राजनीतिक कल्पनाको पुनःसंरचना

नेपालमा जेन–जीको राजनीतिक उभार केवल युवाको आवेग होइन– शक्ति, नैतिकता र राजनीतिक कल्पनाको पुनःसंरचना पनि हो, नयाा परिवर्तन क्रान्तिकारी उथलपुथलभन्दा पनि पुस्तागत पुनः सन्तुलन हो, पुरानो राजनीतिक आधार पूर्ण रूपमा भत्काउने होइन, त्यसलाई नयाा अपेक्षा र नयाा ऊर्जासाग मिलाएर पुनर्परिभाषित गर्ने प्रक्रिया हुनुपर्छ  ।

चैत्र ३, २०८२

सीपी अर्याल

Restructuring the political imagination

What you should know

 

नेपालको राजनीतिक ‘फ्रेम’ अहिले यस्तो मोडमा पुगेको छ, जुन केही वर्षअघि धेरै आममान्छे वा जोकोहीले सहजै कल्पना गर्न सक्दैनथे । लामो समयसम्म ‘राजनीतिप्रति उदासीन’ वा ‘डिजिटल संसारमै अल्मलिएका’ भनेर बुझिएका नयाँ पुस्ता (विशेषतः जेन–जी) ले अहिले देशको राजनीतिक कोर्सलाई नै नयाँ दिशामा धकेली पठाए । भर्खरै काठमाडौंका सडकमा देखिएका युवाकेन्द्रित (रक्ताम्य र हिंसात्मक) प्रदर्शनदेखि पछिल्लो निर्वाचनमा देखिएको नयाँ राजनीतिक उभारसम्म, युवा पुस्ताले जहींतहीं असामान्य ऊर्जा र आत्मविश्वासका साथ आफूलाई स्थापित गर्न थालेका छन् । औपचारिक रूपमा लोकतान्त्रिक गणतन्त्रमा हुर्किएको तर बेरोजगारी, भ्रष्टाचार र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतासँग जुधिरहेको यो पुस्ताका लागि लोकतन्त्रले गर्ने आधारभूत प्रतिज्ञा अपूर्ण जस्तो महसुस भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तीव्र उदय, रवि र बालेन (बालेन्द्र) हरूको लोकप्रियता आदि घटना केवल चुनावी परिणामका सामान्य उतारचढाव होइनन् । यी घटनाले नेपाली राजनीतिक संस्कृतिमा गहिरो पुस्तागत परिवर्तन भइरहेको संकेत दिन्छन् । यस्तो अवस्थामा अहिले देखिएको राजनीतिक परिवेशलाई बुझ्न केवल ताजा घटना मात्रै हेरेर पुग्दैन । यसको गहिराइ बुझ्न (राजनीतिक) समाजशास्त्रका पुराना तर प्रभावशाली सिद्धान्तहरूतर्फ फर्किनु उपयोगी हुन्छ । कार्ल मार्क्स, एमिल दुर्खाइम र म्याक्स वेबरजस्ता शास्त्रीय समाजशास्त्रीले एक शताब्दीभन्दा अघि लेखेका विचार आज पनि समाजमा हुने राजनीतिक परिवर्तन बुझ्न उल्लेखनीय रूपमा उपयोगी देखिन्छन् । 

उनीहरूको सिद्धान्तबाट हेर्दा नेपालको जेन–जीको राजनीतिक उभार केवल युवाहरूको आवेग होइन– शक्ति, नैतिकता र राजनीतिक कल्पनाको पुनःसंरचना पनि हो । यस अर्थमा राजनीतिक परिवर्तनमा सामाजिक चेत र चिन्तनको पनि उत्तिकै भरथेग हुन्छ । यस लेखमा उनै पुराना, तर अद्यापि शक्तिशाली सामाजिक चिन्तकका विषयलाई सान्दर्भिक बनाउँदै समाज निर्माण र पुस्तान्तरणबारे चर्चा गरिनेछ ।

संरचनागत असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजी

कार्ल मार्क्सका अनुसार, सामाजिक असन्तोष आकस्मिक रूपमा उत्पन्न हुँदैन । समाजको आर्थिक र संस्थागत संरचनाभित्रै रहेका विरोधाभासले बिस्तारै असन्तुष्टि जन्माउँछन् । जब मानिसका आकांक्षा बढ्दै जान्छन् र अवसर त्यही अनुपातमा विस्तार हुँदैनन्, तब त्यो निराशा अन्ततः राजनीतिक रूपमा व्यक्त हुन थाल्छ । नेपालको युवा पुस्ता अहिले यस्तै प्रकारको विरोधाभास बाँचिरहेको छ । कागजमा हेर्दा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो— संविधानले नागरिक अधिकार, प्रतिनिधित्व र सहभागिताको ग्यारेन्टी गरेको छ । तर, व्यवहारमा धेरै युवाको दैनिक अनुभव आर्थिक अनिश्चितताले भरिएको छ । आर्थिक मात्रै होइन, सामाजिक अनिश्चितता पनि यसमा मिसिएको छ । यसरी भित्रभित्रै उकुसमुकुसको टन्टलापुर घाम जताततै लागेको छ ।

देशभित्र सम्मानजनक रोजगारीको अवसर कम छ । त्यसैले हरेक वर्ष लाखौं युवा रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । परिवार र अर्थतन्त्र टिकाइराख्न रेमिट्यान्स महत्त्वपूर्ण भए पनि यसले युवाहरूमा एउटा गहिरो मनोवैज्ञानिक प्रश्न जन्माएको छ— के हाम्रो भविष्य यही देशमा सम्भव छैन ? विश्वविद्यालयहरूले हजारौं स्नातक उत्पादन गरिरहेका छन्, तर तीमध्ये धेरैलाई आफ्नो क्षमताअनुसार काम पाउन कठिन हुन्छ । सामाजिक उन्नतिको बाटो प्रायः विदेश पलायनसँग जोडिन थालेको छ । जुन घरका मानिस विदेश गएका छैनन्, त्यस परिवारको सक्षमता र सामाजिक पुँजीमाथि गहिरो प्रश्न उठ्ने वातावरण छ ।

राजनीतिक नेतृत्व हेर्दा अझै पुरानै राजनीतिक प्रक्रिया र आन्दोलनबाट आएका नेताहरूको प्रभाव कायम छ । भर्खरै उदाएका नयाँ दलले भने ती परम्परालाई तोडेका छन् । पुराना आन्दोलनले लोकतन्त्र र गणतन्त्रको आधार तयार त गरे, तर समयसँगै ती संरचना स्थिर र जड बन्दै गएको अनुभूति युवामा बढ्दै गयो । त्यसैले नयाँ विचार र समयको प्रतिनिधित्व गर्ने गैरजडसूत्रीय दल आममानिसको प्रिय बनिरहेका छन् । नयाँले पुरानो व्यवस्थाको बलमा आउनेलाई दोषारोपण गर्ने, तर व्यक्ति चोखिने प्रवृत्ति हाबी छ । अहिले आएका नयाँले पनि केवल पुरानालाई गाली गर्ने काम तीव्र रूपमा जारी राखे । पुरानासँग रिसाएका आममान्छेले ताली पड्काउने भइहाले । यद्यपि, यस्ता झिना विषयभन्दा व्यवस्थासँगै सार्वजनिक संस्था पनि चुस्त बनाउने काममा हामीले ध्यान दिनु जरुरी छ । यो विषय आममान्छेले भन्दा अब नयाँ नेताले नबुझी धरै छैन ।

ट्राफिक नियम उल्लंघन हुँदा विदेशमा जरिवानाको बिल घरै आउने बानी पारेका युवा नेपालमा घन्टौं लाइनमा धक्कामुक्का खाँदै यातायात अफिसमै गएर जरिवाना तिर्न मन पराउँदैन । यस्तो परिस्थितिमा नयाँ राजनीतिक विकल्पमार्फत दुःखजिलो कम हुने ओखतीको खोजी स्वाभाविक छ । रास्वपाजस्ता नयाँ राजनीतिक शक्तिको उदयलाई यही पृष्ठभूमिमा बुझ्नुपर्छ । रास्वपाको लोकप्रियता केवल व्यक्तित्वको आकर्षणले बनेको होइन, यसले स्थापित दलप्रति बढेको असन्तुष्टिलाई पनि अभिव्यक्त गरेको छ । हाम्रो भताभुंग सार्वजनिक संस्था र अकर्मण्य राजनीतिक नेतृत्वमाथि युवाको आक्रोश छ । त्यही आम आक्रोशलाई बालेनलगायत नेताले झ्याप्प बुझे र आम आक्रोशको प्रतिबिम्ब बने । यही मनोविज्ञानले जनमानसले उनीमाथि भरोसा देखे ।

तर, यस आमभाष्यको अर्को पक्ष पनि छ । आजका युवाले आलोचना गर्ने धेरै संस्थागत संरचना— जस्तै संघीयता, बहुदलीय प्रतिस्पर्धा, संवैधानिक अधिकार— यी सबै विगतका राजनीतिक संघर्षका परिणाम हुन् । जनआन्दोलन, माओवादी युद्धपछिको शान्ति प्रक्रिया, दोस्रो जनआन्दोलन र त्यसपछिको संविधान निर्माण— यी सबै प्रक्रियाले अहिलेको गणतन्त्रको आधार तयार पारेका हुन् । त्यसैले अहिले देखिएको पुस्तागत उभारले ती आधारलाई पूर्ण रूपमा उल्ट्याउन सक्दैन । बरु ती संरचनालाई नयाँ ढंगले काम गर्न बाध्य पार्ने प्रयास गर्नुपर्छ । अर्को शब्दमा भन्नुपर्दा, नयाँ पुस्तागत उभारको उद्देश्य गणतन्त्र ध्वस्त पार्ने होइन, यसको कार्यप्रणाली पुनर्परिभाषित (रिडिफाइन) गर्ने प्रयासमा केन्द्रित हुनुपर्छ ।

सामूहिकता : आक्रोश, ऊर्जा र पहिचान

आर्थिक असन्तुष्टि मात्रै यो आन्दोलनको कारण होइन । पछिल्ला वर्षमा युवाको राजनीतिक सक्रियतामा एउटा बलियो नैतिक आवाज पनि सुनिन्छ । भ्रष्टाचार, राजनीतिक संरक्षणवाद र प्रशासनिक अकर्मण्यताप्रति युवाहरूको आक्रोश केवल आर्थिक प्रश्न होइन, नैतिक प्रश्न पनि हो ।

एमिल दुर्खाइमले समाजलाई बाँधेर राख्ने नैतिक विश्वासलाई ‘कलेक्टिभ कन्साइन्स’ भनेर व्याख्या गरेका थिए । जब ती साझा मूल्य लगातार उल्लंघन हुन्छन्, समाजमा असन्तुलन पैदा हुन्छ र मानिसहरू सामूहिक रूपमा प्रतिक्रिया दिन थाल्छन् । नेपालमा युवाहरूको राजनीतिक सक्रियतामा यही प्रकारको सामूहिक असन्तोष देखिन्छ । ‘सफा राजनीति’ वा ‘जवाफदेही शासन’ जस्ता नारा केवल प्रशासनिक सुधारको माग होइनन्, यी लोकतन्त्रको नैतिक आधार पुनःस्थापित गर्ने आह्वान हुन् ।

जब हजारौं युवा सडकमा निस्कन्छन् वा सामाजिक सञ्जालमार्फत संगठित हुन्छन्, उनीहरू विरोध मात्रै व्यक्त गरिरहेका हुँदैनन्– एक किसिमको सामूहिक पहिचान पनि निर्माण गरिरहेका हुन्छन् । एउटा यस्तो अनुभूति जसले भन्छ– हामी एउटै पुस्ता हौं र हामीले देशको भविष्यबारे बोल्नुपर्छ । यस्तै भावनालाई दुर्खाइमले ‘कलेक्टिभ कन्साइन्स’ भनेका हुन् । 

दुर्खाइमले यस्ता क्षणलाई ‘कलेक्टिभ इफरभिसेन्स’ भनेर व्याख्या गरेका थिए । यो त्यस्तो क्षण हो, जब मानिसहरू सामूहिक रूपमा सक्रिय हुँदा तिनमा असाधारण ऊर्जा र एकताको अनुभूति पैदा हुन्छ । नेपालको पछिल्लो युवाकेन्द्रित राजनीतिक गतिविधि र परिवर्तनको हुटहुटी भएकाहरूमा यस्तै प्रकारको ऊर्जा देख्न सकिन्छ ।

तर, यस्तो नैतिक ऊर्जा सधैं स्थायी रहँदैन । आन्दोलनले जन्माएको उत्साहलाई दीर्घकालीन राजनीतिक सुधारमा रूपान्तरण गर्न सकिएन भने त्यो ऊर्जा बिस्तारै निराशामा बदलिन सक्छ ।

चामत्कारिक नेतृत्व र पुस्तागत परिवर्तनको सीमारेखा

कार्ल मार्क्सले संरचनागत असन्तुष्टि व्याख्या गर्छन्, दुर्खाइमले सामूहिक ऊर्जा बुझाउँछन् भने म्याक्स वेबरले राजनीतिक परिवर्तनमा नेतृत्वको भूमिकालाई स्पष्ट गर्छन् ।

वेबरका अनुसार, ठूलो राजनीतिक परिवर्तनका क्षणहरूमा ‘करिस्म्याटिक अथरिटी’ अर्थात् व्यक्तिगत चामत्कारिकतामा आधारित नेतृत्व उत्पन्न हुने गर्छ । यस्तो नेतृत्व परम्परागत संस्थागत संरचनाभन्दा बाहिरबाट पनि आउन सक्छ । यद्यपि, थुप्रै विद्वान्ले (जस्तै, नेपालकै परिप्रेक्ष्यमा प्रदीप गिरिले) ‘चामत्कारिक नेतृत्व खोज्ने समाज अभागी समाज हो’ पनि भनेका छन् ।

नेपालमा देखिएको नयाँ राजनीतिक उभारमा यस्तै प्रवृत्ति देखिन्छ । मिडिया, नागरिक समाज वा सहरी सार्वजनिक जीवनबाट आएका व्यक्तिहरूले परम्परागत पार्टी संरचनाबाहिर लोकप्रियता हासिल गरेका छन् । उनीहरूप्रतिको आकर्षण प्रायः एउटा वाचामा आधारित छ— पुरानो राजनीतिक अभ्यास तोड्ने । तर, वेबरले एउटा महत्त्वपूर्ण चेतावनी पनि दिएका थिए । चामत्कारिकताले आन्दोलन सुरु गर्न सक्छ, तर शासन सञ्चालन गर्न चामत्कारिकता पर्याप्त हुँदैन । समयसँगै चामत्कारिकता संस्थागत संरचनामा रूपान्तरण हुनुपर्छ, नत्र त्यो ऊर्जा टिक्दैन ।

नेपाल अहिले यही मोडमा उभिएको छ । नयाँ राजनीतिक शक्तिहरूको उदयले नागरिकमा ठूलो आशा जगाएको छ । तर, संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो जटिल राज्य संरचना चलाउनु केवल चुनाव जित्ने विषय होइन, यसका लागि प्रशासनिक क्षमता, नीतिगत स्पष्टता र संस्थागत स्थिरता आवश्यक हुन्छ ।

त्यसैले नेपालको जेन–जी राजनीतिक उभारको वास्तविक परीक्षा अझै बाँकी छ । प्रश्न केवल नयाँ अनुहार सत्तामा पुग्ने हो कि होइन भन्ने होइन । प्रश्न यो हो— के उनीहरूले विद्यमान संस्थागत संरचनाभित्र बसेर त्यसलाई प्रभावकारी बनाउन सक्छन् कि नाइँ ?

शास्त्रीय समाजशास्त्रको दृष्टिकोणबाट हेर्दा नेपालको यो पुस्तागत परिवर्तन आकस्मिक घटना जस्तो देखिँदैन । यो लामो समयदेखि सञ्चित संरचनागत असन्तुष्टि, नैतिक आकांक्षा र नयाँ प्रकारको नेतृत्वको परिणाम हो । आजका युवा नागरिकहरूले राज्यलाई अझ जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन माग गरिरहेका छन् । तर, उनीहरू यस्तो माग त्यही लोकतान्त्रिक संरचनाभित्र बसेर गरिरहेका छन्, जुन अघिल्लो पुस्ताले संघर्ष गरेर निर्माण गरेको हो । यी दुवै कुरा बिर्सन पटक्कै हुँदैन । 

यस अर्थमा अहिले देखिएको परिवर्तन क्रान्तिकारी उथलपुथलभन्दा पनि पुस्तागत पुनःसन्तुलन हो । पुरानो राजनीतिक आधार पूर्ण रूपमा भत्काउने होइन, त्यसलाई नयाँ अपेक्षा र नयाँ ऊर्जासँग मिलाएर पुनर्परिभाषित गर्ने प्रक्रिया हुनुपर्छ । नेपालको जेन–जीको राजनीतिक क्षण सायद यही अर्थमा महत्त्वपूर्ण छ— यसले विगतलाई अस्वीकार गरेर होइन, त्यसको आधारमा भविष्यलाई नयाँ ढंगले कल्पना गर्ने सम्भावना खोलेको छ ।

(समाजशास्त्रमा विद्यावारिधि अर्याल काठमाडौं विश्वविद्यालयमा कम्युनिटी डेभलपमेन्ट प्रोग्राम प्रमुखका रूपमा कार्यरत छन्)

सीपी समाजशास्त्रमा विद्यावारिधि गरेका अर्यालले समाज र राजनीतिक वृहत आयाममाथि लेख्छन् ।

Link copied successfully