नेताले रोजेका होइन, जनताले खोजेका उम्मेदवार देऊ

भ्रष्टाचारको आरोप लागेका, पदीय जिम्मेवारी पूरा नगरेका, अघिल्लो निर्वाचनमा गरेका वाचा अलपत्र छाडेका, गुन्डा नाइकेहरूले सुशासनको एजेन्डा बोक्न सक्दैनन् । त्यसको वकालत गर्ने सामर्थ्य पनि राख्दैनन् । अब पनि त्यस्ता व्यक्तिलाई टिकट दिनु भनेको जेन–जी आन्दोलनको भावना र सन्देशलाई अवमूल्यन गर्नु हो ।

माघ ५, २०८२

सम्पादकीय

Give the candidates the people want, not the ones chosen by the leaders.

What you should know

२१ फागुनको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन दलहरू अन्तिम कसरतमा छन् । १६५ सिटका लागि मंगलबारदेखि बिहीबारसम्म उम्मेदवारी दर्ता भएसँगै निर्वाचनको माहोल अझै तातिनेछ, निर्वाचन क्षेत्रसम्मै चुनावी तरंग विस्तारित हुनेछ । विशिष्ट पृष्ठभूमिमा निर्वाचन हुन लागेकाले दलहरूले अघि सार्ने उम्मेदवारबारे नागरिकमा चासो छ ।

त्यसैले दलहरूले आफ्नो उम्मेदवार टुंग्याउँदा आसेपासेलाई भन्दा अहिलेको विशेष समयको बोध गर्न र यसले माग गर्ने एजेन्डा बोक्न सक्छन् कि सक्दैनन् भनेर हेक्का राख्न जरुरी छ । कतिपय निर्वाचन क्षेत्रका लागि दलहरूले टुंगो लगाएका उम्मेदवारप्रति मिश्रित प्रतिक्रिया आइरहेको छ । यसप्रति पनि दलहरू गम्भीर हुनुपर्ने छ ।

स्वच्छ छवि, लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिबद्ध, विगतमा पाएको पदप्रति न्याय गरेका, सम्भावना बोकेका नयाँ अनुहारलाई दलहरूले प्राथमिकता दिए भने त्यसले निर्वाचनलाई स्वस्थ बनाउनेछ, नागरिकको सार्वभौमिकता उपयोगको सुन्दर अवसरमा रूपान्तरण गर्नेछ ।

दलहरूले समानुपातिकतर्फको बन्दसूची १३–१४ पुसमा बुझाइसकेका छन् । त्यतिबेला दलहरूले बुझाएको सूचीमा रहेका नामहरूको प्रशस्तै आलोचना भएको थियो । पुराना, पटकपटक सांसद र मन्त्री भइसकेका, विभिन्न निकायमा रहेर अवसर पाइसकेका, आफ्नो पेसामा सफल भएर सामाजिक पुँजी र प्रतिष्ठा आर्जन गरिसकेका, आर्थिक र सामाजिक रूपमा सबल व्यक्तिलाई नै बन्दसूचीमा राखिएको भन्दै आलोचना भएको थियो ।

यस्तो सूची बुझाउनेमा पुराना राजनीतिक दल मात्रै होइन, नयाँ भनिने दलहरूसमेत थिए । सूचीमा दिइएको प्राथमिकताकै कारण पुराना वा नयाँ सबै दल उस्तै हुन् भन्ने धारणा प्रवाह भएको थियो । त्यतिबेलाको कमजोरी सच्याउने अवसर दलहरूलाई छ । प्रस्ट विधि अपनाउने र पार्टीभित्र सामूहिक निर्णय हुने गरी लोकतान्त्रिक अभ्यासद्वारा उम्मेदवार टुंगो लगाउने हो भने सुधार हुन सक्छ । त्यस्ता उम्मेदवारप्रति पार्टीपंक्तिको अपनत्व पनि बढ्छ ।

दलहरूले गुन्डा नाइके, विभिन्न प्रकरणका आरोपित, पटकपटक निर्वाचन जितेर पनि विधायिकी भूमिका निर्वाह गर्न नसकेका, राजकीय पदको प्रभावलाई दुरुपयोग गरेका नेताहरूलाई उम्मेदवार बनाउँदा जनतामाझ निर्वाचनप्रति नै उत्साह हराउँछ । अपनत्व न्यून हुन्छ । जनताको उत्साह र सक्रिय सहभागिता नरहेको चुनाव लोकतन्त्रको प्राविधिक कार्यक्रम मात्रै बन्छ । त्यस्तो चुनावले राजनीति त चल्छ, जनताको आशा वृद्धि भने गर्दैन ।

यसर्थ दलहरू दागीबाट अलग रहनुपर्छ । टिकटकै लागि पार्टी अदलबदल गरेर चरम अवसरवादी चरित्र प्रदर्शन गर्न खोज्नेहरूबाट अलग रहनुपर्छ । राजनीतिक मुद्दा नभएका तर ‘मनी’ र ‘मसल’ का आडमा चुनाव जित्न चाहनेहरूबाट अलग रहनुपर्छ । राजनीतिक मुद्दा बोकेका, विचार र सिद्धान्तमा प्रस्ट भएका, नीति र विधि निर्माणप्रति रुचि भएका राजनीतिक व्यक्तिहरूले टिकट पाउने हो भने आगामी संसद् खासमै व्यवस्थापिकाका रूपमा बलियो बन्नेछ । जनमैत्री कानुन बन्नेछन् । सरकारप्रतिको निगरानी पनि बलियो हुनेछ ।

दलहरूले ख्याल गर्नुपर्ने अर्को पक्ष हो– संविधानका प्रावधान र लोकतन्त्रका प्रक्रियाप्रति प्रतिबद्धता । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता अहिलेको संविधानको मूल खम्बाहरू हुन् । संविधानप्रति सहमत पक्षले यीप्रति प्रतिबद्ध व्यक्तिहरूलाई उम्मेदवार बनाए भने अहिलेको व्यवस्था नै बलियो हुनेछ । अर्कोतर्फ, संविधानका मूलभूत प्रावधानप्रति असहमत राख्ने राजनीतिक पार्टी र व्यक्ति पनि समाजमा छन् ।

उनीहरू पनि निर्वाचनमा भाग लिने नै छन् । उनीहरूले पनि संघीय संसद्मा बलियो उपस्थिति जनाएर संवैधानिक प्रक्रियाबाटै आफूले खोजेको जस्तो परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास राख्नुपर्छ । त्यसका लागि ती दलले ‘संवैधानिक प्रक्रियाबाट संविधानमा आफूले चाहेजस्तो सुधार’ को सूत्र अवलम्बन गर्न सक्छन् । जनतालाई अपिल गर्न सक्छन् । राजनीतिक मुद्दाप्रति स्पष्टता र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता हुन सक्यो भने राजनीतिमा पारदर्शी प्रतिस्पर्धा हुँदै जानेछ । 

त्यस्तै, जेन–जी आन्दोलनको मर्मको बोध पनि अर्को अपरिहार्य विषय हो । २३ र २४ भदौको जेन–जी आन्दोलनले अहिलेको राजनीतिक कोर्स तय गरेको हो । यस आन्दोलनका केही मूलभूत विषय छन् । सुशासन, नीतिगत प्रस्टता, नयाँ पुस्तालाई राजनीतिक जिम्मेवारी जस्ता विषय आन्दोलनले खोजेको छ । यसका लागि दलहरूको दुई किसिमको जिम्मेवारी छ । पहिलो, उम्मेदवार नै यस्तो चयन गर्न सक्नुपर्‍यो कि ऊ सुशासनको योद्धा हुनेछ भनेर जनताले पत्याउन् ।

भ्रष्टाचारको आरोप लागेका, पदीय जिम्मेवारी पूरा नगरेका, अघिल्लो निर्वाचनमा गरेका वाचा अलपत्र छाडेका, गुन्डा नाइकेहरूले सुशासनको एजेन्डा बोक्न सक्दैनन् । त्यसको वकालत गर्ने सामर्थ्य पनि राख्दैनन् । अब पनि त्यस्ता व्यक्तिलाई टिकट दिनु भनेको जेन–जी आन्दोलनको भावना र सन्देशलाई अवमूल्यन गर्नु हो । यस सन्दर्भमा नागरिक समाजको भूमिका अपेक्षित छ । उनीहरूले दलहरूलाई निगरानी र खबरदारी गर्नुपर्छ । दलहरूले बलमिच्याइँ गरेर जथाभावी उम्मेदवार पठाए भने मताधिकारमार्फत जवाफ दिने अधिकार जनतासमक्ष छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully