अविवाहित महिलाको स्वतन्त्रतासँग डराएको समाज

अविवाहित महिला समाजको खतरा होइन । खतरा त त्यो समाज हो, जसले महिलाको मूल्य उसको गर्भाशयबाट मात्रै नाप्छ । खतरा त्यो मानसिकता हो, जसले महिलालाई मान्छे होइन, पाल्नुपर्ने वस्तु ठान्छ । खतरा त्यो सोच हो, जसले २१ औं शताब्दीमा पनि महिलाको सबैभन्दा ठूलो उपलब्धि ‘विवाह गर्नु’ लाई मान्छ ।

चैत्र १०, २०८२

शिक्षा रिसाल

A society afraid of the freedom of unmarried women

What you should know

काठमाडौँ — २५ पुग्नुअघि त बिहे गर्नुपर्छ म्याम । अनि ३० अघि बच्चा पाउनुपर्छ । करियर भन्या केटी मान्छेको त्यस्तै त हो नि । श्रीमान् असल हुनुपर्‍यो ।

०००

आफूलाई गारोसारो पर्दा तातो पानी तताएर दिने मान्छे पनि त चाहियो, बिहे त गर्नैपर्छ । बुढेसकालको सहारा पनि त हो नि । छोराछोरी टाइममा पाउने, सासू, ससुराले हुर्काइदिन्छन् के ! अनि छोराछोरीको कमाइ पनि खान पाइन्छ । ४० मा छोराछोरी पाएर कहिले कमाइ खानु ?

०००

जति फेमिनिस्म वा फेमिनिज्म भनेर कुर्लिए पनि महिलाको अस्तित्व ऊ आमा बनेपछि मात्रै पूर्ण हुन्छ । एउटा बच्चालाई काखमा राखेर मातृत्वको आभास नगरेसम्म महिलाको जीवनको कुनै औचित्य छैन ।

०००

यी काल्पनिक संवाद होइनन्, पछिल्ला केही महिनामा सार्वजनिक सवारीमा सुनिएका संवाद हुन् । समाजशास्त्रको अध्ययन र अनुसन्धानले समाज बौद्धिक विकासको चरणमा अघि जाँदै छ भनेर नतिजा निकाले पनि एसियाली समाजको वास्तविक अनुहार यस्तै–यस्तै स्थानमा देखिन्छ– लोकल बसमा, भेटघाटमा, मन्दिरको लाइनमा, विवाहको भोजमा र कार्यस्थलमा ।

‘२५ अघि त बिहे जसरी नि गर्नुपर्छ’ भन्ने वाक्य सुन्नासाथ टाउको रनननन रन्किन थाल्यो । अविवाहित मैले सोधें– किन ? ती महिला केपी ओलीको भाषणबाट प्रभावित रहिछन् । भनिन्, ‘ओलीजीले वैज्ञानिक तथ्य प्रस्तुत गर्नुभएको थियो– ३० कटेपछि महिलाको प्रजनन क्षमता घट्छ, करिअर भनेको पछि सोचे पनि हुन्छ, दुई/तीनवटा बच्चा बेलैमा जन्माएर पछि करिअरतिर लागे हुन्छ ।’

वाह ! कस्तो सजिलो फर्मुला ! मलाई किन यो कुरा पहिल्यै थाहा भएन ? करिअर त पछि कुनै पनि बेला, कुनै पनि उमेरमा बनाउन सकिने रहेछ । के महिलाको करिअर बक्सामा राखिने चिज हो ? जुन ३५ वर्षको उमेरपछि निकालेर धूलो फुकेर प्रयोग गर्न सकिन्छ । कि करिअर सुपरमार्केटमा बिक्री हुन्छ ? जस्तो– ‘दाइ, मलाई एउटा डाक्टरको डिग्री दिनुस्, दुई किलो इन्जिनियरिङको ज्ञान र एक सीईओको पोस्ट तौलिदिनुस् ।’

देशको अर्थतन्त्र डुबिरहेको छ ? बेरोजगारी बढिरहेको छ ? देशमा शिक्षा, स्वास्थ्यलगायतका अन्य सेवा ध्वस्त छ ? के भयो त अरू देशमा यहाँभन्दा ध्वस्त छ । यो त समस्या नै होइन । केटी मान्छे भएर पहिला बच्चा जन्माऊ, बाँकी सबै पछि मिलिहाल्छ ।

जीवनमा कसै न कसैको साथ अवश्य चाहिन्छ । हरेक मान्छेलाई एउटा मान्छे चाहिन्छ, जोसँग खुलेर कुरा गर्न सकियोस्, धक फुकाएर रुन वा हाँस्न सकियोस् । जीवनका चुनौतीहरू हात समातेर सजिलै पार गर्न सकियोस् । जीवनभर झगडा नै गरेर बस्न भए पनि हरेक मान्छेलाई एउटा मान्छे चाहिन्छ । तर, तातो पानी तताएर दिने मान्छेका लागि विवाह ? मैले समाधान सुनाएँ, ‘मसँग इलेक्ट्रिक जग छ । एक स्विचमा पानी तातो । बजारमा पानी तताएर खान दिने मान्छे त भेटिएन । तर चाइनिज, इन्डियन, जापानिजदेखि विभिन्न ब्रान्डका इलेक्ट्रिक जगहरू सुपथ मूल्यमा पाइँदा रहेछन् । र, यी जगहरूको सबैभन्दा राम्रो पक्ष यिनीहरूले तपाईंलाई ‘२५ भित्र बिहे किन नगरेको’ भनेर प्रश्न गर्दैनन्, तपाईंको करिअर छनोटमाथि प्रश्न गर्दैनन्, बुढेसकालको चिन्ता पनि गर्दैनन् । र, तपाईंले बिहे नगरे ‘बिचरा’ भनेर दया पनि देखाउँदैनन् ।’

अब अर्को तिखो वाक्य– ‘जति फेमिनिस्मको भाषण गरे पनि एक महिलाको अस्तित्व ऊ आमा बनेपछि मात्रै पूर्ण हुन्छ ।’ वाह ! त्यसो भए के मेरी क्युरी अपूर्ण थिइन् ? आइन्स्टाइनसँग नोबेल प्राइज साझा गर्ने, रेडियोएक्टिभिटी पत्ता लगाउने, विज्ञानमा क्रान्ति ल्याउने क्युरी एसियाली समाजका लागि अपूर्ण थिइन् ?

एसियाली समाजका लागि मदर टेरेसा अपूर्ण थिइन् । उनले लाखौं गरिबको सेवा गरिन्, नोबेल शान्ति पुरस्कार पाइन् । तर, उनले आफ्नो गर्भबाट कसैलाई जन्म दिइनन् । के उनी आमा नभएर अपूर्ण भइन् ? भारतको स्वतन्त्रता आन्दोलनमा योगदान दिने, शिक्षाको प्रसार गर्ने समाजमा समर्पित भगिनी निवेदिता के आमा नबनेकै कारण अपूर्ण थिइन् ? के पारिजात अपूर्ण थिइन् ?

समाजको लजिकअनुसार, महिलाको पूर्णता उसको गर्भाशय हो । बुद्धि, ज्ञान, उपलब्धि, योगदान गर्भाशयको अघि सबै शून्य ! महत्त्वपूर्ण त केवल प्रजनन क्षमता हो । सायद महिलाको दिमाग, मुटु, हात, खुट्टा यी सबै केवल सजावट हुन् । असली काम त गर्भाशयले मात्र गर्छ ।

हरेक वर्ष क्यालेन्डरका पाना पल्टिरहन्छन्, सिजन बदलिरहन्छन्, बिहे गर्नेले गरिरहन्छन्, बच्चा पाउनेले पाइरहन्छन् । यसमा मलाई केही लिनुदिनु छैन । तर, यो समाजलाई लिनु पनि छ, दिनु पनि छ । चासो लिनु छ र ज्ञान दिनु छ । समाजका ‘शुभचिन्तकहरू’ सोध्छन्, ‘बहिनी मंसिर आउन लाग्यो त । बिहे गर्ने होइन ?’ कोही सम्झाउन आइपुग्छन्, ‘दाजुभाइ बिहे गरेपछि आफ्ना रहँदैनन्, आफ्ना परिवार भएपछि उनीहरूले दिदीबहिनीलाई हेर्दैनन्, पाल्दैनन् ।’ पाल्ने ? के महिला जनावर हुन् ? के उनीहरू सामान हुन्, जसलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ ? महिलाहरू मान्छे हुन्– मान्छे । उनीहरूको दिमाग छ, हातखुट्टा छ, शिक्षा छ, क्षमता छ । ती आफैं कमाउन सक्छन्, तर समाजको ‘डिक्सनरी’ मा महिलालाई कसैले पाल्नुपर्ने, हेर्नुपर्ने हुन्छ । बाल्यकालमा बुबाले पाल्नुपर्ने, बिहेपछि श्रीमान्ले, बुढेसकालमा छोराले । महिलाको पूरै जीवन ‘पाल्ने’ क्रियामा केन्द्रित रहेछ । के महिलाको वैज्ञानिक नाम ‘होमो डिपेन्डेन्ट्स’ हो ?

एक महिलाले विवाह किन गरिनन् ? यावत् कारण हुन सक्छन् । सायद उनी सामाजिक दायराबाट पर रहन चाहन्छिन्, बन्धनबाट मुक्त भएर बाँच्न चाहन्छिन्, प्रेम कथा अधुरो थियो, अझै सही व्यक्ति भेट्टाएकी छैनन् र सम्झौता गर्न चाहँदिनन् । यति धेरै ‘सायद’ छ, तर समाजका लागि यी सायदको कुनै औचित्य छैन ।

समाज भन्छ— आफूलाई के के न अप्सरा सम्झेपछि बिहे हुन्छ र ? सम्पत्ति भाको खोजेकी होली नि ! बुढीकन्या भएर बसेकालाई कसले बिहे गरोस् ? केटी मान्छे भएर अलि अलि पनि झुक्न नसक्ने, कहीं नभएकी घमण्डीलाई कसले लग्छ ?

यदि कोही महिला आफ्नो जीवनमा आफ्नो सर्तमा बाँचेर खुसी छन् भने उनलाई पूर्ण बनाउन कुनै अर्को व्यक्ति चाहिँदैन । उनलाई कसैले ‘बिचरा’ भनिराख्नुपर्ने जरुरी पनि छैन । किनकि ऊ दयाकी पात्र त बिल्कुलै होइन । बिचरा त त्यो मानसिकता हो, जसले अझै महिलाको अस्तित्वलाई एक आमा, बुहारी र चुपचाप आफ्ना सपना कुल्चेर समाजका लागि बाँच्ने एक सभ्य, सौम्य ममतामयी र बलिदान दिने जिम्मेवार नारीको लेन्सबाट मात्रै हेर्छ । यस्ता कुरा बारम्बार लेखिरहनुपर्दा मलाई यो समाजप्रति दया लागेर आउँछ र चिच्याएर भन्न मन लाग्छ, ‘संसार परिवर्तन भइरहेको छ । तपाईं आफ्नो मानसिकतामा अलिकति भए पनि परिवर्तन ल्याउने कोसिस गर्नुहोस् ।’

विवाह जीवन बिताउन एक साथी रोज्नु हो– शारीरिक, मानसिक र सामाजिक चाहना बाँड्न सकिने साथी ! तर, कुनै पनि व्यक्तिको जीवनको अन्तिम लक्ष्य विवाह हुनै सक्दैन । सबैको जीवन समान हुँदैन । र, एक महिलाको जीवनको अन्तिम लक्ष्य नै विवाह हुनु पनि हुँदैन । महिलाहरू आफ्नो जीवन आफ्नै सर्तमा बाँचिरहेका छन् । र, यही अविवाहित भएर पनि खुसीसाथ जीवन बिताएको देख्दा यो समाजलाई जलन हुन्छ । र, त्यही जलनलाई मान्यता दिन एक्लै जिन्दगी बिताइरहेकी महिलालाई हेर्दै भन्छ– बिचरा ।

अनि म विद्रोही हुन्छु । किनकि म प्रश्न गर्छु । उनीहरूले दिएको अटोमेटिक जवाफमा म चित्त बुझाउँदिनँ । अर्को प्रश्न गर्छु । यो समाजका लागि आफूलाई कुल्चन नदिने, प्रश्न उठाउने सबै महिला विद्रोही नै हुन्छन् । समाजको यो निश्चित ढाँचालाई महिलाले उठाएको आवाज फिटिक्कै मन पर्दैन ।

मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा जीवन–सन्तुष्टिको स्तर वैवाहिक अवस्थाले मात्रै होइन, एक व्यक्तिको स्वतन्त्रता, व्यक्तिगत लक्ष्य र सामाजिक सम्बन्धमा बढी निर्भर गर्छ । महिलाले शिक्षा, करिअर र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्दा बढी स्वतन्त्र भएको महसुस गर्छन् । यस्तोमा समाजले विवाह गर्नैपर्छ भनेर पटक–पटक दबाब दिनु मानसिक यातना वा तनाव दिनु हो । जब समाजले बारम्बार ‘विवाह नगरे महिलाको जीवन नै सकियो’ भन्ने भाष्य निर्माण गरिरहन्छ, महिलाले आफ्नो निर्णयप्रति अनावश्यक लाज, चिन्ता वा जीवनमा एक्लै भइएला कि भन्ने डर अनुभव गरिरहन्छन् । कतिपय महिला यसै डरले र समाजभित्र अटाउनकै लागि वैवाहिक सम्बन्धमा बाँधिन्छन् । एक महिला व्यावसायिक वा व्यक्तिगत रूपमा जति नै सफल भए पनि उनी व्यक्तिगत जीवनमा एक्लै छिन् भने उनको उपलब्धि समाजले मान्दैन । उनको जीवन नै बेकार भएको महसुस गराइरहन्छ ।

समाजको दायराभन्दा पर हामीले अनुभव गर्ने लाखौं विषय छन् । तर, समाज अझै महिलालाई कोमल, कमजोर र सहारा खोजिरहेको देख्न चाहन्छ । किनकि विवाह गर्नु वा नगर्नु तपाईंको व्यक्तिगत छनोट हो । तपाईंको अस्तित्व, मूल्य, पहिचान– यो कुनै पनि कागजी सम्बन्धमा निर्भर गर्दैन । किनकि सत्य यही हो । अविवाहित महिला समाजको खतरा होइन । खतरा त त्यो समाज हो, जसले महिलाको मूल्य उसको गर्भाशयबाट मात्रै नाप्छ । खतरा त्यो मानसिकता हो, जसले महिलालाई मान्छे होइन, पाल्नुपर्ने वस्तु ठान्छ । खतरा त्यो सोच हो, जसले २१ औं शताब्दीमा पनि महिलाको सबैभन्दा ठूलो उपलब्धि ‘विवाह गर्नु’ लाई मान्छ ।

जब यो समाज एक महिला आफ्नो सर्तमै बाँचिरहेको देख्छ, समाजलाई आफू हारेको पीडा महसुस हुन्छ । यो समाज महिलालाई उड्न दिन चाहँदैन, उड्न खोज्ने महिलाको पखेटा काटिदिने षड्यन्त्र रच्छ ।

तर, म उड्छु, काटिएका पखेटाको झोला बोक्दिनँ । म आफूलाई माया गर्छु, समाजको स्वीकृति खोज्दिनँ । कोही पनि व्यक्ति विवाहित छ वा छैन भन्ने विषयले उसको बौद्धिकता परिभाषित गर्दैन । वैवाहिक स्थितिले हाम्रो योग्यता तय गर्दैन । हाम्रो सिउँदोमा सिन्दुर छ कि छैन भन्ने विषयले हाम्रो अस्तित्व पूर्ण वा अपूर्ण बनाउँदैन– कसैकी छोरी, कसैकी बुहारी, कसैकी श्रीमती, कसैकी आमा बन्नुअघि पनि । कसैकी छोरी, बुहारी, कसैकी श्रीमती, कसैकी आमा बनेपछि पनि वा कहिल्यै नबने पनि । सोच्नुहोस्– एउटी महिलाको वैवाहिक स्थितिबाट डराउने समाज कति कमजोर र असुरक्षित होला ? जसलाई एउटी स्वतन्त्र, आत्मनिर्भर महिलाले खतरा महसुस गराउन सक्छन् ? कति नाजुक होला त्यो व्यवस्था जुन एउटी महिलाको व्यक्तिगत छनोटबाट काँप्छ ? एउटी महिलाले बिहे नगर्दा नै समाजमा उथलपुथल आउँछ र लय बिग्रन्छ भने त्यो समाज पहिल्यैदेखि कुहिएको छ, सडेको छ र ध्वस्त हुन तयार छ ।

पितृसत्तात्मक समाजलाई चुनौती दिँदै अघि बढेका महिला समाजलाई बिझाउँछ । त्यसैले सपना र लक्ष्यबीच आउने हरेक परिस्थितिसँग लड्नुस् । जब तपाईं आफूलाई चिन्न थाल्नुहुन्छ, व्यक्तिगत रोजाइमा बाँच्न सक्नुहुन्छ, तब तपाईंको अस्तित्वलाई ओझेलमा पार्ने क्षमता कसैको हुन सक्दैन । यो समाजलाई पाइला–पाइलामा चुनौती दिनुस्— ठूलो आवाजमा हाँस्नुहोस्, हरेक रुढिवादी सोचमाथि प्रश्न गर्नुहोस्, टाउको उठाएर हिँड्नुहोस्, जवाफ फर्काउनुहोस् । समाजले तपाईंसँग हत्तुहैरान हुँदै भनोस्– एक नारी सबपर भारी ।

शिक्षा रिसाल पत्रकार हुन् ।

Link copied successfully