुखी भए । अर्कोतिर ती पार्टी सत्तामा आएपछि मौलाएको कुशासन र भ्रष्टाचारका कारणले जनतामा अत्यन्त अलोकप्रिय भएका थिए । विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्वका साथ जनतामा गए पनि कांग्रेसले उक्त भाष्य स्थापित गर्न सकेन ।

त्यसैले बदलिएको कांग्रेस पनि सोही भाष्यको सिकार भयो । तर जनताले अतीत र इतिहासमुखी होइन, परिवर्तनकामी र भविष्यमुखी पार्टी र नेतृत्व खोजेका थिए । रास्वपालाई जनताले परिवर्तनकामी र भविष्यमुखी पार्टीका रूपमा आत्मसात् गरे । विशेषगरी जेन–जी आन्दोलनका प्रेरक र संरक्षक मानिने बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार भएपछि यस्तो भाष्य स्थापित भयो ।

त्यसको एकल र अधिकतम राजनीतिक लाभ रास्वपाले हासिल गर्न सफल भयो । यद्यपि रास्वपा परिवर्तनकामी र भविष्यमुखी तथा वैकल्पिक धारको पार्टी हो कि होइन ? त्यो पृथक् बहसको विषय हो । तर अहिलेको स्थापित भाष्य यही हो । नेपाली समाजले पनि भिजनरी र उत्तरदायी नेतृत्व होइन, तिलस्मी नायक वा जादुगर खोजेको खोजेको प्रतीत हुन्छ । लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? 

उदारवाद र बहुलवादबाट अनुदारवाद र पपुलिजम अहिलेको राजनीति उदारवादी तथा बहुलवादी धारबाट क्रमिक रूपमा अनुदारवादी तथा पपुलिस्ट धारतर्फ उन्मुख हुँदै गएको छ । यस्तो केवल नेपालको मात्रै होइन, विश्वव्यापी लहर हो । नेपालको सन्दर्भमा यस्तो अनुदारवादी तथा पपुलिस्ट धारको नेतृत्व रास्वपाले गरेको छ । अर्थनीतिका दृष्टिले उदारवादी भए पनि राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक दृष्टिले रास्वपाले अनुदारवादी धारको नेतृत्व गर्छ ।

बालेन नेतृत्वको रास्वपाको सरकार थप अनुदार र अनुत्तरदायी हुने सम्भावना देखिन्छ । अमेरिकाको नोट्रेडम विश्वविद्यालयका प्राध्यापक प्याट्रिक डेनिनको सन् २०१८ मा प्रकाशित बहुचर्चित किताव ‘ह्वाई लिब्रालिजम फेल्ड’ नेपालका पार्टीका नेता–कार्यकर्ताहरू विशेषगरी लोकतन्त्र र उदारवादमा विश्वास गर्ने कांग्रेसजनहरूले पढ्न आवश्यक छ ।

लामो अध्ययन–अनुसन्धानपछि उदारवादको असफलताका बारेमा लेखिएको उक्त पुस्तकका तथ्य, तथ्यांक र निष्कर्षलाई आत्मसात् गरी उपयुक्त नीति र मार्गचित्र अनुसरण गर्नु आवश्यक छ । उदारवाद असफल भएको धारणासँग सहमत भएर अनुदारवादी धारतर्फ उन्मुख हुनुपर्छ भन्ने पंक्तिकारको निष्कर्ष होइन । तर उदार लोकतन्त्र र उदारवादको सुधार र सान्दर्भिकताका लागि पनि विगतका असफलताबाट शिक्षा लिनु अपरिहार्य छ । 

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully