लोकतन्त्रका लागि शान्त संवादको निरन्तरता

देशभित्रका फरक–फरक अनुभूति र अन्तर्राष्ट्रिय यथार्थसँग साक्षात्कार गराउँदै लैजान्छ । सौम्य संवाद नै खुला समाजको ढुकढुकी हो । सभ्य समाजको परिचय हो । यसर्थ संवादका मञ्चको सिर्जना गर्नु, प्रोत्साहित गर्नु र हुर्काउनु लोकतान्त्रिक र खुला समाजका लागि अपरिहार्य छ ।

माघ २६, २०८२

सम्पादकीय

Continuation of peaceful dialogue for democracy

What you should know

काठमाडौँ — उद्देश्यबिनाका आवाजहरू कोलाहल मात्रै हुन्छन्, श्रोतालाई दिग्भ्रमित पार्छन् । आवाज चर्को हुन्छ तर बुझिँदैनन् । यस्तो स्थितिमा उद्देश्यमूलक र सौम्य संवादले समाजलाई मार्गदर्शन गर्न सक्छ । देश तथा समाजले भोगिरहेका समस्या र अन्योलबाट पार पाउनका लागि सहयोग पुर्‍याउन सक्छ ।

निराशाबीच आशाको झिल्का देखाउन सक्छ । त्यसैले एउटा जिउँदो समाजमा प्रश्नहरू चाहिन्छ । ती प्रश्नको उत्तर पहिल्याउन संवाद चाहिन्छ । संवाद गर्ने मञ्चहरू चाहिन्छ । त्यस्ता मञ्चहरूमा अनुभवले खारिएको विचार र ऊर्जाले भरिपूर्ण नयाँ सवालहरूले पर्गेल्ने वस्तुस्थिति र निकाल्ने निकासले हाम्रो लोकतान्त्रिक अभ्यासलाई परिपक्व बनाउँदै लैजान्छ ।

देशभित्रका फरक–फरक अनुभूति र अन्तर्राष्ट्रिय यथार्थसँग साक्षात्कार गराउँदै लैजान्छ । सौम्य संवाद नै खुला समाजको ढुकढुकी हो । सभ्य समाजको परिचय हो । यसर्थ संवादका मञ्चको सिर्जना गर्नु, प्रोत्साहित गर्नु र हुर्काउनु लोकतान्त्रिक र खुला समाजका लागि अपरिहार्य छ ।

अध्येताहरू भन्छन्– समाजमा असन्तुष्टि र आक्रोशको मात्रा बढ्दै गएको छ । यस्तो किन भएको छ भने, संवाद गर्ने उपयुक्त मञ्च छैन । जति छन्, तिनले समाजको हलचल महसुस गर्न सकेका छैनन् । मानिसको स्पन्दन महसुस गर्न सकेका छैनन् । उद्देश्यमूलक हुन सकेका छैनन् । निकासको अठोट गर्न सकेका छैनन् । संवादको पर्याप्त मञ्च नहुनु एउटा समस्या छ, उपलब्ध मञ्चको प्रभावकारिता स्थापित हुन नसक्नु अर्को समस्या छ ।

त्यसैले हामीकहाँ समस्याहरू छरपस्ट छन् । तिनलाई सम्हालेर अघि बढ्ने सक्रियता कमजोर देखिएको छ । जसले गर्दा हामीले इतिहासका घाउखतको उपचार गर्न सकेका छैनौं, भविष्यको आशामाथि मलजल गर्न सकेका छैनौं । त्यसैले यो समय बढीभन्दा बढी सार्थक संवाद हुन सकोस्, कठोर वैचारिक मन्थन हुन सकोस्, मानिसमा वैचारिक झिल्का उत्पन्न होस् भन्ने अपेक्षाका बीच आयोजना गरिएको ‘कान्तिपुर कन्क्लेभ’ एउटा बलियो मञ्च हुन सक्छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि नेपाली समाज आशा र आशंकाको दोसाँधमा उभिएको छ । राज्यको अभिभावकत्वमै मौलाएको बेथिति, विसंगति, भ्रष्टाचार, कुशासन, नातावादजस्ता तमाम विकृतिका विरुद्ध २३ भदौमा जेन–जी आन्दोलन भएको थियो । तर राज्यद्वारा गरिएको क्रूर दमनका विरुद्ध भएको २४ भदौको आन्दोलन भने हिंसात्मक प्रदर्शनमा परिणत भयो ।

७० भन्दा बढीको मृत्युको आघात निम्तियो । साथसाथै, राज्यका महत्त्वपूर्ण अंग र प्रशासनिक इकाइ सञ्चालन हुने भवनहरू, सुपरस्टोर, व्यावसायिक केन्द्र, मिडिया हाउसमा आगजनी, तोडफोड र लुटपाट गरियो । जेन–जी आन्दोलनले राजनीति शुद्धीकरणका लागि बलियो आधार तयार गर्‍यो । जबर्जस्त हस्तक्षेप त गर्‍यो । सँगसँगै मृत्यु, आगजनी, तोडफोड र लुटपाटले राष्ट्रिय निराशा पनि सिर्जना गर्‍यो । त्यसैले यतिबेला राजनीति, प्रशासन र संस्थाहरूमा व्यापक सुधार र नयाँ आशा सिर्जना गर्न सक्दा मात्रै भदौको आन्दोलनको सार्थकता रहन सक्छ । तर, कस्तो र कसरी सुधार ? त्यसका लागि भने संवाद आवश्यक छन् ।

२१ फागुनमा निर्वाचन हुँदै छ । आन्दोलनपछिको निर्वाचनको मुख्य दायित्व हो– आन्दोलनका माग र उपलब्धिलाई संस्थागत गर्दै लैजानु । उपलब्धिहरू बलियोसँग संस्थागत हुन नसकेकै कारण इतिहासका अनेकौं क्रान्ति र आन्दोलन अर्धउपलब्धिमै सीमित भएका छन् । पटक–पटक आन्दोलनको नियति दोहोरिने गरेको छ । पूर्ण उपलब्धि र जनताको जीवनस्तरमा सुधारका लागि भने परिपक्व र ऊर्जाशील नेतृत्वको आवश्यकता पर्छ । आगामी 

संसद्को स्वरूपबारे यतिबेला समाजमा चासो छ । किनकि सो संसद्को प्रभावकारिताले नै जेन–जी आन्दोलनका उपलब्धलाई संस्थागत गर्दै अघि बढ्ने विषय सुनिश्चित हुन सक्छ । साथै विकास र समृद्धिको सदाबहार चाहना पनि छँदै छ । कस्तो नेतृत्व, कस्तो विकास, कसका लागि विकास, कस्तो समृद्धि र कसरी समृद्धि भन्ने विषय खुट्याउन भने निरन्तर संवाद र वैचारिक मन्थन नै आवश्यक पर्छ । त्यसका लागि धेरै मञ्चहरू आवश्यक छन् । ‘कान्तिपुर कन्क्लेभ’ त्यस्तै एउटा मञ्च हो । यसले परिपक्व संवादको एउटा अवसर सिर्जना गरेको छ ।

संवादका मञ्चहरू र त्यसका विषयवस्तु निरन्तर परिवर्तन हुँदै आएका छन् । कुनै बेला चौतारीमा हुने छलफल आज सामाजिक सञ्जालमा भइरहेका छन् । तर एकपक्षीय संवाद, भ्रामक सूचना प्रवाह र अल्गोरिदमको उल्झनको सीमितता पनि छँदै छ । यथार्थमा मञ्चको आयाम फैलियो तर सार्थक खुलापन खुम्चियो । जबकि, यही बेला हामीकहाँ एआईको व्यापक प्रयोग र दुरुपयोग बढ्दो छ ।

विश्वको राजनीतिक, सामाजिक र आर्थिक यथार्थमा व्यापक बदलाव आएको छ । हाम्रै समाजको विविधतालाई एकता र सामूहिक बलमा परिणत गर्ने चुनौती पनि छँदै छ । यी सबैका बीच संविधान संशोधन, संघीयताको प्रभावकारिता, सुशासन, सेवा प्रवाह, राज्य र नागरिकबीचको सम्बन्ध, अर्थतन्त्र, रोजगारजस्ता पक्षमा पनि लामै समयदेखि बहस भइरहेको छ । तसर्थ, सम्पूर्ण आन्तरिक प्रतिकूलतालाई चिर्दै अन्तर्राष्ट्रिय परिवेशसँग अनुकूलन हुँदै अघि बढेर समाजलाई समृद्ध बनाउनका लागि गम्भीर विमर्श आवश्यक छ । ‘वादे वादे जायते तत्त्व बोधः’ लाई थप सार्थक र उद्देश्यमूलक बनाउन आवश्यक छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully