परिवर्तनको मोडमा कांग्रेस

कांग्रेस वा कुनै पनि राजनीतिक दलका नयाा नेताहरूले अग्रजहरूलाई राजनीतिक विकासक्रममा उनीहरूको योगदानका लागि विशिष्ट सम्मान दिएर सल्लाहकारको भूमिकामा सक्रिय तुल्याउनुपर्दछ, आफ्ना नेताहरूको चित्त बुझाएर अघि बढ्न सके भने गगन पक्कै सफल हुनेछन्।

माघ ४, २०८२

किशोर नेपाल

Congress in a state of change

What you should know

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रखर योद्धा, नेपाली कांग्रेसका नेता तथा सर्वोपरि, बौद्धिक र राजनीतिक विचारक सीके प्रसाईंसँग केही महिना काठमाडौंको भद्रगोल जेलमा, सँगै बिताउने अवसर पाएको थिएँ । उहाँ राजनीतिमा रुचि राख्ने तन्नेरीहरूसँग वार्ता गर्न सधैं उत्सुक रहनुहुन्थ्यो ।

वार्ताका क्रममा प्रायः उहाँ एउटा लोकप्रिय कथन उद्धृत गर्दै भन्नुहुन्थ्यो– ‘राजनीतिमा कोही पनि कसैको स्थायी शत्रु र स्थायी मित्र हुँदैन । राजनीतिमा लागेका व्यक्तिहरू आफ्नै निहित राजनीतिक स्वार्थका आधारमा पक्ष र विपक्षमा लाग्ने हुन् ।’

सीकेको यो कथन पटक–पटक सावित भइसकेको छ । जेन–जी आन्दोलनमा अचानक हिंसाले प्रवेश पाएपछि पुनः सावित भयो । सरकार कांग्रेस र एमाले जस्ता दुई ठूला पार्टी मिलेर बनाएका थिए । पार्टीका जान्नेसुन्ने नेताहरू सरकारको ‘स्थायित्व’ प्रति चाहिनेभन्दा बढी नै निर्धक्क थिए । आन्दोलनमा हिंसा हुने सम्भावनाको संकेत प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका चतुर नेता तथा गृहमन्त्री रमेश लेखकले पाउन नसक्नु अनौठो थिएन ।

आन्दोलनमा सुनियोजित हिसाबले हिंसाको प्रवेश हुँदै छ भन्ने सूचना न त गृहमन्त्रीले पाएका थिए, न त उनका सूचना संयन्त्रका सञ्चालकहरूले । उनीहरू ढुक्क थिए– हामीलाई कसैले हल्लाउन सक्दैन । सरकारका प्रमुख नेताहरूको यही अभिमानले गर्दा सरकारका सूचना संयन्त्र तथा सुरक्षा प्रणाली निष्क्रिय र मौन रहे । सरकारको आचरण पनि लोकतान्त्रिक थिएन । अहंकारले ‘मदमत्त’ भएका कांग्रेस–एमालेका नेताहरूले कतिबेला नेपाली सेनाले सत्ता आफ्नो नियन्त्रणमा लियो, भेउ नै पाउन सकेनन् । 

भदौ र पुस महिनाको अन्तरालमा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो दलको अधिवेशन बोलाएर आफूलाई सुरक्षित तुल्याए । तर, देशको सबैभन्दा पुरानो र प्रतिष्ठित राजनीतिक दल कांग्रेस आफ्नै धुनमा एकोहोरियो । हुल्याहाहरूको असंगठित समूहले जेन–जी आन्दोलनका नाममा सभापति शेरबहादुर देउवा र उनकी अर्धांगिनीमाथि सांघातिक आक्रमण गर्‍यो ।

सभापति देउवा घाइते भए । सैनिक अस्पतालमा उपचारपछि उनले पार्टी सभापतिको आफ्नो दायित्व उपसभापति पूर्णबहादुर खड्काको जिम्मा लगाएर उपचारका लागि सिंगापुर गए । उताबाट फर्किएपछि पनि सभापति देउवाले पार्टीको व्यवस्थापन गर्न चाहेनन् । उनले समयको ताप महसुस गर्न सकेनन् । कांग्रेसको भविष्य अन्योलमा परेको महसुस गर्न सकेनन् ।

सरसर्ती हेर्दा, यतिबेला कांग्रेस विभाजनको बाटोमा लागेको देखिँदै छ । तर, कांग्रेसका लागि विभाजन आत्मघाती हुने निश्चित छ । राजनीतिक मतहरू विभाजित भएका छन् । अन्तर्राष्ट्रिय वातावरण पनि कांग्रेसका ‘वयस्क’ नेताहरूको पक्षमा देखिँदैन । पार्टीका वरिष्ठ नेताहरूको संगत र उठबस बिचौलियाहरूसँग बढी देखिन्छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाको ‘अथक’ परिश्रम, आह्वान र संयोजनमा भएको विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवालाई विस्थापित गरेर थापालाई नै सभापतिमा स्थापित गरेको छ । सभापति देउवाको अनुपस्थितिमा भएको यो निर्णयले अहिले देउवा पक्षका नेताहरू बिलखबन्दमा परेका देखिन्छन् ।

यसमा कुनै सन्देह छैन– नेपाली कांग्रेस लोकतान्त्रिक राजनीतिक धारको एउटा मात्र जीवन्त संस्था हो । राणा शासनका विरुद्ध भएको २००७ सालको क्रान्तिको नेतृत्वकर्ताका रूपमा यसको भूमिका निर्णायक थियो । त्यसपछिको झन्डै एक दशकको समयमा कांग्रेसका संस्थापक नेताहरू संसदीय प्रजातन्त्रलाई संस्थागत बनाउने अभियानलाई निरन्तरता दिँदै संसदीय निर्वाचन गराउने संघर्षमा लागे ।

राजा त्रिभुवनको देहावसानपछि उनको उत्तराधिकारीका रूपमा राजा बनेका महेन्द्र महत्त्वाकांक्षी थिए । उनी संसद्लाई आफ्नै मातहतमा राख्न चाहन्थे । राजा महेन्द्रको मुख्य चाहना सात सालको क्रान्तिलाई प्रजातन्त्रको निर्णायक मोडमा पुर्‍याउन निरन्तर संघर्ष गर्ने कांग्रेसलाई सत्ताबाट टाढा राख्ने थियो । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालासँग राजा महेन्द्रको व्यक्तिगत 

सम्बन्ध सुमधुर थियो । तर, राजनीतिक हिसाबले बीपीसँग उनको सम्बन्ध कटु थियो । परिणामतः एकतन्त्रीय राणा शासनको विधिवत् अन्त्य २००७ फागुन ७ गते भए पनि संसद्को पहिलो चुनाव २०१५ मा मात्रै भएको थियो ।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू नेपालको राजपरिवारप्रति सद्भाव राख्थे । राजनीतिक हिसाबले नेहरूका लागि नेपालको हैसियत भारतको कुनै रियासतभन्दा कम थिएन । त्यसबाहेक उनी बीपी कोइरालाको बौद्धिक क्षमता र वैचारिक प्रतिबद्धतासँग ‘प्रभावित’ मात्र थिएनन्, ‘सशंकित’ पनि थिए । सशंकित किनभने बीपीको भारतका समाजवादी चिन्तक राममनोहर लोहियासँग ‘दोस्ती’ थियो । 

तत्कालीन राजनीतिक परिदृश्यमा राजा महेन्द्रलाई लागेको थियो होला, चुनावमा नेपाली कांग्रेस पराजित हुनेछ । तर, २०१५ सालको संसदीय निर्वाचनमा जनताले कांग्रेसलाई दुईतिहाइ बहुमतका साथ जिताए । कांग्रेसको सामु न त ‘विद्रोही’ नेता डा. केआई सिंहको ‘धानको बाला’ झुल्न पायो, न त पण्डित रंगनाथ शर्माको ‘हात’ मा जनताको भोट पर्‍यो । जनताको मत कांग्रेसका पक्षमा स्पष्ट थियो ।

तर कांग्रेसले पाएको ‘दुईतिहाइ’ बहुमतको शक्ति कांग्रेस र प्रजातन्त्रका लागि अभिशाप सावित भयो । बीपी कोइरालाका सुस्पष्ट विचार र भावधारा जनताको पक्षमा थियो । यो देखेर राजा महेन्द्रले २०१७ पुस १ गते संसद्को अपहरण गरेर 

आफ्नो नेतृत्वमा ‘प्रत्यक्ष शासन’ प्रारम्भ गरे । बीपी र सबै महत्त्वपूर्ण नेताहरूलाई जेलमा हाले । निर्दलीय पञ्चायत व्यवस्थाको स्थापना गरे । राजाको यो कदमका विरुद्ध नेपाली कांग्रेसले लामो संघर्ष गर्‍यो– पहिलो चरणमा नेता सुवर्णशमशेरको नेतृत्वमा र दोस्रो चरणमा बीपी कोइरालाको नेतृत्वमा । यसबीच, अनेकन घटना र प्रतिघटनाहरू भए । 

राजा महेन्द्रको निधनको केही समयअघि बीपी सशस्त्र संघर्ष गर्ने मनसायले भारत पलायन हुनुभयो । तर, उहाँले सशस्त्र संघर्षको निरर्थकता देख्नुभयो । राजा वीरेन्द्रको शासनकालमा बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट फर्किनुभयो । राजा वीरेन्द्रले पञ्चायत व्यवस्थालाई जनमत संग्रहको कसीमा राखेर जाँच्ने निधो गरे । जनमत संग्रहमा निर्दलीय पञ्चायत झीनो अन्तरले विजयी भयो । बहुदलीय पक्ष चुनावी हिसाबले पराजित भए पनि यसको वैधानिकता स्थापित भयो । 

जनमत संग्रहको एक दशकपछि २०४६ मा सर्वमान्य नेता गणेशमान सिंहको संयोजनमा सबै दललाई समेटेर राष्ट्रिय जनआन्दोलनको आह्वान गरियो । यो आन्दोलनले देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्‍यो ।

बहुदलीय प्रजातन्त्रकालमा आर्थिक र सामाजिक विकासका क्षेत्रमा केही उल्लेखनीय नीतिगत काम भए पनि कांग्रेस नेताहरूबीचको आपसी अविश्वास र बढ्दो महत्त्वाकांक्षाका कारण सामान्य जनताको जीवनस्तर उचाल्ने काम पर्याप्त हुन सकेन । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसले सरकार गठन गरेसँगै विपक्षीले अवरोध खडा गर्न थाले । प्रतिपक्षीहरूको असहिष्णु व्यवहार, पार्टीमा बढेको किचलो र सरकारका आफ्नै अदूरदर्शी व्यवहारले सत्ताको आयतन खुम्चिन थाल्यो । 

प्रधानमन्त्री कोइरालाले पार्टीका सहयात्रीहरूको असन्तोष र प्रतिपक्षीहरूको कडा विरोधपछि मध्यावधि चुनावको घोषणा गरे । चुनावमा नेपाली कांग्रेसले संसदीय बहुमत गुमायो । एमालेले अल्पमतको सरकार बनायो । तर सो सरकार पनि नौ महिनामै ढल्यो । संसद् विघटनलाई सर्वोच्चले रोकेपछि शेरबहादुर देउवाको नेतृत्वमा पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकारको निर्माण भयो ।

यतिञ्जेल माओवादीले संगठित सशस्त्र विद्रोहको उद्घोषका साथ आफ्नो झन्डा गाडिसकेको थियो । प्रधानमन्त्री देउवाले डेढ वर्ष जति सरकार चलाए । उनैको समयमा भारतसँग ‘महाकाली सन्धि’ भयो । त्यतिबेला एमाले नेताका रूपमा रहेका केपी ओली भारतसँग भएको महाकाली सन्धिको पक्षमा दह्रो ढंगले उभिएका थिए । त्यो समयमा भारतमा भारतीय जनता पार्टीको शासन थिएन । त्यही समयदेखि ओली र देउवाका बीच ‘याराना’ सम्बन्ध स्थापित भएको हो । २०७९ को निर्वाचनको केही महिनापछि माओवादी र कांग्रेसका बीच संयुक्त सरकार बनेको थियो, तर गोदावरीमा सम्पन्न कांग्रेसको महासमितिको भेलापछि त्यो सरकार ढल्यो । 

त्यसपछि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच संयुक्त सरकार बनाउने सहमति भयो । ओलीले आधा समय सरकार चलाउने र त्यसपछिको आधा समय देउवाले सरकार चलाउने र चुनाव गराउने सम्झौता भयो । कांग्रेसीहरू मख्ख परे । तर, ओली र देउवाको यो सपना जेन–जी आन्दोलनको आँधीले उडाइदियो । ओली प्रधानमन्त्री रहेनन् । नेपाली सेनाले उनको शासकीय अधिकार ‘सम्मानजनक’ ढंगले खोस्यो पनि र उनलाई जोगायो पनि । तर, जेन–जीको बिल्ला भिरेर आएको अराजक समूहले देउवालाई लछार–पछारमात्रै गरेनन्, उनको हुर्मत लिने काम गरे । उनकी अर्धांगिनीसमेत लछार–पछारमा परिन् । 

नेपाली सेनाको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुभएको ‘म्यादी’ प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन २१ गते चुनाव गराउने म्याद दिइएको छ । र, यसैबेला विश्व रंगमञ्चको वातावरण नराम्रोसँग बिथोलिएको छ । अमेरिकाका ‘शक्तिशाली’ राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिको अपहरण गराएका छन् ।

अफगानिस्तान, बंगलादेश, इरान, इजरायललगायत संसारका अधिकांश विकासशील र अविकसित देशहरू आतंकित बनेका छन् । जन्मैदेखिका दुश्मन भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै गएको छ । संसारभरि सुख, शान्तिको आशा र आकांक्षामा बसेका देशहरू आत्तिएका छन् । त्यसमाथि, विज्ञानको वरदानका रूपमा आएको ‘डिजिटल’ प्रविधिले साना र विकासको बाटोमा अघि बढाउन चाहने जनताको मनमा आतंक फैलाउन त्यत्तिकै मद्दत गरेको छ । डिजिटल माध्यमको प्रयोग गरेर सामाजिक सञ्जालका नाममा सञ्चालित अनेकन माध्यमहरू अशान्त संसारको घीनलाग्दा दृश्यहरू देखाएर थाक्दैनन् ।

यो विषम परिस्थितिमा नेपालका नयाँ–पुराना सबै प्रकारका राजनीतिक खेलाडीहरू ‘सर्प, मुसा र भ्यागुता’ को खेल देखाएर सत्तामाथि आफ्नो कब्जा जमाउन जमजमाएका छन् । सामान्य जनता निरीह भावले उनीहरूको ‘हाई लाइफ ड्रामा’ हेरेर छक्क परेका छन् । यी ‘रत्नाकर’ हरू वाल्मीकिमा रूपान्तरित हुन सक्लान् कि नसक्लान् ? यो बेग्लै प्रश्न हो । 

यतिबेला कांग्रेस सभापति देउवा कांग्रेसभित्रका विभिन्न गुटहरूको कचिंगलमा फसेका छन् । यो अस्वाभाविक होइन । उनी आफैंले ‘अन्तिम पटक’ डडेलधुराबाट चुनाव लड्ने मनस्थिति बनाएका छन् । कांग्रेस यतिबेला गगनको सक्रियतामा सम्पन्न ‘महाधिवेशन’को लन्ठोमा फसेको छ । यो आत्मघाती लन्ठोबाट पार्टीलाई मुक्त गराएर तोकिएको समयमा नै चुनाव हुने वातावरण बनाउनु अहिलेको आवश्यकता हो । 

सभापति देउवा र कांग्रेसका अधिकांश नेताहरूको ‘पहिले चुनाव, त्यसपछि पार्टीको महाधिवेशन’ को नाराको अवधि गुज्रिइसकेको अहिलेको अवस्थामा कांग्रेसका अधिकांश नौजवानहरू गगन थापाको प्रयत्न र पहलमा सम्पन्न भएको कांग्रेसको ‘विशेष महाधिवेशन’ पछि चुनावमा जान तम्तमाएका छन् ।

विशेष महाधिवेशनले सभापतिका रूपमा गगनलाई चयन गरिसकेको छ । निश्चय पनि, विशेष महाधिवेशनको यो निर्णयले कांग्रेसमा नयाँ ‘रगडा’ सुरु भएको छ । यो ‘रगडा’ ले कांग्रेसलाई विजयपथमा लैजाँदैन । केही ‘अत्याधुनिक’ र चुनावका लागि ‘अकुत स्रोत’ जुटाउन सक्ने प्रभावशाली उम्मेदवारबाहेक कांग्रेसका इमानदार कांग्रेसी कार्यकर्ताहरूको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याउन सक्दैन । ‘नियमित’ र ‘विशेष’ अधिवेशनको पचडामा नपरेर चुनावको तैयारीका लागि सबै कार्यकर्तालाई समेट्नु नै कांग्रेसका लागि युक्तिसंगत बाटो हुन सक्दछ ।

नेपाली जनताले विकासको सपना देख्न थालेको आठ दशक पुग्न लागे पनि राजनीतिक नेतृत्वको अहंकार र अदूरदर्शी दृष्टिकोणका कारण हाम्रो उन्नतिको मार्ग अवरुद्ध भएको छ । राजनीतिमा निरन्तर नयाँ जोगीहरू देखिएका छन् । तर, उनीहरूको आचार–व्यवहार र चाल–चलन सधैं जनताका आकांक्षाका प्रतिकूल रहेका छन् ।

त्यसमाथि अहिलेको समय पनि हाम्रो जस्तो विपन्न देशको अनुकूल देखिएको छैन । यस्तोमा राजनीतिक दलका नेताहरूले आफ्नो अहंकार त्याग्नु आवश्यक छ । कांग्रेस वा कुनै पनि राजनीतिक दलका नयाँ नेताहरूले अग्रजहरूलाई राजनीतिक विकासक्रममा उनीहरूको योगदानका लागि विशिष्ट सम्मान दिएर सल्लाहकारको भूमिकामा सक्रिय तुल्याउनुपर्दछ । आफ्ना नेताहरूको चित्त बुझाएर अघि बढ्न सके भने गगन पक्कै सफल हुनेछन् । उनले आफू नेतृत्वमा पुगेपछि तय गर्ने मार्गचित्र आफैंले तयार गर्नुपर्दछ । त्यसका लागि ‘गुगल’ मा निर्भर हुनु उनका लागि घातक सावित हुन सक्दछ ।

किशोर नेपाल किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully