बालेन चाहेका नेपाली मतदाताले अब आफ्नै छनौटको परिणाम हेर्नेछन् । त्यो परिणाम आशामुखी नयाँ अध्यायको शुरुवात हुनेछ अथवा निराशाको अर्को चक्र ? त्यो बालेनहरुकै कार्यशैलीले तय गर्नेछ ।
हामी नेपालीहरुको एउटा साझा चरित्र छ, हामी जति छिटो निरासिन्छौं, हामीलाई उत्साहित हुन पनि बेरै लाग्दैन । आमनिर्वाचन, २०८२ ले निराशा र असन्तुष्टीको जमिनबाट उठाएर ठूलो नागरिक पंक्तिलाई उत्साहित बनाएको छ । यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभूतपूर्व जीतसंगै यो पंक्तिमा आशा र अपेक्षा कति चाँडै हुर्किन थालेको छ भने, ती ‘रामराज्य’को स्वैरकल्पनामा मग्न हुन थालेका छन् ।
यतिबेला रास्वपा नेपाली समाजको ‘परिवर्तनको बाहक’ बनेको छ । मान्छेहरु भन्दैछन्, मतदाताले ‘परिवर्तन’का लागि ‘मौन मत क्रान्ति’ गरे । तर, यो मौन मत क्रान्ति हो कि हमेशा नायक खोजीबस्ने दुखी समाजको भावनात्मक आवेग ? अथवा यो नयाँहरुको पक्षमा उर्लेको परिवर्तनको लहर हो कि पुरानाहरुप्रतिको चरम विकर्षणको वेभ ? नवनायकहरुको महिमा मण्डनको होडबाजी चलिरहँदा सायद यी प्रश्न ग्राह्य नहोलान् । यद्यपि सत्य यही हो, रास्वपाको पक्षमा देखिएको अभूतपूर्व जनादेशले न्याय त्योबेला पाउने छ, जुनबेला यो पार्टीले नारामा होइन, कामबाटै परिवर्तनको मुद्दालाई आत्मसाथ गर्न सक्नेछ ।
निर्वाचनको अन्तिम नतिजा आउन अरु केही दिन लाग्ला । हालसम्मको मतगणना अनुसार, यो पार्टीको पक्षमा प्रस्ट र बलियो बहुमत आउने पक्का भएको छ । उस्तै पर्दा अन्तिम गणनासम्म पुग्दा दुई तिहाई मत प्राप्त गर्ने वा त्यसको नजिक पुग्ने सम्भावना पनि छ । अर्थात् ठूला र ऐतिहासिक पृष्ठभूमि भएका कांग्रेस र कम्युनिष्टहरुलाई पछार्दै रास्वपा सर्वाधिक शक्तिशाली दलका रुपमा उदाएको छ ।
एकातिर रविले खडा गरेको रास्वपा जसमा उनको सांगठनिक वर्चश्व छ । अर्कोतिर बालेन क्रेजले अभूतपूर्व जीतको उन्मादी लहरमा छ, रास्वपा । यो अवस्थामा रवि–बालेन सम्बन्ध कस्तो रहिरहला भन्ने कुराले अरु धेरै पक्षहरुलाई प्रभावित पार्ने छ ।नेपाली जनमत यो पार्टीको पक्षमा किन यसरी एकोहोरियो ? संगठन र पृष्ठभूमि भएका र ठूला भनिएका दलहरु चुनावी प्रतिस्पर्धामा किन पिधमै पुग्नेगरी खुम्चिए ? र, किन साढे तीन वर्षे उमेर भएको कलिलो पार्टी तिनको रोजाईमा पर्यो ? के अब शिशु रास्वपा जनताको आशा र अपेक्षामा खरो उत्रन सक्ला ? अब यो पार्टीसामु के–कस्ता चुनौती र अवसर छन् ? वर्तमान राजनीतिक परिदृश्यमा रास्वपाको शक्तिशाली उपस्थितिले यस्ता थुप्रै प्रश्न जन्माएको छ । यो विश्लेषण यिनै प्रश्नमा केन्द्रित रहने छ ।
नेपाली राजनीतिमा बैकल्पिक शक्तिको खोजी पहिलो पटक भएको होइन । यस्तो खोजी हरेक राजनीतिक परिवर्तनसंगै हुदै आएको छ । हरेक पटक राजनीतिक परिवर्तन हुँदा जनता उत्साहित हुने गरेका छन् । परिवर्तनहरुले आम जनताको जीवनमा आशा र अपेक्षा जगाउँछ पनि । जब ती अपेक्षा पुरा भएको अनुभूति हुदैन, तब असन्तोष र निराशाको जमिन बन्छ । त्यही जमिनमा नयाँ र बैकल्पिक राजनीतिक शक्तिहरुको खोजी शुरु हुन्छ । २००७ सालयताका राजनीतिक घटनाक्रम र परिवर्तनहरु यसका दृष्टान्त हुन् । २००७ सालपछि परिवर्तनको बाहकको रुपमा कांग्रेसको उदय भयो । २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि परिवर्तनको बाहकमा कांग्रेससंगै बामपन्थीहरु पनि देखिए । २०६३ को दोस्रो जनआन्दोलनपछि हिंसात्मक राजनीति हुँदै शान्तिपूर्ण संक्रमणबाट माओवादी उदायो । अहिले तिनै परिवर्तनकारी दलहरुको विकल्पमा रास्वपाको पक्षमा लहर आएको छ ।
रास्वपा २०७९ साल असारमा जन्मिएको पार्टी हो । जन्मेको ६ महिनामै आम निर्वाचनमा होमिएको यो पार्टी त्यतिबेलै पनि चौथो दलका रुपमा संसद्मा उदाएको थियो । अहिले रास्वपाले मारेको छलाङ त्यसैको विस्तारित रुप हो । मुख्यतः रास्वपा पुराना राजनीतिक दलहरुको अकर्मण्यता र अयोग्यताको उपज हो ।
२०४६ अथवा २०६३ सालका ठूल्ठूला राजनीतिक परिवर्तनपछि सत्ताको ‘ड्राइभिङ सिट’मा बसेका कांग्रेस–कम्युनिष्टहरुसंग आमजनताले मुख्यतः चारवटा अपेक्षा गरेका थिए । पहिलो, भ्रष्टाचार नियन्त्रण र सुशासन । दोस्रो, आर्थिक, शैक्षिक अनि भौतिक विकास । तेस्रो, सहज र सुलभ सेवाप्रवाह । चौथो, दलको आन्तरिक लोकतन्त्रसंगै यसको संस्थागत विकास ।
पटक–पटक सत्तासीन हुने अवसर पाउदा पनि कांग्रेस–कम्युनिष्टहरु यी अपेक्षामा अव्बल त परै जाओस्, पास समेत हुन सकेनन् । बरु, यिनले भ्रष्टाचार बढाए, योग्य र योग्यताभन्दा भागवन्डाको (कु) संस्कृति हुर्काए, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा होइन, गुटबन्दीलाई प्रश्रय दिए । सारमा, सत्ता र पदमुखी बन्दै जादा आमजनतामा कांग्रेस–कम्युनिष्टहरुले परिवर्तनको मुद्दा बोक्न नसकेको भाष्य बलियोगरी स्थापित भयो । ढिलै भए पनि हालैसालै कांग्रेसले विद्रोह गरेर नेतृत्व पुस्तान्तरणको अभ्यास थालेको थियो । तर, जनताले कांग्रेसको त्यो सुधारलाई बदलिएको भनेर पत्याएनन् ।
जब परिवर्तनकारी शक्तिहरु यथास्थितिमै रुमलिन्छन्, तब नयाँ शक्तिको उदय हुन्छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७० सालमै भनेका थिए ‘नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अव त्यसलाई नेतृत्व गरेर जान दलहरुले आफ्नो संगठन, नेतृत्व र कार्यशैलीलाई परिवर्तन गरेर लैजान सक्नुपर्छ । त्यो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ ।’
भट्टराईले माओवादी त्यागेर ‘नयाँ शक्ति’ बनाउने प्रयत्न गरे । विवेकशील पार्टी, साझा पार्टी, विवेकशील–साझा पार्टी आदि विभिन्न नाममा अरुहरुले पनि नयाँ र बैकल्पिक शक्ति निर्माणको पहल गरेका थिए । रास्वपा तिनै प्रयत्नहरुको पछिल्लो कडी हो । यो पार्टी कुनै राजनीतिक संघर्ष अथवा आन्दोलनको जगमा उदाएको होइन । जनतामा पुराना दलहरुप्रति बढेको निराशा, आक्रोश र अविश्वास यसको मुख्य आधारशीला हो । त्यसमा कुनै बखतका चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको राजनीतिक महत्वाकांक्षा पनि मिसिएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जब स्वतन्त्र प्रत्यासीहरु जस्तो कि, बालेन्द्र शाह, हर्क साम्पाङ लगायतले मेयरमा जित्न थाले, रविभित्र हुर्कदै गरेको राजनीतिक महत्वाकांक्षा अझ तीव्र भयो । उनले हतारमा पार्टी स्थापनाको घोषणा गरेर चुनावमा गए । उनले बुझेका थिए, ‘लोकप्रिय नयाँ अनुहार’ सहित राजनीतिमा जाँदा नयाँ शक्ति निर्माणका लागि आक्रोश र निराशाको जमिन पर्याप्त हुनसक्छ । धेरैले ‘अराजनीतिक लहड’ भनेर आलोचना गरे पनि रविले समाजमा व्याप्त निराशा र आक्रोश जगमा रास्वपा जन्माए । चुनावपछि यो पार्टी २१ सिट सहित संसदको चौथो ठूलो दल मात्रै भएन, गठबन्धन सत्ता राजनीतिको एउटा खेलाडी पनि भयो ।
रास्वपाको त्यो उदय आश्चर्यजनक र आशलाग्दो थियो । पार्टी स्थापनाको ६ महिनामै चुनावी राजनीतिमा यसले पाएको सफलताले आमजनता आकर्षित थिए । यो पार्टीका सांसदहरुले संसदमा खेलेको रचनात्मक भूमिकाले पनि आकर्षण बढाएको थियो । तर, यसले त्यो आकर्षण र उत्साहलाई धेरै दिन थेग्न सकेन । विवाद र प्रश्नको घेरामा पर्न थाल्यो । यसको मुख्य कारण रवि स्वयंको विवादास्पद छवि थियो । उनी कानूनी, सामाजिक, नैतिक, आर्थिक सबै हिसाबले प्रश्नको घेरामा परेका पात्र हुन् । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता प्राप्त गर्ने कानुनी प्रक्रिया पुरा नगरेको भनेर उनको सांसद पद खारेज भयो । उनीमाथि राहदानी दुरुपयोग र सहकारीको रकम अपलचनको गम्भीर आरोप लागेको छ । जसको कानूनी निप्टारा लागिसकेको छैन ।
गठबन्धन सरकारहरुमा सहभागी हुन अधिक सत्तामोह देखाएका कारण पनि रास्वपा आलोचित भयो । पार्टीको छवि रविकै इर्दगिर्द सीमित भयो । पार्टीको एक मात्रै ‘फेस भ्यालु’ उनमै सम्पूर्ण रुपमा निर्भर थियो । पार्टीप्रति प्रतिवद्धभन्दा अवसरको खोजीमा आउने जाने क्रम चल्दा पुराना दलभन्दा भिन्न नरहेको सन्देश गयो । आन्तरिक लोकतन्त्र फरक ढंगले अभ्यास गर्ने बताइए पनि त्यो व्यावहारमा लागु हुन सकेन । आर्थिक अपारदर्शिताका प्रकरणहरु बाहिर आए । यस्ता अनेक कारणले छोटो समयमै ओरालो लाग्दै गरेको रास्वपा जेन–जी आन्दोलनको समय आइपुग्दा थप आलोचित भयो । खासगरी जेन–जी आन्दोलनका नाममा बढेको अराजकताको मौका छोपेर जब रविका समर्थकहरुले गैरकानूनी हिसाबले उनलाई जेलबाट निकाले, त्यसले थप विवादमा तान्यो । जेन–जीहरुले उनलाई ‘खलनायक’ कै रुपमा चित्रण गरे । जेन–जीहरुको चर्को आलोचना र बहिष्करणमा परेका रवि फेरि जेल फर्के ।
त्यसपछि आयो, भयानक ‘ट्वीस्ट’ । जेन–जीहरुका नजरमा ‘खलनायक’ करार भएका रवि र जेन–जी आन्दोलनकारीहरुका ‘आइकन’ बालेन शाहवीच एकता भयो । नाटकीय रुपमा भएको यो एकताका विषयलाई लिएर अनेक अड्कल काटिएका छन् । यसमा दृश्य/अदृश्य कसको के भूमिका छ, अन्तर्य के हो ? समयक्रमसंगै प्रस्ट हुदै जाला । तथापि, यी दुईको एकताले खस्किदै गएको रास्वपाले नयाँ उर्जा पायो । आमरुपमा अत्यधिक लोकप्रिय बनेका बालेनले पार्टीको छत पाए भने रास्वपाले ‘बालेन कार्ड’ पायो । धेरैजसो विश्लेषकहरुको ठहर छ, रास्वपाको अभूतपर्व जीतका पछाडिको एउटा मुख्य कारण ‘बालेन कार्ड’ हो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि त्यसबाट युवापंक्ति मात्रै तरंगित भएन, धेरै मतदाता भएको मधेशमा ‘वेभ’ नै आयो । मतदाताहरुले रास्वपाभन्दा बढि बालेन र चुनाव चिन्ह घन्टीलाई चिने र त्यसैलाई रोजे । नतिजा, निकट केही दिनमै ३५ वर्षिय बालेन मुलुकको नयाँ प्रधानमन्त्री हुने भएका छन् ।
काठमाडौंको मेयरको पदावधि पुरा नहुदै राष्ट्रिय राजनीतिमा होमिएका बालेनको दुर्लभ प्रमोशन हुने भएको छ । विश्वका कतिपय देशमा मेयर हुदै प्रधानमन्त्री बनेका अनेक दृष्टान्त भेटिन्छन् । नेपालले यस्तो दृष्टान्त पहिलोपटक बनाउदै छ । उमेरका हिसाबले पनि उनी कान्छा जननिर्वाचित प्रधानमन्त्री हुने छन् ।
काठमाडौंको मेयरको पदावधि पुरा नहुदै राष्ट्रिय राजनीतिमा होमिएका बालेनको दुर्लभ प्रमोशन हुने भएको छ । विश्वका कतिपय देशमा मेयर हुदै प्रधानमन्त्री बनेका अनेक दृष्टान्त भेटिन्छन् । नेपालले यस्तो दृष्टान्त पहिलोपटक बनाउदै छ । उमेरका हिसाबले पनि उनी कान्छा जननिर्वाचित प्रधानमन्त्री हुने छन् ।मुलुकको शासनसत्ताको बागडोर लिदै गरेका बालेन कस्ता प्रधानमन्त्री होलान् ? उनका चुनौती र अवसर के होलान् ? आमवृत्तमा अत्यधिक चासो छ । नेपाली समाजले बालेनलाई निकै कम चिनेको छ । युवापंक्तिले र्यापरका रुपमा चिन्छ । अरु धेरैले काठमाडौंको मेयरका रुपमा । काठमाडौंका मेयरका रुपमा बालेन कति सफल भए वा भएनन् ? यसको वस्तुनिष्ठ खोज र विश्लेषण खासै भएको छैन । एकथरि उनका शुभेच्छुकहरु उनले काठमाडौंको मुहार नै बदले भनेर प्रसंसा गरेर थाक्दैनन् । आलोचकहरु वीचैमा जिम्मेवारी छोडेर गएका ‘भगौडा’ भनी आलोचना गर्छन् । त्यस्तै, एकथरि उनलाई भ्रष्टाचारमा नमुछिएको स्वच्छ छविको मेयर भनेर चिन्छन् । तर, उनका कतिपय निर्णय र कामका सन्दर्भमा उजुरी परेपछि उनी अख्तियार पुगेर सफाई दिनुपरेका नजीर पनि भएकाले अर्कोथरि प्रश्न गर्छन् । आवेग र उत्तेजनामा आइहाल्ने बालेनमा काम गर्ने हुटहुटी चाहिं छ भन्ने आमवुझाई छ । उनी जोखिम लिन हिच्किचाउदैनन् । तर, महानगरकालीन काममा उनले सुशासनलाई संस्थागत सकेनन् भन्नेहरु पनि उत्तिकै छन् ।
यो पृष्ठभूमिमा बालेन मुलुककै सुशासनको नयाँ आशा बनेर उदाएका छन् । पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनकै गृहजिल्लाबाट भारी मतान्तरले पराजित गर्दै बालेन जनअनुमोदित भएका छन् । उनको क्रेज आम नेपाली वृत्तमा यतिबेला चुलीमा पुगेको छ । लोकप्रियताको शिखर चढ्दै गरेका बालेनसामु चुनौतीका पहाड पनि छन् । चुनौतीको पहिलो खुट्किलो पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र त्यसको व्यवस्थापनलाई लिएर हुनेछ । एकातिर रविले खडा गरेको रास्वपा जसमा उनको सांगठनिक वर्चश्व छ । अर्कोतिर बालेन क्रेजले अभूतपूर्व जीतको उन्मादी लहरमा छ, रास्वपा । यो अवस्थामा रवि–बालेन सम्बन्ध कस्तो रहिरहला भन्ने कुराले अरु धेरै पक्षहरुलाई प्रभावित पार्ने छ । हुन त रविले पार्टीको नेतृत्व आफूले गर्ने र सरकारको नेतृत्व बालेनले गर्ने प्रस्ट भनेका छन् । तर, सरकारको निर्णयमा पार्टीलाई विश्वासमा राख्नेदेखि नयाँ सांसदहरुको व्यवस्थापन लगायतका रणनीतिक विषयहरुमा आपसी समझदारी र सहकार्य चुनौतीपूर्ण हुने छ ।
आम चासो बालेनको व्यक्तित्वलाई लिएर पनि छ । जस्तो कि, रोड शोहरुमा देखिएका बालेन, सामाजिक सञ्जालमा बेलाबखत तरंग ल्याउने स्टाटसहरु पोस्ट गर्ने बालेन रहस्यमयी लाग्छन् । निकै कम संवाद गर्न रुचाउछन् । के नेपाली समाजले अहिले चिनेका बालेन र प्रधानमन्त्रीको कुर्शीमा बस्ने बालेनको प्रस्तुती र कार्यशैली भिन्न होला ? के उनी प्रधानमन्त्री भएपछि पनि अहिले जत्तिकै रहस्यमयी पात्र भइरहलान् ? उनी जे भूमिकामा जाँदैछन्, त्यहा अनेकथरि नियमित राजनीतिक/कुटनीतिक संवाद गर्नुपर्ने हुन्छ । मेयर रहँदा उनले भुराजनीति र कुटनीतिक संवेदनशीलताको ख्यालै नगरी अपरिपक्व ‘स्टन्ट’हरु गरेको मान्छेहरुले विर्सेका छैनन् । प्रधानमन्त्रीको कुर्शीबाट उनले कुटनीति र भुराजनीतिक मुद्दाहरुलाई कसरी ‘डिल’ गर्लान् ? त्यो पनि आम चासो र चिन्ताको विषय बनेको छ । सारमा संस्थापन विरुद्धको आक्रोशको प्रतीक बनेका बालेन भारी जनअनुमोदनपछि स्वयं संस्थापन बनेका छन् । उनीसंग जति चुनौती छन्, इतिहासले दुर्लभ अवसर पनि त्यत्तिकै दिएको छ ।
विसौं शताव्दीका एक अमेरिकी पत्रकार हेनरी लुइस मेन्केनले भनेका थिए, ‘लोकतन्त्रमा जनता जे चाहान्छन्, त्यही पाउँछन् । र, त्यसको परिणाम पनि आफैले भोग्छन् ।’ बालेन चाहेका नेपाली मतदाताले अब आफ्नै छनौटको परिणाम हेर्नेछन् । त्यो फरिणाम आशामुखी नयाँ अध्यायको शुरुवात हुनेछ अथवा निराशाको अर्को चक्र ? त्यो बालेनहरुकै कार्यशैलीले तय गर्नेछ । @Rajaramgautam
