राजनीतिक विमर्शमा महिला र पुरुष सँगसँगै

महिलाको राजनीति र सार्वजनिक जीवनमा समान सहभागिता भएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ

माघ २७, २०८२

सुशीला शर्मा

Women and men together in political discussions

सामाजिक सञ्जाल टिकटकलाई विशेषगरी महिलाहरूले सिर्जनात्मक र मनोरञ्जनात्मक बनाएर चलाएको देख्न सकिन्छ । नाचगान, डायलग डेलिभरी आदि साँच्चै अभिनय नै हो जस्तो पनि लाग्ने ।

यस्ता प्रस्तुतीकरणसँगै महिलाहरूको बदलिँदै गएको चेतना, आफूलाई तरोताजा राख्न गर्ने शारीरिक व्यायाम, महिलाहरूले गरिरहेका उद्यमशीलताको प्रदर्शनमा पनि सामाजिक सञ्जालले एक प्रकारले सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको पाइन्छ । मैले टिकटक र सो मिडियामा महिलाका विविध पक्ष र उनीहरूले दिने सन्देशलाई पनि गहिरिएर नियाल्ने गरे पनि आफैंले भने सिर्जनात्मक रूपमा केही पनि गर्न सकेको छैन । चुनाव र आफूले मतदान गर्ने उम्मेदवारको प्रचारमा पनि महिला तथा युवतीहरूले अपनाएका तरिका, प्रविधिहरू प्रशंसा गर्न लायक छन् । स्क्रोल गर्दै जाँदा एक जना महिलाको टिकटक भिडियोमा आँखा पर्‍यो । उनले आफ्ना श्रीमान् चुनाव प्रचारमा कति दिन अगाडिदेखि व्यस्त भएको र आफूलाई कुनै खोजखबर नै नगरेको झोंक पोखेकी छन् । उनी भन्छिन्– म त पोइल गइदिऊँ कि क्या हो ? कि श्रीमान्ले मलाई चाहिनेभन्दा बढी विश्वास गरेर ढुक्कले बसेका हुन् कि ? उनी अझ थप्छिन्– मचाहिँ यिनका छोराछोरी रुँगेर बस्नुपर्ने । यो यदि ती महिलाले अरू कसैको आवाज नै बोलिदिएकी भए पनि आम नेपाली महिलाहरूको नै भाव बोलेकी छन् ।

हुन पनि धेरै गाउँ–ठाउँमा चुनावले बस्ती गर्माएको छ । पुरुषहरू चोकमा बसेर चिया पिउँदै चुनावकै गफ गरिरहेका छन् । कतिपय पुरुषहरू चुनाव प्रचारप्रसार गर्न उम्मेदवारसँगै दिनरात खटेका छन् । भीडभाड र घुइँचोहरूमा पुरुषकै बाहुल्य देखिन्छ । यस्तो पनि देखिन्छ कि चुनाव महोत्सव पुरुषलाई बढी लागेको छ । हुन त महिलाहरू पनि राजनीतिमा छन्, उम्मेदवार बनेका छन् तर जनसंख्या र संविधानले तोकेभन्दा पनि धेरै कम ।

भनिन्छ, महिलाको राजनीति र सार्वजनिक जीवनमा समान सहभागिता भएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ तर नेपालको अवस्थालाई हेर्ने हो भने महिलाको राजनीति र सार्वजनिक जीवनमा सहभागिताकै लागि अगाडि आएका महिलाहरूले विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशले अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको देखिन्छ । राजनीतिमा सहयोगी बनेर, सहयोद्धा बनेर महिलाले पनि उल्लेखनीय भूमिका खेलेका इतिहास त नेपालमा राणाकालदेखि नै हो । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा पनि युवा महिलाको उपस्थिति र सहभागिता उल्लेखनीय थियो । जेन–जी आन्दोलनले पनि एक महिलालाई नै विश्वास गरेर सरकार सञ्चालन गर्ने म्यान्डेट दिएको छ र यही सरकारले छिट्टै हुन गइरहेको चुनावका लागि सकारात्मक पहल पनि गरिरहेको छ ।

भनिन्छ, महिलाको राजनीति र सार्वजनिक जीवनमा समान सहभागिता भएमा मात्र समग्र रूपमा दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । विश्वमै कार्यकारी पदमा महिलाको उपस्थितिलाई हेर्दा सन् २०२५ सेप्टेम्बर १२ सम्म २९ देशका ३२ जना महिलाले राज्य वा सरकार प्रमुखहरूका रूपमा सेवा गर्छन् । केवल ६ देशमा मात्र एकल वा तल्लो सदनमा संसद्मा ५० प्रतिशत वा सोभन्दा बढी महिला छन् । जसमा रुवान्डामा ६४ प्रतिशत, क्युवामा ५६ प्रतिशत, निकारागुवामा ५५ प्रतिशत, एन्डोरामा ५० प्रतिशत, मेक्सिकोमा ५० प्रतिशत र संयुक्त अरब इमिरेट्समा ५० प्रतिशत ।

राजनीति र सार्वजनिक जीवनमा महिलाको सहभागिता विस्तारका लागि पनि विभिन्न प्रयासहरू भएका छन् । बेइजिङ घोषणापत्र र कार्यमञ्चमा तय गरिएको र अन्तर्राष्ट्रिय रूपमा सहमति जनाइएको लक्ष्यअनुसार निर्णय प्रक्रियामा महिला र पुरुषबीच सन्तुलित राजनीतिक सहभागिता र शक्ति बाँडफाँट पनि एक हो । बेइजिङ घोषणाको नेपाल पनि एक सहभागी पक्ष देश हो । विश्वका धेरैजसो देशहरूले लैंगिक समानता हासिल गर्न नसके पनि लैंगिक कोटाले महिला सहभागिताको प्रगतिमा भने उल्लेखनीय योगदान पुर्‍याएको छ । नेपालमा पनि महिला समुदायको आरक्षण व्यवस्था पनि तय गरिएको छ ।

महिलाले राजनीतिमा कत्तिको सुझबुझ राखेका छन्, उनीहरूको देश र राजनीतिक व्यवस्थाप्रतिको बुझाइ कस्तो छ भन्ने कुरा बाहिर आउनका लागि त परिवारभित्र अझ श्रीमान्–श्रीमतीबीचमै पनि देश, समाज, आफ्नो समाजमा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारबारे पनि चर्चा हुनुपर्छ ।

हुन त महिलालाई समाजले दिएका भूमिकामा देखिएको परिवर्तन भनेको महिला घरको काम पनि र आर्थिक आर्जन गर्न बाहिर निस्कनु प्रमुख हो । त्यसबाहेक अन्य देश समाजमा भए गरेका अन्य विकास, राजनीति, अन्य नीति–नियममा अझै पनि महिलाले चासो चर्चा गर्ने आवाज उठाउने परिपाटी बसिसकेको छैन । सानोतिनो मानिने उदाहरण हेरौं– गाउँका परिवार सहरमा डेरा गरेर बस्छन् । चाडपर्व, विवाह, श्राद्ध आदिमा महिलाहरू नै गाउँको घरमा ओहोरदोहोर गरिरहेका हुन्छन् । चुनावलाई पनि हाम्रो देशमा एक प्रकारले पर्वकै रूपमा भोट माग्ने, नाचगान, भोजभतेर गरेर सम्पन्न गर्ने गरिन्छ । तर, अब मतदान गर्नका लागि परिवारका बालिग सदस्यहरू गाउँ जानुपर्ने भयो भने परिवारका केही पुरुष सदस्य मात्रै जाने गरेका पनि देख्न सकिन्छ । यो सानो उदाहरणले महिलाले राजनीति या मतदानमा महत्त्व पाउन अझै सकेका छैनन् भन्ने देखिन्छ ।

सामाजिक सञ्जाल चलाउन जान्ने महिलालाई सञ्जालले आफ्नो उम्मेदवारबारे जानकारी प्राप्त गर्नका लागि फोटो र चुनाव चिह्नहरूको प्रदर्शन त गराइदिइराखेको छ । तर ती उम्मेदवारका चुनावी र चुनाव जितेपछिका एजेन्डाहरू के–के छन् भनेर अध्ययन र मनन गर्ने फुर्सद महिलालाई छैन । चुनावी अभियानमा हिँडिरहेका उम्मेदवार र समर्थकहरू पनि महिला, ज्येष्ठ नागरिक र नागरिक समाजलाई मतदान कसरी गर्ने भन्ने शिक्षा दिन, सिकाउनभन्दा पनि अबिर जात्रा र हाहाहुहुमै दौडिरहेका देखिन्छन् ।

नारामा भनिएजस्तो छान्नुअघि जान्नुपर्ने कुरा महिला–पुरुष सीमान्तकृत, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू सबैले हो । तर घरका पुरुषले श्रीमती, आमा, दिदीबहिनीसँग कुनै सञ्चार नै गर्दैनन् । यद्यपि, बाहिर–बाहिर ठूलै नेता भइसकेका हुन्छन् भने पक्कै पनि महिलाको चुनाव, राजनीति, मतदानजस्ता विषयमा उदासीनता नै देखिन्छ । र, कहिलेकाहीँ टिकटकजस्ता सामाजिक सञ्जालमा भद्र विरोध रिल बनेर आउन पनि सक्छन् ।

प्राकृतिक र सामाजिक भूमिकालाई निर्वाह गर्दै राजनीतिमा आएर आफ्नो अब्बल सहभागिता देखाएका युवा महिलाहरूलाई नै पुरुषप्रधान समाजले हेर्ने नजरिया त सामाजिक सञ्जालमा आएका ‘कमेन्ट सेक्सन’ का गालीगलौज र अश्लील शब्द प्रहारबाट नै पनि बुझ्न सकिन्छ । महिलाहरूले पनि देशको माहोलअनुसारको जानकारी राख्ने, चासो दिने गर्नुपर्ने अनिवार्य छ । नेपालको जनसंख्याको हिसाब गर्ने हो भने पनि महिलाको संख्या बढी देखिन्छ तर राजनीतिमा संलग्नता भने बढ्दै जानुपर्नेमा घट्दै गएको छ । हामी महिलाले पनि राजनीतिमा उदाएका नयाँ–पुराना महिलाहरू, उनीहरूका योगदान, महिलाको क्षेत्रमा उनीहरूले गर्ने कामबारे बुझ्नका लागि राजनीतिक विषयमा पनि चासो देखाउनुपर्ने हुन्छ । चुनावको माहोल छ । हामीले महिला उम्मेदवारहरू मीना खरेल, निशा अधिकारी, रेनु दाहाल, सोविता गौतमलगायत देशैभरिका महिलाको विचार, धारणा योगदान र आगामी दिनमा उनीहरूले महिलाका हकमा के–कति काम गर्छन् भन्ने विषयमा जाँचपडताल गर्नका लागि पनि उनीहरूबारे जानकार भइराख्नुपर्ने हुन्छ । सचेत नागरिकको हैसियतले महिलाले पनि राजनीतिलाई बुझौं या बुझ्ने कोसिस गरौं । परिवारका पुरुष सदस्यहरूले घरमा पनि राजनीतिक गफ महिला सदस्यहरूसँग गर्ने गरौं । महिला–पुरुष बराबरीका सिद्धान्तलाई जरैदेखि र घरैदेखि लागू गरौं ।

सुशीला शर्मा शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully