मान्छेकै बीचमा हराउँदै मानवता

वञ्चितीकरणमा परेका वा जोखिममा रहेका मानिसको सशक्तीकरण गरी आफ्नो अधिकार बुझ्न, दाबी गर्न र प्रयोग गर्न सक्ने बनाउने सरकारको लक्ष्य छ । तर सरकारका कार्यक्रमले लक्षित समुदायले अनुभूति गर्न पाइरहेका छैनन् ।

पुस २४, २०८२

कल्पना नेपाल आचार्य

Humanity is disappearing among people.

What you should know

मानवले मानवलाई गर्ने दया, माया, प्रेम, सद्भाव, सहयोग, हेरचाह र मद्दत नै मानवता हो । यसमा कुनै स्वार्थ हुँदैन । मानवता भनेको दुःख, अप्ठ्यारो र पीडामा एकले अर्कोको सहयोग गर्नु हो । धर्तीमा रहेका सारा प्राणीहरूलाई निःस्वार्थ प्रेम गर्नु हो ।

समाजमा हरेक दृष्टिकोणबाट विकासको मूलधारमा पछाडि रहेका सीमान्तकृत, आवाजविहीन असहाय र अशक्तहरूको सेवा गर्नु हो । विकासका हरेक आयाममा पछाडि परेकाहरूलाई मद्दत र सहयोग गर्नु हो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय, अशक्त, बालबालिका, गरिब, पिछडिएको वर्गलाई माथि उठाउनु पनि हो । एकले अर्कोको सम्मान, संरक्षण गर्नु हो । मानवताभित्र मेलमिलाप, सद्भाव, प्रेम, नम्रता, एकता, सहनशीलता, धैर्यता, सहानुभूतिजस्ता सकारात्मक आचरण पर्छन् ।

यतिबेला पंक्तिकार पश्चिम नेपालको दुर्गम गाउँ ठाउँमा छु । माथिल्लो कर्णालीको नामले चिनिने र प्राकृतिक सुन्दर ठाउँमा कैयौं दिक्कलाग्दा घटनाहरूको साक्षी बन्नुपर्छ । झन्डै एक महिना अगाडिको कुरा हो । सहाराविहीन बनेका एक बालकलाई अनाथ बनाएर सहर पठाइदिन पर्‍यो भन्दै एक बूढी आमाले अनुरोध गरेकी थिइन् । अर्की एक महिलाले पनि ६ वर्ष जतिकी नानीलाई लिएर पालिकामा आइन् । श्रवण समस्या भएका आमाबाबुकी ती नानीकी दिदीलाई अनाथ बनाएर काठमाडौं पठाएको र उनलाई पनि पठाउनका लागि अनाथको सिफारिसका लागि उनी पालिकामा आएकी थिइन् । अर्का एक पुरुष पनि सात वर्ष जतिकी नानीलाई लिएर आएका थिए । आमाले दोस्रो विवाह गरेकी र बाबु भारततिर रहेको भन्दै सहर पठाउन चाहेको उनले बताए । ती नानीकी १३ वर्षकी दिदीलाई घरको काम गर्न राख्ने र ११ वर्षका नातिलाई पढाउने भनेका उनले सात वर्षकी नातिनीलाई भने कुनै संस्थामा पठाइदिन भनी निवेदन दिएका थिए ।

बालबालिकालाई पारिवारिक माया र ममतामा हुर्कन पाउने अधिकार हुन्छ । शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासका आधारभूत सेवा, सुविधा र स्वतन्त्रता उपयोग गर्न पाउने हक हुन्छ । कर्णालीका दूरदराजका कैयौं परिवारका बालबालिकाले त्यस्तो हकको उपयोग गर्न नपाएको अनुभूति हुन्छ ।

अर्को घटनाको पनि यहाँ चर्चा गर्नु उचित ठान्छु । सिञ्जा गाउँपालिका–२ की एक महिला, जो चार महिनाकी सुत्केरी तथा तीन सन्तानकी आमा हुन् । चार वर्षकी छोरी र ४ महिनाको शिशु लिएर जंगल गएकी उनी रुखबाट लडिन् । त्यस क्रममा चार महिनाको शिशुको मृत्यु भयो, उनी पनि गम्भीर घाइते भइन् । जंगलबाट उद्धार गरिएपछि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि लगियो । चिकित्सकहरूले टाउकामा गम्भीर चोट लागेकाले बिरामीको अवस्था अतिसंवेदनशील रहेको बताएका थिए । तर अस्पतालमा कतिपय विशेषज्ञ र उपकरण नहुँदा अन्यन्त्र लैजान सिफारिस गरियो । तर विमानस्थलमा पुर्‍याइएकी उनलाई सिट छाड्न कोही तयार भएनन् । बरु विवाद गर्न थाले । अन्त्यमा एक महिला कर्मचारीले सिट छोडिदिएर बिरामीलाई थप उपचारका लागि नेपालगन्ज पठाउन सकियो । घाइतेको कमजोर आर्थिक अवस्थाका कारण सबैको सहयोगमा रकम संकलन पनि भयो । उनको ज्यान बच्यो ।

बेसहारा दुःखी र असहाय अशक्तहरूको अभिभावक सरकार हो । मानवअधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व पनि सरकारकै हो । सीमान्तकृत र जोखिममा रहेका समूहको नीति र निर्णय प्रक्रियाहरूमा सक्रिय, स्वतन्त्र र अर्थपूर्ण रूपमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नु पनि सरकारकै दायित्व हो । तर तल्लो वर्ग र सीमान्तकृत समुदायले मानवताको अनुभूतिसमेत गर्न पाएका छैनन् । समाजमा हुने भेदभावको सिकार हुनुपरेको छ । छाउका गोठ भत्काइए पनि मनका छाउ गोठहरू भत्काउने काम हुन सकेको छैन । जसबाट महिलाको जीवन नै जोखिममा पर्दै आएको छ ।

वञ्चितीकरणमा परेका वा जोखिममा रहेका मानिसको सशक्तीकरण गरी आफ्नो अधिकार बुझ्न, दाबी गर्न र प्रयोग गर्न सक्ने बनाउने सरकारको लक्ष्य छ । तर सरकारका कार्यक्रमले लक्षित समुदायले अनुभूति गर्न पाइरहेका छैनन् । नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरू (शिक्षा, स्वास्थ्य, खाद्य, रोजगारी आदि) को कार्यान्वयन सुनिश्चित गरिनुपर्ने हो । राज्यका संस्थाहरू (न्यायिक निकाय, राष्ट्रिय मानवअधिकार आयोग, संसद्, स्थानीय सरकार) लाई मानवअधिकारको उल्लंघनका घटनामा अनुसन्धान गर्न र न्यायमा पहुँच सुनिश्चित गर्न सक्षम बनाउनु हो । विकासका लाभहरू सबैभन्दा पिछडिएका र बहिष्कृत समूहसम्म पुगेको सुनिश्चित गर्नु हो । तर लक्ष्यअनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन ।

सुशासनको अन्तिम लक्ष्य मानव विकास र मानव कल्याण हो । यही नै मानवता नै हो । मानवतालाई केन्द्रविन्दुमा राखेमा दिगो विकासका लक्ष्यहरू हासिल गर्न सहज हुन्छ । शून्य गरिबी, गुणस्तरीय शिक्षा, लैंगिक समानता जस्तो लक्ष्य मानव अधिकारमा केन्द्रित छन् । मानवअधिकारको सिद्धान्तले सुशासनलाई राज्यका सेवाहरू र स्रोतहरूको वितरणमा कुनै पनि आधारमा भेदभाव नगर्नमा जोड दिन्छ । समाजका सीमान्तकृत वर्गहरूको आवाजलाई पनि समेट्न बल पुर्‍याउँछ ।

समाजमा रहेका केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतर्फ डोहोर्‍याउने प्रयास हुँदै आएको छ । धर्म वा संस्कृतिका नाममा गरिने राजनीतिले अन्ततोगत्वा समाज अनि सिंगो देशलाई नै असर पार्दै आएको छ । दिनहुँजसो भेदभाव, हिंसा, अत्याचार, भ्रष्टाचारलगायतका अमानवीय क्रियाकलापका खबर सार्वजनिक भइरहन्छ । जसले गर्दा परिवार, समाज, राष्ट्र र विश्वको सामाजिक, आर्थिक, नैतिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आध्यात्मिक, स्वास्थ्य, समृद्धि, खुसीलगायतका पक्षमा नकारात्मक प्रभाव परिरहेको छ । गुणस्तरीय मानवीय जीवनका लागि अधिकारसँगै कर्तव्य पनि सिकाउन जरुरी छ । यसबाट हराउँदै गएको मानवतालाई खोज्न सकिन्छ । इमानदारी, नैतिकता, अनुशासन र अरूलाई सम्मान गर्ने, दया, माया, करुणालगायतका मानवीय धर्मलाई कार्यान्वयन गर्ने वातावरण तयार गर्न सरोकारवालाको ध्यान जानु जरुरी छ ।

कल्पना

Link copied successfully