साना विवादमै हुने हत्याले खोजेको उपचार

अपराध हुनै नदिने गरी काम गर्नुपर्छ । त्यसका लागि समाजसँग प्रहरीको सम्बन्ध र अन्तर्क्रिया सुदृढ हुनुपर्छ । अपराध हुनै नदिन समाजमा प्रहरीको उपस्थिति बढाउनुपर्छ ।

पुस ३०, २०८२

सम्पादकीय

The cure sought for murders committed over petty disputes

What you should know

अपराधका घटनाबाट कुनै पनि समाज मुक्त छैन । विकसित र सभ्यताको उचाइमा पुगेको भनिएको समाजमा पनि अपराधका घटना घटिरहेको पढ्न र सुन्न पाइन्छ । यद्यपि, यस्ता घटनाका कारण, प्रकृति र दर भने समाजअनुसार फरक हुन सक्छ ।

हामीकहाँ सामान्य विवादमा पनि जघन्य हत्या हुन थालेको प्रहरीको अनुसन्धान र तथ्यांकले पुष्टि गर्छन् । यसले नेपाली समाजको मनोविज्ञानको भयावह पाटोलाई उजागर गर्छ । पहिलो, जस्ता कारणसहित हत्या भइरहेका छन्, त्यो आफैंमा चिन्ताजनक अवस्था हो ।

दोस्रो, जुन दरमा हत्या भएका छन्, त्यसले सम्बन्धित परिवार/समाजमा पर्ने भावनात्मक आघात र आर्थिक–सामाजिक हानि पनि विचारणीय पक्ष हो । हत्याका प्रकृति र दरले नेपाली समाजले राज्यको उपस्थितिलाई नयाँ भूमिकाका साथ खोजिरहेको प्रस्ट हुन्छ । साथै, समाजमा व्यक्ति–परिवार–समूहबीचको अन्तरघुलनलाई नयाँ ढंगले परिभाषित गर्न र सोहीअनुरूप विश्वसनीय र अन्तर्क्रियात्मक बनाउन आवश्यक रहेको सन्देश दिन्छ ।

प्रहरीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ को चार महिनामै १७८ व्यक्तिको हत्या भइसकेको छ । अर्थात् औसतमा दुई दिनमा तीन जना जतिको हत्या भएको छ । त्यस्तै, २०८१/८२ मा ५२२, २०८०/८१ मा ६३८, २०७९/८० मा ५२२, २०७८/७९ मा ६८४ र २०७७/७८ मा ७०७ जनाको हत्या भएको थियो । यस्ता हत्यामा ठूलो कारण देखिँदैन ।

शनिबार बेपत्ता भई सोमबार मृत फेला परेका गर्जमान थापाको हत्या औंठी लुट्ने उद्देश्यले गरिएको खुलेको छ । शनिबार नै सिन्धुलीका विजय राईको हत्या भएको थियो, त्यसको कारण आगो ताप्ने क्रममा भएको विवादलाई कारण भनिएको छ । त्यस्तै, ५ सय रुपैयाँको विवादमा २३ कात्तिकको राति माया मगर भनिने आयुषाको हत्या भएको थियो । यी केही प्रतिनिधिमूलक घटना हुन्, जहाँ हत्या नै हुनु अनपेक्षित छ । त्यस्तै, मादक पदार्थ सेवन गरेका कारण विवाद बढेर हत्या भएको पनि घटना छन् ।

हत्याका सन्दर्भले देखाउँछन्– व्यक्तिगत असमझदारीमा मानिस अर्को हत्या गर्न अग्रसर भएका छन् । अर्को व्यक्तिको तर्क धैर्यतापूर्वक सुन्ने र आफ्नो तर्क पनि भद्रतापूर्वक राख्ने संयम मानिसबाट विच्छेद हुन थालेको छ । फरक व्यक्तिबीच फरक मान्यता र असमझदारी हुनु स्वाभाविक हो । आफ्नो तर्कमा अरूलाई सहमत गराउने, अरूको तर्कमा सहमत हुने वा अर्काको मान्यतालाई सम्मान गर्दै 

आ–आफ्नो ढंगले अघि बढ्दा विवादले आक्रोशमा रूपान्तरण हुन पाउँदैन । तर त्यति उदारता पनि मानिसमा हराउँदै गएको छ । मानिस असहिष्णु र कठोर हुँदै गएको र आफूप्रति असहमत व्यक्तिको हत्या गरेर मात्रै तुष्टि लिने तीव्र आवेग फस्टाएको देखिन्छ । साथै, सम्पत्तिप्रतिको अथाह लोभ पनि डरलाग्दो पक्ष हो । अंश वा सम्पत्तिमा दाबीका कारण परिवारकै सदस्यको पनि हत्या भइरहेका छन् । मादक पदार्थ सेवनका कारण पनि साथीभाइबीच मात्रै होइन, परिवारका सदस्यबीच पनि विवाद निम्तिने र हत्या हुने गरेका छन् । 

सामान्यतया कुनै पनि समाज हत्या र हिंसामा आधारित द्वन्द्वबाट व्यतित भएपछि मानिसको मानसिकता नै बिथोलिने गर्छ । छोटो समयमै ठूलो दरमा मानिसको अस्वाभाविक मृत्यु देखेको र भोगेको समाजले बाँकी सबै किसिमका अपराधलाई परकम्पका रूपमा भोग्ने गरेको विगत छ । माओवादीको सशस्त्र द्वन्द्वको राजनीतिक पाटो र उपलब्धि आफ्नो ठाउँमा छन्, तर उसले द्वन्द्व अन्त्य गरिसक्दा पनि समाजमा उस्तै प्रकृतिको हत्या–हिंसा जारी नै रह्यो ।

२०६३ पछि पनि नयाँनयाँ समूह खुल्ने, त्यसका आडमा फिरौती संकलन र हत्या गर्ने प्रवृत्ति कायमै रह्यो । राजनीतिक आवरण दिइएका कैयौं समूहका गतिविधि आपराधिक शैलीका थिए । त्यतिबेला तराई क्षेत्रमा सयभन्दा बढी समूह खुलेका थिए, तीमध्ये कैयौं समूहले हतियारको प्रयोग र हत्यामार्फत तराई क्षेत्रलाई नै त्रसित बनाएका थिए । द्वन्द्वका क्रममा खस्किएको प्रहरीको मनोबल विस्तारै उठ्दै गयो र पछि आक्रामक ढंगले अनुसन्धान र कारबाहीलाई तीव्रता दिएपछि त्यस्ता समूहहरू शिथिल हुँदै गए ।

पछिल्लो समयमा पनि प्रहरीको मनोबल बलियो बन्न सकेको छैन । राजनीतीकरण, लाञ्छना तथा प्रहरीमाथि नै आक्रमणका घटना पनि देखिएका छन् । जेन–जी आन्दोलनका क्रममा पनि प्रहरी चौकी जलाउने, प्रहरीलाई पोसाक फुकाल्न लगाएर घुमाउने, हतियार खोस्ने र हत्या गर्ने जस्ता काम भए । यसको असर प्रहरी र समाजमा परेको छ ।

आपराधिक मानसिकताका मानिसले आपराधिक गतिविधिका लागि सहजता ठान्ने स्थिति बनेको छ । भ्रष्टाचार, बेरोजगारी, ठगी, महत्त्वाकांक्षा जस्ता कारणले मानिसमा आक्रोश र कुण्ठा पनि बढेकै छ । प्रविधिको सहज उपलब्धताले पनि मानिसमा सही वा गलत दुवै सामग्रीमा पहुँच पुगेको छ । कानुनको प्रभावकारी कार्यान्वयनको अभावले गर्दा गैरकानुनी काम र व्यवसायले पनि प्रश्रय पाएको छ । त्यसले पनि समाजमा असन्तुष्टि र द्वन्द्व बढाएको छ । त्यसले पनि कहिलेकाहीं हत्याको घटना निम्त्याएको छ । राज्यले नै नागरिकका असन्तुष्टि न्यूनीकरण हुने गरी काम गर्न सक्नुपर्छ । जसले नागरिकलाई असन्तुष्टितर्फ होइन, सकारात्मक आशातर्फ डोर्‍याउँछ ।

विगतमा संगठित समूहद्वारा घटाइएका आपराधिक गतिविधि सम्बन्धित समूह शिथिल भएसँगै न्यूनीकरण भएका थिए । त्यसका लागि प्रहरीको सक्रियता कामयाबी भएको थियो । तर अहिले व्यक्तिले पूर्वयोजना बिना नै सनकको भरमा ज्यान लिने क्रम बढेको छ ।

समूहलाई निष्क्रिय पारे जस्तो सजिलो अब छैन । पहिलो त, प्रहरीप्रतिको विश्वास र मनोबल बढाउन भने सरकारले नै रणनीतिक योजना बनाउनुपर्छ । दोस्रो, प्रहरीले प्राविधिक र परम्परागत ढंगले अपराध भएपछि अनुसन्धान गरेर मात्रै हुँदैन । किनकि, अपराध भएपछि हुने अनुसन्धानले मात्रै अपराधको क्रम न्यून नगराउने निश्चित छ ।

अपराध हुनै नदिने गरी काम गर्नुपर्छ । त्यसका लागि समाजसँग प्रहरीको सम्बन्ध र अन्तर्क्रिया सुदृढ हुनुपर्छ । अपराध हुनै नदिन समाजमा प्रहरीको उपस्थिति बढाउनुपर्छ । यसअघि प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी, समुदाय–प्रहरी साझेदारी जस्ता कार्यक्रमले प्रहरी र समाजलाई जोडेको थियो । यस्तै र थप रचनात्मक कार्यक्रम ल्याउनुपर्छ । यसले प्रहरीप्रति विश्वास पनि बढाउँछ, सम्भावित अपराधको सूचना प्राप्त हुन्छ । समाजको मनोविज्ञान अध्ययन अनुसन्धान गर्नका लागि प्रहरीभित्र बेग्लै समूह बनाएर पनि काम गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully