रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, आर्थिक विकासजस्ता एजेन्डा लिएर जनतासँग गयो। जनताले उसैले कल्पना गरेभन्दा पनि धेरै मत दिए । यसबाट अब नेपालमा नीति र एजेन्डाको राजनीति प्रारम्भ भएको प्रतीत हुन्छ।
What you should know
२१फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमार्फत रास्वपाले करिब दुईतिहाइ सिट हासिल गरेपछि नयाँ राजनीतिक बहस प्रारम्भ भएको छ । लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेका तथा हालसम्मको मूलधार मानिने कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरूको लज्जास्पद पराजय तथा रास्वपाको अभूतपूर्व विजयले अर्थपूर्ण सन्देश दिएको छ ।
यो निर्वाचनले राजनीति, राजनीतिक पार्टी र निर्वाचनबारे हालसम्मका परम्परागत भाष्य, मानक र सूचकांकहरूलाई अप्रत्याशित रूपमा विनिर्माण गरिदिएको छ । लामो समयदेखि चल्दै आएको परम्परागत राजनीतिक बहससमेत असान्दर्भिक भएको छ । विगतमा विरलै हुने सीएनएन, बीबीसी, न्युयोर्क टाइम्सलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत यस पटकको निर्वाचन र परिणामबारे व्यापक चर्चा भइरहेको छ ।
विशेषगरी बालेन शाहको चामत्कारिक उदय र उनको लोकप्रियता तथा कम्युनिस्ट पार्टीहरूको पराजय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख चासो र प्राथमिकता भएको देखिन्छ । स्थापना भएको चार वर्ष पनि नपुग्दै तथा पहिलो महाधिवेशनसमेत नहुँदै रास्वपाले कसरी यति लोकप्रिय मत हासिल गर्न सफल भयो ? यो बालेनको विजय हो कि रास्वपाको ? कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरू किन पराजित भए ? आफ्नै राजनीतिक स्वास्थ्य र भविष्यका लागि कांग्रेस, एमाले, नेकपालगायतका पार्टीले मात्रै होइन, रास्वपाले समेत यी प्रश्नका उत्तर खोज्नु आवश्यक छ ।
पंक्तिकारको विचारमा नेपाली राजनीतिमा आएको ‘टेक्टोनिक सिफ्ट’ हो । अर्थात् वैचारिक, संरचनागत र पुस्तागत दृष्टिले मौलिक परिवर्तन भएको छ । यस्तो सिफ्टको तत्कालीन र दीर्घकालीन असर हुनेछ । तर यस्तो सिफ्ट कसरी आयो ? यसका कारण के हुन् ? यस्तो सिफ्टले भविष्यमा कस्तो असर पर्ला ? अहिलेका प्रमुख प्रश्न यिनै हुन् । यसबारेमा वस्तुनिष्ठ अध्ययन, अनुसन्धान र बहस आवश्यक छ ।
यस्तो सिफ्टका प्रमुख रूपमा सात कारण छन् । आइडियोलोजीबाट एजेन्डा अहिले नेपालको राजनीति आइडियोलोजी (विचारधारा वा वाद) बाट एजेन्डामा सिफ्ट भएको छ । कांग्रेस, एमाले, नेकपालगायतका पार्टीहरूले आइडियोलोजीका आधारमा राजनीति गर्दै आएका छन् । राष्ट्रवाद, समाजवाद, साम्यवाद, उदारवाद, अनुदारवाद, पुँजीवाद, अधिनायकवाद, साम्राज्यवाद, विस्तारवादजस्ता आइडियोलोजी र जार्गन गायत्री मन्त्रजस्तै जप्दै आएका छन् ।
यो निर्वाचनमा पनि यी पार्टीले आइडियोलोजीलाई नै प्राथमिकता दिए । तर वर्षौंदेखि सुन्दै आएका अमूर्त दर्शन, विचारधारा, वाद, सिद्धान्तप्रति जनताको आकर्षण थिएन । त्यसैले यी पार्टीहरू लज्जास्पद रूपमा पराजित भए । तर विचारधारा, वाद र दर्शनभन्दा पनि एजेन्डालाई प्रमुख प्राथमिकता दिँदै आएको रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, आर्थिक विकासजस्ता एजेन्डा लिएर जनतासँग गयो ।
उक्त एजेन्डालाई समर्थन गर्दै जनताले रास्वपालाई उसैले कल्पना गरेको भन्दा पनि धेरै मत दिए । यो परिदृश्यबाट विश्लेषण गर्दा अब नेपालमा नीति र एजेन्डाको राजनीति प्रारम्भ भएको प्रतीत हुन्छ । अहिलेको निर्वाचन परिणाम यसैको परिणति हो । तर अर्को कटु वास्तविकता के पनि हो भने निर्वाचनका क्रममा एजेन्डाका बारेमा अपेक्षाकृत बहस भएन ।
केवल पुराना पार्टी र पुस्ता भर्सेस नयाँ पार्टी र पुस्ताबीच आरोप–प्रत्यारोपको शृंखला मात्रै चल्यो । तथ्य होइन भाष्य, भिजन होइन इमोसन (भावना) र एजेन्डा होइन प्रोपोगान्डाका आधारमा ‘पार्टी होस् कि पुस्ता, पुराना सबै खराब र नयाँ सबै असल’ भन्ने भ्रामक र पपुलिस्ट भाष्य स्थापित भयो । ‘चिसो भनेकै कोकाकोला’ भन्ने विज्ञापनजस्तै ‘परिवर्तन भनेकै बालेन प्रधानमन्त्री’ भन्ने भाष्यप्रति सम्मोहित भएर जनताले चुपचाप घन्टीलाई भोट दिए ।
सन् १९६० मा अमेरिकी राजनीतिशास्त्री ड्यानियल बेलको ‘दी एन्ड अफ आइडियोलोजी’ नामक बहुचर्चित पुस्तक प्रकाशित भएपछि विश्वव्यापी रूपमा नै आइडियोलोजीको अन्त्यबारे बहस चल्दै आएको छ । बेलको तर्क छ, ‘१९औं र २०औं शताब्दीमा प्रभुत्व जमाएका प्रमुख विचारधारा साम्यवाद, मार्क्सवाद, फासीवाद, सामन्तवाद, अधिनायकवाद, सर्वसत्तावाद, निरंकुशतावाद असान्दर्भिक र असफल हुँदै गएका छन् ।’ उनको निष्कर्ष छ, ‘आइडियोलोजीको युग क्रमिक रूपमा अन्त्य भएर नीति, एजेन्डा र सुधारवादी युग प्रारम्भ भएको छ र लोकतन्त्रको भविष्य पनि यसैमा अन्तर्निहित छ ।’
२१औं शताब्दीको उत्तरआधुनिक (पोस्ट–मोडर्न), उत्तरवैचारिक (पोस्ट–आइडियोलोजी) तथा सत्योत्तर (पोस्ट–ट्रुथ) युगमा वाद, विचारधारा, सिद्धान्तको सान्दर्भिकता र औचित्य कति छ ? भन्ने प्रश्न स्वयं बहस र विवादको विषय हो । तर बेलको भविष्यवाणी जस्तै आइडियोलोजीको युग अन्त्य भने भएन । किनभने अहिले पनि विश्वव्यापी रूपमा आइडियोलोजीको बारेमा घनीभूत बहस भइरहेको छ । विश्वको राजनीति आइडियोलोजीकै आधारमा धुव्रीकृत भइरहेको छ र अमेरिका–युरोपका ख्याति प्राप्त विश्वविद्यालयहरूमा आइडियोलोजीकै बारेमा अध्ययन, अनुसन्धान र अध्यापन भइरहेको छ ।
किनभने विचारधारा र सिद्धान्त भनेको निरन्तर विकास, परिमार्जन र अद्यावधिक हुने प्रक्रिया हो । राजनीतिक विचारधाराले नै राज्य, सरकार र पार्टीहरूलाई मार्गनिर्देश गर्छ । अर्कोतिर, केवल राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक एजेन्डाले समान महत्त्व पाएका छन् । आर्थिक विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यावरण, जलवायु परिवर्तन, सामाजिक न्याय, लैंगिक समानता, दिगो विकासलगायतका एजेन्डाहरूले प्रमुखता पाएका छन् ।
त्यसैले परम्परागत र राजनीतिकभन्दा अहिलेका ज्वलन्त र जनताका एजेन्डाले प्राथमिकता पाएको देखिन्छ । मूलधारबाट वैकल्पिक धार अर्को राजनीतिक सिफ्ट हो– मूलधारबाट वैकल्पिक धार । अहिले विश्वव्यापी रूपमा नै मूलधार, मध्यमार्ग, उदारवाद अलोकप्रिय र प्रतिरक्षात्मक हुँदै गएको छ भने पपुलिस्ट, अनुदारवादी, राष्ट्रवादी प्रवृत्ति हाबी हुँदै गएको छ । २०४६ मा लोकतन्त्र स्थापना भएपछि तथा २०६३ मा मूल प्रवाहमा आएपछि कांग्रेस, एमाले, माओवादीलगायतका विरासत भएका मूलधारका पार्टीलाई जनताले विश्वास गर्दै आइरहेका थिए ।
त्यसैले यिनैले हालसम्म राज्यसत्ता सञ्चालन गर्दै आइरहेका थिए । तर हालसम्म मानिँदै आएको मूलधार अहिले प्रतिरक्षात्मक भएको छ र वैकल्पिक धार मूलधारका रूपमा स्थापित हुँदै गएको छ । वैकल्पिक धारको पार्टी भएको भाष्य स्थापित गर्न रास्वपा सफल भयो । कांग्रेस, एमाले, नेकपालगायतका पार्टीको पराजय र रास्वपाको दिग्विजय मूलधारबाट वैकल्पिक धारमा राजनीति सिफ्ट भएको प्रमाण हो । यसरी वैकल्पिक धार स्थापित भएको श्रेय विवेकशील पार्टी र उज्ज्वल थापालाई जान्छ ।
अहिले केवल मूलधारको राजनीति, पार्टी र नेतृत्व मात्रै होइन, समग्रमा मूलधार नै प्रतिरक्षात्मक र कमजोर भएको छ । मूलधारका सञ्चारमाध्यम, सम्पादक, बुद्धिजीवी, लेखक, अभियन्ताको व्यापक आलोचना र नकारात्मक टिप्पणी गर्दै आइएको छ । यसैगरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिकलगायतका समाजको ‘डिस्कोर्स’ नै मूलधारबाट वैकल्पिक धारमा सिफ्ट हुँदै गएको देखिन्छ । यसरी वैकल्पिक धार स्थापित हुनुमा वैकल्पिक तथा नयाँ मिडिया अर्थात् सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्मले उत्तोलकको भूमिका निर्वाह गरेका छन् ।
संगठनबाट सामाजिक सञ्जाल र अल्गोरिदम पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, विचार, संगठन र नेतृत्व हुन् । १९औं र २०औं शताब्दीसम्म नेता तथा कार्यकर्ताले पार्टीका सिद्धान्त, विचार, नीति लिएर जनतासमक्ष जान्थे । त्यही आधारमा संगठन गरी जनमत हासिल गरिन्थ्यो । कुनै पनि पार्टीका लागि जनतासँग जाने माध्यम केही हदसम्म सञ्चारमाध्यम भए पनि मूलभूत रूपमा नेता र कार्यकर्ता मात्रै थिए ।
तर २१औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको डिजिटल र अल्गोरिदमको युगमा त्यस्ता परम्परागत पद्धति, प्रक्रिया र शैली मौलिक रूपमा परिवर्तन भएका छन् । अब परम्परागत होइन, गैरपरम्परागत पद्धतिले पार्टी निर्माण हुन्छन् । शैक्षिक स्तर, चेतनाको विकास, सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासको कारणले पार्टी निर्माणको नवीन अध्याय सुरु भएको छ ।
अहिले सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममार्फत जनतासँग प्रत्यक्ष संवाद गरी जनताको समर्थन हासिल गर्न सक्ने पार्टी र नेतृत्व स्थापित हुने डिजिटल परिवेश सिर्जना भएको छ । अब स्पष्ट भिजन, नीति र एजेन्डाका आधारमा पार्टी तथा भिजन र छविका आधारमा नेतृत्व विकसित हुने युग सुरु भएको छ । पार्टी निर्माण र नेतृत्व विकासको दृष्टिले यो उल्लेखनीय उपलब्धि हो ।
अहिले यही प्रक्रियामार्फत पार्टी, नेतृत्व र कार्यकर्ताले जनतासमक्ष प्रत्यक्ष संवाद र अन्तर्क्रिया गरिरहेका छन् । राजनीतिक सञ्चार र संवादका दृष्टिले यो प्रभावकारी र लोकप्रिय माध्यम भएको छ । अहिले स्वतन्त्र बुद्धिजीवी, सेलेब्रिटी, सामाजिक सञ्जालका ‘इन्फुन्सियसर’, समाजसेवी तथा प्रबुद्ध नागरिकमार्फत विचार निर्माण तथा न्यारेटिभ स्थापित हुने परिवेश विकसित हुँदै गएको छ ।
पार्टीका संगठन विभागभन्दा सामाजिक सञ्जाल र अल्गोरिदम विभाग शक्तिशाली र प्रभावशाली हुँदै गएका छन् । सञ्चारमाध्यम, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल व्यवस्थापन गरी निर्वाचनमा विजय हासिल गर्ने तथा प्रतिस्पर्धीलाई कमजोर बनाउने नयाँ अभ्यास र रणनीतिको प्रारम्भ भएको छ । अहिले जनताका वास्तविक एजेन्डाभन्दा पनि सामाजिक सञ्जालमा अल्गोरिदमले प्रवर्द्धन गरेको प्रायोजित र पपुलिस्ट भाष्य स्थापित हुने प्रवृत्ति बढ्दै गइरहेको छ ।
यही रणनीति अनुसरण गरी रास्वपा लोकप्रिय पार्टीका रूपमा स्थापित भएको छ । यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा कस्तो असर पर्ला ? त्यो पृथक् बहसको विषय हो । तर अहिलेको कटु यथार्थ यही हो । कार्यकर्ताबाट जनता अर्को महत्त्वपूर्ण आयाम भनेको राजनीति अब पार्टीका नेता र कार्यकर्ताबाट सिधै जनतामा भएको सिफ्ट हो । हालसम्म राजनीति पार्टीका नेता र कार्यकर्ताले गर्दै आएका थिए । कुनै पनि पार्टीका नेता–कार्यकर्ता र जनताका बीचमा ठूलो पर्खाल थियो । त्यो पर्खाल स्वयं पार्टीका नेता र कार्यकर्ताले सिर्जना गरेका थिए । तर यो निर्वाचनले त्यो पर्खाल भत्काइदिएको छ ।
जनतामा आधारित पार्टी निर्माणका दृष्टिले यो सकारात्मक पक्ष हो । त्यसैले अब ‘कार्यकर्ता थोरै, सदस्य तथा समर्थक–शुभेच्छुक धेरै’ बनाउने नीति अख्तियार गर्नुपर्छ । अब धेरै कार्यकर्ता पार्टीलाई बोझ र धेरै सदस्य तथा शुभेच्छुक सम्पत्ति हुने परिवेश सिर्जना भएको छ । बौद्धिक समुदाय, नागरिक समाज, सामाजिक अभियन्ता, सेलेब्रिटीहरूको छवि सकारात्मक छ, विश्वसनीयता पनि छ र जनताले उनीहरूको कुरा सुन्छन् । तर पार्टीका नेता र कार्यकर्ताको छवि पनि सकारात्मक छैन र उनीहरूप्रति जनताको विश्वास छैन ।
क्रान्ति, आन्दोलन र संघर्षमार्फत निरंकुशतन्त्रको अन्त्य गरी लोकतन्त्र, गणतन्त्र स्थापना गर्नका लागि तत्कालीन सन्दर्भमा पार्टीहरू कार्यकर्तामा आधारित हुन जरुरी थियो र पूर्णकालीन कार्यकर्ता पनि आवश्यक थिए । तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई लोकतान्त्रिक र संवैधानिक प्रक्रिया क्रियाशील भइसकेको अवस्थामा अपवादबाहेक अब क्रान्ति वा संघर्ष गर्नुपर्ने आवश्यकता छैन ।
अर्कोतिर कार्यकर्तामा आधारित भनेको कम्युनिस्ट संगठन प्रणाली हो । लोकतन्त्रवादी भएर पनि कम्युनिस्ट प्रणालीबाट प्रभावित र प्रेरित भई कांग्रेस अर्धकार्यकर्ता तथा अर्धजनतामा आधारित पार्टी भएको छ । त्यसैले अब कांग्रेस मात्रै होइन, खुला तथा उदार प्रणाली अनुसरण गरी सबै जनतामा आधारित पार्टीका रूपमा रूपान्तरित हुनुपर्छ ।
एकातिर ठूलो संख्यामा नेता–कार्यकर्ता छन्, अर्कोतिर आर्थिक दृष्टिले आत्मनिर्भर छैनन् । कतिपय सन्दर्भमा नेता–कार्यकर्ताभन्दा पनि दलाल, बिचौलिया र कमिसन एजेन्ट बढी भएको देखिन्छ । पार्टीमा योगदान होइन कि राज्यको दोहन गर्ने उद्देश्यले पार्टीलाई प्रयोग मात्रै गरेको देखिन्छ । यही कारणले पार्टी र नेताहरू भ्रष्टाचारको दृश्य–अदृश्य स्रोत र संरक्षक भएका छन् ।
पार्टीलाई दोहनकारी निकाय बनाउने कि जनताको सेवा गर्ने निकाय ? यस्तो प्रवृत्ति र चरित्रले पार्टीलाई कहाँ पुर्याउला ? पुरानो वा ‘स्थापित’ पुस्ताबाट नयाँ पुस्ता पुरानो र हालसम्मको मापदण्डअनुसार स्थापित पुस्ताबाट यो निर्वाचनमार्फत राजनीति नयाँ तथा युवा पुस्तामा मौलिक रूपमा सिफ्ट भएको देखिन्छ ।
पुस्तान्तरणसहितको नयाँ नेतृत्व जनता विशेषगरी युवा पुस्ताको प्रमुख एजेन्डा थियो । जेन–जी विद्रोहपछि यो एजेन्डा स्थापित भयो । सापेक्षिक रूपमा युवा तथा नयाँ पुस्ताको पार्टी मानिने रास्वपाका पदाधिकारीहरू प्रायः ५० वर्षको हाराहारीमा छन् भने ३६ वर्षीय बालेन आज प्रधानमन्त्री नियुक्त हुँदै छन् । यो निर्वाचनबाट करिब १०० जना ४० वर्षमुनिका सांसद निर्वाचित भएका छन् । जसमध्ये १३ जना जेन–जी छन् ।
आधाभन्दा बढी सांसद ४५ वर्षमुनिका छन् । प्रत्यक्ष र समानुपातिक सांसदहरूको औसत उमेर नै करिब ४५ छ । यो नेपाली राजनीतिको क्रान्तिकारी पुस्तान्तरण र रूपान्तरण हो । यसको श्रेय बालेन र रास्वपालाई जान्छ । कांग्रेस सभापति गगन थापाले पुस्तान्तरणको मुद्दा विगत लामो समयदेखि उठाउँदै आएका थिए ।
उनले कार्यान्वयन गर्न सकेनन् वा समय पाएनन् । तर बालेन र रास्वपाले गरे । तर यसको ठीक विपरीत एमाले, नेकपा, राप्रपालगायतका पार्टी पुरानो पुस्ताले नेतृत्व गर्दै आएका छन् । लामो बहस र विवादपछि पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति हुन सफल भए । अब १५औं महाधिवेशनमार्फत केन्द्रदेखि वडासम्म कांग्रेसको नेतृत्व पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित गर्नु अपरिहार्य भएको देखिन्छ । त्यसपछि बल्ल कांग्रेसले पुनर्जीवन पाउनेछ ।
केवल कांग्रेसले मात्रै होइन, अन्य सबै पार्टीले पुस्तान्तरणसहितको नयाँ नेतृत्व स्थापित गर्नु अपरिहार्य छ । होइन भने पुनर्जीवन पाउने सम्भावना छैन । यथास्थितिवादबाट परिवर्तन यस पटकको निर्वाचनमा जनतामा परिवर्तनको उत्कट आकांक्षा थियो । यो केवल युवा पुस्तामा मात्रै होइन, सबै पुस्तामा थियो । त्यसैले यस पटक परिवर्तन राष्ट्रिय आकांक्षा भयो । कांग्रेस, एमाले, नेकपालगायतका पार्टी यथास्थितिवादी भए ।
जनताका अधिकार र लोकतन्त्र स्थापनाका लागि गरेको संघर्ष सुनौलो र गौरवपूर्ण भए पनि ती पार्टी र नेताहरू अतीत र इतिहासमुखी भए । अर्कोतिर ती पार्टी सत्तामा आएपछि मौलाएको कुशासन र भ्रष्टाचारका कारणले जनतामा अत्यन्त अलोकप्रिय भएका थिए । विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्वका साथ जनतामा गए पनि कांग्रेसले उक्त भाष्य स्थापित गर्न सकेन ।
त्यसैले बदलिएको कांग्रेस पनि सोही भाष्यको सिकार भयो । तर जनताले अतीत र इतिहासमुखी होइन, परिवर्तनकामी र भविष्यमुखी पार्टी र नेतृत्व खोजेका थिए । रास्वपालाई जनताले परिवर्तनकामी र भविष्यमुखी पार्टीका रूपमा आत्मसात् गरे । विशेषगरी जेन–जी आन्दोलनका प्रेरक र संरक्षक मानिने बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार भएपछि यस्तो भाष्य स्थापित भयो ।
त्यसको एकल र अधिकतम राजनीतिक लाभ रास्वपाले हासिल गर्न सफल भयो । यद्यपि रास्वपा परिवर्तनकामी र भविष्यमुखी तथा वैकल्पिक धारको पार्टी हो कि होइन ? त्यो पृथक् बहसको विषय हो । तर अहिलेको स्थापित भाष्य यही हो । नेपाली समाजले पनि भिजनरी र उत्तरदायी नेतृत्व होइन, तिलस्मी नायक वा जादुगर खोजेको खोजेको प्रतीत हुन्छ । लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ?
उदारवाद र बहुलवादबाट अनुदारवाद र पपुलिजम अहिलेको राजनीति उदारवादी तथा बहुलवादी धारबाट क्रमिक रूपमा अनुदारवादी तथा पपुलिस्ट धारतर्फ उन्मुख हुँदै गएको छ । यस्तो केवल नेपालको मात्रै होइन, विश्वव्यापी लहर हो । नेपालको सन्दर्भमा यस्तो अनुदारवादी तथा पपुलिस्ट धारको नेतृत्व रास्वपाले गरेको छ । अर्थनीतिका दृष्टिले उदारवादी भए पनि राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक दृष्टिले रास्वपाले अनुदारवादी धारको नेतृत्व गर्छ ।
बालेन नेतृत्वको रास्वपाको सरकार थप अनुदार र अनुत्तरदायी हुने सम्भावना देखिन्छ । अमेरिकाको नोट्रेडम विश्वविद्यालयका प्राध्यापक प्याट्रिक डेनिनको सन् २०१८ मा प्रकाशित बहुचर्चित किताव ‘ह्वाई लिब्रालिजम फेल्ड’ नेपालका पार्टीका नेता–कार्यकर्ताहरू विशेषगरी लोकतन्त्र र उदारवादमा विश्वास गर्ने कांग्रेसजनहरूले पढ्न आवश्यक छ ।
लामो अध्ययन–अनुसन्धानपछि उदारवादको असफलताका बारेमा लेखिएको उक्त पुस्तकका तथ्य, तथ्यांक र निष्कर्षलाई आत्मसात् गरी उपयुक्त नीति र मार्गचित्र अनुसरण गर्नु आवश्यक छ । उदारवाद असफल भएको धारणासँग सहमत भएर अनुदारवादी धारतर्फ उन्मुख हुनुपर्छ भन्ने पंक्तिकारको निष्कर्ष होइन । तर उदार लोकतन्त्र र उदारवादको सुधार र सान्दर्भिकताका लागि पनि विगतका असफलताबाट शिक्षा लिनु अपरिहार्य छ ।
