नागरिक अधिकारको सम्झौताहीन अभ्यास सुनिश्चित गर्न समाजमा सशक्त प्रेस चाहिन्छ, त्यही भूमिकालाई कान्तिपुरले आफ्नो अभीष्ट बनाएको छ ।
What you should know
नेपालको एउटा गौरवशाली संयोग, प्रजातन्त्रको जन्म भएकै दिन फागुन ७ मा प्रजातन्त्रको पहरेदार कान्तिपुर जन्मिएको हो । नेपाली राजनीतिक परिवर्तनको साक्षी मात्र होइन, सहयात्री कान्तिपुर आज ३४ औं वर्षमा प्रवेश गरेको छ ।
जनताको आवाज जब–जब अपहरण गर्ने प्रयास भएको छ, तब–तब लोकतन्त्रको प्रवक्ता बनेर कान्तिपुर उभिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा निर्भीक भएर मानवअधिकारको पक्षमा, शाही शासनकालमा बहुदलीय अधिकारको पक्षमा, शान्ति सम्झौतापछि संविधान लेखनको पक्षमा र संविधान घोषणापछि सुशासनको पक्षमा कान्तिपुर निरन्तर उभिएको छ ।
किनकि अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र कानुनी राज फगत कागजी शब्दजाल होइनन्, बरु लोकतन्त्रको जीवन धान्ने धमनी हुन् । नागरिक अधिकारको सम्झौताहीन अभ्यास सुनिश्चित गर्न समाजमा सशक्त प्रेस चाहिन्छ, त्यही भूमिकालाई कान्तिपुरले आफ्नो अभीष्ट बनाएको छ ।
निरंकुश शासन सत्तामा मात्र होइन, लोकतन्त्रको आवरणभित्र हुने बेथिति पनि कान्तिपुरले उजागर गर्दै आएको छ । सत्ताको दुरुपयोग र त्यसविरुद्ध कान्तिपुरको आवाज पनि समानान्तर रूपमा चल्दै आएका छन् । यसबीचमा लामो वा छोटो अवधिका लागि जो सत्तामा पुगेका छन्, तिनले आफूमाथिको प्रश्नलाई निषेध गर्न राज्य शक्तिको दुरुपयोग गर्दै आएका छन् ।
त्यसैले कहिले सत्ताको दुरुपयोग गरेर, कहिले भीडको भावनालाई उत्तेजित गरेर कान्तिपुरमाथि प्रतिशोधपूर्ण प्रहार पनि हुँदै आएको छ । गत २४ भदौको उत्पातमा कान्तिपुरमाथि भएको हमला त्यसैको एउटा कडी हो । तर, देशको सर्वोच्च अदालत, संसद् भवन, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतका सार्वजनिक प्रतिष्ठान, उद्योग, व्यवसाय तथा सञ्चारगृह र निजी सम्पत्तिमाथि भएको आक्रमणका योजनाकार तथा मतियारहरूलाई कारबाहीको माग उठाइरहँदा अघिल्लो दिन निहत्था आन्दोलनकारीमाथि भएको दमनका जिम्मेवारहरूलाई जवाफदेही बनाउनुपर्ने आवाजलाई पनि कान्तिपुरले उच्च प्राथमिकतामा राखेको छ । जस्तोसुकै मूल्य चुकाउनु परे पनि कान्तिपुर आफ्नो व्यावसायिक पत्रकारितामा अविचलित छ ।
हरेक आन्दोलन र विद्रोहको जगमा देशले कोल्टे फेर्दै आएको छ । यही वर्ष भएको जेन–जी आन्दोलनपछि पनि सुशासन, पारदर्शिता, सार्वजनिक सेवा प्रवाह र जवाफदेहितामा देशले कोल्टे फेर्नेछ भन्ने आशा नेपाली समाजले गरेको छ । आन्दोलनको एजेन्डालाई संस्थागत गर्न देश अहिले निर्वाचनमा होमिएको छ । दल र उम्मेदवारहरूको प्रतिस्पर्धा र मतदाताको फैसला लोकतन्त्रको सबैभन्दा सुन्दर र सशक्त पक्ष हो ।
निर्वाचनमा जनताको मत पाउने राजनीतिक दल र नेतृत्वले सरकार निर्माण गर्ने मात्र होइन, देशमा सुशासन र जवाफदेहिता सुनिश्चित गर्ने, आर्थिक लगानी बढाएर रोजगारी सिर्जना गर्ने र अर्थतन्त्र सुदृढ बनाएर देशलाई समृद्धिको यात्रामा डोर्याउने ऐतिहासिक दायित्व पनि स्विकार्नुपर्नेछ । यो समग्र प्रक्रियामा सही सूचना सम्प्रेषण र रचनात्मक समीक्षा गर्ने जिम्मेवारी कान्तिपुरले निरन्तर पूरा गर्नेछ ।
कान्तिपुरले आर्जन गरेको उपलब्धि सञ्चारगृहको एक्लो पहलले सम्भव भएको होइन, यसका लागि हाम्रा सचेत पाठक तथा शुभचिन्तक, जिम्मेवार उद्यमी व्यवसायी, सक्रिय विज्ञापन एजेन्सी र अहोरात्र आफ्नो पेसामा जुट्ने हाम्रा पत्रकार तथा कर्मचारीको सामूहिक पहलको परिणाम हो । सबै हिस्सेदारप्रति हामी कृतज्ञ छौं । आगामी यात्रामा पनि सबैको विश्वास र रचनात्मक आलोचना हाम्रा लागि मार्गदर्शक बनिरहनेछ ।
