नयाँ वैकल्पिक शक्तिले पाएको यो जिम्मेवारी सही तरिकाले निभाइएन, यदि शासनमा पारदर्शिता, स्थायित्व र परिणाम दिन सक्ने क्षमता देखाउन सकिएन भने नेपाली मतदाता फेरि एक पटक चुपचाप तर निर्णायक रूपमा आफ्नो निर्णय परिवर्तन गर्न पछि हट्ने छैनन् ।
What you should know
काठमाडौँ — २०८२ को मध्यावधि निर्वाचनको परिणामले नेपालको चुनावी राजनीतिमा एउटा असाधारण र अप्रत्याशित अध्याय थपेको छ । यो परिणाम यति अनपेक्षित रह्यो कि सायद विजयी शक्ति स्वयंले समेत यस्तो नतिजाको कल्पना गरेका थिएनन् । ठूला–ठूला राजनीतिक विश्लेषक, सर्वेक्षण र चुनावी गणितहरू सबै यस पटक असफल भए । यो निर्वाचन केवल सरकार बदल्ने चुनाव मात्र रहेन, यसले नेपाली मतदाताको मनोविज्ञानमा आएको गहिरो परिवर्तन पनि उजागर गर्यो । यस पटक मतदाताले परम्परागत आधारहरू– व्यक्ति, विचार, काम, अर्थ र दल, यी सबैभन्दा माथि उठेर मतदान गरेको देखिन्छ ।
यसपालिको मतदान, बिना कुनै सम्झौता परिवर्तनका नाममा गरिएको छ । एक जना ट्याक्सी चालकसँग कुरा गर्दा भोट खसाल्न रामेछाप जाने र आउने खर्च दुइटै पुरानोमध्येको एउटा पार्टीले गरेको भए पनि भोट भने नयाँमा खसालेको भनेका थिए । यो त केवल एउटा उदाहरण मात्र हो, बाँकी त परिणामले नै देखाएको छ । मधेशकै निर्वाचनको कुरा गर्ने हो भने अर्थ र जातीय समीकरणले ठूलो भूमिका खेल्ने गर्छ भनेर विश्लेषण हुने गर्थ्यो तर यसपालि जनताले न त जात देखे, न अरू कुनै सन्दर्भ । पुराना दलसँग आजित भइसकेका जनताले परिवर्तनका नाममा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई लगभग दुईतिहाइ बहुमतका साथ विजयी बनाए ।
सबैभन्दा रोचक पक्ष के देखियो भने १६५ निर्वाचन क्षेत्रमा धेरै उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि मतदाताको मनमा भने एउटै नाम हाबी भएको देखियो– बालेन । लगभग तीन वर्षअगाडि मात्रै राजनीतिमा होमिएका बालेन्द्र साह जन–जनको मनमा ठाउँ बनाउन यति सफल भए कि उनले देशभर नै चुनावी यात्रा गर्दा उनलाई हेर्न मात्रै हजारौंको भीड एकछिनमै जम्मा हुन्थ्यो । बालेनको उक्त लोकप्रियता पूर्णरूपमा भोटमा परिणत नहुने धेरैको आकलन थियो तर धेरै ठाउँमा मतदाताले स्थानीय उम्मेदवारको व्यक्तिगत प्रोफाइल, वैचारिक पृष्ठभूमि वा दलको संगठनात्मक शक्तिभन्दा पनि एउटा प्रतीकात्मक नेतृत्वलाई प्राथमिकता दिएको कुरा परिणामले देखायो ।
यस पटक विचारधाराले पनि अपेक्षित महत्त्व पाएन । लामो समयदेखि नेपालको राजनीतिलाई परिभाषित गर्दै आएको वामपन्थी, लोकतान्त्रिक, राजावादी, मधेशवादी वा अन्य वैचारिक बहस मतदाताको निर्णयमा निर्णायक बन्न सकेन । विचारभन्दा बढी ‘परिवर्तनको चाहना’ ले काम गरेको देखियो । यस निर्वाचनमा केही सम्झौता नगरी जनताले परिवर्तनको पक्षमा भोट हालेका छन् । यसै कारण सबैभन्दा ठूलो धक्का भने पुराना दलहरूलाई लाग्यो । नेपालका परम्परागत शक्तिशाली दलहरू– कांग्रेस, एमाले, नेकपा, राप्रपा र मधेशवादी यस पटक गम्भीर संकटमा परे ।
कांग्रेस आफ्नै आन्तरिक विवाद र विशेष महाधिवेशनको बहसमा अल्झिएको देखियो । नेतृत्व परिवर्तनपछि चुनावमा जानु आफूहरूका लागि सहज हुने कांग्रेसको आकलन थियो । दुई निर्वाचन चक्रपछि गठबन्धनबिना चुनावमा जान पाउनु उनीहरूका लागि अवसर पनि थियो । ‘बदलियौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराले मतदातालाई आकर्षित गर्छ भन्ने विश्वास थियो । तर वास्तविकता ठीक उल्टो देखियो । दलभित्रकै असन्तुष्ट समूहहरूले अन्तर्घात गरे, संगठन कमजोर देखियो र सबैभन्दा महत्त्वपूर्ण, जनताले कांग्रेसप्रतिको विश्वास गुमाइसकेको स्पष्ट भयो । परिणामतः कांग्रेस आफ्नो ऐतिहासिक साख जोगाउनसमेत असफल रह्यो ।
एमालेको अवस्था झनै चुनौतीपूर्ण बन्यो । धेरै क्षेत्रमा उसको प्रभाव उल्लेखनीय रूपमा कमजोर हुँदै गएको देखियो । विशेषतः युवापुस्तामा देखिएको असन्तुष्टि र ‘जेन–जी आन्दोलन’ ले एमाले नेतृत्वप्रति गहिरो अविश्वास सिर्जना गरिसकेको थियो । केपी ओलीको नेतृत्वमा रहेको एमालेले बदलिँदो पुस्ताको मनोविज्ञान बुझ्न सकेन, न त त्यस आन्दोलनको मर्मलाई आत्मसात् गर्न सक्यो । परिणामतः यस पटक एमालेले केवल चुनाव हारेन, सामाजिक स्वीकृतिको ठूलो हिस्सा पनि गुमायो ।
राप्रपाको हकमा, राजावाद र हिन्दुराष्ट्रको एजेन्डाले अपेक्षित रूपमा मतदातालाई आकर्षित गर्न सकेन । राजनीतिक असन्तुष्टिको लहर हुँदाहुँदै पनि त्यो असन्तुष्टि राप्रपाको एजेन्डामा रूपान्तरण हुन सकेन । यसको अर्थ स्पष्ट छ, जनता फर्केर फेरि राजतन्त्रतिर जान खोजेका छैनन् । मधेशवादी दलहरूको सन्दर्भमा त संकट झनै गहिरो देखियो । लामो समयदेखि उठाउँदै आएको पहिचान र अधिकारको एजेन्डा उनीहरूको आफ्नै अप्रभावकारिता, विभाजन र सत्ताकेन्द्रित राजनीतिका कारण कमजोर हुँदै गएको थियो । यस्तो अवस्थामा, मधेशी पहिचानलाई नयाँ ढंगले प्रस्तुत गरिएको– देशले पहिलो मधेशी प्रधानमन्त्री पाउन सक्छ भन्ने भावनात्मक र राजनीतिक सन्देशले ठूलो प्रभाव पार्यो । यसले परम्परागत मधेशवादी दलहरूको आधार क्षेत्रमै प्रत्यक्ष चुनौती सिर्जना गर्यो । र, परिणामस्वरूप मधेशवादी दलहरूले यसपालि शून्य सिट हात पारे । यसरी हेर्दा, यो केवल चुनावी हार होइन, यो पुराना दलहरूको वैचारिक, संगठनात्मक र नैतिक संकटको समष्टिगत अभिव्यक्तिसमेत हो ।
अर्थ अर्थात् धन र आर्थिक शक्तिसमेत यस पटक निर्णायक बन्न सकेन । नेपाली चुनावमा परम्परागत रूपमा आर्थिक स्रोतलाई महत्त्वपूर्ण मानिन्छ, तर यस पटक त्यसले अपेक्षित प्रभाव देखाउन सकेन । कामको मूल्यांकन पनि यस पटक निर्णायक बन्न सकेन । विगतमा राम्रो काम गरेका भनेर चिनिएका केही नेताहरूसमेत पराजित भए । यसले देखाउँछ कि मतदाताको निर्णय केवल कार्यसम्पादनको मूल्यांकनमा मात्र आधारित रहेन । नेतृत्व र परिवर्तनलाई प्राथमिकता नदिएको भए सायद राम्रो काम गरेर देखाएको उम्मेदवारहरूले त जित निकाल्थे होला तर यसपालि त्यस्तो अवस्था रहेन । यो लहरमा केही इमानदार र जित्नुपर्ने अन्य दलका उम्मेदवारहरूले पनि हार व्यहोर्नुपर्यो ।
यस पटक चुनावी परिणामले अर्को महत्त्वपूर्ण सन्देश पनि दियो, नेपालका धेरै दिग्गज नेताहरू, जसले आफ्नो निर्वाचन क्षेत्रमा वर्षौंदेखि हार खाएका थिएनन्, उनीहरूले पनि पराजय भोग्नुपर्यो । शीर्ष नेतृत्वकै स्तरमा ठूलो परिवर्तन देखियो । बालेनबाहेक प्रधानमन्त्रीका अन्य सबै दाबेदारहरूले पराजय व्यहोर्नुपर्यो । आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका हर्क साम्पाङको दल अत्यन्तै सानो रह्यो । अन्ततः केही सीमित अपवादबाहेक अधिकांश पुराना शक्तिशाली अनुहारहरू पराजित भए ।
यति हुँदाहुँदै पनि विजयी शक्तिको जित सजिलो थिएन । धेरै ठाउँमा प्रतिस्पर्धा कडा रह्यो र जितहरू कठिन संघर्षपछि मात्र सम्भव भए । यसले देखाउँछ कि मतदाताले पूर्णरूपमा नयाँ विकल्पलाई अन्धाधुन्ध समर्थन गरेका होइनन् । बरु पुराना शक्तिप्रति असन्तुष्टि र परिवर्तनको अपेक्षाबीच सन्तुलित निर्णय गरेका छन् ।
यसैले २०८२ को निर्वाचनलाई केवल ‘कसले जित्यो’ भन्ने दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन । यो निर्वाचनले एउटा ठूलो राजनीतिक सन्देश दिएको छ, नेपाली मतदाताले परम्परागत सबै आधारहरूलाई चुनौती दिएका छन् । तर अब वास्तविक प्रश्न भनेको अर्को हो– के यो मतदान केवल क्षणिक असन्तुष्टिको अभिव्यक्ति हो वा यसले नेपालको राजनीतिमा दीर्घकालीन संरचनात्मक परिवर्तनको संकेत दिन्छ ? यसको उत्तर आगामी वर्षहरूको शासन, कार्यशैली र राजनीतिक परिपक्वताले दिनेछ ।
यो पहिलो पटक होइन, जब नेपाली जनताले पुरानो शक्तिलाई पन्छाएर पूर्णतः नयाँ शक्तिलाई अवसर दिएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीलाई जनताले अभूतपूर्व समर्थन दिएका थिए । त्यो समर्थन केवल राजनीतिक परिवर्तनका लागि मात्र थिएन, बरु राज्य संरचना रूपान्तरण, समावेशिता, सुशासन र नयाँ नेपालको परिकल्पनाप्रतिको गहिरो आशासहितको थियो । तर समयसँगै ती आशाहरू क्रमशः क्षीण हुँदै गए । सत्ता सञ्चालनमा देखिएको अस्थिरता, आन्तरिक विवाद, अवसरवादी राजनीतिक व्यवहार र अपेक्षित सुधारहरू कार्यान्वयन गर्न नसक्दा माओवादी शक्ति प्रत्येक निर्वाचनसँगै साँघुरिँदै गयो । जुन शक्ति अजेय जस्तो देखिन्थ्यो, आज त्यसले आफ्नो जनाधार निरन्तर गुमाउँदै गएको छ । यो इतिहास केवल स्मरणका लागि होइन, यो चेतावनी हो ।
आज नयाँ वैकल्पिक शक्तिले पाएको जनादेश पनि केवल समर्थन होइन, बरु वर्षौंदेखि सञ्चित असन्तुष्टि, निराशा र परिवर्तनको तीव्र आकांक्षाको अभिव्यक्ति हो । जनताले यस पटक फेरि एक पटक भरोसा गरेका छन्, तर त्यो भरोसा निःसर्त छैन । नयाँ वैकल्पिक शक्तिले पाएको यो जिम्मेवारी सही तरिकाले निभाइएन, यदि शासनमा पारदर्शिता, स्थायित्व र परिणाम दिन सक्ने क्षमता देखाउन सकिएन भने नेपाली मतदाता फेरि एक पटक चुपचाप तर निर्णायक रूपमा आफ्नो निर्णय परिवर्तन गर्न पछि हट्ने छैनन् ।
