राजनीति गर्ने नेतृत्वले जिम्मेवारपूर्ण बोली बोल्नुपर्छ । अपुष्ट आरोप, अफवाह र उत्तेजना, उत्तेजक भाषणजस्ता विषयहरूले स्वयंलाई कमजोर बनाउँछ ।
What you should know
राजनीति राज्य सत्ता र सार्वजनिक हितसँग सम्बन्धित निर्णय गर्ने प्रक्रिया, सिद्धान्त र अभ्यास हो । राजनीति आर्थिक, सामाजिक, इतिहास र संघर्ष, संविधान र कानुन, शासन प्रणालीअनुसार फरक हुने हुँदा देशअनुसार यसको चरित्र पनि फरक हुने गर्छ । नेपालको सन्दर्भमा राजनीतिलाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीति जनताको सार्वभौमसत्ता प्रयोग गरी राज्य सञ्चालन गर्ने सोच, प्रक्रिया र व्यवहारलाई बुझिन्छ ।
पुराना राजनीतिक दलबाट देशले निकास पाउन सकेन । विभिन्न समयमा नयाँ समूह पनि नआएका होइनन् । तर ती पनि कुर्सीकै मोहमा फसे । एकातिर देशमा अस्थिर राजनीति र विभिन्न समयमा भएका ठूल्ठूला राजनीतिक परिवर्तनपछि पनि देशमा अस्थिरताकै वातावरण चलिरह्यो । अर्कोतिर बाह्य शक्तिको चलखेल तथा भूराजनीतिको प्रभाव अदृश्य रूपमा रहिरहने वातावरण पनि बनिरह्यो । यस्तै कारणले देशले निश्चित गति लिन सकेन ।
पुराना राजनीतिक पार्टीले लामो समय देशको बागडोर सम्हाल्दा देशले उल्लेखनीय प्रगति गर्न सकेन । अप्ठ्यारोमा पनि देशले असल नेतृत्व पाउन सकेन । जसले गर्दा देशको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गयो । यही परिवेशमा केही नयाँ अनुहारहरू पनि राजनीतिक दलका प्रतिनिधि भएर अगाडि आएको अवस्था रहेको छ ।
दर्ता भएका सयभन्दा माथि भए पनि सक्रिय र प्रभावशाली दल भने एक दर्जन हाराहारी मात्रै छन् । तर दलहरूबीच राजनीतिक संस्कारमा भने कत्ति पनि फरक पाइँदैन । राजनीतिमा त विचार, आदर्श र दर्शन हुनुपर्ने हो । कहाँ पुग्ने भन्ने भिजन र मिसन हुनुपर्ने हो । हामी यहाँ पुग्न यो काम गर्दै छौं भन्ने विधि र प्रक्रियामा प्रस्टता हुनुपर्ने हो । जसरी एउटा व्यावसायिक संगठनको भिजन र मिसन तय गरिएको हुन्छ, सोहीअनुसार आफ्ना क्रियाकलाप अगाडि बढाइएको हुन्छ र लक्ष्यअनुसारको प्रगति हासिल हुन्छ । राजनीति पनि सेवामूलक संगठन हो, त्यसको बाटो कता हो, लक्ष्य कहाँ पुग्ने हो भनेर सुनाउन र बुझाउन सकेको खोइ ? खालि सबैले अमूर्त कुरा गर्ने गरेको पाइन्छ । समाजवाद, पुँजीवाद, सामन्त, दलाल, समृद्धि, आर्थिक क्रान्ति, लोककल्याणकारी राज्यलगायतका अमूर्त कुरा गरिएको पाइन्छ । एकले अर्कोको उछितो काट्नेभन्दा फरक केही देखिँदैन ।
राजनीति सेवा हो, व्यापार होइन भनिन्छ । तर निर्वाचनमा टिकट दिँदा, चुनावमा होमिँदा, उच्च तहमा कसैको नियुक्ति दिइँदा, सरुवा, बढुवामा जताततै रकम बुझाउनुपर्ने स्थिति छ । त्यसरी रकम बुझाउनेहरूले लगानी उठाउन मिहिनेत गर्छन् । यस्ता कुसंस्कार नै संस्कारका रूपमा स्थापित हुँदै गएको छ । यस्तै कारणले जेन–जी आन्दोलन भयो । भलै त्यतिबेला धमिलो पानीमा माछा मार्ने अराजकहरूले अवसरको पनि अवसर छोपे ।
६ महिनामा चुनाव गराउने सरकारमा सामेल भई केही दिन मन्त्री बन्ने अनि राजनीतिक पार्टीको टिकट लिएर चुनाव लड्ने, हिँड्ने प्रवृत्तिले सबैलाई पदको लोलुपता छ भन्ने स्पष्ट पारेको छ ।
लोकतन्त्रमा राजनीति पार्टीबिनाको सरकार सम्भव हुँदैन । परिकल्पना पनि गरिँदैन । तसर्थ राजनीतिक पार्टीसहितको सरकार बनेर नेपाल र नेपालीको भविष्य बनाउने हो भने घृणा र विभाजनभन्दा माथि उठेर सहकार्य, सहिष्णुता र राष्ट्रिय हितलाई प्राथमिकता दिने राजनीतिज्ञको सरकार बन्न सक्नुपर्छ । जहाँ सद्भाव र सहमतिको राजनीति होस् । त्यसका लागि निम्न पक्षहरू अनिवार्य हुन्छन् :
खुसी सम्मानको व्यवहार : राजनीति, समाज वा संस्थाभित्र असहमति हुँदाहुँदै पनि मर्यादित, संयमित र जिम्मेवारपूर्ण ढंगले व्यवहार गर्न सक्नुपर्छ । एउटा राजनीतिज्ञले आपसी सम्मान, मर्यादित भाषाको प्रयोग, सहमति, सभ्य अभिव्यक्ति, सुन्ने बानी, निर्णयमा सम्मान, विरोधमा संयमता, पद र जिम्मेवारीको मर्यादा राख्नेलगायतका पक्षहरूमा ध्यान दिनुपर्छ ।
सहकार्यको संस्कार : व्यक्ति, समूह वा राजनीतिक दलबीच फरक मत तथा अभ्यास तथा विचार रहँदारहँदै पनि साझा उद्देश्य हासिल गर्न मिलेर काम गर्ने व्यावहारिक अभ्यास सहकार्यको संस्कार हो । यसलाई समझदारी, समन्वय र साझा जिम्मेवारीको अभ्यास मान्न सकिन्छ ।
संयमित नेतृत्व : उत्तेजना आवेग र दबाबका बीच शान्त, जिम्मेवार र सन्तुलित ढंगले निर्णय तथा व्यवहार गर्ने संयमित नेतृत्व हो । यस्ता नेतृत्वहरूले असहमति सहने क्षमता, भावनात्मक निर्णय, नियन्त्रण र व्यवहारमा मर्यादा राख्ने, परिस्थिति बुझ्ने क्षमता, शक्ति प्रयोगमा सन्तुलनलगायत उत्तरदायित्व स्विकार्ने बानीजस्ता व्यावहारिक पक्षहरू रहनुपर्छ ।
कानुनको पालना : देशमा बनेको कानुन सबैलाई समान रूपमा लागू हुने गर्छ । कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुनी राज्यमा कानुनको परिधिभित्र रहेर मात्र काम गर्न सक्नु कुशल राजनीतिज्ञको कर्तव्य हुन्छ ।
जिम्मेवार अभिव्यक्ति : राजनीति गर्ने नेतृत्वले जिम्मेवारपूर्ण बोली बोल्नुपर्छ । अपुष्ट आरोप, अफवाह र उत्तेजना, उत्तेजक भाषणजस्ता विषयहरूले स्वयंलाई कमजोर बनाउँछ । कुशल राजनीतिज्ञ यस्ता पक्षबाट सकेसम्म जोगिनुपर्छ ।
जनतासँग प्रत्यक्ष सम्पर्क : जनताको अभिमतबाट चल्ने कसम खाएर जनताको सेवा गर्छु भन्ने राजनीतिज्ञ सर्वसाधारणका गुनासा सुन्ने, समस्यालाई समयमा समाधान गर्ने सक्ने क्षमता राख्न सक्नुपर्छ जसले नेतृत्व क्षमताको विकास गर्छ ।
समयमा निर्णय र कार्यान्वयन : कुनै पनि समस्यालाई समयमा छिनोफानो गर्न सकिएन भने त्यसको असर अझ ठूलो रूप लिएर क्षति बढी हुन जान्छ । तसर्थ समस्यालाई झुलाएर असन्तोष बढ्ने वातावरण बनाउनु हुँदैन ।
संवाद र सहमतिबाट समस्या समाधान : समस्या समाधानको उत्तम बाटो भनेको संवाद र सहमति हो । सत्ता वा सडकमा जहाँ रहँदा पनि उठेका विवाद तथा असहमतिलाई संवादका माध्यमबाट निष्कर्षमा पुग्ने सामर्थ्य राजनीतिमा रहनु राम्रो मानिन्छ ।
आपसी सम्मानको व्यवहार : सम्मान गर्नेले अरूको सम्मान पनि पाउँछ वा सम्मान नगर्नेलाई अरूले पनि सम्मान गर्दैनन् । सार्वजनिक बोली होस् वा व्यक्तिगत नै किन नहोस्, बोलीमा अपमान र घृणात्मक भाषा प्रयोग गर्नु हुँदैन ।
राजनीतिज्ञले संवाद र सहमतिको राजनीति अवलम्बन गर्न सक्नुपर्छ । यस्ता विषयहरूको पालना नगर्नाले राजनीतिज्ञको बोलीको स्तर घटिरहेको छ । जे बोले पनि हुने प्रवृत्तिले यस्तो व्यवहार दोस्रो र तेस्रो पुस्ता हुँदै नयाँ आउनेहरूमा समेत सर्दै जानाले राजनीतिक संस्कार धमिलिएको छ । नेपाली राजनीतिमा संवाद र सहमति भएका थुप्रै उदाहरणहरू देख्न सकिन्छ भने संवाद र सहमति नहुँदा समस्याहरू जटिल बनेका पनि केही उदाहरणहरू रहेका देखिन्छन् ।
आजका राजनीतिज्ञहरूले विगतको लामो इतिहासलाई अध्ययन र विश्लेषण गरी संवाद र सहमतिको संस्कार प्रदर्शन गर्न जरुरी छ । अन्य दललाई गाली मात्रै गर्ने, उत्तेजनामा आउने, आफ्नो विचार र आदर्शको पहिचान नगरी अगाडिको बाटो तय गर्ने, पदको लोलुपता देखाउने हो भने देशले अझै दुःख पाउनेछ । त्यसैले राजनीतिक दलहरू संवाद र सहमतिबाट अगाडि बढ्नुको विकल्प छैन । आफ्ना फरक धारणा रहँदारहँदै पनि राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता अक्षुण्णता, अखण्डता, देशको सिमानालगायतका विषयमा सबैले सहमति अपरिहार्य छ ।
