घरदैलोमा भोट माग्न आउने उम्मेदवार हाम्रो समाजको बिमार बुझ्न सक्षम छन् ? समयको गति नाप्न योग्य छन् ? कि सामाजिक सञ्जालको झ्ल्याकझुलुक संसारमा मात्रै फिट छन् ?
दलहरू असाध्यै भ्याइनभ्याईको चटारोमा छन् । त्यसै पनि समय घर्किन थालेपछि हतारोमा काम गर्ने ‘नेपाली शैली’ हामीले छोड्न सकेका छैनौं । भलै विधि र व्यवस्था जति बदलियोस् !
दलहरूले सिर्जना गरेको तमाम बेथितिले वाकवाकी भएपछि विस्फोट भएको जेन–जी विद्रोहले निर्धारित तालिकाभन्दा छिटो निर्वाचन आइपुगेको सत्य हो । तर, त्योभन्दा कठोर सत्य हो, दलहरू ढिला गर्न सिपालु छन् । यस्तो लाग्छ, हर काम ढिला र अलमस्त शैलीमा गर्नु नै उनीहरूको अर्को परिचय हो । समयको अन्तिम घडीमा दलहरू उम्मेदवार छान्ने हतारोमा छन् ।
तर, उनीहरूले कस्ता उम्मेदवार छान्दै छन् ? के संकटको यो समय पार लगाउन सक्ने ल्याकत भएका उम्मेदवार चुनावी मैदानमा देखिँदै छन् ? हामीसँग भोट माग्न आउने उम्मेदवार हाम्रो समाजको बिमार बुझ्न सक्षम छन् ? के तिनीहरू समयको गति नाप्न योग्य छन् ? कि तिनीहरू सामाजिक सञ्जालको झ्ल्याकझुलुक संसारमा मात्रै फिट छन् ? यो प्रश्न दलहरूलाई मात्रै होइन, मतदातालाई पनि हो ।
मौजुदा दलहरू आफ्नै अप्ठ्यारोमा छन् । गुट मिलाउने, उपगुटहरू मिलाउने अनि आफूमाथि कुनै प्रश्नै नगर्ने । मिलेसम्म अर्थको जोहो पनि गर्ने । नयाँ हुन् कि पुराना, सबै दलमा यिनै कुराहरू त लागू हुन्छन् । नयाँ दलहरू त समावेशी निर्वाचन प्रणालीकै हुर्मत लिन कस्सिएका छन् । पहुँच बाहिर रहेका, सीमान्तकृत–पिछडिएका क्षेत्र र वर्गका नागरिकको प्रतिनिधित्व होस् भनेर बनाइएको व्यवस्थाकै छिद्र खोज्न उनीहरू कस्सिएका छन् ।
दलहरूले समानुपातिक उम्मेदवारको टुंगो लगाइसके । त्यसमा कति नेपो बेबीहरू परे, कति आसेपासेहरू परे अनि कति नातागोताको फेर समातेकाहरू परे भन्नेबारे धेरै चर्चा गर्न पनि अहिले कसैलाई जाँगर देखिन्न । सामाजिक सञ्जालमा हाई–हाई कमाएका, तर समाजका पेचिला मुद्दामा बोल्न दकस मान्ने र विवादमा परिएला कि भनेर मौनता साँध्नेहरू पनि समानुपातिककै फेर समातेर राजनीतिको दहमा हामफाल्न आइपुगेका छन् ।
समानुपातिक होस् कि प्रत्यक्ष– दलका रंग–रंगका उम्मेदवारहरू अब हामीमाझ आइपुग्नेछन् । उनीहरू सार्वजनिक मञ्चमा, मिडियामा र सामाजिक सञ्जालमा मात्रै देखिने छैनन्, हाम्रो खेतखलियानमा आइपुग्नेछन् । करेसाबारीमा, जुठेल्नामा र गोठसम्मै धाउनेछन् ।
अनि हामी यसअघिका निर्वाचनमा जस्तै उनीहरूका कुरा चुपचाप सुन्नेछौं त ? बदलिएको समयमा हामी पनि बदलिएनौं भने जेन–जी विद्रोहमा बगेको रगतको मूल्य नै के रह्यो र ? छोरा/नाति पुस्ताले सडकमा आएर दलहरूभित्र मौलाइरहेको बेथिति र मोलाहिजाको कारोबारमाथि धावा बोलेको के अर्थ रह्यो र ?
जेन–जी विद्रोहको रापतापमा परेर दलहरू सच्चिन खोजेजस्तो गरिरहेका छन् । तर, उनीहरू अझै पुरानै धङधङीबाट मुक्त भइसकेका छैनन् । त्यसैले उनीहरूले खडा गर्ने उम्मेदवारमाथि नागरिक निगरानी जरुरी छ । के हाम्रा उम्मेदवारलाई नेपाली समाजका जटिलताहरूबारे थाहा छ ? उनीहरूमा राम्रो भाषण गर्न सक्ने, तत्काल जवाफ फर्काउन सक्ने वाकपटु शैली, मिठो बोल्ने आदत र चिरिच्याट्ट अदबका अलाबा अरू के कुराको ज्ञान छ ? समाजका स–साना उल्झनबारे उनीहरू कति जानकार छन् ?
भुइँतहका नागरिकबारे उनीहरूको बुझाइ के हो ? समाजमा विद्यमान जातप्रथाबारे उनीहरूको दृष्टिकोण के हो ? पितृसत्ताबारे उनीहरूको धारणा के हो ? सुदूरपश्चिममा जरा गाडेको र देशैभर महिला कँज्याउने सांस्कृतिक औजारका रूपमा विद्यमान छाउप्रथाबारे उनीहरूको बुझाइ के हो ? मिटरब्याजको पासो यो देशका कति लाख भुइँ नागरिकको गलामा कसिएको छ भन्नेबारे उनीहरूलाई थाहा छ कि छैन ?
नेपालगन्जबाट नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका निम्ति रुबी खानहरू पैदलै हिँडेर संघीय राजधानी धाएको, हिँड्दाहिडँदै तिनका खुट्टा पट–पट फुटेको अनि काठमाडौंको चिसो सिरेटोमा तिनीहरूले राज्यबाट दुर्व्यवहार सहेको घटनाबारे तिनीहरू जानकार छन् ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक कति नेपाली कफिनमा आउँछन् र यसको अर्थ–राजनीति के हो भन्नेबारे उनीहरूको बुझाइ के छ ?
नेतृत्वको गोजीबाट निस्कने केही थान नामहरू र टिकट वितरण समितिमा सदस्यहरूले छानेका केही थान नामहरू नै हाम्रा उम्मेदवार हुन् भन्नेमा धेरै संशय त छैन । तर, जान्नुपर्ने कुरा के छ भने के दलहरूले उम्मेदवारहरूको ‘डिजिटल फुटप्रिन्ट’ केलाएका छन् ? बेला–बेला सामाजिक सञ्जाल ‘एक्स’ मा केही व्यक्तिका ‘डिजिटल फुटप्रिन्ट’ छरपस्ट भइरहेको देखिन्छ ।
त्यसमा एउटै घटनाबारे फरक–फरक समयमा व्यक्तिले सार्वजनिक गरेका विपरीत धारणा देख्न पाइन्छ, जसले समय र स्वार्थअनुसार ती व्यक्ति कसरी आफ्नै विचार र बुझाइ बदल्छन् भन्ने थाहा हुन्छ । कतिपय ‘डिजिटल फुटप्रिन्ट’ले समाज कठिन घडीमा गुज्रिरहेका बेला ती व्यक्तिले कसरी मौनता साँधेका थिए भन्ने बुझाउँछ । उनीहरू कति अस्थिर छन् र स्वार्थको बहावसँगै कसरी बग्छन् भन्ने पनि बुझाउँछ ।
अनि उनीहरू सबैको ठिक्क हुन् वा विवादमा परिन्छ कि भन्ने अति सजगताका कारण सामाजिक घटनाक्रमबारे आफ्नो पक्षधरता सार्वजनिक गर्न पनि हच्किन्छन् । अनि उनीहरूको मौनताको मूल्य पिँधमा रहेका र निर्धा नागरिकले न्याय नपाएर वा इमान गुमाएर चुकाउँछन् ।
आफ्नो विगतप्रति उम्मेदवारहरू कति जवाफदेही छन् ? कति क्षमाशील छन् ? उनीहरू नागरिकका सामान्य प्रश्नबाटै डराउने स्वभावका छन् कि घृणा र ओठेजवाफको रेडिमेट उत्तरहरू झोलामा बोकिहिँड्ने खालका ? उनीहरू सामाजिक सञ्जालमा झुल्किरहने, नागरिकको उपस्थितिबाट पर–पर बस्न रुचाउने शैलीका छन् कि ? कम्तीमा यति विषयमा हामीले प्रश्न गरेनौं भने फेरि ५ वर्ष हामीसँग थकथकी हुनेछ । छटपटी हुनेछ । अनि हुनेछ आफैंप्रतिको दिग्दारी । समयको त्यो घडीमा यो समाजलाई उतार्न कोही आउनेछैन । आयो भने जेन–जी विद्रोहजस्तै कुनै हुरी आउनेछ र धैरै कुरा उडाएर लैजानेछ । त्यतिबेला पछुताउनुबाहेक हामीसँग अरू के नै बाँकी रहला र ?
भुइँतहका नागरिकको उहापोहबारे उम्मेदवारहरू कति जानकार छन् ? गरिबी कति धारिलो छ र त्यसले कसरी नागरिकको आँसु र रगत पिइरहेको छ भन्नेबारे उनीहरूलाई सामान्यसम्म पनि अन्दाज छ कि छैन ? ‘इकान्तिपुर’ को दैनिक स्तम्भ ‘घरखर्च’ मा हरेक दिन नागरिकका स–साना दुःख र उल्झनका कथा छापिन्छन्, जसबारे विचार र विमर्शमा लागिपरेका धेरै बेखबर छन् । राजनीति गर्छु भन्नेहरू बेअन्दाज छन् । उनीहरूका कुरा हाम्रो विमर्शमा अटाउँदैनन्, नीतिहरूमा समेटिँदैनन् ।
के हाम्रा उम्मेदवारहरू भुइँमान्छेका यस्ता सुखदुःख र संघर्षबारे जानकार छन् ? छन् भने उनीहरूले यसको गहिराइ कति नापेका छन् ? यसको फैलावट कति बुझेका छन् ? अनि यो परिस्थितिका निम्ति हाम्रो सामाजिक संरचना कति जिम्मेवार छ ? हाम्रो प्रणालीका कुन चाहिँ छिद्रको दोख छ ? यसबारे उनीहरूको बुझाइ कति फराकिलो छ ?
सरकारले सुरु गरेको स्वास्थ्य बिमा आफैं बिमारी परेको छ । सार्वजनिक स्वास्थ्य प्रणाली तहसनहस छ । सार्वजनिक शिक्षा अन्तिम सास फेर्न लागेको बिरामी जस्तो हालतमा छ । सार्वजनिक सेवा प्रवाह त सरकारी कार्यालयका झ्याल–झ्यालमा झुन्डिरहेकै छ । वर्षौंदेखि राजनीतिका तानाबानाले हाम्रो प्रणालीलाई यति कमजोर बनाएको छ कि बहुसंख्यक नागरिक हरदिन, हरमोडमा कि धुरुक्कै भएर रुन कि कसैका अगाडि जम्लाहात जोडेर सहयोगको याचना गर्न बाध्य छन् । यस्तै नागरिकहरू हाम्रा मतदाता हुन भन्नेसम्मको सामान्य ज्ञान हाम्रा उम्मेदवारलाई थाहा छ कि छैन ?
काम गर्न सक्ने उमेरको जनसंख्या घट्दो र आश्रित जनसंख्या बढ्दो हाम्रो यथार्थ हो । हरेक दिन २ हजारको हाराहारीमा काम गर्ने जनशक्ति सस्तो श्रममा खाडीका देशमा जानु हाम्रो वर्तमान हो । युरोप र अमेरिकाका देशमा गैरकानुनी रूपमा छोराछोरी पठाउन लालायित बाबुआमाहरू र तिनको मनोविज्ञान हाम्रो कठोर धरातल हो । मानव तस्करीको फन्दामा परेर अन्यायको दहमा जाकिएका हजारौं नागरिक पनि हाम्रा मतदाता नै हुन् । अड्डा–अदालत धाउँदा धाउँदै उमेरका महत्त्वपूर्ण दिन गुमाएका जनताहरू पनि हाम्रै समयका उत्पादनहरू हुन् । तर, के यस्ता कठोर प्रश्नबारे हाम्रा उम्मेदवार जानकार छन् ? के यस्ता विषय उनीहरूले चुनावी–दौरान बहसको विषय बनाउन सक्छन् ?
उम्मेदवारको ठूलो लर्को अबका केही दिनमै गाउँ र देहातमा छिर्दै छन् । हाम्रो टोल–मुहल्लामा आउँदै छन् । कार्यकर्ताको लस्कर लगाएर, उम्मेदवारभन्दा अघि सोसल मिडियाका टिम पठाएर उनीहरू हामीसँग साखुल्ले पल्टने प्रयासमा हुनेछन् । तर, अब उनीहरूलाई हामीले पहिले–पहिले जस्तै के दिन्छौं वा के ल्याउँछौं भनेर सोध्ने कि समाजका पेचिला सवालमा तिम्रो धारणा के हो भनेर सोध्ने हो ? तिम्रो ‘डिजिटल फुटप्रिन्ट’मा त यस्तो–यस्तो देखियो भनेर सोध्ने हो ? तिमी घृणाकै कारोबार गर्न आएका हौं कि आशाको सञ्चार गर्न ? तिमी हुन नसकेका कुराको पुरानै फेहरिस्त सुनाउन आएका हौं कि आफूले गर्न सक्ने इमानदार प्रयासहरूबारे हामीलाई बुझाउन आएका हौं ?
बदलिएको समयसँगै हामी बदलिन सक्यौं भने निर्धारित समयभन्दा पहिले नै हाम्रो दैलोमा आएको निर्वाचनले यो देशको स्वरूप र शैली बदल्ला, होइन भने नयाँ–नयाँ नारा र भाका बोकेर आएकाहरूको उधारो आश्वासनको उच्चाटले हाम्रो लोकतन्त्र विकृत पारिरहला !
