हामी कुनै तानाशाह वा शासक वा अधिनायकमाथि नै सबैजसो निरंकुशता, अधिनायकत्व, तानाशाही शासनसँगै फासीवादी प्रवृत्तिका लागि सबै दोष थोपर्ने गर्छौं । यो तरिका सही छ ? यसले समस्याको उचित निदान गर्छ त ?
हामीमध्ये धेरैलाई लागेको हुन सक्छ– तानाशाहहरू सैनिक विद्रोहबाट सत्तामा आएका हुन्छन् । निरंकुश र अधिनायकहरू त जनतामाथि दमन गरेरै शक्तिशाली हुन्छन् । इतिहासका यथार्थ भने हाम्रा बुझाइभन्दा भिन्न छन् । उदाहरणका लागि सबैभन्दा ठूला अधिनायक मानिने हिटलर नै हुन् ।
उनी पनि जनताको मतबाटै निर्वाचित भएका चान्सलर हुन् भन्दा पत्याउनै गाह्रो हुन सक्छ । बीसौं शताब्दीका हिटलरमात्रै होइनन्, एक्काइसौं शताब्दीका एकसे एक अधिनायक पनि चुनाव नै जितेर सत्तासीन भएका हुन् । निर्वाचनजस्तो लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर, जनताको मत र विश्वास लिएर नै ठूलो संख्यामा निरंकुश शासकहरूले सत्ता हत्याएका छन् । र पनि हामी कुनै तानाशाह वा शासक वा अधिनायकमाथि नै सबैजसो निरंकुशता, अधिनायकत्व, तानाशाही शासनसँगै फासीवादी प्रवृत्तिका लागि सबै दोष थोपर्ने गर्छौं । यो तरिका सही छ ? यसले समस्याको उचित निदान गर्छ त ?
हामीले आफैंलाई पनि सोध्नुपर्छ– हिटलर सनकी हुन् भने उनलाई भोट दिने जर्मन जनता के हुन् ? मुसोलिनी उन्मादी हुन् भने उनलाई मत दिएर जिताउने इटालियन जनताको मनस्थितिलाई के नाम दिने होला ? हामीले आफैंलाई पनि सोध्नुपर्छ– हिटलर सनकी हुन् भने उनलाई भोट दिने जर्मन जनता के हुन् ? मुसोलिनी उन्मादी हुन् भने उनलाई मत दिएर जिताउने इटालियन जनताको मनस्थितिलाई के नाम दिने होला ? अगुवासँगै पछुवाहरूको विशाल भीडमा देखिने समस्याको निदान र उपचारलाई बेवास्ता गर्न मिल्छ र ? यसको अर्थ हामीले हिटलर र मुसोलिनीजस्ता तानाशाहको मात्रै होइन, उनीहरूलाई सत्तासीन गर्ने मतदाताको मनोदशा र दिशालाई पनि अध्ययनको घेरामा राख्नु अनिवार्य हुन्छ । त्यसका लागि मन्थन गर्नुपर्छ– हिटलर वा मुसोलिनी बिग्रेका शासक हुन् भने उनीहरूलाई जिताउने चाहिँ सद्दे हुन् ?
सिग्मन्ड फ्रायडपछिको पुस्ताका एक अस्ट्रियन मनोविश्लेषक विल्हेम राइखको जवाफ छ– फासीवाद वा नाजीवाद कुनै व्यक्ति–विशेषको वा राष्ट्र वा राष्ट्रियता–विशेषको विचार, उत्पादन वा कामकारबाही होइन । फासीवादलाई विशेष गरी जर्मन वा जापानी राष्ट्र वा राष्ट्रियता–विशेषसँग मात्रै जोडेर हेर्ने संकीर्ण दृष्टिकोणको आलोचना गर्दै उनी यसलाई अन्तर्राष्ट्रिय परिघटनाका रूपमा बुझ्न र सबै राष्ट्रका मानव समाजका अंगमा हेर्न चुनौती दिन्छन् । त्यतिमात्रै होइन, उनले मार्क्सवादीहरूले व्याख्या गर्दै आएको फासीवादका शुद्ध अर्थ–राजनीतिक कारक तत्त्वलाई पनि अमान्य ठहर्याउन खोजे ।
विल्हेम राइखले ‘द मास साइकोलोजी अफ फासिज्म’ नामक पुस्तकमा देखाएका छन्, हिटलरले जर्मनीका जनतालाई ठगेका वा बहकाएका होइनन्, बरु जर्मनीका जनता स्वयम् नै हिटलरलाई स्वागत–सत्कार गर्न तम्तयार थिए । हिटलर वा अन्य कुनै अधिनायकलाई मत दिने मतदाता, उनीहरूको पछि–पछि लाग्ने भीड, उनीहरूलाई हरतरहले साथ–सहयोग दिने जनताको मानसिकताको निर्माणलाई बेवास्ता गरियो भने समस्या व्यक्ति–विशेषमा मात्रै, त्यसमा पनि व्यक्तिका सनकमा मात्रै देख्ने गर्दछौं, जुन सही तरिका होइन ।
विभिन्न वर्ग, नस्ल, धर्म र राष्ट्र (जाति) का मानिससँगको चिकित्सकीय अनुभवका आधारमा राइखले फासीवादबारे विशेष दृष्टिकोण प्रस्तुत गर्छन्, जुन विश्वभर ठूलो र सानो रूपमा अझै विद्यमान रहेको हानिकारक विचार हो । उनी फासीवाद भनेको कुनै खास जाति–राष्ट्र–राष्ट्रियता वा राजनीतिक दलको मात्रै विचारधारा हो भन्ने भ्रम तोड्छन् । यो वाद निर्दोष जनतामाथि बलजफ्ती वा राजनीतिक चालबाजीका आधारमा लादिन्छ भन्ने भनाइलाई पनि उनी मिथ्या सावित गर्छन् । उनको भनाइ छ, ‘फासीवाद भनेको आममानिसको चारित्रिक संरचनाको संगठित राजनीतिक अभिव्यक्ति हो । यो हाम्रो अधिनायकवादी यान्त्रिक सभ्यतामा दबाइएका मानिसको आधारभूत भावनात्मक प्रवृत्ति र यान्त्रिक–रहस्यवादी जीवन दृष्टिकोण हो ।’
हरेकमा कतै न कतै फासीवादी सोचाइ हुन्छ ?
राइख लेख्छन्, ‘मानिसहरूको स्वभाव र व्यवहारको गहिरो विश्लेषण गर्दा मैले के निष्कर्ष निकालेको छु भने हरेक व्यक्तिभित्र कतै न कतै फासीवादी भावना र सोच हुन्छ । एक राजनीतिक आन्दोलनका रूपमा फासीवाद अन्य प्रतिक्रियावादी विचार र दलभन्दा फरक छ किनभने यो जनताको ठूलो समूहको समर्थनमा चलेको आन्दोलन हो ।’ त्यसैले कुनै शासकको सैन्यवाद, कुनै नेताको तानाशाही वा निरंकुश शासनलाई सहजै फासीवादी भन्न नमिल्ने दाबीका साथ उनी यस सिद्धान्तलाई आममानिसको आन्दोलनसँग जोडेर हेर्छन्, जसले यसलाई अन्य वादभन्दा भिन्न देखाउँछ । उनको जिकिर छ–
फासीवाद जुनसुकै ठाउँ र जुनसुकै बेला देखा पर्छ, यो आमजनताभित्रको भीडले बोकेको आन्दोलन हुन्छ । त्यसैले यसले भीडका सदस्य– व्यक्तिहरूको चारित्रिक संरचनामा विद्यमान सबै विशेषता र अन्तर्विरोधलाई प्रतिविम्बित गर्छ । फासीवाद जुनसुकै ठाउँ र जुनसुकै बेला देखा पर्छ, यो आमजनताभित्रको भीडले बोकेको आन्दोलन हुन्छ । त्यसैले यसले भीडका सदस्य– व्यक्तिहरूको चारित्रिक संरचनामा विद्यमान सबै विशेषता र अन्तर्विरोधलाई प्रतिविम्बित गर्छ । सामान्यतया विश्वास गरिन्छ– यो केवल प्रतिक्रियावादी आन्दोलन हो । वास्तवमा यो केवल प्रतिक्रियावादी आन्दोलन मात्रै होइन, बरु विद्रोही भावनाहरू र प्रतिक्रियावादी सामाजिक विचारहरूको मिश्रणसहितको जनआन्दोलन हो ।
यसको अर्थ जनआन्दोलन हुँदैमा, आन्दोलनमा आमजनताको सहभागिता हुँदैमा, भीडको विद्रोही भावना सडकमा पोखिँदैमा कुनै आन्दोलन वा विद्रोह जनमुखी, आमूल परिवर्तकारी र विवेकपूर्ण हुन्छ भन्ने निश्चित हुँदैन । अकथनीय र असहनीय सामाजिक संरचनाको जरोमै गएर विवेकसम्मत उपचार खोज्ने खालको जनआन्दोलन भएन भने त्यस्ता आन्दोलन वा विद्रोहमा उठ्ने आक्रोश, आवेग र उन्मादपूर्ण असंख्य हातले फासीवादी विद्रोहको जरामा मलजल गर्न सक्छ, ती हातले रातो झन्डा बोके पनि अविवेक, कुतर्क र अन्धतालाई फैलाउन सक्छ । ती हातले उचालेका नाराले जटिल सामाजिक समस्याको भ्रामक उपचार खोज्न सक्छ । उदाहरणका लागि, जर्मनीमा सबै समस्याको जरो भिन्न नस्लको परायाकरणमा, अन्य जाति र समुदायको दानवीकरणमा खोजिँदा नस्लीय र साम्प्रदायिक सिद्धान्तले व्यापकता पायो, जसले तर्क, आलोचनात्मकता र विवेकलाई कुल्चेर यहुदी सफायाको दिशातिर जर्मन जनतालाई उन्मादी भीडमा फेर्यो ।
राइखका अनुसार अन्य जाति र नस्लप्रति पूर्वाग्रह बोक्ने नस्लीय सिद्धान्त फासीवादको उत्पादन होइन । बरु, फासीवादचाहिँ नस्लीय घृणाको उत्पादन हो र त्यसको राजनीतिक रूपले संगठित अभिव्यक्ति हो । यसबाट के निष्कर्ष निस्कन्छ भने नस्लीय घृणाबाट उत्पादन हुने फासीवादका अनेक संस्करण हुन सक्छन् । देशअनुसारको वेशभूषा वा राष्ट्रअनुसारको मुकुन्डो लगाएर फासीवाद अनेक रूप–रंगमा देखिन सक्छ । यस अर्थमा फासीवादको जर्मन रूप मात्रै हुन्छ भन्ने निश्चित छैन, यसको जापानी होस् या इटालियन, स्पेनिस होस्, एङ्लो–स्याक्सन, यहुदी होस् या अरबी रूप देखिन पनि सक्छ । राइखको दाबी छ, नस्लवादी विचारधारा पूर्ण रूपले कामोन्माद वा चरम उत्तेजना (अर्गाज्म) मा अशक्त मानिसको चारित्रिक संरचनाको ‘बायोप्याथिक’ अभिव्यक्तिमात्र हो । ‘बायोप्याथिक’ भनेको जीवन–ऊर्जा (प्राण–ऊर्जा वा यौन–ऊर्जा) बग्न नसकेर शरीर र मनमा विकृति उत्पन्न भएको अवस्था हो । यसले शारीरिक र मानसिक दुवै प्रकारका रोग निम्त्याउँछ, क्यान्सरदेखि फासीवादसम्मको चरित्र संरचना पनि बायोप्याथीको अभिव्यक्ति हो भन्ने उनको जिकिर छ ।
राइखको हेक्का राख्नलायक कुरा के हो भने हिटलर जर्मनीमा मात्रै, नाजी अधिनायकका रूपमा मात्रै जन्मिने होइनन् । हिटलर भनेको त्यस्तो प्रतीक वा प्रवृत्ति हो, जुन कुनै पनि देशमा, कुनै पनि संस्था वा पार्टी वा राज्यमा जन्मिन सक्छ । संस्था वा संगठन वा दलको नाम प्रगतिशील वा लोकतान्त्रिक वा वामपन्थी वा कम्युनिस्ट राख्दैमा हिटलर जन्मिँदैन भन्ने ग्यारेन्टी छैन । उनको खरो व्याख्या विचारणीय छः ‘हिटलरवादी वा फासीवादी विचार भनेको नाजी पार्टी वा जर्मनीको सीमाभित्र मात्र सीमित छैन, यो मजदुर संगठनहरूमा पनि घुस्छ र उदारवादी तथा प्रजातान्त्रिक वृत्तहरूमा पनि फैलिन्छ । फासीवाद कुनै राजनीतिक दल होइन, बरु यो जीवनप्रतिको एक खास दृष्टिकोण हो, मानिस, प्रेम र कामप्रतिको विशिष्ट मनोवृत्ति हो ।’
मूलतः पुँजीवादको विकासका क्रममा देखिएको मध्यम वर्गको अगुवाइमा हुने गरेको नयाँ सामाजिक आन्दोलनको सिद्धान्त हो– फासीवाद । फासीवादी आन्दोलनको सबैभन्दा ठूलो जनाधार भने मध्यम वर्गको तल्लो तह र मजदुर वर्ग हुने गरेको इतिहास छ, जुन वर्गलाई युरोपेली मार्क्सवादीहरूले पनि ‘सर्वहारा क्रान्तिको आधार’ मान्ने गरेका छन् । यो हेराइ र बुझाइ सपाट र सतही रहेको विश्लेषणका साथ राइख लेख्छन्–
भीडको मनोविज्ञानसम्बन्धी ज्ञानको अभावका कारण मार्क्सवादी समाजशास्त्रले ‘बुर्जुवा’ र ‘सर्वहारा’ लाई एक–अर्काविरुद्ध खडा गर्यो । यो मनोवैज्ञानिक दृष्टिकोणबाट गलत छ । चरित्र–संरचना केवल पुँजीपतिमा मात्र सीमित हुँदैन, यो सबै पेसाका मजदुरमा पनि उत्तिकै पाइन्छ । कतिपय पुँजीपति उदारवादी हुन्छन्, कतिपय मजदुर प्रतिक्रियावादी हुन्छन् । चरित्रको मामिलामा ‘वर्गभेद’ भन्ने कुरै हुँदैन । त्यसैले, विशुद्ध आर्थिक अवधारणाअनुसार ‘बुर्जुवा’ र ‘सर्वहारा’को विभाजनको सट्टा मानिसको चरित्रसँग सम्बन्धित ‘प्रतिक्रियावादी’ र ‘क्रान्तिकारी’जस्ता अवधारणा प्रयोग गरियो । हामीलाई यस्तो परिवर्तन गर्न बाध्य पार्ने मुख्य कारण हो ः फासीवादी महामारी ।
'उत्पीडित’को मनमा पनि 'उत्पीडक’ हुन सक्छ ?
विचारधारालाई पनि भौतिक शक्ति मान्ने राइखले सन् १९३२ मा जर्मनीमा भएको मतदानमा मजदुरहरूले फासीवादीहरूलाई र मध्यम वर्गका सदस्यहरूले वामपन्थीहरूलाई मतदान गरेको नमुनालाई आधार मान्दै किटान गरेका छन्, ‘व्यावहारिक राजनीतिमा आर्थिक होइन, विचारधारात्मक वा वैचारिक श्रेणीकरणचाहिँ निर्णायक हुँदो रहेछ ।’ मजदुर, श्रमिक र सर्वहारा भनिने वर्गमा पनि फासीवादी वैचारिकीको वर्चस्व रहेको कटु सत्यलाई हेक्का राखियो भने आर्थिक वर्ग सँगसँगै वैचारिक वा सांस्कृतिक वा मानसिक पक्षको महत्त्व प्रस्ट हुने रहेछ । यसको मतलब आर्थिक जीवन वा वर्गीय अवस्थाको हिसाबले कोही मजदुर हुँदैमा उसमा श्रमिक चेतना, संस्कृति र आचार–विचार विकास हुन्छ र ऊ गरीखाने वर्गको हक–हित–अधिकार र मुक्तिका लागि क्रियाशील हुन्छ भन्ने कुनै निश्चित छैन । पाउलो फ्रेरेले भनेझैं ऊभित्र उत्पीडकको बास छ कि उत्पीडितको छ वा उत्पीडक र उत्पीडित दुवैको एकसाथ बास छ, यो कुराले ऊ कुन वर्ग र विचारको पक्षपाती हुन्छ भन्ने कुरा निर्धारित हुने होला ।
त्यसैले राइखले फासीवादलाई त्यस्ता आममानिसका अविवेकी (इर्रासनल) आचरण, मनस्थिति र चरित्रको अभिव्यक्ति माने, जसको प्राथमिक र दैहिक जरुरत एवं प्रवृत्तिलाई निरंकुशतावादी परिवार र चर्चजस्ता संस्थाद्वारा सदीयौंदेखि दबाइएको छ । यस दमनमा, निरंकुशतावादी परिवार र चर्चको आधारभूत भूमिकाबारे उनले गहिरोसँग अध्ययनपछि भने– फासीवाद भनेको संगठित रहस्यवाद (मिस्टिसिज्म) को एक अंग हो । संगठित रहस्यवाद आमजनताका सम्भोग–आनन्दमूलक कामनाहरू अतृप्त रहनुको परिणाम हो । यही निष्कर्षका आधारमा उनले कामभाव (लिबिडो) को स्वतन्त्रताको सवाललाई राजनीतिक लोकतान्त्रिक स्वतन्त्रताको मूल मुद्दासँग जोडे ।
फासीवादको उत्पत्ति र विकासबारे चिन्तन–मनन गर्दा मार्क्सवादीहरूले समेत खासै वास्ता नगरेको पक्ष हो– निरंकुशतावादी समाजले उत्पादन गर्ने परिवार र व्यक्तिहरू कस्ता हुन्छन् ? फासीवादको उत्पत्ति र विकासबारे चिन्तन–मनन गर्दा मार्क्सवादीहरूले समेत खासै वास्ता नगरेको पक्ष हो– निरंकुशतावादी समाजले उत्पादन गर्ने परिवार र व्यक्तिहरू कस्ता हुन्छन् ? राज्य, दल र तिनको नेतृत्वको पक्षबारे, त्यसको अर्थ–राजनीतिक पाटोबारे मात्रै ध्यान दिँदा यी पक्ष छुटेका छन् । राइखले बीसौं शताब्दीको तीसको दशकमै मार्क्सवादी आन्दोलनमा निरंकुशतावादी समाजले उत्पादन गर्ने परिवारको संरचनाबारे, त्यस्ता परिवारले पैदा गर्ने व्यक्तिहरूबारे ध्यानाकर्षण गराउन खोजेका थिए, जुन ‘सरकारी मार्क्सवादीहरू’ बाट अस्वीकृत र बहिष्कृत भयो ।
इतिहासकै पुरानो संस्था परिवारको संरचना र संस्कृति कस्तो छ, त्यसले परिवार नामक संस्था कत्तिको लोकतान्त्रिक वा निरंकुश छ भन्ने देखाउँछ, कस्तो खालको व्यक्ति र समाज जन्मिन्छ वा जन्माइन्छ भन्ने कुराको आधार तय हुन्छ । राइखको ठम्याइ छ, परिवारलाई हामी सर्वाधिक प्रतिक्रियावादी र रुढिवादी मान्छेहरू उत्पादन गर्ने स्रोत अवश्य भन्न सक्छौं । एउटा खास किसिमको निरंकुश सामाजिक प्रक्रियामा विकसित हुने हुनाले यसले पनि आफ्नो निरंकुश ढाँचा वा संरचना बनाइराख्ने काम गर्छ । अतः आममान्छेहरूको निर्माणमा समाज र परिवारको आधार एवं प्रभावबारे प्रस्टता नहुँदा मानिसका मन, विचार र आचरणबारे बुझ्न कठिन हुन्छ । ठूलो परिवारको पक्षपोषण, महिलालाई बच्चा जन्माउने प्रजनन–यन्त्रका रूपमा व्यवहार, नारीहरूको यौनिकतामाथि नियन्त्रण, मातृत्वको आदर्शीकरण र दैवीकरण, परिवार नियोजनको विरोधमा आममानिसका फासीवादकृत मन र मत प्रकट भइरहेको देखिन्छ ।
फासीवादलाई राजनीतिक विषय वा अर्थ–राजनीतिक सवाल मान्ने दृष्टिकोण वा विश्लेषणभन्दा भिन्न धरातलमा उभिएर विल्हेम राइख परिवारको संरचना र संस्कृतिको पनि चिरफार गर्न पुग्छन् । राइखको मत छ–
निरंकुशतावादी समाजले आफूलाई निरंकुशतावादी परिवारमार्फत भीडका व्यक्तिहरूको जीवनमा पुनरुत्पादन गर्छ, उसले राज्य, संस्कृति र सभ्यताका आधारका रूपमा परिवारको हिफाजत गर्छ । यसको प्रचारबाजीमा आमजनताभित्र गडेर बसेको गहन अविवेकी मनस्थितिबाट उसलाई मद्दत मिल्छ ।... आममानिसलाई ध्यानमा राखेर गरिने राजनीतिक प्रचारबाजीमा कसैले पनि तत्कालिक आर्थिक प्रक्रियाको कुरा गर्दैन, बरु मानवीय संरचनालाई सम्बोधन गर्ने कोसिस गर्छ । यही बुझाइले नै मानिसहरूको मन बनाउने काम गर्छ । यसमा असफल भइयो भने आममानिसको मनोविज्ञानमा ठूलो गडबडी मच्चाउन सक्छ । क्रान्तिकारी यौन–राजनीतिले निरंकुशतावादी परिवारबारे धेरै हदसम्म स्पष्ट पार्न सक्छ । यदि यौन–राजनीति सफल हुनु छ भने उसले जीवनको खुसियालीको मात्रै होइन, प्रेमको खुसियालीको पनि प्रत्याभूति दिन सक्छ ।
फासीवादको मनोवैज्ञानिक पक्षबारे चिरफार गर्ने क्रममा राइखले प्रस्तुत गरेको विश्लेषण विचारणीय छ । यसलाई उनको जमानाका जर्मन र अस्ट्रियाका सरकारी कम्युनिस्ट नेताहरूले जस्तो बहिष्कार गर्नुको साटो सहानुभूतिपूर्वक पुनर्विचार गर्नु विवेकपूर्ण काम हुन सक्छ । उनले उठाएको यौन–आर्थिक समाजशास्त्र (सेक्स–इकोनोमिक सोसियोलोजी) र त्यसको राजनीतिबारे उनको सैद्धान्तिकी विवादास्पद छ, तर त्यसलाई बेवास्ता गर्न भने मिल्दैन । राइखको विचारणीय भनाइ छ–
यौन–अर्थशास्त्रीय समाजशास्त्र फ्रायडको गहन मनोविज्ञान र मार्क्सको आर्थिक सिद्धान्तलाई एक–अर्कासँग मेल गराउने प्रयासबाट जन्मिएको हो । मानव अस्तित्वलाई सहज प्रवृत्ति (इस्टिंक्ट) र सामाजिक–आर्थिक प्रक्रियाहरूले निर्धारण गर्छन् । तर ‘सहज प्रवृत्ति’ र ‘अर्थतन्त्र’लाई जथाभावी जोड्ने सार–संग्रहवादी प्रयासलाई हामीले अस्वीकार गर्नुपर्छ । यौन–अर्थशास्त्रीय समाजशास्त्रले त्यो विरोधाभासलाई समाप्त गर्छ, जसका कारण मनोविश्लेषणले सामाजिक पक्ष बिर्सियो र मार्क्सवादले मानिसको पशु–उत्पत्ति बिर्सियो ।... मनोविश्लेषण यौन–अर्थशास्त्रको आमा हो, समाजशास्त्र बाबु हो । तर सन्तान आफ्ना आमाबाबुको योगफल मात्र हुँदैन, ऊ एउटा नयाँ, स्वतन्त्र प्राणी हुन्छ— भविष्यको बीज हुन्छ ।
