दुई दशकको राजनीतिक जडता र परिवर्तनको मार्ग

रास्वपाको उदय केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको संकेत पनि हो । तर, जनताको विश्वास कायम राख्न अनि दीर्घकालीन रूपमा स्थापित हुन रास्वपाले सुशासन, सेवा प्रवाह सुधार र समावेशी विकासमा स्पष्ट परिणाम दिनुपर्नेछ ।

चैत्र १२, २०८२

मोहना अन्सारी

Two decades of political inertia and the path to change

What you should know

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन् । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले हासिल गरेको अभूतपूर्व सफलता अहिले राजनीतिक विश्लेषणको प्रमुख विषय बनेको छ । चुनावी परिणामलाई विभिन्न कोणबाट व्याख्या गर्ने प्रयास भइरहेका छन् तर मतदाताको दृष्टिकोणबाट हेर्दा यसको अर्थ त्यति जटिल छैन । यस लेखमा नेपालमा हाल विकसित राजनीतिक परिवेश, रास्वपाको अपेक्षित भूमिका, उसले सामना गर्नुपर्ने चुनौतीहरू तथा आगामी राजनीतिक दिशाबारे चर्चा गरिएको छ ।

नेपालमा पछिल्ला दुई दशकदेखि अस्थिरता, त्रिशंकु संसद्, भागबन्डाको राजनीति र कमजोर शासन प्रणालीले राज्यका संस्थाहरूलाई क्रमशः कमजोर बनाउँदै आएको थियो । प्रशासनिक सुधार, नीतिगत निरन्तरता र विकास निर्माणमा उल्लेखनीय प्रगति हुन सकेन । शासन केही सीमित राजनीतिक समूहमा केन्द्रित रह्यो, जसले आफूलाई ‘विकल्पहीन’ रूपमा प्रस्तुत गरे । सत्ता प्राप्तिका लागि प्रतिस्पर्धा भए पनि नयाँ नेतृत्वलाई उदय हुन नदिने विषयमा उनीहरूबीच अप्रत्यक्ष सहमति देखिन्थ्यो । २०७९ को निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले वैकल्पिक शक्ति प्रस्तुत गरे पनि स्थापित दलहरूले त्यसलाई आत्मसात् गर्नेभन्दा पनि कमजोर पार्ने रणनीति अपनाए ।

जेन–जी विद्रोह र नयाँ राजनीतिक मोड

२०७२ को संविधानले लामो राजनीतिक संक्रमण अन्त्य गर्दै स्थायित्व, विकास र समृद्धिको नयाँ आशा जगाएको थियो । तर, व्यवहारमा त्यो अपेक्षा पूरा हुन सकेन । संरचनागत सुधार, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने राज्य संयन्त्र सत्ता–समीकरण, दलगत भागबन्डा र अल्पकालीन राजनीतिक स्वार्थमा अल्झिरह्यो । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, व्यापक भ्रष्टाचार तथा उच्च तहसम्म फैलिएको दण्डहीनताले आमनागरिकमा गहिरो निराशा पैदा गर्‍यो । 

रास्वपाको उदय केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको संकेत पनि हो । तर, जनताको विश्वास कायम राख्न अनि दीर्घकालीन रूपमा स्थापित हुन रास्वपाले सुशासन, सेवा प्रवाह सुधार र समावेशी विकासमा स्पष्ट परिणाम दिनुपर्नेछ ।यसै पृष्ठभूमिमा सामाजिक सञ्जाल असन्तुष्टि व्यक्त गर्ने प्रमुख माध्यम बनेको थियो । तर, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले स्थिति झन् विस्फोटक बनायो । ‘जेन–जी विद्रोह’ का रूपमा परिचित आन्दोलनले युवाहरूको दबिएको असन्तुष्टि सडकमा ल्यायो । भाद्र २३ गतेको प्रदर्शनका क्रममा १९ युवाको मृत्यु हुनु राज्य–नागरिक सम्बन्धमा गम्भीर संकटको संकेत थियो । त्यसको भोलिपल्ट– भदौ २४ मा नेतृत्वविहीन र अनियन्त्रित भीडले हिंसात्मक रूप लिँदा देशका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भयो । अन्ततः सेना परिचालन गरेर मात्रै अवस्था नियन्त्रणमा ल्याउन सकियो । 

यस घटनाक्रमले राज्यप्रतिको जनविश्वासमा गहिरो धक्का पुर्‍यायो र स्थापित राजनीतिक शक्तिहरूको वैधतामाथि प्रश्न उठायो । यही असन्तुष्टिको लहरमा गठन भएको नागरिक सरकारले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचन घोषणा गर्‍यो, जसले वर्तमान राजनीतिक परिवर्तनको आधार तयार गर्‍यो । यसबीच रवि लामिछाने र बालेन्द्र शाहबीचको सम्भावित सहकार्यले मतदातामा विश्वासयोग्य विकल्पको अनुभूति गरायो । रवि लामिछानेको संगठनात्मक क्षमता र बालेन्द्रको युवामाझ लोकप्रिय करिश्माले रास्वपालाई व्यापक जनसमर्थन दिलायो ।

ठूलो जित, ठूलो जिम्मेवारी, प्राथमिक चुनौतीहरू 

रास्वपाले झन्डै दुईतिहाइ बहुमत हासिल गर्दै स्थिर सरकारको आशा जगाएको छ । तर, यस्तो विजयसँगै ठूलो जिम्मेवारी पनि आउँछ । राजनीतिक ‘सिन्डिकेट’ तोड्नु महत्त्वपूर्ण उपलब्धि हो तर शक्ति अत्यधिक केन्द्रित हुँदा गलत निर्णयको जोखिम पनि उत्तिकै हुन्छ । जनताको अपेक्षा उच्च छ तर धैर्य सीमित । सरकारले छिटो र प्रभावकारी परिणाम दिन नसकेमा आशा छिट्टै निराशामा बदलिन सक्छ ।

त्यसैले अल्पकालीन लोकप्रिय कार्यक्रमभन्दा दीर्घकालीन संरचनात्मक सुधारमा ध्यान दिनु आवश्यक देखिन्छ । रास्वपाको उदय केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको संकेत पनि हो । तर, जनताको विश्वास कायम राख्न र दीर्घकालीन रूपमा स्थापित हुन रास्वपाले सुशासन, सेवा प्रवाह सुधार र समावेशी विकासमा स्पष्ट परिणाम दिनुपर्नेछ । यदि रास्वपा यसमा सफल भयो भने यो सरकारको सफलता मात्रै होइन, नेपालको लोकतान्त्रिक यात्राको नयाँ अध्याय हुनेछ । रास्वपाको सरकारसामु देखिएका चुनौतीहरू बहुआयामिक छन् । ती केवल नीतिगत नभई संरचनागत र राजनीतिक प्रकृतिका पनि छन् ।

१. प्रशासनिक सुधार र सेवा प्रवाह

नेपालको प्रशासनिक संयन्त्रलाई प्रायः ‘स्थायी सरकार’ भनेर चिनिन्छ तर यही संयन्त्र जटिल प्रक्रिया, अस्पष्ट नियम, भ्रष्टाचार र कमजोर जवाफदेहिताले ग्रस्त छ । आमनागरिकका लागि साधारण कामसमेत झन्झटिलो र समयसापेक्ष बनेको छ । प्रशासनिक असक्षमता र असंवेदनशीलताले नागरिक–राज्य सम्बन्धलाई कमजोर बनाएको छ । यदि नयाँ सरकारले प्रशासनिक संरचनालाई सरल, पारदर्शी, डिजिटल र सेवामुखी बनाउन सक्यो भने यसले शासन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउन सक्छ ।

२. अर्थतन्त्र र विकास निर्माणमा गतिशीलता

यस निर्वाचनले परिवर्तनको आकांक्षा मापन मात्रै गरेको छैन, बरु वैकल्पिक राजनीतिक अभ्यासको आधार निर्माण गर्ने संकेत पनि दिएको छ । मतदाताले स्थापित शक्ति संरचनाप्रति असन्तुष्टि व्यक्त गर्दै परिणाममुखी, जवाफदेही र पारदर्शी शासनप्रति आफ्नो झुकाव प्रस्ट पारेका छन् ।नेपालको अर्थतन्त्र लामो समयदेखि शिथिल अवस्थामा छ । ठूलो संख्यामा युवा श्रमशक्ति विदेशिएको छ, जसले देशभित्र उत्पादनशील जनशक्तिको अभाव सिर्जना गरेको छ । यद्यपि रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ तर त्यसले दीर्घकालीन उत्पादन वृद्धि वा रोजगारी सिर्जना गर्न सकेको छैन । उपभोगमा आधारित अर्थतन्त्र, घट्दो आन्तरिक माग र सुस्त निजी क्षेत्रका कारण आर्थिक गतिविधि अपेक्षाकृत कमजोर बनेको छ । 

नयाँ सरकारले निजी क्षेत्रलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण, ठूला पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने तथा ग्रामीण र पहाडी क्षेत्रबाट भइरहेको जनसंख्या पलायन रोक्ने दिशामा ठोस नीति ल्याउनुपर्नेछ । समावेशी आर्थिक विकास सुनिश्चित गर्दै अवसरको समान वितरण गर्न सक्नु नै सरकारको सफलताको मुख्य सूचक हुनेछ ।

३. संविधान संशोधन र राजनीतिक सहमति

दुईतिहाइ बहुमत प्राप्त भएपछि संविधान संशोधन सजिलो हुन्छ भन्ने धारणा आम रूपमा पाइन्छ । तर, संविधान केवल कानुनी दस्ताबेज होइन । यो राज्य र नागरिकबीचको आधारभूत सामाजिक–राजनीतिक सम्झौता हो । संविधान संशोधनका लागि संख्यात्मक बहुमत आवश्यक भए पनि पर्याप्त हुँदैन । यसका लागि व्यापक राजनीतिक सहमति र सामाजिक स्वीकार्यता अपरिहार्य हुन्छ ।

संशोधनका विषयहरूलाई मोटामोटी दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो, विगत दशकमा अभ्यासका क्रममा देखिएका प्रक्रियागत अस्पष्टता र संस्थागत कमजोरीहरू जस्तै– संवैधानिक परिषद्को संरचना, राष्ट्रपति/उपराष्ट्रपतिको भूमिकामा देखिएको अन्योल वा संवैधानिक अदालतको आवश्यकता । यस्ता विषयमा सहमति अपेक्षाकृत सहज हुन सक्छ ।

दोस्रो, संघीयताको स्वरूप, शासकीय प्रणाली वा निर्वाचन प्रणालीजस्ता आधारभूत विषय हुन् । यी विषय अत्यन्तै संवेदनशील छन् । यिनमा हतारमा निर्णय गर्दा राजनीतिक ध्रुवीकरण र अस्थिरता बढ्न सक्छ ।

त्यसैले नयाँ सरकारले प्रारम्भिक चरणमा विवादास्पद संवैधानिक बहसमा केन्द्रित हुनुभन्दा सुशासन, सेवा प्रवाह सुधार र जनविश्वास सुदृढ गर्ने कार्यमा प्राथमिकता दिनु व्यावहारिक देखिन्छ ।

निष्कर्ष : परिवर्तनको संकेत र अगाडिको बाटो

यो निर्वाचन बाह्य रूपमा हेर्दा विगतका निर्वाचनहरूकै निरन्तरता जस्तो देखिन सक्छ तर यसको अन्तरवस्तु अत्यन्त गहिरो र दूरगामी महत्त्वको छ । ‘पुराना बनाम नयाँ’ भन्ने सतही विमर्शभन्दा पर, यसले नेपाली मतदाताले कस्तो प्रकारको राजनीतिक संस्कार, नेतृत्व र शासनशैली चाहिरहेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

यस निर्वाचनले परिवर्तनको आकांक्षा मापन मात्रै गरेको छैन, बरु वैकल्पिक राजनीतिक अभ्यासको आधार निर्माण गर्ने संकेत पनि दिएको छ । मतदाताले स्थापित शक्ति संरचनाप्रति असन्तुष्टि व्यक्त गर्दै परिणाममुखी, जवाफदेही र पारदर्शी शासनप्रति आफ्नो झुकाव प्रस्ट पारेका छन् ।

निर्वाचन परिणामले केही महत्त्वपूर्ण सन्देशहरू पनि उजागर गरेको छ । उदाहरणका लागि, संविधान वा निर्वाचन प्रणालीलाई राजनीतिक अस्थिरताको मुख्य कारणका रूपमा प्रस्तुत गर्ने तर्क क्रमशः कमजोर बन्दै गएको देखिन्छ । यसले देखाउँछ– समस्या संरचनाभन्दा बढी कार्यान्वयन, नेतृत्व शैली र राजनीतिक इच्छाशक्तिसँग सम्बन्धित छ ।

त्यसैगरी पश्चगामी एजेन्डा बोकेका शक्तिहरूलाई अस्वीकार गर्दै जनताले प्रगतिशील राजनीतिक उपलब्धिहरूको पुनः अनुमोदन गरेका छन् । समग्रमा हेर्दा छिमेकी देश भारतमा देखिएजस्तै नेपालमा पनि राजनीति क्रमशः कर्मकाण्डी विचारधाराबाट व्यावहारिक, परिणाममुखी (‘डेलिभरी’ केन्द्रित) एजेन्डातर्फ रूपान्तरण हुँदै गएको संकेत मिल्छ ।

तर, रास्वपाले प्राप्त गरेको जनादेश जति बलियो छ, त्यससँग जोडिएका अपेक्षाहरू पनि उत्तिकै उच्च छन् । चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सहज कार्य होइन । अपार बहुमतसहित सत्तामा पुगे पनि रास्वपाको प्रमुख चुनौती अब शासन सञ्चालनको जटिल यथार्थसँग जुध्नु हुनेछ ।

सबैभन्दा पहिले, पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्दै नेताहरूको व्यक्तिगत आकांक्षा र संस्थागत अनुशासनबीच सन्तुलन मिलाउनु आवश्यक हुनेछ । दोस्रो, संसद्भित्र तथा बाहिर विपक्षी दलहरूसँगको सम्बन्धलाई प्रतिस्पर्धात्मक मात्रै होइन, सहकार्यात्मक ढंगले व्यवस्थापन गर्नुपर्नेछ । तेस्रो, नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित, नेपालकेन्द्रित सम्बन्ध कायम गर्नु र अन्तर्राष्ट्रिय समुदायसँग विश्वसनीय साझेदारी विस्तार गर्नु अत्यन्त महत्त्वपूर्ण हुनेछ ।

यी सबै आयाममा सन्तुलित र परिपक्व नेतृत्व देखाउन सके मात्रै रास्वपा क्षणिक जनलहरको परिणाम नभई दीर्घकालीन राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्छ ।

प्रतिपक्षको भूमिका : लोकतन्त्रको अर्को स्तम्भ

संसद्मा सानो आकारमा सीमित भए पनि प्रतिपक्षको भूमिका झन् जिम्मेवार र अर्थपूर्ण बन्छ । सशक्त प्रतिपक्षबिना लोकतन्त्रको सन्तुलन कायम रहन सक्दैन । विशेषगरी नेपाली कांग्रेसले विगतका कमजोरीहरूबाट पाठ सिक्दै रचनात्मक, नीतिगत र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेमा लोकतान्त्रिक प्रणाली थप सुदृढ हुनेछ । सरकारको आलोचना मात्रै होइन, विकल्प प्रस्तुत गर्ने क्षमताले नै प्रतिपक्षको विश्वसनीयता निर्धारण गर्नेछ ।

मतदाताको बदलिँदो रुझानलाई हेर्दा पारम्परिक वामपन्थी विचारधाराको आकर्षण क्रमशः घट्दै गएको संकेत देखिन्छ । आगामी दिनमा रास्वपा र नेपाली कांग्रेस नै लोकतान्त्रिक धारका दुई प्रमुख राजनीतिक शक्तिका रूपमा उभिने सम्भावना प्रबल छ । यद्यपि, दीर्घकालीन रूपमा स्थापित हुन यी दलहरूले आफ्नो संगठनलाई थप समावेशी बनाउँदै बहिष्करणमा परेका समुदाय, अल्पसंख्यक समूह र क्षेत्रीय आवाजलाई विश्वासमा लिनुपर्नेछ । त्यसो गर्न सकेमा यी दलहरू राष्ट्रिय मात्रै होइन, पहिचानवादी तथा क्षेत्रीय दलहरूको विकल्पका रूपमा पनि स्थापित हुन सक्छन् ।

मोहना

Link copied successfully