निगमको ऋणदेखि व्यवस्थापन खर्चसम्ममा जोडिने करदाताले पनि बोझको रूपमा यो संस्थालाई औंल्याउने गरेका छन् । यतिबेला उसका दुवै न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएका छन् ।
नेपाल वायु सेवा निगमबारे नेपाली नागरिकले सकारात्मक खबर विरलै सुन्न पाउँछन् । किनकि, भ्रष्टाचार, बेथिति, अव्यवस्थापन, उडानमा ढिलाइ, उडान स्थगित जस्ता घटनाले निगमलाई समाचारको केन्द्रमा ल्याइपुर्याउने गरेको छ ।
जसले गर्दा निगमको विमान प्रयोग गरेर यात्रा गर्ने स्वदेशी–विदेशी यात्रुले दैनिक जसो हैरानी खेप्नुपरेको छ । निगमको ऋणदेखि व्यवस्थापन खर्चसम्ममा जोडिने करदाताले पनि बोझको रूपमा यो संस्थालाई औंल्याउने गरेका छन् । यतिबेला उसका दुवै न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएका छन् ।
जसकारण ती विमानबाट देशबाहिर जान र विभिन्न देशबाट नेपाल आउन अग्रिम टिकट लिएका यात्रुहरू अलपत्र परिरहेका छन् । अन्तिम समयमा निगमले जसोतसो यात्रुको व्यवस्थापन गर्नुपरेको छ । तर, त्यसले यात्रुलाई पुग्ने दुःख, त्यसबाट निगमप्रति बन्ने नकारात्मक धारणा र आगामी दिनमा निगमका विमानबाट यात्रा गर्न अनिच्छा राख्ने जस्ता पक्षलाई ख्याल गर्दा निगमलाई तत्कालीन मात्रै नभई दीर्घकालीन अहित भइरहेको प्रस्ट छ ।
निगमको ‘सगरमाथा’ नामक न्यारोबडी विमान शुक्रबार राति बैंककबाट काठमाडौं फर्किएपछि प्राविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको हो । अर्को न्यारोबडी ‘लुम्बिनी’ १४ पुसमै इन्जिन प्रतिस्थापनका लागि इजरायल रहेकै समयमा ‘सगरमाथा’ मा पनि समस्या आएको हो । यसबाट प्रथमतः यात्रुमा दुःख र अन्योल थपिएको छ । जस्तो कि, ‘सगरमाथा’ बाट शुक्रबार राति चीनको ग्वाङझाउ जाने १०५ यात्रुलाई अन्तिम समयमा विमानस्थलबाट होटलमा फर्काउनुपरेको थियो ।
यात्रुलाई ‘चेक–इन’पछिको विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष (स्टेराइल हल) मा प्रवेश गराइसकेपछि समेत उडान रद्द गरिएको भन्दै यात्रु आक्रोशित भई निगमका कर्मचारीमाथि दुर्व्यवहार र हातपातसमेत गरेका थिए । ग्वाङझाउ जानुपर्ने यात्रुलाई निगमले १२ घण्टापछि शनिबार मात्र उडान गरायो ।
उता ग्वाङझाउमा पनि १३० यात्रुलाई निगमकै खर्चमा होटलमा राख्नुपरेको थियो । जहाज अभावकै कारण हङकङ जानुपर्ने ८८ र उताबाट नेपाल फर्कनुपर्ने ७६ यात्रुको टिकट रकम पूर्ण रूपमा फिर्ता गर्नुपरेको छ ।
यात्रुहरूले हैरानी पाउने र त्यसले अन्तर्राष्ट्रिय प्रतिष्ठा गुम्ने त छँदै छ । निगमले आर्थिक घाटा पनि बेहोर्नुपर्छ । यसको दुई पक्ष छन् । पहिलो, जहाज ‘ग्राउन्डेड’ हुँदा ‘सेड्युल’मा गरिएका उडानसमेत रद्द गरिनुपर्छ । निगमले २६ पुसपछि बैङलुरु, २९ पुसमा हङकङ, ३० पुसमा बैंकक र दुबईका उडान जहाज अभावका कारण रद्द गरिसकेको छ । उडान हुँदा हुने आम्दानी स्थगित भएसँगै गुम्छ ।
दोस्रो, अन्तिम समयमा उडान नहुने भएपछि टिकट लिएर बसेका यात्रुको व्यवस्थापन गर्नुपर्छ । तत्कालका लागि होटलमा राख्नेदेखि अन्य विमानमार्फत यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ । एकातिर आम्दानी गुम्ने, अर्कोतिर खर्च बढ्ने गर्छ ।
बैङलुरु, हङकङ, बैंकक र दुबईका उडान रद्द हुँदा दुईतर्फी गरी कम्तीमा एक हजार यात्रुको व्यापार निगमले गुमाउनुपरेको छ । यसबाट ऋणको भारले थिचिएको निगमलाई करिब १० करोड घाटा लागेको छ । जबकि, न्यारो र वाइडबडी जहाजलगायतका खरिदमा लिएको समेत गर्दा निगममाथि यसअघि नै ५२ अर्बको ऋणभार छ ।
न्यारोबडी विमान ‘ग्राउन्डेड’ भएपछि वाइडबडीमाथि दबाब बढेको छ । न्यारोबडी नचलेपछि निगमले बाध्य भएर जापानलगायत लामो दूरीमा उड्ने दुवै वाइडबडी विमान छोटो दूरीका उडानमा पनि प्रयोग गरिरहेको छ । यसबाट यात्रुको व्यवस्थापनमा केही सहजीकरण त भएको छ, तर वाइडबडी इन्जिनमा गम्भीर दबाब सिर्जना पनि भइरहेको छ ।
किनकि, निगमका वाइडबडी विमानको कुल उडान साइकल ६ हजार हुन्छ । हाल ‘अल्फा लिमा यान्की’ वाइडबडीको करिब ५ सय र ‘अल्फा लिमा जुलु’ वाइडबडीको करिब ८ सय साइकल मात्र बाँकी छ । दुवै विमानको अर्को महिना इन्जिन ‘ओभरहल’ अर्थात् विस्तृत मर्मतमा जानुपर्ने पालो छ । त्यसैले छोटो दूरीमा वाइडबडी प्रयोग गर्दा उडान साइकल छिट्टै सकिन्छ । जसले निगमलाई थप आर्थिक नोक्सानी पुर्याउँछ ।
अघिल्लो वर्ष फागुनमा चारमध्ये तीन विमानमा उस्तै समयमा समस्या आएको थियो । त्यतिबेला ‘सी–चेक’का लागि चीन पुगेको सगरमाथा न्यारोबडी भुक्तानीमा समस्या सिर्जना भएर उतै थन्किएको थियो । लुम्बिनी न्यारोबडीमा अगाडिको पाङ्ग्रामा समस्या देखिएपछि साउदी अरबमा थन्किएको थियो । साउदी एयरलाइन्सको सहायतामा मर्मत गरेर फर्किएपछि पुनः समस्या देखिएका कारण निगमले विमानस्थलस्थित मर्मतशालामा राखेको थियो ।
वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकिएको थियो, त्यहाँबाट मर्मत गराएर ल्याएपछि पनि इन्धनसम्बन्धी समस्याका कारण ‘ग्राउन्डेड’ गरिएको थियो । विमान कम हुनु एउटा समस्या हुँदै हो, चारमध्ये तीन वटामा एकसाथ समस्या आउने स्थिति पनि अर्को समस्या हो । त्यसैले नियमित मर्मतसम्भारको समयलाई रणनीतिक ढंगले व्यवस्थापन नगर्ने हो भने पटकपटक समस्या निम्तिने गर्छ । यस पक्षमा निगम संवेदनशील हुन आवश्यक छ ।
