सही उम्मेदवार छान्ने सकस !

वीणा झा लेख्छिन्– चर्का चुनावी आवाज र कोलाहलभित्र एउटा महत्त्वपूर्ण विषय मधुरो हुँदै गएको छ— सचेत र विवेकपूर्ण मतदाता निर्णय । चुनावी घम्साघम्सीबीच रहेरै सही उम्मेदवार छान्नुको विकल्प छैन ।

माघ १९, २०८२

वीणा झा

Choosing the right candidate is tough!

What you should know

नेपाल आज फेरि एक संवेदनशील र निर्णायक चुनावी चरणमा प्रवेश गरेको छ । पुराना राजनीतिक दल र नयाँ राजनीतिक शक्तिहरूबीचको घम्साघम्सी चर्किंदै गएको देखिन्छ । सडक, चिया पसल, सामाजिक सञ्जालदेखि टोल–टोल र घरघरसम्मै बहसहरू व्याप्त छन्, आरोप–प्रत्यारोपहरू छन्, भावनात्मक नाराहरू, मुक्तकहरू र गीतहरू गुन्जिएका छन् । तर, यही कोलाहलभित्र एउटा अत्यन्तै महत्त्वपूर्ण विषय मधुरो हुँदै गएको देखिन्छ– सचेत र विवेकपूर्ण मतदाता निर्णय ।

लोकतन्त्रमा मतदाताको भूमिका महत्त्वपूर्ण र निर्णायक हुने हुँदा निर्वाचनअघि हरेक राजनीतिक दलको प्राथमिकता मतदाता रिझाउनु नै हो । तर, यदि मतदाता भावनामा बग्यो, डर, घृणा, बदला–भाव वा लोभबाट प्रभावित भयो भने लोकतन्त्रको आत्मा कमजोर बन्छ । त्यसैले समाजको बौद्धिक व्यक्तित्व र अगुवा समूहले निष्पक्षतासाथ मतदाता सशक्तीकरण गर्न अघि बढ्नुपर्छ, जसले गर्दा मतदातालाई सही निर्णय लिन सहयोग होस् । र, चुनावको माध्यमले सही पात्र चुनिने सम्भावना बढोस् ।

एउटा के कुरा स्पष्ट छ भने घृणा र बदला–भावले देश निर्माण हुन सक्दैन । इतिहासले देखाएका अनेक उदाहरण छन्— घृणा, प्रतिशोध र डरको राजनीतिले दीर्घकालीन शान्ति र विकास दिन सक्दैन । नेपालमा माओवादी आन्दोलनको सुरुवात पनि उत्पीडन, असमानता र राज्यको दमनविरुद्ध भएको थियो । डर, घृणा र बदलाको भावनाबाट सुरु भएको आन्दोलनले समाजका धेरै वर्गलाई आकर्षित गर्‍यो । परिवर्तनको आशा, समानताको सपना र न्यायको आश्वासनले ठूलो समर्थन पायो । तर, जब त्यो आन्दोलन सत्ता र राज्य संरचनामा प्रवेश गर्‍यो, तब क्रमशः परिवारवाद, गुटबन्दी, शक्ति केन्द्रित राजनीति र अवसरवाद हाबी हुँदै जाँदा आजको अवस्थासम्म पुग्यो । यसले एउटा गहिरो पाठ सिकाएको छ कि घृणा र बदला–भावबाट सुरु भएको राजनीति यदि आत्मसमीक्षा, नैतिकता र उत्तरदायित्वमा रूपान्तरण हुन सकेन भने त्यो अन्ततः निराशामा परिणत हुन्छ ।

यही सन्दर्भमा नेल्सन मण्डेलाको उदाहरण अत्यन्त सान्दर्भिक हुन्छ । दक्षिण अफ्रिकामा रंगभेदी शासनविरुद्ध लड्दा मण्डेलाले २७ वर्ष जेल जीवन बिताउनुपरेको थियो । उनले चाहेको भए सत्ता र शक्ति पाएपछि बदलाको राजनीति गर्न सक्थे किनकि उनीसँग घृणा गर्ने पर्याप्त कारण थियो । तर, उनले त्यसो गरेनन्, बरु बदला होइन, मेलमिलाप रोजे । उनले भने, ‘घृणाले घृणा हट्दैन, प्रेम र समझदारीले मात्रै हट्छ ।’

कुनै पनि देश निर्माणका लागि घृणा होइन, प्रेम नै चाहिन्छ । नागरिक–नागरिकबीचको प्रेम, नागरिक र देशबीचको प्रेम ! मण्डेलाले सत्य तथा मेलमिलाप आयोग गठन गरेर विगतका अपराधलाई संवाद र स्वीकारोक्तिमार्फत समाधान गर्ने बाटो रोजे । परिणामस्वरूपः दक्षिण अफ्रिका गृहयुद्धतर्फ होइन, राष्ट्रिय एकता र लोकतान्त्रिक रूपान्तरणतर्फ अघि बढ्न सक्यो । यो उदाहरणले के सिकाउँछ भने नेतृत्वको असली परीक्षा शक्ति पाएपछि मात्रै हुन्छ । घृणा र बदलाको राजनीति सजिलो त हुन्छ, तर त्यो क्षणिक हुन्छ । देश निर्माणका लागि साहसिक क्षमता, संवाद र दीर्घकालीन सोच नै चाहिन्छ ।

पुराना राजनीतिक दलहरूले के बिराए ? त्यसबाट नयाँले सिक्नुपर्छ र साथै पुरानाले पनि कठोर आत्मसमीक्षा गर्नुपर्छ । नेपालका पुराना राजनीतिक पार्टीहरू—नेपाली कांग्रेस र नेकपा पृष्ठभूमिका दल, जो इतिहासमा परिवर्तनका वाहक भए पनि पछिल्ला वर्षहरूमा आन्तरिक गुटबन्दी, पद–प्रतिष्ठाको संघर्ष, समाजका पिँधसँगको संवादहीनता र ग्रुपिज्ममा यसरी अल्झे कि समाजको पिँधको अवस्था, सकस र अवसर– तिनले केही देख्न सकेनन् । खुला संवादको संस्कृति यतिसम्म कमजोर बनाइयो कि फरक विचारलाई शत्रु नै ठानियो । कार्यकर्ता र नागरिक समाजका प्रश्नहरूलाई असहज ठानी दबाइयो । यसको परिणाम आज स्पष्ट देखिन्छ— जनआक्रोश बढेको छ, जनविश्वास घटेको छ, युवालाई पुराना राजनीतिक दलहरूप्रति वितृष्णा छ । र, चुनाव जित्ने रणनीतिमै राजनीति सीमित हुँदै गएको देखिन्छ ।

पुराना दलहरूप्रतिको बढ्दो निराशाले नयाँ राजनीतिक दल र नेतृत्वप्रति आकर्षण बढ्नु स्वाभाविक हो । नयाँ जोस, नयाँ भाष्य र नयाँ शैलीले आशा जगाउँछ । तर, जोस मात्रै पर्याप्त हुँदैन । युवा भनेको सम्भावना हो, जो सजग, सिर्जनशील र संवेदनशील पनि हुनु उत्तिकै आवश्यक छ । प्रश्न यो पनि छ कि लामो राजनीतिक अनुभवको अभाव रहेका राजनीतिक दलहरू कतै बाह्य संकेतका सिकार त बन्दैनन् ? सत्ता र शक्तिमा पुगेपछि ती मुलुकको मौलिकता, सार्वभौमसत्ता र अखण्डताप्रति कतै असंवेदनशील त भइदिँदैनन् ?

अर्कोतर्फ आजको विश्वव्यापीकरणको युगमा विश्व अर्थतन्त्र, कूटनीति, प्रविधि, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको गहिरो बुझाइ पनि आवश्यक छ । यदि नयाँ राजनीतिक दलहरूले भावनालाई नीतिमा, आलोचनालाई आत्मसमीक्षामा र जोसलाई संस्थागत क्षमतामा रूपान्तरण गर्न सकेनन् भने उनीहरू पनि छिट्टै पुरानै समस्याको पुनरावृत्ति बन्न सक्छन् भन्ने विषयमा हेक्का राख्नैपर्छ ।

उदाहरणका लागि बंगलादेशमा लामो समयदेखि चल्दै आएको प्रतिशोधको राजनीति र चरम ध्रुवीकरणले त्यहाँको लोकतान्त्रिक संस्था कमजोर बनायो । सत्ता परिवर्तनसँगै बदला लिने संस्कारले समाजलाई विभाजित गर्‍यो । त्यहाँ अराजकता उत्कर्षमा पुगेको, नेतृत्वविहीन भीडहरूले मानवतालाई नै गिज्याएका दृश्य र समाचार बढ्दो छ ।

विश्वका धेरै देशमा देखिएको ‘पपुलारिज्म’ ले तत्कालै लोकप्रिय हुने चर्का नारा, आधारविहीन शीघ्र समाधान र भावनात्मक उक्साहटले दीर्घकालीन रूपमा अर्थतन्त्र, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय विश्वसनीयता तथा सम्बन्धहरूमा नकारात्मक असर पारेका उदाहरण प्रशस्तै भेटिन्छन् ।

यस्तोमा राजनीतिक दलका उम्मेदवारहरूलाई मात्रै होइन, मतदातालाई पनि सही उम्मेदवार छान्न उत्तिकै चुनौती छ । किनकि चुनावमा मत हाल्नु सामान्य अधिकार मात्रै होइन, भविष्यप्रतिको जिम्मेवारी पनि हो । हुन त ठाउँ, परिवेश र परिस्थितिअनुसार सही उम्मेदवार छान्ने आधारहरूमा केही भिन्नता हुन सक्छ । तर, मुख्य रूपमा सर्वसाधारणले निम्न आधारमा उम्मेदवार मूल्यांकन गर्दा गलत उम्मेदवार छानिने जोखिम घट्न सक्छ ।

१. विगतको आचरण– कत्तिको जवाफदेही छन् ? बोलेको र गरेको मिल्छ कि मिल्दैन ? सामाजिक विविधता, समावेशिता र सामाजिक न्यायप्रति कति संवेदनशील छन् ?

२. नीति र दृष्टिकोण– कर्णप्रिय नाराभन्दा योजना कति स्पष्ट र दूरगामी छ ?

३. संवाद क्षमता– सिर्फ आफू मात्रै बोल्ने, निर्देशन दिने हो कि आलोचना सुन्ने– आत्मसात् गर्ने, प्रश्नहरू सामना गर्ने, खुला संवादमा विश्वास गर्ने सहिष्णुता पनि छ ?

४. नैतिकता र पारदर्शिता– नैतिकता र पारदर्शितासँग सम्बन्धित ठाडो प्रश्नप्रति कति जवाफदेही छन् ? परिवारवाद र गुटवादबाट मुक्त छन् कि छैनन् ?

५. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतना– आजको विश्व परिवेश अनि राष्ट्रिय आन्तरिक क्षमता बुझ्ने, बोध गर्ने चेतना छ कि छैन ?

घृणा र बदलाको चक्र गरिबीको चक्रभन्दा पनि घातक हुन्छ । नेपालको भविष्य घृणा, डर र बदलाको राजनीतिले होइन– विवेक, संवाद र दीर्घकालीन सोचले तय हुनुपर्छ । पुराना दलका गल्तीबाट पाठ सिक्नुपर्छ, नयाँ दलका सम्भावनालाई विवेकपूर्ण रूपमा परीक्षण गर्नुपर्छ । यसपालिको चुनाव केवल सरकार बनाउने प्रक्रिया होइन, यो राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो । सही उदाहरणहरू स्थापित गर्दै समाजमा आशाको सञ्चार हुने गरी राजनीतिप्रतिको सोच बदल्ने मौका पनि हो यो चुनाव ।

यदि नागरिकले सही उम्मेदवार छान्न सके, त्यसको प्रतिफल केवल पाँच वर्षको शासन होइन— एक जिम्मेवार, समावेशी र समृद्ध नेपाल हुनेछ । यसपालिको चुनावमा पनि विदेशी भूमिमा रहेका नेपाली आफ्नो मत दिनबाट वञ्चित हुनेछन् । अन्तरजिल्लामा रहेका मतदाता पनि विभिन्न परिस्थितिका कारण पूर्णरूपमा सहभागी हुने सम्भावना कम नै हुनेछ । तथापि यो चुनाव उम्मेदवारको मात्रै होइन, मतदाताको पनि परीक्षण हुने अवसर हो । त्यसैले चुनावी घम्साघम्सीबीच रहेरै सही उम्मेदवार छान्नुको विकल्प छैन ।

वीणा

Link copied successfully