नेतृत्वलाई प्रश्न– शक्ति बाँड्ने कि प्रतिरोध भोग्ने ?

आजको संकट युवाको व्यवहारमा छैन । यो नेतृत्वको दर्शनमा आएको संकट हो ।

पुस २३, २०८२

नीरज गौतम

Question for leadership - share power or face resistance?

What you should know

विश्वभर एउटा मौन तर गहिरो परिवर्तन भइरहेको छ । यो परिवर्तन कुनै एक देशको सीमाभित्र सीमित छैन, न त यो केवल सामाजिक सञ्जालमा चल्ने ट्रेन्ड मात्र हो । यो परिवर्तन मानिसको मन, परिवार, क्याम्पसका गल्ली, कार्यस्थलका बैठक र सडकका नारा–निसानामा देखिन थालेको छ ।

लामो समयदेखि स्वाभाविक र अपरिहार्य ठानिँदै आएको निःसर्त आज्ञापालनको संस्कृति क्रमशः क्षय हुँदै गएको छ । युरोपका सडकमा देखिएका जलवायु मार्च, अमेरिकाका विश्वविद्यालय र क्याम्पसमा उठेका विद्यार्थी आन्दोलन र दक्षिण एसियामा भ्रष्टाचार, असमानता तथा बहिष्कारविरुद्ध उभिएका युवा अभियान– यी सबैको गहिरो अर्थ एउटै हो : पुराना नेतृत्व शैलीले अब काम गर्दैनन् । हामीले कहिल्यै नसोधेका प्रश्नहरू आजका युवाले सोधिरहेका छन्– किन यस्तो व्यवस्था ?, किन यस्तो अन्याय ?, किन यस्तो दूरी ? र, हामीलाई किन सुनिँदैन ?

जेन–जीलाई प्रायः अधैर्य, विद्रोही वा अत्यधिक आदर्शवादी भनेर चित्रित गरिन्छ, तर त्यो चित्र अधुरो छ । वास्तविकतामा, यो पुस्ता नेतृत्वकै विरुद्ध उभिएको होइन । बरु दूरी बनाउने, नियन्त्रणमुखी, शोषण गर्ने र नैतिक रूपमा खोक्रो नेतृत्व अस्वीकार गरिरहेको हो । यो कुनै पुस्तागत आवेग होइन– यो एउटा मानवीय चेतनाको उठान हो, जसले विश्वभर नेतृत्वको भाषा र व्यवहार दुवैलाई पुनःपरिभाषित गर्न बाध्य बनाइरहेको छ ।

जेन–जी संकटको युगमा हुर्किएको पुस्ता हो । जलवायु परिवर्तनको समाचारले उनीहरूलाई डर देखायो, महामारीले उनीहरूको पढाइ र सपना अस्तव्यस्त बनायो, युद्धका दृश्यले उनीहरूको हृदयलाई कठोर बनायो र आर्थिक अनिश्चितताले घरभित्रका कुराकानीलाई तिक्त बनायो । अघिल्ला पुस्ताले इतिहासका पानामा पढेका संकटलाई यो पुस्ताले मोबाइल स्क्रिनमा प्रत्यक्ष देख्यो । स्थायित्व र सुरक्षाको वाचा गर्ने राज्य, बजार र संस्थाहरूले बारम्बार असुरक्षा मात्र दिएको अनुभव उनीहरूले सँगाले । उनीहरूले देखे– दिगोपनको भाषण गर्दै श्रमिक शोषण हुन्छ, शान्तिका नाममा द्वन्द्वबाट लाभ उठाइन्छ, समावेशिताको भाषण गर्दै शक्ति केही सीमित समूहमा थुपारिन्छ । त्यसैले आज उमेर, पद र हैसियत मात्र नेतृत्वको वैधताको आधार बन्न सक्दैन । यो पुस्ता नेतृत्वबाट उद्देश्य, सहानुभूति, पारदर्शिता र जवाफदेहिता माग्छ । उनीहरू आज्ञा मान्न तयार छन्, तर केवल त्यस्तो नेतृत्वको, जसले मानव मर्यादा, सामाजिक न्याय र भविष्यप्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्छ । उनीहरूलाई ‘कडा हात’ होइन, ‘खुला मन’ चाहिन्छ, ‘आदेश’ होइन, ‘अर्थ’ चाहिन्छ ।

यही कारण जेन–जीद्वारा नेतृत्व गरिएका आन्दोलनहरू अघिल्ला पुस्ताका आन्दोलनभन्दा स्वरूप र आत्मामा फरक देखिन्छन् । यी आन्दोलनहरू केन्द्रविहीन छन्, मूल्य–आधारित छन्, भावनात्मक रूपमा सचेत छन् र गहिरो नैतिक चेतनाले निर्देशित छन् । उनीहरू ‘को सत्तामा छ ?’ भन्ने प्रश्नमा सीमित हुँदैनन् । उनीहरूको मूल प्रश्न हुन्छ– ‘किन सत्तामा छन् र त्यो सत्ता कसका लागि प्रयोग भइरहेको छ ?’ यही प्रश्नले राज्य मात्र होइन, निजी क्षेत्र, कर्पोरेट संस्था, विश्वविद्यालय र सामाजिक संरचनालाई समेत गहिरो आत्मपरीक्षण गर्न बाध्य बनाएको छ । यो विद्रोहको संकेत होइन, यो संस्थागत स्वास्थ्यको संकेत हो । जहाँ प्रश्न उठ्न छाड्छ, त्यहाँ पतन सुरु हुन्छ । जेन–जीका आवाज अव्यवस्थाका निम्तो होइनन्, ती प्रणाली सुधारका लागि आएका चेतावनी हुन् । त्यसलाई समयमै सुन्ने हो भने सुधार सम्भव छ । अझ महत्त्वपूर्ण कुरा, उनीहरूको असहमति प्रायः ‘ध्वंस’ होइन, ‘निर्माण’ चाहने हृदयबाट आउँछ । उनीहरू भन्छन्– हामीसँग शक्ति छैन, तर सत्य बोल्ने साहस छ । हामीसँग पद छैन, तर भविष्यको चिन्ता छ ।

नेपाली सन्दर्भमा पनि यही चित्र अझ तीक्ष्ण भएर देखिन्छ । नेपालका जेन–जी विश्वव्यापी प्रवाहबाट अलग छैनन् । भ्रष्टाचार, सुशासनको अभाव, रोजगारीमा असुरक्षा, वैदेशिक पलायन, जलवायु न्याय र शैक्षिक संस्थामा सम्मानजनक व्यवहारको माग गर्दै नेपाली युवाहरू झन् संगठित र मुखर बन्दै गएका छन् । उनीहरूलाई अघिल्ला पुस्ताबाट अलग बनाउने तत्त्व क्रोध होइन, स्पष्टता र चेतना हो । उनीहरू व्यक्तिलाई मात्र होइन, संरचनालाई प्रश्न गर्छन् । नीतिगत कमजोरीभन्दा पर गएर संरचनागत असमानता औंल्याउँछन् । तर दक्षिण एसियामा गहिरो रूपमा जरा गाडेको नेतृत्व संस्कृतिले अझै पनि अधिकारलाई नियन्त्रणसँग र वरिष्ठतालाई बुद्धिमत्तासँग जोडिरहेको छ । कार्यस्थल, विश्वविद्यालय, राजनीतिक दल र सामाजिक संस्थामा युवाहरू आफूलाई सुन्ने होइन, नियन्त्रण गर्ने, मार्गदर्शन गर्ने होइन, अनुशासन थोपर्ने नेतृत्वको सामना गरिरहेका छन् । जब संवादको सट्टा दमन आउँछ, तब विरोध अपरिहार्य बन्छ । नेपालमा यो प्रतिरोध कहिले ‘क्याम्पस राजनीति’ को बहसमा, कहिले ‘रोजगारी’ को मागमा, कहिले ‘सार्वजनिक सेवा’ को सुधारमा, त कहिले सामाजिक सञ्जालको तीव्र प्रश्नोत्तरमा देखिन्छ । यसलाई युवाको ‘जिद्दीपन’ भनेर हेला गर्नु भनेको संस्थागत वास्तविकताप्रति आँखा चिम्लिनु हो । किनभने आजको युवा केवल आफ्नो भविष्यका लागि होइन, आफ्ना अभिभावक, आफ्ना समुदाय र देशकै भविष्यका लागि चिन्तित छ । उनीहरूलाई ‘थाहा छैन’ भनेर हाँस्नु सजिलो छ, तर उनीहरूको प्रश्न सुन्नु कठिन यद्यपि आवश्यक काम हो ।

यहीँबाट मूल सत्य स्पष्ट हुन्छ– आजको संकट युवाको व्यवहारमा छैन । यो नेतृत्वको दर्शनमा आएको संकट हो । दशकौंदेखि राजनीति, कर्पोरेट क्षेत्र र संस्थागत नेतृत्वमा आदेश, नियन्त्रण, दक्षता र आज्ञापालनलाई सर्वोच्च मूल्य मानियो । छोटो अवधिमा यसले केही नतिजा दिए पनि दीर्घकालमा यसले थकान, असमानता, वातावरणीय विनाश र मानवीय दूरता जन्मायो । कार्यस्थलमा मानसिक स्वास्थ्य संकट बढ्नु, युवामा निराशा गहिरिनु र संस्थाप्रति विश्वास घट्नु– यी सबै त्यसैको परिणाम हुन् । जब संस्थाले मानिसलाई केवल ‘उत्पादन गर्ने इकाइ’ वा ‘अनुशासित संसाधन’ बनाउँछ, तब सिर्जनशीलता मर्छ र प्रतिबद्धता कमजोर हुन्छ । जेन–जीले नेताबाट पूर्णता खोजिरहेका छैनन् । उनीहरू मानवता, इमानदारी र जवाफदेहिता खोजिरहेका छन् । यहीँबाट रूपान्तरणकारी र सेवक नेतृत्व शैक्षिक अवधारणाबाट बाहिर निस्केर व्यावहारिक र नैतिक आवश्यकता बन्छन् ।

रूपान्तरणकारी नेतृत्वको सार सरल छ– नेता ‘स्थिति जोगाउने’ होइन, ‘दृष्टि निर्माण गर्ने’ व्यक्ति हो । यस्तो नेतृत्वले संस्थालाई अल्पकालीन लाभ, लोकप्रियता वा शक्ति सन्तुलनभन्दा माथि उठाएर साझा उद्देश्यतर्फ उन्मुख गराउँछ । रूपान्तरणकारी नेतृत्वको सार सरल छ– नेता ‘स्थिति जोगाउने’ होइन, ‘दृष्टि निर्माण गर्ने’ व्यक्ति हो । यस्तो नेतृत्वले संस्थालाई अल्पकालीन लाभ, लोकप्रियता वा शक्ति सन्तुलनभन्दा माथि उठाएर साझा उद्देश्यतर्फ उन्मुख गराउँछ । जलवायु संकट, प्रविधिको तीव्र विकास, आप्रवासन, बेरोजगारी, असमानता र गलत सूचनाले जर्जर बनाएको विश्वमा रूपान्तरणकारी नेतृत्वले साझा भविष्यको कल्पना प्रस्तुत गर्छ, जहाँ विकास नाफामा मात्र होइन, मानव र प्रकृतिको सहअस्तित्वमा मापन हुन्छ । जेन–जी यस्तै दृष्टिको खोजीमा छन् । उनीहरूलाई आदेश होइन, अर्थ चाहिन्छ । नियन्त्रण होइन, सहभागिता चाहिन्छ । उनीहरू ‘के गर्नुपर्छ’ भन्दा बढी ‘किन गर्नुपर्छ’ भन्ने प्रश्नमा उत्तर खोज्छन् । रूपान्तरणकारी नेतृत्वले यही अपेक्षालाई सम्बोधन गर्छ किनकि यसले युवालाई आदेश पालन गर्ने अनुयायी होइन, परिवर्तनका साझेदार बनाउँछ । जब युवाले ‘हामीलाई पनि निर्णयमा सहभागी गर’ भन्छन् भने, त्यो सत्ता खोस्ने चाहना होइन, जिम्मेवारी बाँडियोस् भन्ने चाहना हो ।

आजका संस्थाहरूमा सरकार होस् वा निजी क्षेत्र, युवालाई केवल ‘कार्यबल’ का रूपमा हेर्ने दृष्टि अझै बलियो छ । तर जेन–जी आफ्नो समय, प्रतिभा र ऊर्जा ‘उद्देश्य’ सँग बाँध्न चाहन्छ । उनीहरूलाई कम्पनीको भिजन पोस्टरमा मात्र होइन, निर्णय र नीतिमा देखिनुपर्छ । पारदर्शी प्रगति, निष्पक्ष अवसर, पर्यावरणीय जिम्मेवारी र सामाजिक प्रभाव– यी बिना उनीहरूको प्रतिबद्धता दीर्घकालीन हुँदैन । रूपान्तरणकारी नेतृत्वले युवाको यही मनोविज्ञान बुझेर ‘काम’ लाई अर्थसँग जोड्छ र ‘लक्ष्य’ लाई मूल्यसँग । परिणामस्वरूप संस्था केवल उत्पादन केन्द्र होइन, ‘विश्वास र साझा पहिचान’ को स्थल बन्छ । जहाँ कर्मचारीले ‘मलाई सुन्छन्’ भन्ने अनुभूति पाउँछ र नागरिकले ‘यो संस्था हाम्रो हो’ भन्ने भरोसा गर्न थाल्छ ।

त्यसैगरी, सेवक नेतृत्व आजको विश्वमा बढ्दो ध्रुवीकरण, घृणा र अविश्वासको प्रभावकारी उपचार हो । सेवक नेतृत्वले शक्ति प्रदर्शन होइन, जिम्मेवारी वहनलाई नेतृत्वको केन्द्रमा राख्छ । यसले कमजोरको रक्षा गर्छ, संवादलाई प्राथमिकता दिन्छ र नीतिलाई कागजबाट मानिसको जीवनसम्म जोड्छ । जब नेतृत्वको ‘सुन्ने’ क्षमतामा कमजोर हुन्छ, तब मानिसहरू ‘चिच्याएर’ सुनाउन बाध्य हुन्छन् । सेवक नेतृत्वले यही दूरी घटाउँछ– व्यवस्थापक र कर्मचारीबीच, सरकार र नागरिकबीच, शिक्षक र विद्यार्थीबीच, नेता र जनताबीच । जेन–जी शब्दभन्दा व्यवहार हेर्छन्, त्यसैले देखावटी भाषण होइन, इमानदार अभ्यासले मात्र उनीहरूको विश्वास जित्न सक्छ । सेवक नेतृत्वले विश्वासको सेतु मात्र निर्माण गर्दैन, उसले संस्थाको नैतिक आधारलाई पुनर्जीवित गर्छ, जहाँ नेतृत्वको अर्थ ‘अधिकार’ होइन, ‘सेवा’ हुन्छ ।

आजको विश्व बहुआयामिक संकटको चरणमा उभिएको छ– जहाँ युद्ध केवल हतियारको प्रयोगबाट होइन, असमानता, बहिष्कार, जलवायु अन्याय र संस्थागत अविश्वासबाट जन्मिन्छ । यस्तो अवस्थामा शान्ति कुनै सम्झौतामा हस्ताक्षर गरेर मात्र प्राप्त हुँदैन, शान्ति तब सम्भव हुन्छ, जब नेतृत्वले मानिसको सम्मान, आवाज र अवसरलाई केन्द्रमा राख्छ । शान्ति भन्नाले केवल द्वन्द्व रोकिएको अवस्था होइन, यो न्याय भएको, अवसर खुला भएको र नागरिकले आफ्नो भविष्यमा भरोसा गर्न सकेको अवस्था हो । दिगोपन पनि केवल वातावरणीय कार्यक्रम होइन, यो आर्थिक, सामाजिक र भावनात्मक दिगोपन हो । जहाँ संस्था र समाजले मानिसलाई ‘खर्च’ गरेर होइन, ‘सम्भावना’ विकसित गरेर अघि बढाउँछन् । रूपान्तरणकारी नेतृत्वले भविष्यतर्फ मार्ग देखाउँछ । सेवक नेतृत्वले त्यो मार्गमा मानिसलाई सुरक्षित, सम्मानित र सहभागी बनाउँदै लैजान्छ । शान्ति र दिगोपन दुवैका लागि यी दुई नेतृत्व शैली आज ‘वैकल्पिक’ होइन, ‘अनिवार्य’ छन् ।

पहिलो, युवालाई ‘समस्या’ होइन ‘नीति साझेदार’ का रूपमा स्विकार्नुपर्छ । दोस्रो, नेतृत्व चयन र पदोन्नतिको आधार वरिष्ठता मात्र होइन, क्षमता, नैतिकता, सार्वजनिक जवाफदेहिता र दृष्टि हुनुपर्छ । तेस्रो, संस्थाहरूले संवादको नियमित ढाँचा बनाउनुपर्छ । जहाँ आलोचना दमन होइन, सुधारको पृष्ठपोषण बनोस् । अब प्रश्न उठ्छ– नेपालका राजनीतिक दल, सरकारी निकाय, विश्वविद्यालय, बैंक, उद्योग, मिडिया र नागरिक समाजले के गर्ने ? पहिलो, युवालाई ‘समस्या’ होइन ‘नीति साझेदार’ का रूपमा स्विकार्नुपर्छ । दोस्रो, नेतृत्व चयन र पदोन्नतिको आधार वरिष्ठता मात्र होइन, क्षमता, नैतिकता, सार्वजनिक जवाफदेहिता र दृष्टि हुनुपर्छ । तेस्रो, संस्थाहरूले संवादको नियमित ढाँचा बनाउनुपर्छ । जहाँ आलोचना दमन होइन, सुधारको पृष्ठपोषण बनोस् । चौथो, मानसिक स्वास्थ्य, काम–जीवन सन्तुलन, निष्पक्ष अवसर र सुरक्षित कार्यसंस्कृतिलाई ‘अनुग्रह’ होइन, ‘अधिकार’ का रूपमा स्थापित गर्नुपर्छ । पाँचौं, जलवायु र दिगोपनलाई समारोहको भाषणबाट नीति, बजेट र व्यवहारमा लैजानुपर्छ । यस्ता सुधारहरू ‘युवा खुसी पार्न’ होइन, संस्था बचाउन र समाज टिकाउन आवश्यक छन् ।

अन्ततः आजका नेतासामु विकल्प स्पष्ट छ । उनीहरूले शक्ति अड्काएर निरन्तर प्रतिरोध भोग्न सक्छन् वा शक्ति बाँडेर वैधता कमाउन सक्छन् । उनीहरू विरोधलाई अव्यवस्था ठान्न सक्छन् वा त्यसलाई रोगको लक्षण ठानी उपचार खोज्न सक्छन् । उनीहरू माथिबाट नेतृत्व गर्न सक्छन् वा युवा सँगसँगै हिँड्न सक्छन् । रूपान्तरणकारी र सेवक नेतृत्व कमजोर विकल्प होइनन् । यी साहसी र दूरदर्शी विकल्प हुन्, अहंकारले भरिएको संसारमा विनम्रता र दूरीमा बनेको प्रणालीमा सहानुभूति माग्ने विकल्प । जेन–जी अनुमति पर्खिरहेका छैनन्, उनीहरू भविष्य बनाइरहेका छन् । अब प्रश्न यत्ति हो– आजका नेता उनीहरूसँगै हिँड्न तयार छन् कि इतिहासले उनीहरूलाई छोडेर अघि बढ्नेछ ?

नीरज गौतम लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक हुन् ।

Link copied successfully