गफगाफ, धर्म, जात र लैंगिकता मिलेर नेपालीको दैनिक बोलीचालीमा एउटा सघन नैतिक धरातल निर्माण भइरहेको छ । शक्ति, विश्वास र पहिचान ‘ठूला’ संस्थामा मात्रै होइन, चिया पिउँदै गरिने सामान्य कुराकानीमा पनि जीवित रहन्छन् ।
What you should know
चितवन–माडीमा एक साँझ स्थानीय उद्यम—अभियन्तासँगको गफ सुनेपछि यो लेखको आधार बनेको हो । ती आममानिसले अयोध्यापुरीस्थित चिया पसलमा भनेका थिए, ‘यी नेताले भएका जति युवालाई देशमा खर्लप्पै निराश बनाएर विदेश पठाउने र बूढाबूढीमाथि शासन गर्ने मन बनाएका हुन् । चार हात–पाउ टेक्नुपर्ने उमेरका बुढापाका आन्दोलन गर्न, टायर बाल्न जान सक्दैनन् । सत्तालाई हाइसन्चो ।’
आममानिसको वास्तविक ‘न्यारेटिभ’ बुझ्न सघाउने चिया पसलजस्ता थलोहरू गज्जबका ‘एथ्नोग्राफिक साइट’ हुन् । जनताले के र कसरी सोचिरहेका छन् ? त्यो बुझ्न सघाउने यस्ता कुराकानी समय कटाउने साधारण गफगाफ मात्रै होइन, आम जीवनले वर्तमान राजनीति, अर्थ, शिक्षा, पर्यटन आदि विषयलाई कसरी बुझिरहेको छ ? त्यो देखाउने आँखीझ्याल पनि हो ।
यसबाट समाजको राजनीतिक चेतना र सांस्कृतिक बनोट बुझ्ने गतिलो अवसर मिल्नुका साथै समाजको सामूहिक सोच र संवेदना चियाउने ‘फ्रेमवर्क’ पनि मिल्छ । यिनै ठाउँमा आम नेपालीले वरिपरिको संसार बुझ्छन्, राजनीतिक संकटलाई अर्थ दिन्छन्, सही–गलतका सिमाना तय गर्छन् र समाजका शक्ति संरचनामाथि ‘खै’ गरिरहन्छन् । आक्कल–झुक्कल चिया पसलले त ‘यहाँ राजनीतिक कुराकानी नगरिदिनुहोला’ लेखेरै टाँसेका पनि देखिन्छन् ।
सामान्यतया ‘गफ’ भनेर हल्का रूपमा लिइने यस्ता कुराकानीले गहिरा सामाजिक कथा बोकेका हुन्छन् (इतिहासविद् प्रत्यूष वन्त पनि मार्टिन चौतारीमा हुने विमर्शलाई ‘गफ’ को संज्ञा दिन्छन् । वन्तले सम्पादन गरेको किताब ‘नेपाल इन दी लङ १९५०’ मा प्रवास गौतमले लेखेको ‘तिलौरी माइलाको चिया पसल’ मा राणाकालका अन्तिम वर्षमा चिया पसलजस्ता सार्वजनिक थलोमा हुने आम विमर्शबारे लेखिएको छ) ।
आममानिसका गफगाफका यी क्षण समाजको मनोविज्ञान झल्काउने ऐनाजस्तै हुन् । चिया पसलका टेबल वरिपरि, पाटीमा वा रूखको छहारीमा वा सार्वजनिक यातायातमा गरिने संवाद नेपाली समाजको सामूहिक सोच कसरी बन्छ र कसरी बदलिन्छ भन्ने विषय देखाउने मौन प्रयोगशालाजस्तै हुन् ।
सार्वजनिक गफगाफ कुनै पनि समाजको राजनीतिक चेतना र सांस्कृतिक बनोट बुझ्ने उत्तम माध्यम हो । नेपालजस्तो मुलुकमा, जहाँ लोकतान्त्रिक संस्था अझै परिपक्व बनिसकेका छैनन् र सामाजिक रूढिवादका संरचना अझै गहिरो जरा गाडेर बसेका छन्– चिया पसल, बसपार्क, हाटबजार आममानिसको मन छाम्ने थलो हुन् । चिन्तकहरू हेबरमास वा गफमेनले यस्ता गफगाफ स्थललाई आममानिसको सामूहिक चेतनाको थलोका रूपमा सैद्धान्तीकरण गरेका छन् । यी थलोमा आममानिस आफ्ना आक्रोश वा खुसीमाथि विमर्श गर्छन् ।
यिनै अनौपचारिक सार्वजनिक स्थलहरूमा घुमिरहने चार प्रमुख विषयलाई यो लेखले नियाल्नेछ । ती विषय सतहमा सामान्य देखिए पनि भित्री तहमा भने नेपाली समाजका गहिरा चिन्ता, आशा, द्वन्द्व र आकांक्षासँग गाँसिएका छन् । ती कुराकानीमार्फत हामी नेपाली समाज आफैंसँग कसरी कुरा गरिरहेको छ ? के कुराले उसलाई बेचैन बनाइरहेको छ ? र, भविष्यतर्फ उसले कस्ता प्रश्नहरू बोकेर हिँडिरहेको छ ? यी प्रश्नको उत्तर पाउन सक्छौं ।
राजनीति, राजनीति र फेरि राजनीति
चिया पसलको गफमा राजनीति प्रायः रगतझैं बगिरहन्छ । एक कप चिया हातमा परेपछि कुरा महँगीबाट वा ‘नेता निकम्मा भए’ भन्नेबाट सुरु हुन्छ । र, नजानिँदो गरी संघीयता, भ्रष्टाचार, मन्त्री वा मेयर वा वार्ड वा गाउँपालिका अध्यक्षका असफलता अनि पार्टी नेताहरूको चालचलनतिर मोडिन्छ । बाहिरबाट हेर्दा केवल गुनासो जस्तो देखिन सक्छ, तर वास्तवमा यो साधारण मानिसले आफ्नै भाषामा सत्तासँग गर्ने संवाद हो ।
प्रायः राजनीतिक कुराकानी व्यक्तिकेन्द्रित पनि हुन्छन्– कुन नेता कति चामत्कारिक छ ? कति चलाख छ ? वा कति भ्रष्ट छ ? यी विषय वरिपरि कुराकानी घुम्छन् । म्याक्स वेबरको ‘करिस्म्याटिक अथरिटी’ को धारणा नेपाली समाजमा झल्किन्छ– विश्वास प्रायः निरपेक्ष संस्था वा नियममा होइन, साहसी– निर्णायक र आफूजस्तै लाग्ने नेतामाथि राखिन्छ ।
चिया पसलमा बसेर सुन्दा कसैको भ्रष्टाचारविरुद्धको जोसिला भाषणको खुलेर प्रशंसा हुन्छ, तर त्यसको केहीबेरमै ‘बोल्न त सजिलो हो, कामचाहिँ गर्छ कि गर्दैन ?’ भन्ने शंका पनि मिसिन्छ । यही प्रशंसा र अविश्वासबीचको उतार–चढावले नेताको छवि कसरी बन्छ वा बनाइन्छ भन्ने देखाउँछ । यहाँ पियरे बोरदिउले भनेको सिम्बोलिक क्यापिटलको अर्थ प्रस्ट देखिन्छ, नेताहरूले संस्थागत कामभन्दा पनि बोली, शैली, हाउभाउ र प्रस्तुतिमार्फत प्रतिष्ठा बटुल्ने गर्छन् ।
यस्तो व्यक्तिकेन्द्रित राजनीतिक गफले लोकतन्त्रलाई दुईतिर तान्छ । एकातिर, यसले मानिसलाई राजनीतितर्फ आकर्षित गर्छ, बहस गराउँछ र नागरिक चासो जीवित राख्छ । अर्कोतिर भने, समाजशास्त्रीय चेतनाले सम्झाएअनुसार जब आम ध्यान संरचना, नीति र प्रणाली सुधारभन्दा व्यक्तिगत नायकत्वतिर सर्छ, तब गहिरो परिवर्तनको सम्भावना कमजोर हुन सक्छ । यसरी चिया पसलको साधारण गफभित्रै नेपाली लोकतन्त्रका शक्ति र कमजोरी दुवै सँगसँगै बोलिरहेका हुन्छन् ।
आजको समयका आम कुराकानीमा अधुरा सपना र भविष्यको आशा दुवै झल्किन्छन् । देशको कायापलट गर्ने भनिएको संघीयता प्रायः गफको केन्द्रविन्दुमा हुन्छ । धेरैको आवेगले नेताको चरित्रले संघीयता माथि धब्बा लाग्यो भन्छ भने कसैका लागि यस्तो व्यवस्थाले समाजलाई बिस्तारै बलियो परिवर्तन र दिशा दिन्छ भन्ने पनि छ । ठूला कुरा गर्ने तर फोहोर, ट्राफिक र व्यवस्थापन सम्हाल्न नसक्ने मेयरहरूलाई लिएर असन्तुष्टि पोख्छन् काठमाडौंका आम मानिसहरू चिया पसल वा सार्वजनिक यातायातमा ।
जस्तो कि, बालेन्द्र शाहले मेयरको चुनाव जितेपछि मतदाताले प्रेमसाथ पहिर्याइदिन खोजेको माला नलगाई हिँडे । कारण बालेन्द्रले भने, ‘काठमाडौंको फोहोरको समस्या समाधान नगरी लगाउँदिनँ ।’ चामत्कारिक छवि बनाइएर मेयरका रूपमा गरेका वाचा पूरा गर्ने त कहाँ हो कहाँ, कार्यकालै नसकिँदै चुनाव लड्न लम्कँदै छन् । खुब हाइहाइ भएका बालेन आम आक्रोशका बलिया बिम्ब त बने तर आममानिस उनको यो बठ्याइँ नबुझीकन बसेका छैनन् । यस प्रकार, यी आम थलो भविष्यवाणी गर्ने ठाउँ पनि भएका छन्– चुनाव कसले जित्ला, कति सिट आउला वा कसले बल्ड्याङ खाला !
यी राजनीतिक गफहरू यति भावनात्मक हुनुको कारण पुस्तौं–पुस्ताले भोगिरहेको एउटै समस्या हो । मानिसले आफूले भोगेका समस्या ‘आफ्ना सन्तानले नभोगून्’ भन्ने चाहन्छ । तर, नेपालमा त राजनीतिक उलटपुलट कहिल्यै सकिँदैन । हरेक व्यथा सन्तान दरसन्तान हुँदै सबै पुस्ताको थाप्लोमा पुग्छ । सबैको गफमा जीवनका अनुभव मिसिएका हुन्छन् । गाउँको चिया पसलमा बसेको थारू किसानले जमिन र वनसँग जोडिएको उपेक्षाको कथा भित्रैको पीडासहित सुनाउँछ । मधेशी युवकले नागरिकता बनाउँदाका अनेक कागजातका झन्झट, शंका र अपमानका अनुभव सुनाउँछ । सहरका शिक्षित युवाहरू रोजगारी नपाएको, विदेश जान बाध्य भएको र पहुँच भएकाहरूले मात्रै मौका पाउने देश बनेको गुनासो गर्छन् । यिनै अनुभवले राजनीतिक कुरा कसरी बुझिन्छ र कसरी महसुस गरिन्छ भन्ने तय गर्छन् ।
यस्ता कुराकानीहरूले दुई काम गर्छन् । एकातिर, यसले मनको भारी हलुका बनाउँछ– रिस, निराशा र आशा सबै पोख्न ठाउँ दिन्छ । अर्कोतिर, यसले सिकाउँछ पनि । युवाले राजनीतिक शब्द र सोच सिक्छन्, साझा पीडा पहिचान हुन्छ र नबोले पनि मानिसहरू एक–अर्कातिर नजिकिन्छन् । त्यसैले चिया पसलको गफ लोकतन्त्रको आफ्नै स्थानीय रूप हो– औपचारिक होइन, पूर्ण पनि होइन तर निरन्तर चलिरहने । यहाँ राजनीति कागज अनि भाषणमा होइन– चियाको गिलास वरिपरि, साधारण मानिसका शब्दमा जीवित भएर बाँचिरहेको हुन्छ, जुन पार्थ चटर्जीको बुझाइमा जस्तै समाजको राजनीतिक जीवन कहिलेकाहीँ औपचारिक संस्थामा मात्रै सीमित हुँदैन ।
भ्रष्टाचार र आम जीविकाका दुःख–सुख
सार्वजनिक ठाउँका कुराकानीमा बारम्बार दोहोरिने अर्को लोकप्रिय विषय भनेको भ्रष्टाचार हो, विशेषगरी राज्यसँग प्रत्यक्ष सामना गर्दा मानिसले भोग्नुपरेका अनुभवहरू । यातायात व्यवस्था कार्यालयमा सवारी लाइसेन्स नवीकरण गर्न महिनौं कुर्नुपरेको कथा होस्, नागरिकता बनाउन दौडधुप र झन्झटको अनुभव होस् वा ठेक्कापट्टामा कति ‘रेट’ चल्छ भन्ने गफ सधैं झर्को, आक्रोश र ब्ल्याक ह्युमरले भरिएका हुन्छन् । मानिसहरू हाँस्दै भन्छन् तर त्यो हाँसोभित्र गहिरो थकान र अपमान लुकेको हुन्छ ।
यस्ता कुराकानी बुझ्न जेम्स सी स्कटले भनेको ‘एभ्रिडे रेसिस्टेन्स’ को विचार निकै उपयोगी देखिन्छ । नागरिकहरू सधैं ठूला विद्रोहमा उत्रिँदैनन्, न त सडकमा सधैं निस्किन्छन् । तर, उनीहरू गफ गर्छन्, व्यंग्य गर्छन्, नाम नलिई आलोचना गर्छन् र स–साना असहमतिका माध्यमबाट राज्यलाई प्रतिरोध गर्छन् । यी साधारण अभ्यासहरू नागरिकको मौन प्रतिवाद हुन् ।
सवारी लाइसेन्स वितरण गर्ने अफिसमा हुने वितण्डा वा बिदाका दिन मनपरी चलेका सरकारी सवारी–साधनमाथि आशिका तामाङले उठाएको प्रश्न र असन्तोष एउटा साहसी आममानिसले गरेको कामका रूपमा सामाजिक सञ्जालमा भाइरल बनिरहन्छ । चिया पसलदेखि बस र टेम्पोमा यात्रा गर्ने मानिसको मन उनले जित्छिन् । आशिकाका कामबारेका बहस आममानिसले सम्मानपूर्वक व्यवहार पाउने नैतिक अधिकारबारे बढी केन्द्रित हुन्छ । ‘आशिकाले जे भनिन्, ठीकै त भनिन्’ भन्ने प्रतिक्रिया धेरै ठाउँमा सुनिन्छ ।
यी साना–साना गुनासाले एउटा गहिरो समाजशास्त्रीय सत्य उजागर गर्छन् । अधिकांश नेपालीका लागि राज्यको वास्तविक अनुभव संसद् भवन वा अदालतमा कम, दैनन्दिनका काम नरोकिने जस्तो– लाइसेन्स नवीकरण गर्ने, घरजग्गा बेचबिखन गर्नुपर्ने, विदेश जान बनाउनुपर्ने ‘नो अब्जेक्सन’ सर्टिफिकेट बनाउने कार्यालयमा हुन्छ, जहाँ फाइल बोकेर कर्मचारी, बिचौलिया र अस्पष्ट नियमहरूसँग सौदाबाजी गर्नुपर्छ । राज्यको असली अनुहार त्यहीँ देखिन्छ, त्यहीँ नागरिकको धैर्य, आत्मसम्मान र प्रतिरोध एकसाथ परीक्षित हुन्छन् ।
सबै सार्वजनिक कुराकानीमा निरन्तर आइरहने अर्को गहिरो विषय अर्थतन्त्र हो तर नीति, बजेट वा प्रतिशतका अमूर्त भाषामा होइन, जिजीविषाका कडा भोगाइमा । मानिसहरू तरकारीको भाउ, स्कुलको फी, दाल–चामलको मूल्य बढेको कुरा वा अस्पतालको खर्चले थिचेको जीवनबारे कुरा गर्छन् । धेरैका लागि ‘आर्थिक जीवन’ र ‘सामाजिक जीवन’ अलग–अलग विषय होइनन्, दुवै एक–अर्कामा मिसिएर बगिरहेका एउटै नदीजस्तै हुन् ।
मार्क्सवादी दृष्टिले हेर्दा मानिसहरू केवल उपभोक्ता होइनन्, उनीहरू कामदार हुन्, उत्पादनकर्ता हुन्, हेरचाह गर्ने अभिभावक हुन् । उनीहरूले जीवनमा हुने शोषणलाई किताबका शब्दमा होइन, आफ्नै शरीर र जीवनबाट चिन्छन् । जब कुनै मजदुर भन्छ– ‘ज्याला उस्तै छ, तर कोठाभाडा दोब्बर भयो,’ त्यो वाक्य आफैंमा पुँजीवादप्रतिको तिखो आलोचना हुन्छ, जुन कुनै पाठ्यपुस्तकको ज्ञानभन्दा पनि गहिरो लाग्छ । यही सन्दर्भमा न्यान्सी फ्रेजरले भनेको ‘सबाल्टर्न काउन्टरपब्लिक’ को अवधारणा सान्दर्भिक देखिन्छ । जब श्रमिक वर्गका नेपालीहरूले चिया पसलमा बसेर आर्थिक अन्यायका कुरा गर्छन्, उनीहरू केवल गुनासो गरिरहेका हुँदैनन्, यस्तो ज्ञान उत्पादन गरिरहेका हुन्छन्, जसलाई नीतिनिर्माता र सत्ताका वृत्तले प्रायः बेवास्ता गर्छन् । यी कुराकानीहरू अनुभवबाट जन्मिएका, साझा स्मृतिले पोसिएका, अनौपचारिक तर शक्तिशाली बौद्धिक अभ्यास हुन्, जहाँ जीवन आफैं सिद्धान्त बोलिरहेको हुन्छ ।
जात, लैंगिकता र धर्म
नेपालको सार्वजनिक बहसको एउटा बलियो पाटो नैतिकताको वरिपरि घुम्ने गर्छ अर्थात् मानिसले कसरी बाँच्नुपर्छ, कसरी प्रेम गर्नुपर्छ, कसरी पूजाआजा र व्यवहार गर्नुपर्छ भन्ने कुरा । यस्ता धेरै कुराहरू प्रायः ‘गफगाफ’ वा ‘कुरा काट्ने’ माध्यमबाट बाहिर आउँछन्, विशेषगरी अरूको निजी जीवनबारे, गायिका एलिना चौहान सम्बन्धविच्छेद पछाडि ढुक्कले बस्न पाउँदिनन् । उनलाई अनेक लाञ्छनाका उदेकलाग्दा लहरले पछ्याइरहन्छन् ।
गायिका समीक्षा अधिकारीलाई पनि सामाजिक सञ्जालका कमेन्ट बक्स होस् वा हजारौं मानिसमाझ ढुक्कसाथ सुमधुर गीत गाइरहँदा स्टेजमै आउँछ उनीप्रतिको ‘मोरल पुलिसिङ’ को पहिरो । वा ज्योति मगर वा अञ्जु पन्त ! कलिली उमेरकी समीक्षा या अन्य महिला सेलेब्रिटीलाई जति चरित्रको पाठ पढाउन खोज्छ समाज, उनीहरूसँगै जोडिएका पुरुष पात्रबारे खासै औंला उठाउँदैन ।
अन्तरजातीय सम्बन्ध, प्रेम विवाह वा ‘अनुचित’ व्यवहारका कथाहरू चिया पसल, चोक र छिमेकीका भेलाहरूमा सजिलै फैलिन्छन्, फैलिँदा निसानामा चाहिँ महिला नै हुन्छन् । यस्ता कुराहरू सामान्य जस्तो देखिए पनि यसले एउटा महत्त्वपूर्ण सामाजिक काम गरिरहेका हुन्छन्, यिनले समाजमा के स्वीकार्य छ र के छैन भन्ने विषयलाई सुस्तरी परिभाषित गरिरहेका हुन्छन् ।
सार्वजनिक संवादले प्रायः एक अनौपचारिक निगरानी संयन्त्रका रूपमा काम गर्छ । प्रहरी वा अदालतबिना नै मानिसहरू शब्दका माध्यमबाट एकअर्काको निगरानी गर्छन्– कसको बारेमा कुरा भइरहेको छ, कसरी भइरहेको छ र कुन शैलीमा भइरहेको छ भन्ने कुराले धेरै अर्थ राख्छ । अर्को जातको पुरुषसँग सम्बन्धमा रहेकी युवती कैयौं दिनसम्म चर्चाको विषय बन्न सक्छिन्, उनका हरेक कदमलाई इज्जत, पवित्रता र पारिवारिक प्रतिष्ठाको कसीमा तौलिने गरिन्छ । यसरी, दैनिक गफगाफले जातिय घेरा र लैंगिक मान्यताहरूलाई अझ बलियो बनाउाछन्, विशेषगरी महिलाहरूको व्यवहार र यौनिकतासँग जोडिएका अपेक्षाहरूलाई ।
यद्यपि, यस्ता नैतिक बहसहरू सधैं एउटै धारका वा पुरातनवादी मात्रै हुँदैनन् । शिक्षा, वैदेशिक रोजगारी वा सक्रियताको प्रभाव बढी भएका ठाउँहरूमा तिनै चिया पसल वा हाटबजारहरूमा फरक स्वरहरू पनि सुनिन्छन् । कसैले प्रेम विवाहको पक्ष लिन सक्छ, कसैले जातीय भेदभावमाथि प्रश्न उठाउन सक्छ त कसैले ‘समय बदलिएको’ तर्क गर्न सक्छ । यस्तो अवस्थामा ‘गफगाफ’ द्वन्द्वको थलो बन्छ, जहाँ स्थापित मान्यतालाई चुनौती दिइन्छ, बहस गरिन्छ र कहिलेकाहीँ त्यो कमजोर पनि बन्दै जान्छ ।
धर्म र संस्कारले यी नैतिक बहसलाई अझ गहिरो बनाउँछन् । दसैं, तिहार, इद, क्रिसमस वा स्थानीय जात्राहरूले सार्वजनिक संवादलाई जीवन्त बनाउँछन्, श्रद्धाका माध्यमबाट मात्रै होइन– बरु सम्झना, खर्च र बहसका माध्यमबाट पनि । मानिसहरू बाल्यकालको दसैं सम्झिन्छन्, बढ्दो महँगीप्रति चिन्ता व्यक्त गर्छन् वा आधारभूत सेवाहरूमा बेवास्ता गरेर विशेष धार्मिक अनुष्ठानमा राज्यले गरेको लगानीको आलोचना गर्छन् । पछिल्ला वर्षहरूमा रामनवमीको उत्सव, मन्दिर व्यवस्थापन वा चाडपर्वमा नगरपालिकाले गर्ने खर्चजस्ता विषयहरूले धर्मलाई राजनीतिक बनाइदिएका छन् ।
यहाँ एउटा रोचक कुरा के छ भने, आफूलाई धर्मनिरपेक्ष भन्नेहरू पनि यस्ता छलफलमा सक्रियतापूर्वक सहभागी हुन्छन् । उनीहरूलाई भगवान्माथि विश्वास नहुन सक्छ, तर समुदाय, पहिचान र सामाजिक जीवनको साझा लयप्रति चासो रहन्छ । यसले के देखाउँछ भने, सार्वजनिक संवादमा धर्म भनेको आस्था मात्रै होइन– यो त अपनत्व, अधिकार र नैतिक व्यवस्था पनि हो ।
समग्रमा गफगाफ, धर्म, जात र लैंगिकता मिलेर नेपालीको दैनिक बोलीचालीमा एउटा सघन नैतिक धरातल निर्माण भइरहेको छ । सामान्य शब्द र साझा कथाहरूका माध्यमबाट समाजले आफ्ना सीमाहरू निरन्तर कोरिरहेको हुन्छ– कहिले तिनलाई कसिलो बनाउँछ, कहिले खुकुलो । यसले के प्रस्ट पार्छ भने शक्ति, विश्वास र पहिचान ठूला संस्थाहरूमा मात्रै होइन, बरु चिया पिउँदै गरिने सामान्य कुराकानीहरूमा पनि जीवित रहन्छन् ।
घरदेश र परदेश
नेपाली जनमानसमा परदेशिने विषय जति गहिरो र भावनात्मक रूपमा भिजेको छ, अरू सायदै होलान् । आजको सन्दर्भमा बसाइँसराइ केवल एउटा आर्थिक कुरा मात्रै रहेन, यो त सामाजिक प्रतिष्ठा वा समाजले विश्वलाई हेर्ने र आफ्नो भविष्य आकलन गर्ने एउटा मुख्य कसी पनि भएको छ । खाडीका श्रम बजारदेखि अस्ट्रेलियाको अध्ययन भिसा अनि अमेरिकाको डीभी चिट्ठासम्म– ‘परदेशिने चाहना’ ले हाम्रो दैनिक जीवनलाई ओतप्रोत बनाएको छ ।
चिया पसलजस्ता सार्वजनिक थलोहरू यस गतिविधिका अनौपचारिक केन्द्र हुन्, जहाँका गफगाफहरू कहिले उच्च महत्त्वाकांक्षा र कहिले गहिरो चिन्ताबीच ओहोरदोहोर गरिरहन्छन् । भिसा अस्वीकृत भएका ताजा अपडेट र रेमिट्यान्सको उतारचढावसँगै मलेसिया वा कतारमा ज्यान गुमाउने श्रमिकका वियोगान्त खबरहरू त्यहाँ कानेखुसीका विषय बन्छन् । यी संवादले बसाइँसराइलाई एउटा पारिवारिक निर्णयबाट सार्वजनिक अनुभव वा बहसका विषयमा बदलिदिन्छन् ।
अर्जुन अप्पादुराईको ‘सोसल इमेजिनरी’ (सामाजिक कल्पनाशीलता) वा ‘इथ्नोस्केप’ को अवधारणा यस परिस्थितिलाई बुझ्न निकै सान्दर्भिक छ । धेरैका लागि बसाइँसराइ गरिबीको व्यावहारिक समाधान मात्रै होइन, एउटा शक्तिशाली सांस्कृतिक बाटो पनि हो । विशेषगरी युवाहरू विदेशलाई यस्तो ठाउँका रूपमा चित्रण गर्छन्, जहाँ उनीहरूले आफ्नो पहिचान बनाउन, स्वायत्तता पाउन र त्यो आत्मसम्मान प्राप्त गर्न सक्छन्, जुन स्वदेशको संरचनामा असम्भव जस्तै लाग्छ ।
यस कल्पनामा ‘विदेश’ आधुनिक पहिचान बनाउने रंगमञ्च हो भने स्वदेशमै रोकिनुलाई प्रायः ‘महत्त्वाकांक्षाको कमी’ का रूपमा हेरिन्छ । तर, यस्तो आकांक्षाले प्रायः ‘बिछोड’ निम्त्याउँछ र परिवारहरू एउटा अनौठो विरोधाभासमा बाँच्न बाध्य छन्, जहाँ रेमिट्यान्सले ल्याएको आर्थिक सम्पन्नतालाई अभिभावकको अनुपस्थिति र रित्तिएका गाउँहरूको भावनात्मक मूल्यसँग तौलिनुपर्ने हुन्छ ।
श्रम र पुँजीको यो बहावले इम्यानुएल वालरस्टेनको ‘वर्ल्ड सिस्टम थ्योरी’ लाई पनि प्रस्ट पार्छ । विश्वको परिधिमा रहेको नेपालले ‘केन्द्र’ मा रहेका शक्तिशाली अर्थतन्त्रहरूका लागि सस्तो र सुलभ श्रमको स्रोतका रूपमा काम गरिरहेको छ ।
यो सम्बन्धले परनिर्भरताको चक्रलाई बढावा दिन्छ, किनकि देशको सबैभन्दा उत्पादनशील जनशक्तिले आफ्नो जीवनका ऊर्जावान वर्षहरू अरू नै देशको पूर्वाधार निर्माणमा खर्च गरिरहेका छन् । तर, चिया पसलको सरल भाषामा यी जटिल आर्थिक संरचनाहरूलाई अत्यन्तै नैतिक र व्यक्तिगत तवरले व्याख्या गरिन्छ । यस सन्दर्भमा, बसाइँसराइ केवल एउटा विकल्प होइन, राज्यको असफलताविरुद्धको ‘बहिर्गमन’ को एउटा रूप पनि हो, जहाँ व्यक्तिहरूले आफ्नो मूल्य आफैं स्थापित गर्न खोज्छन् ।
अन्ततः बसाइँसराइाका कुराकानीहरू नै त्यस्ता थलो हुन्, जहाँ विश्वव्यापी मुद्दाहरूले स्थानीय रूप लिन्छन् । यी संवादले सूचना मात्रै दिँदैनन्, बरु विश्वको एउटा नैतिक चित्र नै तयार गर्छन् । यिनै कथाहरूका माध्यमबाट समुदायले श्रमको मूल्य, सफलताको अर्थ र विश्वव्यापी अवसरहरूको असमान वितरणमाथि बहस गरिरहेको हुन्छ । घरदेशमै अर्थात् ‘यता’ रहनेका लागि पनि परदेश अर्थात् ‘उता’ को निरन्तर चर्चाले ‘यता’ को अवस्थालाई प्रभावित पारिरहेको छ । यसले के सुनिश्चित गर्छ भने हाम्रो स्थानीय सामाजिक व्यवस्था सधैं एउटा विशाल र चलायमान विश्वको छायामा कसिँदै र परिमार्जन हुँदै गइरहेको छ ।
समाजशास्त्रको आँखामा यी अनौपचारिक चहलपहल समाजको शक्तिशाली भर्नाकुलर आवाज हो । चिया पसल वा आम मान्छेको आवाज आउने कन्दराहरू समाजको चिन्तन बुझ्ने अर्थपूर्ण ठाउँ हुन् । यसको मर्म बुझ्ने प्रयास भनेको आममान्छेको बौद्धिक श्रमप्रति सम्मान हो, जहाँ मानिस चियाको सुर्की वा पसिनाको गन्धबीच तर्क–वितर्क गर्छन् र उन्नत समाजको परिकल्पना प्रस्तुत गर्छन् ।
अन्त्यमा
नेपालका सार्वजनिक गफगाफ सामान्य र दोहोरिँदो देखिए पनि समाजशास्त्रीय हिसाबले धेरै गतिशील र बहुआयामिक छन् । चामत्कारिक राजनीति र संस्थागत सुधारबीचको द्वन्द्व, नागरिकको असन्तोष र व्यवस्थाको ढिलासुस्तीबीचको तानातानी, वैदेशिक रोजगारीको सपना र स्थानीय सामाजिक परिवर्तनबीचको अन्तरविरोध– सबै यिनै गफमा भेटिन्छन् ।
युरोपका कफी पसलमा जन्मेको हाबरमासको ‘पब्लिक स्फियर’ नेपालमा धूलो उड्ने चिया पसलमा, वर्षामा टिनको छानामुनिका तराईका चिया पसल वा खुला आकाशमुनि चल्ने हाटबजार वा पहाडी घुम्तीमा गुडिरहेको कोचाकोच बसमा जिउँदो छ । यहाँको सार्वजनिक क्षेत्र सुकिलो र व्यवस्थित होइन, हल्लाखल्लायुक्त, भावनात्मक र दैनिक जीवनमा टेकेर बसेको छ । तर, यसको लोकतान्त्रिक भूमिका गहिरो छ, जसले जनतालाई आफ्ना समस्या बुझ्ने, अनुभव बाँड्ने र समाजको सम्भावित रूपरेखा कल्पना गर्ने अवसर दिन्छ । अन्ततः यस्ता गफ बुझ्नु केवल समाजशास्त्रीय अभ्यास होइन, राज्यको धड्कन सुन्ने तरिका हो ।
