आन्दोलनको सुरुवातमा तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, सुशासन कायम गरिनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्ने मागमा सबैको एकमत रहे पनि विकसित राजनीतिक घटनाक्रमले सबैको आकांक्षालाई भने सम्बोधन गर्न सकेको छैन । सरकार र जेन–जीबीच भएको सम्झौतामाथि समेत प्रश्न उठेको छ ।
What you should know
जेन–जी आन्दोलनले युवाहरूमा राजनीतिक चेतको बीजारोपण गरेको छ । पछिल्लो चार महिना मुलुकको राजनीतिक घटनाक्रम र सामाजिक परिवेशलाई नियाल्दा युवाहरूको राजनीतिप्रतिको चासो बढेको देख्न सकिन्छ । आन्दोलनको उद्देश्य केबल सरकार बदल्नु मात्रै नभई देशको अवस्थामा समेत बदलाव ल्याउनु रहेकाले आम युवाको राजनीतिप्रति चासो बढ्नु स्वाभाविक मान्न सकिन्छ ।
आन्दोलनको सुरुवातमा तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिनुपर्ने, सुशासन कायम गरिनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्ने मागमा सबैको एकमत रहे पनि विकसित राजनीतिक घटनाक्रमले सबैको आकांक्षालाई भने सम्बोधन गर्न सकेको छैन । सरकार र जेन–जीबीच भएको सम्झौतामाथि समेत प्रश्न उठेको छ ।
यद्यपि, जेन–जी आन्दोलनपश्चात् युवाहरूले जिम्मेवारी महसुस गरेको पनि पाइन्छ । समग्र देशले जेन–जीसँग जवाफका साथै निकाससमेत खोजिरहेकाले उनीहरूले आफ्नो कलिलो दिमाग खियाइरहेका छन् । नेपालका हरेकजसो परिवर्तनका निम्ति युवाहरूको महत्त्वपूर्ण योगदान रहेको छ । प्रत्येक पटक केबल निश्चित समूहको सत्ता यात्राका लागि भर्याङ मात्रै बनेका युवा पुस्ता यस पटक भने निर्णायक शक्तिका रूपमा समेत उदाएका छन् । यसले जेन–जीमा थप जिम्मेवारी बढाएको छ ।
नेपालमा लामो समय पाका उमेरका नेताहरूले देशको नेतृत्व गर्ने परम्परा नै बसेको अवस्था थियो । हरेक जसो दल र संगठनमा युवा पुस्ताको योगदानका तुलनामा निर्णायक सहभागिता कमजोर देखिन्थ्यो । तर, अहिले समय बदलिएको छ । हरेकजसो राजनीतिक शक्तिमा अहिले युवाहरूको अर्थपूर्ण सहभागिताको बहस सुरु भएको छ । नेपाल जस्तो लोकतान्त्रिक मुलुकका लागि युवाहरूको निर्णय तहमा अर्थपूर्ण सहभागिता रहनु अत्यन्तै सकारात्मक पक्ष हो ।
दार्शनिक कार्ल म्यानहाइमले भनेका छन्, ‘प्रत्येक पुस्ताले आफ्नो समयको संकट, परिवर्तन र संघर्षबाट राजनीतिक चेतना निर्माण गर्छ ।’ कुनै समयको पुस्ता अन्धविश्वास र कुरीतिका विरुद्ध लडिरहेको थियो । अब समय बदलियो । जेन–जी समानता, पहिचान र अर्थपूर्ण सहभागिताका लागि लडिरहेका छन् ।
यो डिजिटल युगका युवा पुस्ता छोटो समयमा उत्कृष्ट नतिजा हेर्न चाहन्छन् । लामो आलेख, दस्ताबेज र अखबार पढेरभन्दा टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा केही सेकेन्डको भिडियोमार्फत कुराहरू बुझ्न चाहन्छन् । यसैबाट उनीहरू
आफ्नो धारणा र निर्णयसमेत बनाइरहेका हुन्छन् । प्रविधिको तीव्र विकाससँगै अभ्यस्त हुँदै गएको यो पुस्ता प्रविधिकै अधिकतम प्रयोगबाट आफ्नो चेतनालाई जागृत गराइरहेका छन् । कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेको यो पुस्ताले सूचनासँगको पहुँचको दूरीलाई कम बनाउँदै लगेका छन् । यसले गर्दा उनीहरूको राजनीतिक चेतको विकासमा गति थप्नुका साथै राजनीतिक चेतलाई थप मजबुत र परिष्कृतसमेत बनाएको छ ।
संकटमा नै वास्तविक परीक्षा हुन्छ । मुलुकले अप्रत्याशित संकट भोगेको समयमा नागरिक समाजको विवेकपूर्ण प्रयत्नले तत्कालका लागि संकट केही हदसम्म मत्थर भएको छ । कुनै पनि राजनीतिक द्वन्द्व वा संकटबाट पार पाउनका लागि त्यसको तत्काल समाधान नखोजिए त्यसले दीर्घकालीन असर पुर्याउन सक्छ भन्ने कुरा विगतको १० वर्षे सशस्त्र जनयुद्धबाट समेत सिकाइ गर्नुपर्ने देखिन्छ । लोकतन्त्रमा कसैलाई निषेधको राजनीति गर्नु गलत मानिन्छ । त्यसकारण, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धाको पद्धतिबाट समाधान खोज्नु आजको आवश्यकता हो । यसलाई युवाहरूले समेत मनन गर्नुपर्ने देखिन्छ ।
२१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । जेन–जी आन्दोलनपछिको संकटपूर्ण अवस्थाबाट मुलुकलाई सामान्यीकरणको स्थितिमा पुर्याउन निर्वाचन शान्तिपूर्ण, भयरहित र उत्साहपूर्ण व्यापक जनसहभागिताका साथ सम्पन्न हुन अपरिहार्य रहेको छ ।
निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पार्दै समय तालिकाअनुरूप नै अघि बढिरहेकाले निर्वाचनको अनिश्चयमा रुमल्लिनुभन्दा तोकिएकै मितिमा निर्वाचनलाई सफल बनाउन आ–आफ्नो स्थानबाट युवाहरूले नै भूमिका खेल्नुपर्छ । आफ्नो स्वविवेक प्रयोग गर्न नसके स्वार्थ समूहबाट प्रयोग हुन सक्ने अवस्थालाई युवाले बुझ्न जरुरी छ । यसका लागि युवाहरूले मुलुकको भूगोल, इतिहास, अर्थ, कला र संस्कृतिसहित कानुन र वैश्विक राजनीतिका बारेमा समेत सामान्य ज्ञानको जानकारी राख्न आवश्यक छ ।
युवा तर्कशील पनि हुन जरुरी छ । सही सूचना र व्यक्तिगत विचारको मिश्रणबाट मात्रै तर्कको निर्माण हुने भएकाले पनि त्यसतर्फ युवाको ध्यान पुग्नुपर्ने देखिन्छ । विगतको आन्दोलन वा विद्रोहको समीक्षाबाट अबको नयाँ पुस्ताले सिक्न सक्नुपर्छ । २०३६ सालमा भएको विद्यार्थीहरूको आन्दोलनले बहुदलीय प्रजातान्त्रिक व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विकल्पमा जनमत संग्रहसम्म मुलुकलाई पुर्याएको थियो ।
भलै नतिजा ठीकविपरीत आयो । अहिले हामी ठ्याक्कै त्यस्तै खालको परिस्थितिबाट गुज्रिएका छौं । जुन परिवर्तनका लागि आन्दोलन भएको छ, त्यो संस्थागत हुनुको साटो पुरानै प्रवृत्तिले अनुमोदन पाउने अवस्थासमेत आउन सक्छ । जेन–जी आन्दोलनमा ७० भन्दा बढीले ज्यान गुमाएका र हजारौं घाइते भएका छन् । कसैले राज्यको उन्नति र प्रगतिका लागि गरेको यो हदसम्मको त्याग र बलिदानीलाई उपेक्षा गर्ने छुट कसैलाई नभएको बुझ्नुपर्छ ।
युवाहरूले आफ्नो योग्यता र क्षमताको स्वमूल्यांकन गरी आन्दोलनको मर्ममा हिँड्न सक्ने सामर्थ्य र माग सम्बोधन गर्न सक्ने योजना भए मात्रै कुनै पनि पदका लागि आफ्नो दाबी प्रस्तुत गर्नुपर्छ नत्र क्षमतावान्का लागि मार्गप्रशस्त गर्नसमेत सक्नुपर्दछ । पुराना दलहरूले समेत आन्दोलनलाई केबल क्षणिक आवेग वा उत्तेजनाका रूपमा नलिई सच्चिने अवसरका रूपमा सदुपयोग गर्नुपर्दछ ।
अझै आन्दोलनकै मर्मअनुरूप युवा सहभागितालाई जोड दिँदै आगामी योजना बनाउन सकेमा जनतामा पुग्न सहज हुनेमा समेत विचार पुर्याउनुपर्ने देखिन्छ । यो साधारण अवस्थाबाट नभई विशेष परिस्थितिबाट सिर्जित वातावरण भएकाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रको स्वार्थलाई राखेर हेर्न सक्नुपर्छ । लोकतन्त्रमा प्रश्न गर्ने र नेतृत्वलाई जवाफदेही बनाउन सके राजनीतिलाई फोहोरी बन्न दिनबाट रोक्न सकिन्छ भन्नेमा आम युवाहरूले भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
जेन–जी आन्दोलनपश्चात् आन्दोलनको नेतृत्व लिन देखिएको हानथापदेखि वैकल्पिक शक्ति निर्माणसम्म आइपुग्दा युवाहरूको भूमिका औसत देखिए पनि आगामी यात्रामा सुझबुझ र विवेक नपुर्याए आन्दोलनको जगमा प्राप्त उपलब्धिहरू गुम्ने र संस्थागत नहुने खतरा रहन्छ । यति मात्रै नभई मुलुक सदैव सङ्क्रमणकालीन चक्रबाट गुज्रिरहने खतरासमेत नरहला भन्न सकिने अवस्था छैन ।
कुनै पनि मुलुकको सङ्क्रमणकालीन समय लम्बिनु कति जोखिमपूर्ण हुन्छ भन्ने कुरा अन्य मुलुकबाट हेरेर सिक्न सक्नुपर्छ । यसतर्फ जेन–जी युवाहरूले समयमै बुझ्न र विवेक पुर्याई आगामी बाटो संयमताका साथ पहिल्याउन जरुरी देखिन्छ । दण्डहीनतालाई अन्त्य गर्ने, आयोगको प्रतिवेदनका आधारमा कानुनबमोजिम कारबाही गर्ने विषयमा समेत अबको जननिर्वाचित सरकारलाई खबरदारी निरन्तर गरिरहनुपर्छ ।
