गगन र विश्वप्रकाशबीच मिलेको ‘केमेस्ट्री’ को जग भावनात्मक होइन, राजनीतिक हो । कांग्रेसभित्रको संरचनागत परिवर्तनका लागि यी दुई नेताले जानीबुझी आवश्यकता महसुस गरेर गरिएको ‘सचेत सहकार्य’ हो यो ।
What you should know
कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत रूपमा भावी प्रधानमन्त्रीका लागि प्रस्तावित गरेलगत्तै चुनावी दौडाहामा छन् ।
निर्वाचनका प्रमुख कमान्डर उपसभापति विश्वप्रकाश शर्माको व्यस्तता त्यस्तै छ । कांग्रेसमा हाबी ‘वृद्धतन्त्र’ माथि जबर्जस्त धावा बोलेर त्यसको नेतृत्वमा पुगेका यी दुई पात्रको भ्मूिका र भविष्य अहिले नेपाली राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।
मूलत: तीन थरी चासो प्रकट भएका छन् ।
पहिलो, गणितीय हिसाबले निकै बलियो मानिएको प्र्वूसभापति शेरबहादुर देउवा गुटलाई पछारेर पार्टीको संस्थापन बन्न पुगेका यी नेताहरू चुनावी मोर्चामा कति खरो उत्रन सक्लान् ? अथवा चुनावी परिणाम आफ््नो पोल्टामा पार्न कति सफल होलान् ?
दोस्रो, रक्षात्मक बनेको देउवा गुटले नयाँ कार्यसमितिको निर्णय नमान्ने बताउँदै सम्हूको राष्ट्रिय भेला डाकेको छ । अर्थात् चुनावको मुखमा कांग्रेसभित्रको अन्तर्द्वन्द्व मत्थर भए पनि सकिएको छैन । यो सन्दर्भमा पार्टीभित्रैबाट चुनावमा हुन सक्ने सम्भावित अन्तर्घातबाट जोगाएर एकढिक्का बनाउने तिनको प्रयत्न कति सार्थक होला ?
तेस्रो, गगन–विश्वबीच मिलेको ‘केमिस्ट्री’ को आयु कति लामो होला ?
सर्वाधिक चासो तेस्रो प्रश्नमा छ । कारण, बदलिएको कांग्रेसको गन्तव्यको एउटा प्रमुख आधार यी दुईबीचको सम्बन्ध र सहकार्य हो । दुईबीचको समझदारीको ‘स्पिरिट’ मा थोरै तलबितल हुँदा पनि अहिलेको जागेको उत्साह र अपेक्षामा तुषारापात हुन सक्छ ।
यही प्रश्नबाट यो विमर्शलाई अघि बढाऔं ।
गगन र विश्वप्रकाशबीचको जुगलबन्दी वर्तमान राजनीतिको एउटा सुखद दृश्य हो । जानकारहरूले यी दुईबीचको सहकार्यको अभ्यासलाई प्रशंसा गर्दै ‘सकारात्मक संस्कार’ भनेका छन् । विद्यार्थी राजनीतिमा रहँदा विश्वप्रकाश गगनभन्दा सिनियर नेता हुन् । नेविसंघका उनी सभापति थिए, गगन उपसभापति । अहिले ठीक उल्टो भूमिकामा छन् । गगन कांग्रेसका सभापति भएका छन्, विश्वप्रकाश उनका उपसभापति । भूमिकाले थोरै तलमाथि भए पनि यी दुवै नेता एकअर्काका बलिया प्रतिस्पर्धी हुन सक्छन्। ‘मास लिडर’ को परिचय बनाएका दुवैका आ–आफ्नै विशिष्ट खुबी र चरित्र छन्् । यद्यपि, दुवैले काँधमा काँध मिलाएर सहकार्यको संस्कृतिलाई बढावा दिँदै छन्।
कसरी बन्यो दुईबीचको जुगलबन्दी ? झन्डै साढे चार वर्षअघि कांग्रेसको १४ औं महाधिवेशनको तिथि पनि घोषणा भएको थिएन । कांग्रेसवृत्तमा नेतृत्वको काँध फेर्ने बहस चलिसकेको थियो । उदीयमान नेताद्वय गगन र विश्वप्रकाश पनि काँधमा नेतृत्व लिन अग्रसर थिए । त्यसबखत मिडिया विमर्शहरूबाट एउटा बलियो ‘न्यारेटिभ’ बन्यो, ‘कांग्रेसको नेतृत्वमा हस्तक्षेप गर्न गगन–विश्वले काँध दरिलो बनाउन सक्नुपर्छ ।’ त्यो ‘न्यारेटिभ’ १४ औं महाधिवेशन आइपुग्दा यथार्थ बन्यो । दुवै नेता फरक–फरक गुटको प्रतिनिधित्व गर्दै महामन्त्री चुनिए ।
महामन्त्रीका रूपमा यी दुईले आसलाग्दो सुरुवात गरेका थिए । जस्तो कि, दुई समकक्षी नेताबीच विभिन्न मुद्दा र कार्यशैलीमा कसिलो समझदारी बन्नु स्मरणीय सन्दर्भ हो । गगनले संसदीय दलको चुनावमा देउवासँग प्रतिस्पर्धा गर्दा विश्वप्रकाशले खुलेरै सघाएको प्रसंग त्यसको एउटा नजिर थियो । महामन्त्रीका रूपमा राष्ट्रिय परिदृश्यमा पनि यी नेताको भ्मूिका प्रभावी बन्दै थियो । एउटा अर्को उदाहरण हो, अमेरिकी विकास परियोजना (एमसीसी) को संसदीय अनुमोदन । त्यसक्रममा गगनको भ्मूिका सबैले महसुस गर्ने स्तरको रह्यो। एमसीसी अनुमोदनको मुद्दा राष्ट्रिय बखेडाको विषय बनिरहँदा उनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको स्त्रू अघि सारे । जो त्यो विवादको अवतरण गर्ने ‘बुटी’ बन्यो । एमसीसी अनुमोदनमा अरू नेताको प्रत्यक्ष र परोक्ष भ्मूिका नभएको होइन तथापि गगन त्यसमा ‘गेमचेन्जर’ देखिए । जसरी एमसीसी अनुमोदनमा गगनको भ्मूिका देखियो, अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोक्न पनि उनै अग्रसर बने ।
पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाउन भ्मूिका खेले । उनलाई थाहा थियो, संसदीय दलको नेतामा देउवालाई हराउने संख्या उनीसित छैन । पराजित हुन्छु भन्ने थाहा पाउँदा–पाउँदै देउवासँग लडे । तर, यी पहल र प्रयत्नहरू कांग्रेस सुधार्न पर्याप्त थिएनन्। दुवै महामन्त्रीले पार्टीभित्र सशक्त हस्तक्षेप गर्न नसकेकामा पार्टी पंक्तिको त आलोचना खेपेकै थिए, आफैं पनि निरीह महसुस गर्दै थिए । कांग्रेस सच्चिने कि सक्किने भन्ने मौसमी बहस चलिरहन्थ्यो, उनीहरू नेतृत्वसँग सम्झौता गर्न बाध्य भइरहन्थे । भदौको अन्तिम साता नेपाली राजनीतिमा आएको हुन्डरीले अवस्था बदलियो र यी दुई नेताले फेरि एक पटक कांग्रेस सुधार्ने अग्रसरता लिए । जसमा सफल पनि भए ।
गगन र विश्वप्रकाशबीच मिलेको ‘केमेस्ट्री’ को जग भावनात्मक होइन, राजनीतिक हो । अझ यसलाई रणनीतिक साझेदारी भन्दा पनि हुन्छ । कांग्रेसभित्रको संरचनागत परिवर्तनका लागि यी दुई नेताले जानीबुझी आवश्यकता महसुस गरेर गरिएको ‘सचेत सहकार्य’ हो यो ।
भदौ २३ को जेन–जी सडक प्रदर्शन र भदौ २४ मा भएको अराजक विध्वंसपछि संकटग्रस्त बनेको नेपाली राजनीतिमा यी दुईबीचको सहकार्य एक प्रकारले परिस्थितिजन्य बाध्यता पनि हो । लोकतन्त्रको आवरणमा दलतन्त्र अझ भनौं सीमित नेतातन्त्रको सिन्डिकेटको राज चलिरहँदा त्यसप्रतिको असन्तुष्टि र आक्रोश मात्रै बढेको थिएन, त्यसलाई भत्काउनुपर्ने माग पनि चारैतिरबाट भइरहेको थियो । कांग्रेसमा पनि १४ औं महाधिवेशनबाट महामन्त्री चुनिएका गगन–विश्वसामु त्यो दबाब थियो ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरण, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका लागि यी नेताले यसअघि पहल गरे पनि त्यो अपेक्षाकृत र पर्याप्त हुन सकेको थिएन । कहीँ न कहीँ उनीहरू पार्टीभित्रको ‘नम्बर गेम’ का सामु नतमस्तक थिए । जसका कारण उनीहरूले काफी आलोचनाहरू खेप्नुपर्यो । ‘ट्वीटरमा लेखेर र मिडियामा अन्तर्वार्ता दिएर कांग्रेस सुध्रिँदैन’ भनेर महामन्त्री लक्षित आलोचना र कटाक्ष व्यापक भए । तर, जेन–जी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिमा यी दुई नेताले पार्टी रूपान्तरणको बिँडो उठाए र विद्रोहकै तहसम्म डटे ।
कांग्रेस बदल्न यी नेताद्वयले जुन भूमिका खेले, महामन्त्रीका रूपमा दुवै उम्दा सावित भए अर्थात् पार्टी नेतृत्वको भारी बोक्न तिनको काँध दरिलो छ भन्ने पुष्टि भएको छ । विधानतः विशेष महाधिवेशन गरेर कांग्रेसलाई पुनर्जागृत गर्दै नेतृत्व फेर्न उनीहरू सफल भए ।
विशेष महाधिवेशनबाट गगन–विश्वले दिएको महत्त्वप्र्णू सन्देश हो, सहकार्यको राजनीतिक संस्कार र सामूहिक नेतृत्वको भावना । कांग्रेसमा सभापतिलाई शक्तिको केन्द्र मान्ने अभ्यास र प्रवृत्ति थियो । विशेष महाधिवेशनपछि कांग्रेसमा सामूहिक नेतृत्वको भावना बीजारोपण भएको छ ।
कांग्रेसको जस्तो ‘रिजिट’ पार्टीको नेतृत्व परिवर्तन सहज थिएन । पुस्तान्तरणको लडाइँमा अनवरत लड्दै आएका गगनलाई विश्वप्रकाशले यस्तो साथ दिए, जस्तो कुनै युद्धभ्मूिमा लडिरहेको योद्धालाई एउटा निपुण सारथिले दिन्छ । ऐतिहासिक दृष्टान्तहरू साक्षी छन्, युद्ध जित्न एउटा कुशल र योग्य योद्धा त चाहिन्छ नै, सँगै सारथि पनि निपुण हुनुपर्छ । जसले योद्धालाई उत्प्रेरित गर्दै विचलित हुनबाट रोक्छ र सही मार्गनिर्देश गर्छ । कांग्रेसभित्रको ‘महाभारत’ मा गगन र विश्वको भूमिका एउटा कुशल योद्धा र निपुण सारथिबीचको उदाहरणीय तालमेल थियो । विश्वप्रकाश गगनको सारथि बन्नबाट कतै चुकेनन्। उनले समकक्षी नेतालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर त्याग, सहकार्य र नवीन राजनीतिक संस्कारको उदाहरण पनि पेस गरेका छन्। योसँगै कांग्रेसमा सामूहिक नेतृत्वको अवधारणाले प्रवेश पाएको छ ।
अब जिम्मेवारी थपिएको छ । विश्वप्रकाशको प्रस्तावमा गगनलाई कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि गगनले लिखित संकल्प गरेका छन्, ‘पार्टी बदल्यौं, अब देश बदल्छौं ।’ देश बदल्ने संकल्प गरेर गगन–विश्व नेतृत्वको कांग्रेस निर्वाचनमा होमिएको छ । त्यस हिसाबले यी दुईको काँधको मजबुती फेरि एक पटक परीक्षणमा छ ।
विशेष महाधिवेशन यी नेताको सहकार्यको प्रतिफलको एउटा ‘ट्रेलर’ हो । जसले नयाँ नेतृत्व निर्माण गर्दै पार्टीमा जबर्जस्त हस्तक्षेप गर्न सक्यो । यी दुईबीचको सुझबुझपूर्ण सहकार्यको ‘क्लाइमेक्स’ हेर्नै बाँकी छ । त्यसकारण यो सहकार्यबाट पछि हट्ने अथवा तोड्ने सुविधा र छुट दुवैसँग छैन । बरु, उनीहरूसामु जबर्जस्त चुनौती छ । यी चुनौतीको सामना उनीहरूले कसरी गर्लान्, नागरिक पंक्तिले बडो चासोका साथ हेरिबसेको छ ।
अब पहिलो र दोस्रो चासोबारे कुरा गरौं । चुनावी मोर्चामा कति सफल होलान् ? र, पार्टीलाई संक्रमणबाट कसरी पार लगाउलान् ? आमवृत्तमा उठेका यी चासो नै दुई नेतासामु उत्पन्न ठूला चुनौती हुन् ।
मुलुक चुनावमय हुँदै गएको छ । कुनै अप्रत्याशित अनिष्ट नभएमा निर्धारित तिथिमा चुनाव हुने कुरा पक्कापक्कीजस्तै भएको छ । नयाँ नेतृत्वसहित कांग्रेस पनि चुनावी अभियानमा होमिएको छ । चुनावमा होमिँदै गर्दा कांग्रेस आन्तरिक कलहमै छ । यो पृष्ठभ्मूिमा पार्टीभित्रैबाट अन्तरघात भएर चुनावी नतिजा प्रभावित हुन सक्ने भय एकातिर छ भने अर्कोतिर भर्खरै चुनिएको आसलाग्दो नयाँ नेतृत्व छ । जसले जोखिम मोलेर धेरैजसो नयाँ अनुहारलाई उम्मेदवार बनाएर चुनावी मोर्चामा डटेको छ । यस पटकको चुनावमा नयाँ र पुरानाबीचको भिडन्त भन्ने भाष्य बनेको छ । दलका हिसाबले पुरानो भए पनि कांग्रेस आसलाग्दो नेतृत्वसहित चुनावमा होमिएकाले ऊसँग अवसर र चुनौती दुवै छ ।
नयाँ र वैकिल्पक शक्तिका नाममा अवसरवादी प्रवृत्तिको ठ्लूो पंक्ति चुनावमा खडा छ । योग्यता र भिजनभन्दा बढी प्रियतावाद र चटकमा रमाउने त्यो पंक्तिसँग न विचार छ न कुनै दीर्घकालीन कार्यक्रम र सोच नै । प्रविधिको चर्को दुरुपयोग गरेर मिथ्या प्रचारका भरमा नतिजा आफ्अूनुकूल पार्न प्रयत्नशील प्रवृत्तिसँग भिड्ने अवसर पनि छ कांग्रेसलाई । चुनाव व्यक्तिमुखी हुँदै गएका बेला कांग्रेसले यसलाई विचार र मुद्दामुखी बनाउने भ्मूिका खेल्न सक्छ । प्रस्ट चुनावी मुद्दा र त्यसको कार्यान्वयनको ओठे होइन, व्यावहारिक प्रतिबद्धतासहित जान सके कांग्रेसको नयाँ नेतृत्वले चुनावी मोर्चाको चुनौती पार गर्न सक्छ ।
चुनावमा पराजयका लागि प्रतिस्पर्धा गरिँदैन । जित्नु आवश्यक छ । तर, त्योभन्दा मुख्य कुरा कांग्रेसले गुमेको विश्वासको पुनःस्थापनामा जोड दिनुपर्छ । पार्टीको संरचनागत सुधार, अहिले हुर्किंदै गरेको राजनीतिक संस्कार र सामूहिक नेतृत्वको भावनालाई संस्थागत गर्ने कुरा कांग्रेसका लागि प्रधान मुद्दा हुनुपर्छ ।
कांग्रेसको पुरानो संस्थापन नयाँ नेतृत्वको वैधानिकता स्विकार्न सकिरहेका छैनन् । चुनाव आयोगले वैधानिकता घोषित गरिसक्यो । राजनीतिक रूपमा नयाँ नेतृत्वले वैधानिकता पाइसक्यो । तैपनि, पुरानो संस्थापन कांग्रेसमा भएको यो परिवर्तनलाई स्विकार्न आनाकानी गर्दै छ । यो आनाकानी र कलहका बीच चुनावमा जाँदाका जोखिम कांग्रेसलाई नभएको होइन । छ । तर, नयाँ नेतृत्वसामु कांग्रेसलाई उही पुरानै सत्ताकेन्द्रित पार्टी होइन, नागरिकमुखी राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने दायित्व छ । त्यसैले चुनावी नतिजाको चिन्ता नगरी नयाँ नेतृत्वले सबैभन्दा पहिले विशेष महाधिवेशनबाट आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नका लागि गरिएका प्रबन्धहरूको अक्षरशः पालना गर्न सक्नुपर्नेछ । लेखिएका र पारित गरिएका कुरा कार्यान्वयन नहुने रोग नै छ, नेपाली राजनीतिमा । त्यसबाट मुक्त हुन सक्नुपर्छ ।
राजनीतिलाई बिटुलो पार्ने अर्को रोग हो, अवसरवाद । कांग्रेसको नयाँ शक्तिकेन्द्र वरिपरि पनि अवसरवादी प्रवृत्ति भुनभुनाउन थालिसकेको छ । विभिन्न आवरणका राजनीतिक ‘फिक्सर’ हरू नेतृत्वनजिक पुगेर आफ्अूनुक्लू परिचालित गर्न लागिसकेका छन्। गगन–विश्वको नेतृत्व यहाँनेर चनाखो हुनुपर्छ । बरु, यो नेतृत्वले यो चुनावको सबैभन्दा ठ्लूो मुद्दा सुशासनको कार्यान्वयन चुनाव अगाडिबाटै प्रारम्भ गर्न सक्छ । जस्तो कि, उच्च ओहदामा बसेकाहरूको सम्पत्तिको अपारदर्शिता यतिबेलाको सबैभन्दा मुख्य मुद्दा हो । त्यसको छानबिन भोलि सरकारमा गएपछि गर्ने कुरा छँदै छ । अहिले कांग्रेसको नवोदित नेतृत्वले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर यो मुद्दाको आफ्बूाटै सम्बोधन आफ्बूाटै प्रारम्भ गरेर एउटा बलियो सन्देश दिन सक्नेछ । प्रचारमुखी र चुनावी रणनीतिका हिसाबले होइन, व्यवहारमै सुशासनप्रति प्रतिबद्ध भएको देखिने गरी कांग्रेसले यसो गर्न सके उपलब्धि नै होला । गगनले गुट भत्कियो भनेर घोषणा गरेका छन् । त्यसलाई व्यवहारमै उतार्न सके अर्को उपलब्धि हुनेछ ।
सारमा, चुनावमुखी हुने कि राजनीतिमुखी ? देश बनाउने संकल्प गरेका गगन–विश्वले देशलाई सपना देखाउन सक्ने कांग्रेस बनाउन सके यी दुईको जुगलबन्दीको सार्थकता प्रमाणित हुनेछ ।
