परिणाममुखी होला विशेष महाधिवेशन ?

देशको प्रमुख प्रजातान्त्रिक राजनीतिक दलका रूपमा नेपाली कांग्रेसमा यो वा त्यो विवादको कमी कहिल्यै रहेन, स्थापनाकालदेखि नै कांग्रेसमा साना–ठूला द्वन्द्वहरू भई नै रहेका छन्

पुस २०, २०८२

किशोर नेपाल

Will the special general convention be result-oriented?

What you should know

नेपाली कांग्रेसका प्रतिभासम्पन्न नेता तथा सांसद गगन थापा कुनै न कुनै हिसाबले राजनीतिमा चर्चित भइरहने व्यक्तित्व हुन् । पछिल्लो पुस्ताका यी प्रभावशाली व्यक्तित्व यतिबेला पार्टीको आन्तरिक राजनीतिमा अत्यन्त चलायमान छन् र सधैं चर्चाको शीर्ष स्थानमा रहने गरेका छन् ।

जेन–जी विद्रोहपछि पछिल्लो समयमा नै गगन चर्चाको शिखरमा रहेका छन् । अहिले उनको चर्चा उनले प्रस्ताव गरेको नेपाली कांग्रेसको विशेष अधिवेशनमा केन्द्रित रहेको छ ।

उनी यतिबेला कांग्रेसको केन्द्रीय समितिमा महामन्त्रीका रूपमा स्थापित छन् । त्यसैले पनि कांग्रेस कार्य समितिले निर्वाचनको मुखमा तत्काल नियमित महाधिवेशन गर्न नसकिने निर्णय गरेपछि उनले चुनावमा जानुअघि ‘विशेष अधिवेशन’ गर्नुपर्ने तर्क राखेका छन् ।

महामन्त्री गगनले विशेष महाधिवेशनका लागि सभाकक्ष लगायतका पूर्वाधारहरूको बन्दोबस्त मिलाइसकेका छन् । तर, अहिलेको संकटकालीन समयमा गगनले प्रस्ताव गरेको विशेष अधिवेशनको परिणाम सकारात्मक वा नकारात्मक कस्तो आउनेछ ? यसबारे कांग्रेसका नेताहरूले स्पष्ट विचार राख्न सकेका छैनन् ।

स्वाभाविक हो, गगन थापा हतारमा छन् । नेपाली सत्ताको संरचनामा आमूल परिवर्तन ल्याउने उनको चाहना अस्वाभाविक पनि होइन । तर, जेन–जी विद्रोहपछि देशको परिस्थिति सामान्य छैन । फागुन २१ का लागि तय गरिएको चुनाव होला वा नहोला ? अधिकांश मानिसको मन द्विविधाले भरिएको छ ।

समय सोचिए जस्तो सरल छैन, तरल छ । गगन थापाले यो कुरा नबुझेका छैनन् । नेपाली समाजको मनस्थिति बिथोलेको छ, जेन–जी विद्रोहले । भोलिको शासन व्यवस्था नबिथोलिएला भन्ने आशा कसैमा देखिँदैन । गगनले आह्वान गरेको विशेष अधिवेशन उपलब्धिमय होलान् भन्ने आधार के छ ? 

नेता गगनका बारेमा नकारात्मक चर्चा गर्नुभन्दा पनि देशमा विद्यमान शासकीय र राजनीतिक विधिको परिवर्तनमा उनी कति प्रभावकारी रहे ? त्यसको लेखाजोखा गर्नु आवश्यक छ । पश्चिमी संसारका बुद्धिजीवीहरूले हाम्रा जस्ता विकासशील भनिने देशहरूलाई आफ्नो खेलको बिसात बनाएका छन् भन्ने कुरा गगनलाई थाहा नभएको होइन ।

छिमेकी बंगलादेशको सरकारले अघिल्लो सरकार सञ्चालन गर्ने पार्टी अवामी लिग र त्यो पार्टीका नेता शेख हसिनालाई कसरी चुनाव प्रक्रियाबाट बाहिर राख्यो ? त्यसको विश्लेषण नेपालका सबै लोकतान्त्रिक पार्टीका नेताहरूले गर्नुपर्दछ । गगनले प्रस्तावित विशेष अधिवेशनका कार्यसूची स्पष्ट ढंगले अघि सारेका छैनन् ।

यो विशेष अधिवेशनको उपलब्धि के हुनेछ ? यसले नेपाली कांग्रेस पार्टीलाई अहिलेको दीनहीन अवस्थाबाट कसरी मुक्त गर्नेछ ? उद्देश्य र ध्येयमा चुक्दै गएको नेपाली कांग्रेस पार्टीलाई विशेष अधिवेशनले कसरी उचाइमा पुर्‍याउँछ ? के विशेष अधिवेशनले विद्यमान परिस्थितिको यथार्थ व्याख्या गर्ने र कार्यकर्ताहरूलाई ‘सहमत’ गराउने काम गर्न सक्दछ ? 

‘जेन–जी’ विद्रोह र विध्वंसपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले संसदीय चुनावको मिति तोकेपछि नेपाली कांग्रेस विवाद र अविश्वासको चरम अवस्थामा पुगेको छ । महामन्त्री गगन फागुन २१ मा ‘हुने’ संसदीय निर्वाचनअघि नेपाली कांग्रेसको ‘विशेष’ अधिवेशन बोलाउने अभियानमा लाग्नुभएको छ ।

जेन–जीको नाममा भएको सांघातिक आक्रमणपछि पार्टी सभापतिबाट अवकाश लिने मनस्थितिमा पुग्नुभएका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्कालाई अनौपचारिक प्रकारले ‘कार्यवाहक’ तोकेर स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएको थियो । सिंगापुरबाट तरोताजा भएर फर्किनुभएका देउवा अहिले सभापतिका रूपमा सक्रिय हुनुहुन्छ ।

यता, उपसभापति खड्काले पाउनुभएको कार्यवाहकको पगरी यथावत् रहेको छ । कांग्रेसका ‘बौद्धिक र विचारशील’ भनिएका नेताहरूले उपसभापति खड्कामा ‘निर्णय क्षमता नभएको’ टिप्पणी गरेका थिए । उपसभापति खड्कामाथि गरिएको यो टिप्पणी कदाचित न्यायोचित थिएन । तर, राजनीतिमा न्याय–अन्याय हुँदैन । सत्ता स्वार्थ नै प्रमुख हुन्छ । 

नेपाली कांग्रेसको इतिहास देशका अन्य कुनै पनि राजनीतिक दलको इतिहासभन्दा पृथक् छ । कांग्रेसले देशमा प्र्रजातान्त्रिक स्थापनाका लागि निरन्तर कडा संघर्ष गरेको छ । २००७ सालको जनक्रान्तिको सफलतापछि २०१५ सालसम्म कांग्रेस प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै आन्दोलनमा 

रह्यो । २०१७ सालमा राजा महेन्द्रको एकतन्त्रीय पञ्चायती शासनतिरको प्रतिगमनपछि अर्को एक दशक सुवर्णशमशेरको नेतृत्वमा पञ्चायतविरुद्ध संघर्षमा जुट्यो । यो कालखण्डमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतका नेताहरू कारागारमा थुनिनुभएको थियो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाबका कारण नेताहरू कारामुक्त भए पनि देशमा प्रजातान्त्रिक राजनीतिक वातावरण थिएन । कारामुक्त भएपछि बीपी र गणेशमान सिंह निर्वासनमा जानुभयो । बीपी र गणेशमान सिंहभन्दा केही वर्षपछि कारागारबाट मुक्त हुनुभएका कृष्णप्रसाद भट्टराईले नेपाली कांग्रेसको आन्तरिक संगठनको पुनः संयोजन गर्न निकै कडा मिहिनेत गर्नुभएको थियो । 

देशको प्रमुख प्रजातान्त्रिक राजनीतिक दलका रूपमा नेपाली कांग्रेसमा यो वा त्यो विवादको कमी कहिल्यै रहेन । स्थापनाकालदेखि नै कांग्रेसमा साना–ठूला द्वन्द्वहरू भई नै रहेका छन् । कांग्रेस नेतृत्वले ती द्वन्द्वहरूलाई स्वाभाविक रूपमा लिने गरिएको पाइन्छ ।

२०४६ सालको राष्ट्रिय जनआन्दोलनभन्दा पहिले नेपाली कांग्रेसका महामन्त्रीका रूपमा गिरिजाप्रसाद कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीतिले गरेको मार्गदर्शनअनुसार राजासँग एकता र मेलमिलाप नीतिअनुसार देशको शासन व्यवस्था चलाउन आग्रहका साथ प्रस्ताव गरिरहनुभएको थियो । तर, राजाले महामन्त्री कोइरालाको प्रस्ताव स्वीकार गरेनन् ।

त्यसपछि भएको थियो– प्रजातन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय जनआन्दोलनको संयोजन । कांग्रेसका सर्वमान्य नेताका रूपमा आन्दोलनमा सहभागिताका लागि गणेशमान सिंहले देशमा प्रजातन्त्रका लागि संघर्षरत रहेका सबै वामपन्थी दलहरूसँग आग्रह गर्नुभएको थियो । यसपछि नै जनआन्दोलनको आँधी–बेहरीले निर्दलीय पञ्चायती व्यवस्था ढलेको थियो । 

परिवर्तनपछि २०४८ सालमा भएको संसदीय चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो । चुनावमा कृष्णप्रसाद भट्टराई पराजित हुनुभयो । उहाँका स्वाभाविक उत्तराधिकारीका रूपमा गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गर्नुभयो । प्रधानमन्त्री कोइरालाका लागि पनि तत्कालीन राजनीतिक परिस्थिति सामान्य थिएन ।

२०४८ सालमा झापाको कलबलगुडीमा भएको महाधिवेशन सर्वमान्य नेता गणेशमान सिंहको ‘असन्तुष्टि’ का कारण चुनावपछिको सरकारको नेतृत्वकै विषय ठूलो चर्चामा आयो । प्रधानमन्त्री कोइरालाका विपक्षमा निकै नेताहरूले चर्को बहस गरे ।

कांग्रेसको एउटा पक्षले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महेश आचार्यलाई अर्थ राज्यमन्त्री नियुक्त गर्नुभएकामा र चुनावमा पराजित हुनुभएका नेता डा. रामशरण महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएकामा आवाज उठाएका थिए । सर्वमान्य नेता गणेशमान सिंहले ती असन्तुष्ट आवाजहरूको साथ दिनुभएको थियो । त्यो विवादलाई साम्य पार्न सभापति कृष्णप्रसाद भट्टराईले सुझबुझका साथ निकै मिहिनेत गर्नुपरेको थियो । 

उच्च सैनिक अधिकारीहरूले दिएको सल्लाह अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आकार दिनुभएको वर्तमान चुनावी सरकारको कुनै राजनीतिक अस्तित्व स्थापित हुन सकेको छैन । प्रतिनिधिसभा र राष्ट्रिय सभामा कब्जा जमाएर बसेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नेपाली कम्युनिस्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका मधेशवादी दलहरू फागुन २१ का लागि निर्धारित चुनावको प्रतीक्षामा रहेका त छन् ।

तर, अहिलेसम्म देशमा चुनाव हुने खालको उत्साहजनक राजनीतिक र सामाजिक वातावरण बन्न सकेको छैन । सेना, चुनावी सरकार र नयाँ–पुराना राजनीतिक दलका नेताले आह्वान गर्दैमा स्वच्छ र निष्पक्ष चुनाव हुने होइन । अहिलेको अवस्थामा मतदानमा सहभागी हुन जसले जति नै आह्वान गरे पनि जनतामा त्यस्तो जाँगर देखिँदैन । यो कुरा गगन थापा वा अरू कोही नेतालाई थाहा नभएको होइन ।

जनताले २०४८ सालदेखि अहिलेसम्म भोट दिएको दिएकै छन् । तर, ‘झिलिमिली’ परिणाम कतैबाट आएको छैन । देश अन्तर्राष्ट्रिय कम्पनीहरूको सानो र मनोरन्जक बजारमा परिणत भएको छ । मिहिनेती र सरल चरित्रका रूपमा प्रतिष्ठित नेपालका किसानहरू अन्यत्र देशमा कमारो बन्नुपर्ने नियतिमा फँसेका छन् । 

नेपाली कांग्रेसका प्रभावशाली नेताहरूमा यतिबेला सामूहिक अठोट देखिएको छैन । देश संघीय गणतन्त्रमा पुगेपछि कुनै पनि पार्टीले एकल सरकार चलाउन सकेको छैन । देशमा गठन भएका प्रादेशिक सरकारहरूमा जागरुकता देखिँदैन । जनताका समस्याहरू जस्ताका तस्तै छन् । भ्रष्टाचार बढेको बढेकै छ । भ्रष्टाचारमा लिप्त भएका कतिपय राजनीतिक र प्रशासकीय व्यक्तिहरूको अनुहार सदाचारीका रूपमा बाहिर आइरहेको छ ।

राजनीतिक पद्धतिको मूल्यमा नेताहरूको अहंकार र हैकम बढेको छ । तर, संघीय सरकारको ‘शक्तिशाली’ तहमा रहेका व्यक्तिहरू, चाहे ती माओवादी जनयुद्धका ‘नायक’ पुष्पकमल दाहाल प्रचण्ड हुन् अथवा एकीकृत कम्युनिस्ट पार्टीका केपी ओली, अथवा कांग्रेसका सभापति शेरबहादुर देउवा हुन्, यी सबै निष्प्रभावी र निष्क्रिय बन्दै गएका छन् । वर्तमान राजनीतिको सबैभन्दा कारुणिक अवस्था यही हो ।

संघीय गणतन्त्र स्थापनाको दुई दशक बितिसक्दा पनि जनताले अपेक्षा गरेजस्तो समृद्धिको राजनीति प्रारम्भ हुन नसक्नु दुःखद कुरा हो । आफूलाई वामपन्थी भन्ने पार्टीहरू संगठित हुँदै जाँदा नेपाली कांग्रेसका नेताहरू कोही आफ्नै रवाफमा रमाएका छन् । कोही आफैं अलमलिएका छन् ।

खासगरेर, नेपाली कांग्रेस पार्टीको अवस्था लोकतन्त्रको स्वास्थ्यका लागि प्रतिकूल देखिन थालेको छ । यो अवस्थामा कांग्रेसका महामन्त्री गगन थापाको प्रस्ताव र आह्वानमा हुन लागेको ‘विशेष अधिवेशन’ कति परिणाममुखी होला ? भन्न सकिँदैन । यो विशेष अधिवेशन मात्रैले ‘गतिशील’ पार्टीबाट ‘गतिहीन’ पार्टीमा परिणत हुँदै गएको नेपाली कांग्रेसलाई असान्दर्भिक हुनबाट जोगाउन सक्दैन । 

बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता मात्र होइन, उहाँ लोकतान्त्रिक समाजवादका चिन्तक हुनुहुन्थ्यो । उहाँ लोकतन्त्रलाई देशको विकास र उन्नतिको पहिलो सर्त मान्नुहुन्थ्यो । विकासलाई मूलरूपले राजनीतिक कर्म मान्नुहुन्थ्यो ।

उहाँ वैदेशिक सहायताले देशको विकास हुन्छ भन्ने अवधारणाका विरुद्ध उभिनुभएको थियो । समाजवादी समाजको निर्माणमा लोकतन्त्रको अहम् भूमिका रहने विश्वास थियो, उहाँको । तर, कांग्रेसका अहिलेका नेताहरूमा गहिरो चिन्तनको त्यो सामर्थ्य गुमेको छ । भोगवादी लोकतन्त्रको अहिलेको युगमा बुद्धि र तर्क निरर्थक ठहरिएका छन् । यसको अनुभूति कांग्रेसका सबै होनहार नेताहरूमा होला नै ।

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully