निर्वाचन एक विश्वविद्यालय

निर्वाचनलाई विश्वविद्यालय शिक्षा भन्नुको अर्को कारण, यसले देशको परिस्थिति, नेतृत्व, संगठनात्मक क्षमताको विकास गराउने गर्दछ । जनताको आवश्यकताको खोजबिन गर्ने काम पनि गर्दछ ।

फाल्गुन २१, २०८२

सुनिता गाइसी

Election a university

सबैतिर निर्वाचनकै माहोल छ । निर्वाचनलाई सामान्यतया प्रतिनिधि छनोट गर्ने राजनीतिक प्रक्रियाका रूपमा लिइन्छ । तर समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा निर्वाचन आफैंमा एउटा महत्त्वपूर्ण विश्वविद्यालय हो ।

यसले मानिसलाई पुस्तकभन्दा बाहिरको व्यावहारिक ज्ञान, सामाजिक अनुभव, नेतृत्व क्षमता, भौगोलिक ज्ञान, स्थानीय तहमा उपलब्ध स्रोत साधनबारे जानकारी दिने गर्दछ । त्यसैले पनि निर्वाचनलाई जीवनको व्यावहारिक शिक्षा प्रदान गर्ने खुला विश्वविद्यालयका रूपमा मानिन्छ । यसमा उमेर पुगेका नागरिकहरूले भोट हाली आफ्नो उम्मेदवार चयन गर्दछन् भने उमेर नपुगेका व्यक्तिहरूले यस माहोललाई बुझ्ने अवसर प्राप्त गर्छन् ।

राजनीतिक संस्था समाजको एक बृहत् संस्थाअन्तर्गत पर्दछ । मानिस सामाजिक प्राणीसँगै राजनीतिक प्राणी पनि हो । जीवनयापन गर्ने क्रममा मानिसले हरेक पाइलामा राजनीति गरिरहेको हुन्छ । जस्तै– परिवारमा पनि साना केटाकेटी आफ्नो माग पूरा नभएमा बुबाआमासँग रिसाएर खाना नखाने र नबोल्ने गर्छन् । मानिसको स्वभाव नै यस्तो हो कि आफूलाई चाहिएको कुरा जसरी पनि प्राप्त गर्न खोज्छन् । साना केटाकेटीमा जस्तै ठूला मानिसमा पनि यस्तै स्वभाव देखिन्छ । मानिसले राजनीति गर्न परिवारबाटै सिकेको हुन्छ । परिवारका सदस्यहरूले गर्ने व्यवहारबाट साना केटाकेटीेले विभिन्न कुराहरू सिक्ने गर्दछन् ।

व्यक्तिको जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने संस्था पनि राजनीति नै हो । यसअन्तर्गत राज्य, संविधान, नियम कानुन, निर्वाचनजस्ता पक्ष पर्छन् । निर्वाचनले नागरिकलाई देशको राजनीतिक अवस्थाका बारेमा ज्ञान दिने गर्दछ, यसले नागरिकलाई लोकतन्त्रको व्यावहारिक ज्ञान प्रदान गर्दछ । मतदान प्रक्रिया, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बहस, भेला र निर्णयजस्ता गतिविधिबाट नागरिकहरूले लोकतान्त्रिक प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने कुरा व्यवहारबाटै सिक्ने अवसर पाउँछन् । यस्ता ज्ञान कुनै कक्षाकोठामा मात्र सीमित नभई प्रत्यक्ष सहभागिताबाट प्राप्त हुन्छ, जसले सिकाइलाई अझ प्रभावकारी बनाउने गर्छ ।

समाजशास्त्रीय रूपमा निर्वाचनले व्यक्तिलाई राजनीतिक सामाजिकीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको हुन्छ । यसै क्रममा व्यक्तिले आफ्नो अधिकार, कर्तव्य, सामाजिक दायित्व र समूह साथै समग्र देशको हितको महत्त्व बुझ्न थाल्छ । परिवार, साथीभाइ, समाज, छरछिमेकी, सामाजिक सञ्जालका माध्यमबाट व्यक्तिको राजनीतिक सोच र सामाजिक

चेतनाको स्तरमा सकारात्मक प्रभाव पर्न थाल्दछ । त्यसैले होला, निर्वाचनमा आफ्नो मत हाल्नका लागि विदेशमा बसेका धेरै नेपाली नागरिक फर्किन्छन् । आफूले दुःख पाए पनि आफ्ना सन्तानका लागि देशमै विकासका बाटाहरू सिर्जना हुनुपर्छ भनी उनीहरू फर्केको बताउँछन् । सही राजनीतिक नेतृत्वको विकास होस् र देशमै रोजगारीको सिर्जना होस् भन्ने उनीहरूको चाहना हुने गर्छ ।

निर्वाचनलाई विश्वविद्यालय शिक्षा भन्नुको अर्को कारण, यसले देशको परिस्थिति, नेतृत्व, संगठनात्मक क्षमताको विकास गराउने गर्दछ । जनताको आवश्यकताको खोजबिन गर्ने काम पनि गर्दछ । उम्मेदवारहरूलाई जनताको घरदैलोमा पुर्‍याउने, जनसम्पर्क बढाउने, योजना निर्माण, समस्याको समाधान, संवाद, समन्वयजस्ता गतिविधिहरू तीव्र हुने गर्दछन् । जनताले पनि आफ्नो प्रतिनिधिहरूलाई नजिकबाट देख्न र उनीहरूको कुरा सुन्ने मौका पाउँछन् । यस्ता सीपहरू सामाजिक, प्रशासनिक रूपमा निकै महत्त्वपूर्ण हुन्छन् । यस अर्थमा पनि निर्वाचन एक जीवन उपयोगी सीप सिकाउने अभ्यासशाला हो ।

तर नेपालमा भने निर्वाचनका बेलामा नेताहरू भोट माग्न आउने र जितेपछि बिर्सिने गर्छन् । चुनावताका खेतबारीमै पुगी खेत खन्ने, भारी बोक्ने, जेरी पकाउने, दोहोरीमा नाच्ने नेताहरू चुनाव जितेपछि फर्केर पनि नहेरेको गुनासो मतदाताहरू गर्छन् । यसका साथै चुनावले समाजको विविधता, भौगोलिक विकटता, सामाजिक संरचना, प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्ने मौका पनि दिन्छ । विदेशी आएर नेपालका कुनाकुना घुमेर जान्छन्, नेपालमै बसेर हिमाल वा हिउँ नछुने धेरै छौं । यो नौलो कुराचाहिँ होइन । विभिन्न जात, वर्ग, लिंग, भाषा, क्षेत्र र आर्थिक अवस्थाले मानिसको सोच, विचार गर्ने क्षमता र व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि निर्वाचन प्रक्रियाका क्रममा स्पष्ट हुने गर्छ । समाजशास्त्रीय रूपमा यो सामाजिक यथार्थको प्रत्यक्ष अध्ययन पनि हो ।

हालै चुनावको माहोलमा एक नेता सुदूरपश्चिम जाने क्रममा उनले लेखेको दुई लाइनको स्टाटसमा एक व्यक्तिले गीत नै लेखे । धेरैले टिकटक बनाए, रिल बनाए । यसले सुदूरपश्चिमको भाषा शैलीलाई प्रोत्साहन पनि गर्‍यो । त्यसैले निवार्चनले सामान्य व्यक्तिलाई पनि धेरै कुराहरू सिकाउने र सिक्ने मौका प्रदान गर्ने गर्दछ । कतिपय उम्मेदवार त परम्परागत पोसाकमै भोट माग्न जनताको घरदैलोमा पुग्ने गरेका छन् । निर्वाचनले व्यक्तिभन्दा माथि उठेर सामूहिक निर्णय र सहकार्यको संस्कृति र संस्कारको विकास गर्छ ।

वास्तवमै आजको आवश्यकता पनि देशलाई हाँक्न सक्ने इमानदार र विकासप्रेमी नेताको हो । अबको चुनावमा हाम्रोभन्दा पनि राम्रो व्यक्तिलाई भोट दिई जिताउनुको विकल्प छैन । देशको समग्र विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । चुनावकै क्रममा हामी सचेत, सजग र इमानदार हुनुपर्दछ । आफ्नो मतको सही प्रयोग गर्नुपर्दछ । त्यसैले निर्वाचन एक राजनीतिक प्रक्रिया मात्र नभई समाजलाई गहन रूपमा बुझ्ने, जान्ने महसुस गर्ने माध्यम पनि हो । यसको मर्म सही रूपमा बुझेमा भोलिका दिनमा नेपालले पनि विकासको काँचुली फेर्ने छ ।

सुनिता सुनिता गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन्।

Link copied successfully