जलवायु परिवर्तनको जोखिम

जलवायु परिवर्तनकै कारण पहिरो, बाढी, हिमताल फुट्ने जोखिम र भूमि क्षय बढ्दा नेपालका धेरै समुदाय क्रमश: परम्परागत बासस्थान छोड्न बाध्य छन्, दलहरुले अब यस्तो बसाइँसराइलाई नीतिगत यथार्थका रुपमा स्वीकार गर्नुपर्छ।

फाल्गुन १५, २०८२

केशव शर्मा

Climate change risks

What you should know

गत दुई संघीय चुनावका ठूला राजनीतिक दलका घोषणापत्रमा जलवायु परिवर्तनको विषय उल्लेख थियो । केही अपवादबाहेक ती घोषणापत्र मुख्यतः वन संरक्षण, सामुदायिक वन, जैविक विविधता, अन्तर्राष्ट्रिय जलवायु सम्मेलन र अनुदान, नवीकरणीय ऊर्जा तथा वातावरणीय प्रभाव मूल्यांनको औपचारिक उल्लेखमै केन्द्रित रह्यो । यद्यपि, यी विषय घोषणापत्रमा समेटिनु सकारात्मक भए पनि राजनैतिक दलहरूमा जलवायु परिवर्तनको गाम्भीर्यता बुझाइमा कमजोरी देखियो । र, धेरैजसो अवस्थामा जलवायु परिवर्तनलाई अझै पनि पृथक् वातावरणीय एजेन्डाका रूपमा मात्रै प्रस्तुत गरिएको देखिन्छ । 

ठूला पूर्वाधार, जलविद्युत्, सडक र सहर विकासमा जलवायु जोखिमलाई कसरी मूल्यांकन गर्ने ? त्यसका आधारमा परियोजना डिजाइन र निर्णय कसरी परिवर्तन गर्ने ? संस्थागत संयन्त्र के हुने ? र, जिम्मेवारी कसको हुने ? यी कार्यान्वयन पक्ष प्रायः अस्पष्ट नै रह्यो । नेपालको हकमा जलवायु परिवर्तन खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, बसाइँसराइ, रोजगारी, पूर्वाधार, ऊर्जा सुरक्षा र अन्ततः राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा गाँसिएको बहुआयामिक मुद्दा हो भन्ने विषय स्पष्ट रूपमा बुझ्न र स्थापित गराउन राज्य र राजनैतिक दलहरू असफल देखिन्छन् । 

हिमालदेखि तराईसम्म पछिल्ला वर्षहरूमा देखिएका घटनाहरूले जलवायु परिवर्तन केवल वन र वातारणसँग मात्रै सम्बन्धित होइन भन्ने पूर्णतः प्रमाणित गरिसकेको छ । हुम्लाको तिलागाउँको बाढी, तिब्बत क्षेत्रबाट रसुवामा आएको हिमबाढी, थामेमा हिमताल फुट्नु, मेलम्चीमा आएको भीषण भेलबाढी, काठमाडौं उपत्यकाको विगत दुई वर्षको डुबान, तराईका जिल्लामा असामान्य खडेरी र डुबान तथा मध्यपहाड अनि हिमाली क्षेत्रमा बढ्दो पहिरो र भूक्षय जलवायु परिवर्तनका असरका संकेत हुन् । यी जोखिम अब भविष्यमा हुन सक्ने सम्भावना मात्रै होइनन्, आजकै यथार्थ बनेका छन् । त्यसैले दलहरूले जलवायु परिवर्तनलाई केवल वातावरणीय मुद्दा होइन, विकासको मूलधारसँग जोडिएको केन्द्रीय एजेन्डाका रूपमा आत्मसात् गर्नु अपरिहार्य भएको छ ।

नेपालका लागि जलवायु परिवर्तन किन बहुक्षेत्रीय बहुजोखिम ?

जलवायु परिवर्तनसम्बन्धी अधिकांश नीति, कार्यक्रम र बजेट वन तथा वातावरण मन्त्रालयमै केन्द्रित छन् । ऐतिहासिक रूपमा वातावरण, वन संरक्षण, जैविक विविधता र अन्तर्राष्ट्रिय जलवायु सम्झौतासँग सम्बन्धित काम यही मन्त्रालयअन्तर्गत रहँदै आएको छ । नेपालका हिमाली क्षेत्रमा हिमतालको संख्या र आकार दुवै तीव्र रूपमा बढ्दै गएको छ । हिउँ र हिमनदी पग्लिने दर बढेसँगै हिमताल फुट्ने जोखिम बढ्दो छ, जमेको जमिन र चट्टान कमजोर हुँदै गएको छ । र, त्यसले पहिरो, चट्टान खस्ने तथा संरचनागत अस्थिरता निम्त्याइरहेको छ । त्यसको प्रत्यक्ष असर सडक, पुल, जलविद्युत् आयोजना र हिमाली बस्तीमा पर्न थालेको छ । मेलम्ची र थामेले देखाएझैं एउटा हिमाली घटनाले तलका बस्ती मात्रै होइन, ऊर्जा प्रणाली र राष्ट्रिय अर्थतन्त्रसम्म असर पुर्‍याउन सक्छ । मेलम्चीको भेलबाढीले मेलम्ची खानेपानीको संरचना मात्रै होइन– थुप्रै पुल, सडक, माछा पोखरी, खेतीयोग्य जमिन र आवासीय भवनहरू बगाएको थियो । थामे हिमबाढीले ऐतिहासिक पर्यटकीय क्षेत्र मात्र नभई नाम्चे क्षेत्रको एकमात्रै ऊर्जाको स्रोत थामे विद्युत् योजनालाई पनि क्षति पुर्‍याएको थियो र उच्च जोखिममा पारेको छ ।  

पहाड र मध्यपहाड क्षेत्रमा अत्यधिक वर्षा अब अपवाद नभई नियमित बन्दै गएको छ । यस कारण सडक कटान, पुल बग्ने, बस्ती विस्थापन र कृषि भूमि नष्ट हुने समस्या बढेको छ । यी समस्या केवल प्राकृतिक होइनन्, भू–उपयुक्तता नबुझी गरिएको विकास, कमजोर नियमन र गलत इन्जिनियरिङ अभ्यासले जोखिमलाई अझ गम्भीर बनाएको छ । तराई क्षेत्रमा भने एकै वर्षमा बाढी र खडेरी दुवै देखिन थालेका छन् । असामान्य बाढीले बाली नष्ट गर्छ भने लामो खडेरीले सिँचाइ र उत्पादनमा असर पुर्‍याउँछ । यसले खाद्य सुरक्षा, किसानको आय र सामाजिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । सहरी क्षेत्र, विशेषगरी काठमाडौं उपत्यकामा बाढी अब नदी किनारको मात्रै समस्या होइन । 

माथि उल्लेख गरेझैं नेपालमा जलवायु परिवर्तनलाई अझै पनि वातावरणीय संरक्षणको सीमित विषयका रूपमा बुझ्ने प्रवृत्ति बलियो छ । यही कारण जलवायु परिवर्तनसम्बन्धी अधिकांश नीति, कार्यक्रम र बजेट वन तथा वातावरण मन्त्रालयमै केन्द्रित छन् । ऐतिहासिक रूपमा वातावरण, वन संरक्षण, जैविक विविधता र अन्तर्राष्ट्रिय जलवायु सम्झौतासँग सम्बन्धित काम यही मन्त्रालयअन्तर्गत रहँदै आएको छ । प्रारम्भिक जलवायु वित्त पनि वन क्षेत्र र संरक्षणसँग जोडिएर आएको हुँदा यो विषय संस्थागत रूपमा त्यहीं सीमित हुन पुगेको हो । जलवायु परिवर्तनलाई वन मन्त्रालयसँग मात्रै जोडिँदा जलवायु अनुकूलन कार्यक्रमहरू वृक्षरोपण वा सचेतनामुखी गतिविधिमा सीमित हुन्छन्, तर पूर्वाधारको अध्ययन, डिजाइन र मापदण्डमा जलवायु बहुजोखिम समावेश हुँदैन । विकास, पूर्वाधार, ऊर्जा, कृषि, सहरीकरण र सामाजिक सुरक्षासँग जलवायु जोखिमलाई प्रत्यक्ष रूपमा जोडेर नीति निर्माण गर्नुपर्छ । 

जलवायु परिवर्तन हुने कारण न्यूनीकरण गर्ने कार्य हाम्रो सामर्थ्य बाहिरको भएको हुनाले जलवायु परिवर्तनले हुने बहुआयामिक असरहरू खासगरी दीर्घकालीन विकासको सन्दर्भ राष्ट्रिय दलहरूले आफ्ना घोषणापत्रमा उल्लेख गर्नुपर्थ्यो । दलका घोषणापत्रमा जलवायु परिवर्तनका एजेन्डा लेखिए पनि समेट्नैपर्ने केही नीतिगत बुँदा निम्न छन् ः 

जलवायु वित्त र अन्तर्राष्ट्रिय सहकार्य

नेपालजस्ता न्यून कार्बन उत्सर्जन, तर उच्च जलवायु जोखिममा रहेका देशहरूले अन्तर्राष्ट्रिय जलवायु वित्त र सहकार्यमा समन्वित अनि प्रमाण–आधारित दह्रो उपस्थिति जनाउनु आवश्यक छ । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय फोरमहरू (विशेषगरी कोपजस्ता सम्मेलन) मा नेपालको सहभागिता औपचारिक उपस्थितिमा मात्रै सीमित नभई– हिमाली जोखिम, हिमताल फुट्ने खतरा, जलवायु प्रेरित बसाइँसराइ र क्षेत्रीय स्थायित्वका विषयमा स्पष्ट एजेन्डा र प्रस्ट प्रस्तुतिसहित हुनुपर्छ । ग्रिन क्लाइमेट फन्ड, आडप्टेसन फन्ड र अन्य बहुपक्षीय कोषमा पहुँच बढाउन कूटनीतिक सक्रियता, प्राविधिक प्रमाण र दीर्घकालीन जलवायु रणनीतिमा आधारित मजबुत दबाब सिर्जना गर्ने नीति आवश्यक छ । साथै प्रमुख दातृ निकाय र राष्ट्रहरूसँग द्विपक्षीय सहकार्यलाई परियोजनामुखी सहायता मात्रै होइन, संस्थागत क्षमता विकास, जोखिम व्यवस्थापन र दीर्घकालीन अनुकूलनमा केन्द्रित गर्ने नीति लिनुपर्छ ।

विकास र पूर्वाधारमा जलवायु बहुजोखिम अध्ययन अनिवार्य 

विकास र पूर्वाधार योजनामा जलवायु जोखिमलाई अनिवार्य आधारका रूपमा समेट्ने नीति आवश्यक छ । सडक, जलविद्युत् र सहरी पूर्वाधारजस्ता सबै ठूला परियोजनामा वातावरणीय प्रभाव मूल्यांकन मात्रै पर्याप्त हुँदैन । भविष्यको वर्षा, तापक्रम वृद्धि, हिमाली जोखिम र चरम मौसमी घटनालाई समेट्ने जलवायु जोखिम र प्रतिरोधी मूल्यांकन अनिवार्य गर्नुपर्छ । मेलम्ची र रसुवामा आएको बाढी, बीपी राजमार्गलगायत अन्य राजमार्गमा भएको अवरोध, क्षति र हिमाली क्षेत्रमा जलविद्युत् संरचनामा देखिएको क्षतिले देखाएझैं जलवायु जोखिम नसमेटिएको पूर्वाधार दीर्घकालीन हुँदैन र आर्थिक रूपमा पनि महँगो पर्छ । त्यसैले भविष्यमा निर्माण हुने पूर्वाधारले केवल आजको आवश्यकता होइन, आगामी दशकका जलवायु जोखिमलाई समेत सामना गर्न सक्ने दिगोपन सुनिश्चित गर्नुपर्छ । 

ऊर्जा र जलविद्युत् सुरक्षा

पछिल्ला वर्षहरूमा नदी प्रवाहको अनिश्चितताका कारण जल प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन क्षमता घट्दै गएको सन्दर्भमा जल भण्डारणयुक्त आयोजनाको आवश्यकता बढ्दै गएको छ । तर, यस्ता आयोजनामा बाँधको डिजाइन र सञ्चालनमा जलवायु परिवर्तनका सम्भावित जोखिम छँदै छन् । नेपालको ऊर्जा प्रणाली मुख्यतः जलविद्युत्मा आधारित भएकाले जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई ऊर्जा नीतिको केन्द्रमा राख्नुपर्छ । अधिक वर्षा, बाढी, लामो सुक्खा अवधि र हिमाली जोखिमले जलविद्युत् आयोजनाको संरचनात्मक सुरक्षा र उत्पादन क्षमतामा प्रत्यक्ष असर पारिरहेका छन् । 

पछिल्ला वर्षहरूमा नदी प्रवाहको अनिश्चितताका कारण जल प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन क्षमता घट्दै गएको सन्दर्भमा जल भण्डारणयुक्त आयोजनाको आवश्यकता बढ्दै गएको छ । तर, यस्ता आयोजनामा बाँधको डिजाइन र सञ्चालनमा जलवायु परिवर्तनका सम्भावित जोखिम छँदै छन् । ती जोखिमहरू हुन्– अत्यधिक वर्षा, बाढी, भेलबाढी तथा थिग्रो व्यवस्थापन र भूकम्पीय जोखिम । तिनको गहिरो अध्ययन नगरी अघि बढ्दा सिक्किममा देखिएजस्तै गम्भीर क्षति दोहोरिन सक्छ । त्यसैले नयाँ जलविद्युत् आयोजनामा जलवायु जोखिम मूल्यांकन अनिवार्य गर्नुपर्नेछ, एउटै खोलामा अत्यधिक आयोजनाकेन्द्रित गर्ने प्रवृत्तिको पुनरावलोकन गर्नुपर्नेछ । सौर्य, पवन तथा अन्य नवीकरणीय स्रोतमार्फत ऊर्जा विविधीकरण गर्दै दीर्घकालीन ऊर्जा सुरक्षा पनि सुनिश्चित गर्नुपर्नेछ ।

अनुसन्धान, तथ्यांक र प्रमाण आधारित जलवायु नीति

नेपालमा विगतमा देखिएका असामान्य बाढी, पहिरो, हिमताल फुट्ने घटना र खडेरीजस्ता प्रकोपलाई जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोड्ने स्पष्ट र प्रमाण–आधारित आधार प्रस्तुत गर्न नसकिएको अवस्था छ ।

यसको मुख्य कारण हो– दीर्घकालीन अनुसन्धान, विश्वसनीय तथ्यांक र एकीकृत डाटा प्रणालीको अभाव । त्यसैले जलवायु नीति निर्माण र अन्तर्राष्ट्रिय फोरममा नेपालको दाबी बलियो बनाउन विश्वविद्यालय, अनुसन्धान संस्थान र सरकारी निकायबीच संस्थागत सहकार्य आवश्यक छ ।

हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु, जलविज्ञान, भू–प्राविधिक र मौसमसम्बन्धी उपकरण स्थापना गर्दै दीर्घकालीन अवलोकन प्रणाली विकास गर्नुपर्छ । यसरी संकलित तथ्यांकलाई एकीकृत राष्ट्रिय जलवायु डाटाबेसमार्फत व्यवस्थापन गर्दै अनुसन्धान, नीति निर्माण र अन्तर्राष्ट्रिय प्रस्तुति सबैका लागि प्रयोगयोग्य बनाउनु आवश्यक छ ।

जलवायु बिमा, वित्तीय सुरक्षा र जोखिम हस्तान्तरण

जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, हिमताल फुट्ने जोखिम र चरम मौसमी घटनाले पूर्वाधार, कृषि र सार्वजनिक वित्तमा ठूलो आर्थिक जोखिम सिर्जना गरिरहेको छ । त्यसैले ठूला पूर्वाधार परियोजनाहरू– जस्तैः जलविद्युत् खानेपानी र सिँचाइ आयोजना, बाँध, राजमार्ग, पुल र सहरी पूर्वाधारहरूमा जलवायु जोखिमसम्बन्धी बिमा अनिवार्य गर्नु आवश्यक छ । केवल सामान्य बिमा होइन, पुनर्बिमासहितको दीर्घकालीन जोखिम हस्तान्तरण प्रणाली विकास नगरी ठूलो क्षतिपछि राज्यकोषमा पर्ने भार घटाउन सकिँदैन । 

साथै किसान, साना उद्यम र स्थानीय सरकारलाई लक्षित जलवायुसम्बन्धी बिमा र वित्तीय सुरक्षा संयन्त्र विकास गर्दै निजी क्षेत्र, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय बिमा बजारसँग सहकार्य बढाउनुपर्छ । जलवायु जोखिमलाई राज्यको मात्रै जिम्मेवारीका रूपमा होइन, वित्तीय प्रणालीमार्फत साझा रूपमा व्यवस्थापन गर्ने स्पष्ट नीति दलहरूले लिनु आजको आवश्यकता हो ।

संस्थागत सुधार र समन्वय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझ शक्तिशाली, स्रोतसाधनयुक्त र कार्यकारी संस्थाका रूपमा विकास गर्न आवश्यक छ । बहुजोखिम प्रारम्भिक चेतावनी प्रणालीको विकास, सञ्चालन र समन्वयको नेतृत्व राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लिनुपर्छ, जसले समयमै स्पष्ट र विश्वासयोग्य चेतावनी सन्देश स्थानीय सरकार र समुदायसम्म पुर्‍याउन सकोस् । 

जलवायु परिवर्तन, त्यसबाट उत्पन्न हुने जोखिमसँग सम्बन्धित मन्त्रालय र विभागबीच प्रभावकारी समन्वय कायम गर्दै अनि मौसम, जल, भू–जोखिम र विपद्सम्बन्धी तथ्यांकको सहज–नियमित साझा प्रयोग सुनिश्चित गर्नु पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रीय भूमिकाका रूपमा स्थापित हुनुपर्छ । जलवायु परिवर्तनलाई केवल वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सीमित गर्नु अब प्रभावकारी हुँदैन ।

यसको प्रभाव अर्थतन्त्र, भौतिक पूर्वाधार, ऊर्जा, कृषि, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसँग प्रत्यक्ष रूपमा गाँसिएकाले यी सबै मन्त्रालयलाई समन्वित ढंगले जोड्नु आवश्यक छ । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत जलवायु नीति, बजेट, आयोजना छनोट र कार्यान्वयनबीच स्पष्ट समन्वय कायम नगरी जलवायु जोखिम न्यूनीकरण र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुनेछ ।

हिमाली जोखिम व्यवस्थापन

जलवायु परिवर्तनको असर प्रस्ट अनुभव गर्न सकिने क्षेत्र नेपालको हिमाली क्षेत्र हो । मुस्ताङ, थामे, इम्जा, तामोर, रसुवा र हुम्ला क्षेत्रका घटनाले देखाएझैं उच्च जोखिममा रहेका हिमतालहरूको नियमित अनुगमन, वैज्ञानिक तथ्यमा आधारित प्रारम्भिक चेतावनी प्रणाली (पूर्वचेतावनी) र जोखिम नक्सांकन अनिवार्य हुनुपर्छ । यससँगै हिमाली भू–भागको संवेदनशीलता बुझेर भूमि उपयोग योजना तयार नगरी पूर्वाधार विकास गर्नु जोखिमपूर्ण हुने भएकाले बस्ती, सडक र जलविद्युत् आयोजना कहाँ र कसरी निर्माण गर्ने भन्ने विषय स्पष्ट रूपमा निर्देशित हुनुपर्छ ।

संरचनागत उपायसँगै प्रकृतिमा आधारित समाधानलाई हिमाली जोखिम न्यूनीकरणको अभिन्न हिस्सा बनाइनुपर्छ । साथै, सामान्य मापदण्डले नधान्ने हिमाली सडक, पुल र जलविद्युत् आयोजनाका लागि विशेष हिमाली डिजाइन मापदण्ड लागू गर्दै अत्यन्त जोखिमयुक्त बस्तीहरूमा बसोबास गर्ने समुदायका लागि योजनाबद्ध, सुरक्षित र सम्मानजनक स्थानान्तरण नीति विकास गर्नु हिमाली जोखिम व्यवस्थापनको केन्द्रीय एजेन्डा हुनुपर्छ ।

सहरी बाढी र सहर योजना

सहरी बाढी अब नदी किनारका बस्तीमा सीमित समस्या नभई सहरको समग्र योजना र शासनसँग जोडिएको चुनौती बनेको छ । काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा देखिएका दोहोरिने डुबान, ढल प्रणालीको असक्षमता, खोला अतिक्रमण र अनियन्त्रित सहरीकरणको प्रत्यक्ष परिणाम हुन्, जसलाई जलवायु परिवर्तनले थप तीव्र बनाएको छ । त्यसैले खोला, नदी र जलाधारको संरक्षणलाई आधार बनाउँदै वर्षा पानी व्यवस्थापन प्रणालीलाई सहर योजनाको केन्द्रमा राख्नुपर्छ । काठमाडौं उपत्यकाका लागि छुट्टै जलवायु–अनुकूल सहरी मास्टर प्लान विकास गरी बाढी, डुबान र जलजन्य जोखिम घटाउने दीर्घकालीन उपाय अवलम्बन गर्नु आजको आवश्यकता हो ।

कृषि, खाद्य सुरक्षा र पानी

जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा बढ्दो अनिश्चितताले नेपालमा खाद्य सुरक्षा र ग्रामीण आजीविकामा गम्भीर चुनौती सिर्जना गरिरहेको छ । तराईमा असामान्य बाढी र खडेरीको दोहोरो असर, पहाडमा वर्षाको अस्थिरता र माटो क्षयले उत्पादन जोखिम बढाएको छ । त्यसैले जलवायु–अनुकूल कृषि प्रविधिको विस्तार, बाढी र खडेरी दुवै सहन सक्ने सिँचाइ प्रणालीको विकास तथा बीउ सुधार र बाली विविधीकरणलाई प्राथमिकता दिनु आवश्यक छ । साथै, प्राकृतिक प्रकोपबाट किसानलाई जोगाउन प्रभावकारी किसान बिमा प्रणाली लागू नगरी दिगो कृषि र खाद्य सुरक्षा सुनिश्चित गर्न सकिँदैन ।

जलवायुप्रेरित बसाइँसराइ र सामाजिक सुरक्षा

जलवायु परिवर्तनका कारण पहिरो, बाढी, हिमताल फुट्ने जोखिम र भूमि क्षय बढ्दै जाँदा नेपालका धेरै समुदाय क्रमशः परम्परागत बासस्थान छोड्न बाध्य भइरहेका छन् । यस्तो बसाइँसराइलाई नीतिगत यथार्थका रूपमा स्वीकार गर्नु आवश्यक छ । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायका लागि उक्त क्षेत्रमा सम्भव भएसम्म जोखिम न्यूनीकरणका कार्यक्रम लैजानुपर्छ ।

बसाइँसराइलाई नीतिगत यथार्थका रूपमा स्वीकार गर्नु आवश्यक छ । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायका लागि उक्त क्षेत्रमा सम्भव भएसम्म जोखिम न्यूनीकरणका कार्यक्रम लैजानुपर्छ । यस्तो नीति लिने वा योजनाबद्ध, सम्मानजनक र सुरक्षित स्थानान्तरण नीति विकास गर्दै नयाँ बसोबास क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवा सुनिश्चित गर्न सकिएन भने जलवायु जोखिम सामाजिक अस्थिरतामा रूपान्तरण हुने खतरा रहन्छ । 

दलहरूले जलवायु परिवर्तनमाथि गम्भीर विमर्श नगरी विकास र समृद्धिको कुरा गर्नु त्यो अपूर्ण र अवास्तविक हुन्छ । जलवायु जोखिम नसमेटिएको विकास र योजना दीर्घकालीन हुँदैन । त्यो आर्थिक रूपमा महँगो पर्छ र जनताको जीवन तथा सार्वजनिक–निजी लगानी दुवैलाई जोखिममा पार्छ ।

दलहरूले यो यथार्थ स्वीकार गरी नीतिगत रूपमा प्रतिबिम्बित गर्न सके मात्रै नेपाल सुरक्षित, दिगो र समावेशी विकासको मार्गतर्फ अघि बढ्न सक्छ । दलहरूले किन कुनै परियोजना आवश्यक छ, त्यससँग कस्तो जलवायु जोखिम जोडिएको छ, स्रोत कहाँबाट र कसरी परिचालन हुन्छ, कार्यान्वयनको स्पष्ट संयन्त्र के हो र असफल भए जिम्मेवारी कसले लिन्छ भन्ने आधारभूत प्रश्नको उत्तर दिनुपर्छ ।

जलवायु परिवर्तनको सन्दर्भमा यी प्रश्न अझ महत्त्वपूर्ण हुन्छन्, किनकि जोखिम नबुझी अघि बढाइएका परियोजना दीर्घकालीन रूपमा असफल हुने, महँगो मर्मत माग्ने वा पूर्ण रूपमा नष्ट हुने सम्भावना उच्च हुन्छ । त्यसैले दलहरूले अब आकांक्षा मात्रै होइन, कार्यान्वयन योग्य अनि जवाफदेही नीति र खाका प्रस्तुत गर्नुपर्छ ।

केशव शर्मा वरिष्ठ भू–प्राविधिक इन्जिनियर हुन् र हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यमा सक्रिय रूपमा संलग्न छन् ।

Link copied successfully