राजनीति सेवा कि पेसा ?

कहिलेसम्म हामी राजनीतिलाई जीविकाको साधन बनाउनेहरूको भरिया बनेर बाँच्ने ? युवाहरूले दुई दिनको फाइदाका लागि कहिलेसम्म नेताको झोले बनेर भोलिको भविष्य साटिरहने ? बुझाइ, विवेक र आत्मसम्मान कहिले जाग्ने ?

माघ ६, २०८२

सम्झना देउजा

Politics as a service or a profession?

राजनीति सेवा हो कि पेसा ? आजको नेपाली राजनीतिको यो एक गम्भीर प्रश्न हो । पछिल्ला दशकमा देखिएको अभ्यासले राजनीति क्रमशः ‘पेसा’ बन्दै गएको आभास हुन्छ । सत्ता, सुविधा र व्यक्तिगत लाभ राजनीतिका मुख्य प्रेरणा बनेका छन् ।

त्यसैले राजनीति जनताको जीवन बदल्ने साधन होइन, केही व्यक्तिको निजी पेसा बनिरहेको छ । तर, वास्तवमा राजनीति पेसा हुनुहुँदैन, होइन । यो समाज रूपान्तरणको जिम्मेवारीपूर्ण माध्यम हो । अन्य उत्पादनमूलक पेसा गरेर यसलाई अल्पकालीन जिम्मेवारीका रूपमा लिए मात्रै राजनीतिले ठीक बाटो समात्नेछ ।

समाज परिवर्तन सधैं सत्तामै पुगेर मात्रै सम्भव हुन्छ भन्ने एक भ्रम हो । हो, नीति निर्माण र राष्ट्रलाई सुमार्गमा लैजान सत्तामा पुग्दा पक्कै सजिलो हुन्छ । तर, सबै कुरा राजनीति र सत्ता मात्रै होइन । इतिहासले देखाएको छ– सत्ता बाहिरबाट पनि समाज बदल्न सकिन्छ ।

नागरिक आन्दोलन, सामाजिक अभियान, बौद्धिक हस्तक्षेप, सचेत नागरिक समूह र वैकल्पिक अभ्यासले सत्ता बाहिरैबाट ठूला परिवर्तनका आधार तयार पारेका छन् । महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, वातावरण संरक्षणजस्ता धेरै मुद्दा सत्ताको केन्द्रभन्दा बाहिर उठेका आवाजकै कारण स्थापित भएका हुन् । सत्ता त अन्तिम चरण हो, परिवर्तनको वास्तविक शक्ति समाजमै हुन्छ ।

हिंसात्मक आन्दोलनलाई कतिपयले छिटो परिवर्तनको उपाय ठान्छन् । तर, अनुभवले देखाएको छ– हिंसाबाट प्राप्त जित प्रायः अस्थायी हुन्छ । हिंसाले सत्ता त बदल्न सक्छ, तर प्रवृत्ति बदल्न सक्दैन । बन्दुकले शासन त उल्ट्याउन सक्छ तर सोच, संस्कार र शक्ति संरचना लोकतान्त्रिक बनाउन सक्दैन । त्यसैले हिंसात्मक आन्दोलनले ल्याएको परिवर्तनले धेरैजसो पुनः उही दुश्चक्रमा फस्ने जोखिम बोकेको हुन्छ । यतिखेर नेपालमा पनि त्यही नियति दोहोरिने स्थिति देखिनु दुःखलाग्दो छ । 

आजको सन्दर्भमा सबैभन्दा ठूलो आवश्यकता व्यापक सामाजिक जागरणको हो । सचेत नागरिक र तिनको जागरणबिना राजनीतिक परिवर्तन दिगो हुँदैन । जबसम्म जनता सचेत, संगठित र प्रश्न गर्न सक्षम हुँदैनन्, तबसम्म जुनै शक्ति सत्तामा पुगे पनि प्रवृत्ति उस्तै रहन्छ ।

पात्र फेरिए पनि प्रवृत्ति उही रहने नेपाली राजनीतिको यथार्थ यही व्यापक जागरणको अभावसँग जोडिएको छ । सचेत नागरिक नर्जुमुराएसम्म नेताहरू बदलिन्छन्, दलहरू बदलिन्छन्, तर सत्ताको प्रयोग गर्ने शैली, भ्रष्ट अभ्यास र जनताप्रतिको उदासीनता उस्तै रहन्छ । त्यसैले व्यापक नागरिक सचेतता र विवकपूर्ण निर्णय नै अहिलेको आवश्यकता हो । 

अबको चुनावमा दलको झन्डा र नाराभन्दा माथि उठेर उम्मेदवारको चरित्र, प्रतिबद्धता, विगतको अभ्यास र जनताप्रतिको जवाफदेहिता हेर्नु अति आवश्यक छ । दलका नाममा गलत अभ्यास स्वीकार्नु लोकतन्त्र कमजोर बनाउने कर्म हो । सचेत मतदाताबिना लोकतन्त्र खोक्रो हुन्छ ।

समाज परिवर्तन कुनै एक दल, एक नेता वा एक आन्दोलनको जिम्मा होइन । यो दीर्घकालीन प्रक्रिया हो, जसको आधार जनचेतना, नैतिक राजनीति र निरन्तर नागरिक दबाब हो । राजनीति पेसा होइन भन्ने बुझाइ स्थापित नगरी, सत्ता बाहिरबाट समाज बदल्न सकिन्छ भन्ने आत्मविश्वास नजगाई र व्यापक जागरणबिना दिगो परिवर्तन सम्भव छैन । यही सत्य मनन गर्नु आजको नेपाली समाजको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो ।

भदौ २३ को आन्दोलनमा मारिएका युवाको परिवार आज पनि असह्य पीडाबाट मुक्त हुन सकेका छैनन् । होनहार युवाको मृत्युको पीडा एकातिर छ, अर्कोतिर देशको इतिहास, संघर्ष र बलिदानले बनेको अमूल्य सम्पत्ति ध्वस्त भएको छ । हाम्रो पसिना, रगत र आशाले बनाएको देशलाई जथाभावी तोडफोड गरियो । अन्ततः कसको स्वार्थका लागि ?

आन्दोलनपछि उदाएको नयाँ नेतृत्व देख्दा त्यो दिन लाग्यो– अब न्याय बोल्नेछ, सत्य जित्नेछ र देश नयाँ बाटोमा हिँड्नेछ । तर, समयसँगै यथार्थले एउटा कटु पाठ सिकायो– सत्तामा अनुहार फेरिनु मात्रै समाधान रहेनछ, व्यवस्था नै रूपान्तरण हुनुपर्ने रहेछ । अझ त्योभन्दा पनि सत्तामा पुग्नेको मानसिकता फेरिनुपर्ने रहेछ । 

कहिलेसम्म हामी राजनीतिलाई जीविकाको साधन बनाउनेहरूको भरिया बनेर बाँच्ने ? युवाहरूले दुई दिनको फाइदाका लागि कहिलेसम्म नेताको झोले बनेर भोलिको भविष्य साटिरहने ? बुझाइ, विवेक र आत्मसम्मान कहिले जाग्ने ?

ठूला–ठूला भाषण, फूलमाला र नक्कली गर्वले भरिएका खोक्रा वाचा क्षणभरमै हावामा हराउँछन् । हामी जनता, जसले उनीहरूलाई चुनेर सिंहासनमा पुर्‍यायौं, आज तिनैको चरणमा टाउको झुकाएर ‘ठूलो मान्छे’ भन्दै आफैंलाई गुलाम बनाइरहेका छौं ।

हामी कति बेरोजगार छौं भन्ने वास्तविकता चुनाव आउनु ६ महिनाअगाडि नै सुरु हुने गोष्ठी, महाधिवेशन, आमसभा र पार्टी कार्यालयमा देखिने भीडले प्रस्ट पार्छ– काम छैन, तर झन्डा बोक्न समय र ऊर्जा प्रशस्तै छ । प्रश्न झन् गहिरिँदै छ– यो राजनीतिक जञ्जालबाट कहिले मुक्त हुन्छौं ? २०७९ को चुनावमा केही नयाँ अनुहारले जित हासिल गर्दा आशाका मसिना किरण देखिएका थिए, अब केही फरक हुन्छ कि भन्ने विश्वास पलाएको थियो तर आज तिनैमध्ये दुई–चार जना पद र कुर्सीका लागि मरिमेटी गरेको देख्दा ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने उखान यथार्थ बनेर उभिन्छ । जो नेता आए पनि समाजको सतहमा प्रश्न उही छ– कहिलेसम्म हाम्रा युवा परिवारको दुई छाक टार्न ४० डिग्रीको अरबको घाममा तड्पिइरहने ? 

नेताहरूमाथि दोष थोपरिरहँदा आफैंलाई पनि प्रश्न गर्न मन लाग्छ– मतदानका बेला हामी किन विवेक पुर्‍याउन सक्दैनौं ? हाम्रो गलत निर्णय दोहोर्‍याउने बानी कहिले टुट्छ ? जबसम्म जनताले आत्मसम्मान, भोक र विवेकबीच सही छनोट गर्न सिक्दैनन्, तबसम्म दोष केवल नेतामै थुपारेर हामी निर्दोष बन्न सक्दैनौं । किनभने गलत व्यवस्थाको निरन्तरता हामीले दिएको गलत समर्थनकै परिणाम हो ।

पार्टीको झन्डामा हामीलाई जति गर्व छ, त्योभन्दा बढी देशको झन्डामा गर्व गर्ने हो भने आज देशमा एकता र फरक समृद्धि देखिने थियो । आजको सानो फाइदाका लागि भोलिको सपना साट्नु भयानक घाटा हो । हामी कुनै दलको झन्डामुनि होइन, आफ्नै सोच र श्रममाथि उभिनु जरुरी छ ।

सम्झना

Link copied successfully