गाउँका सिंहदरबारले कसिलो बनाएको नागरिकसँगको सम्बन्ध

संविधानले दिएको अधिकार र नागरिकको सहभागितासँगै स्थानीय सरकार शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षामा उल्लेख्य उपलब्धि हासिल गर्दै आएका छन्।

पुस २०, २०८२

सम्पादकीय

The village Singha Durbar has strengthened the relationship with the citizens.

What you should know

राज्यका अंगहरू नागरिकको जति बढी नजिक हुन्छन्, उति नै राज्यप्रति नागरिकको अपनत्व वृद्धि हुन्छ । किनकि, त्यस्तो अवस्थामा नागरिकले राज्यबाट लिनुपर्ने सेवा तथा सुविधा सहजै लिन सक्छन् । विकास निर्माणका कामका लागि सरकारसम्म आफ्नो माग राख्न र त्यसको प्रक्रियालाई अवलोकन गर्न पाउँछन् ।

राज्यका कामकारबाहीमा गुनासो सहजै व्यक्त गर्न सक्छन् । आवश्यकताअनुसार व्यक्तिगत तथा सामूहिक ढंगबाट दबाब दिन सक्छन् । नेपालको संघीयताको संरचना नै राज्यलाई नागरिकतर्फ फर्काउने ढंगले तयार गरिएको छ । सदियौंदेखि कायम राज्य र नागरिकबीच ठूलो दूरीले सिर्जना गरेको ठूलै असमझदारी न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ ।

तीन तहको सरकारमध्ये नागरिकको सबैभन्दा नजिकको सरकार– स्थानीय सरकार– ले जुन ढंगले काम गरिरहेका छन्, त्यसले संघीयताको अभ्यासका क्रममा राखिएका अभिप्रायलाई सम्बोधन गरिरहेको अनुभूत हुन्छ । यसबाट राज्य र नागरिकलाई अलग अवधारणाका आधार विभाजित गर्ने होइन कि सँगसँगै हातेमालो गर्दै अघि बढ्ने संस्कृति विकास गरिरहेको छ ।

२०७४ वैशाखमा स्थानीय तहको पहिलो निर्वाचन हुनुअघि चर्चामा आएको नारा थियो– गाउँगाउँमा सिंहदरबार । अर्थात् शासकीय केन्द्र सिंहदरबारबाट पाउनुपर्ने सेवा नागरिकले आफ्नै गाउँठाउँमा पाउनेछन् । सिंहदरबारका कोठाचोटामा तयार हुने योजना गाउँठाउँमै तयार हुनेछन् र त्यसमा नागरिकको पनि संलग्नता रहनेछ । नागरिकमैत्री योजना बन्नेछन् ।

केन्द्रीकृत राज्यको सरकारले देख्न नसकेका नागरिकका सकस देख्नेछ र समाधानका लागि योजना कार्यान्वयन गर्नेछन् । नागरिकको यस्तो बुझाइ र अपेक्षा धेरै हदसम्म पूरा भएको छ । सबै स्थानीय तहले सबै क्षेत्रमा समान प्रयत्न गरे र सफलता प्राप्त गरे भन्ने त होइन, तर नागरिकका दुःखसुखसँग स्थानीय सरकार जोडिएका अनेकौं सन्दर्भ पाउन सकिन्छ ।

कोभिड महामारीका बेलामा नागरिकलाई क्वारेन्टाइनमा राख्नेदेखि खानपिनको व्यवस्था मिलाउने कामसम्ममा स्थानीय सरकार सक्रिय देखिएका थिए । सबैभन्दा पहिले स्थानीय सरकारको भूमिका महसुस भएको र प्रशंसा पाएको त्यतिबेलै हो । त्यसअघि र पछि पनि संविधानले दिएको अधिकार प्रयोगका सबालमा स्थानीय सरकारको अग्रसरता अर्थपूर्ण छ ।

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा ३ हजार ८ सय १ र कक्षा १ देखि १० सम्ममा १९ हजार ३ सय ६ बालबालिकालाई छात्रवृत्तिमा अध्ययन गराउन सफल भएको छ । यसबाट जेहेन्दार, गरिब, महिला, दलित, जनजाति र अपांगता भएका विद्यार्थीले लाभ पाएका छन् । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘महानगर अटिजम सेवा केन्द्र’ बाट हाल १७ जना बालबालिकाले सेवा लिइरहेका छन् ।

अनुभव र ज्ञानको आदानप्रदान गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेती गर्ने किसानलाई बीउ र मल्चिङ सामग्रीमा ५० प्रतिशत अनुदान दिएपछि उत्पादनसँगै कृषकको आर्थिक सुरक्षा पनि बढेको छ । धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी, सफा धनगढी’ चलाएयता सफा मात्रै देखिएको छैन, वर्षमा करिब ८० लाख रुपैयाँ आम्दानी पनि गर्न थालेको छ ।

त्यस्तै, तिलोत्तमा नगरपालिकाले नागरिकलाई दिने सेवा प्रवाहको गुणस्तरले अन्तर्राष्ट्रिय रूपमै असल स्थानीय सरकारको पहिचान बनाएको छ । कालीकोटका नरहरिनाथ र शुभकालिका गाउँपालिकाले पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिन थालेपछि व्यावसायिक किसानको संख्या बढ्दै गएको छ ।

ठोरी गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८१/०८२ मा गरेको कार्यसम्पादन मूल्यांकनमा ठोरी गाउँपालिका प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ । आठबीस नगरपालिकाले विद्यार्थीलाई डाक्टर बनाउन आर्थिक सहयोग गर्दै, एचए र स्टाफ नर्सलाई पनि छात्रवृत्ति दिइरहेको छ ।

भरतपुर महानगरपालिकाले दुग्ध किसानलाई अनुदान दिन्छ, जसले कृषकहरूको मनोबल बढाएको छ । आँबुखैरेनी गाउँपालिकाले चलाएको हाटबजारका कारण कृषकहरूले आफूले उत्पादन गरेका उपज हाटबजारबाट बिक्रीवितरण गरी आर्थिक उपार्जन गर्न थालेका छन् । धरान उपमहानगरपालिकामा सुरु भएको ‘माया धराने’ बेसार उद्योगले किसानको आय र उद्यमशीलता र रोजगारीलाई नै नयाँ दिशा दिएको छ ।

नेपालको संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारका सूची छन् । जसमा स्थानीय सेवाको व्यवस्थापन, स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, सिँचाइ, घरजग्गा धनीपुर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य जस्ता विषय पर्छन् ।

त्यस्तै, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन, खानेपानी, विपद् व्यवस्थापन, भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास लगायतका काम पर्छन् । प्रायः स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको पहिचान गर्दै नतिजामुखी काम गर्ने प्रयत्न गरिरहेका छन् । त्यसबाट नागरिक लाभान्वित भएको पाइन्छ । यसले नेतृत्व सीप र आँट पनि बढाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रधानमन्त्री बन्ने लक्ष्यसहित मूलधारको राजनीतिमा अघि बढ्नु एउटा उदाहरण हो ।

तीन तहको संघीयता अपनाइएको भए पनि संघीय सरकार नागरिकको अपेक्षा र सपनालाई पूरा गर्न असफल जस्तै छ । अस्थिरता र गतिहीनतामा फसिरहेको छ । प्रदेश सरकार पनि संघीय सरकारको असहयोग, आफूभित्रको अलमल र दलीय खिचातानीका कारण खासै प्रभावकारी हुन सकेको छैन । यस्तो अवस्थामा स्थानीय तहले नै संघीयताको साख बचाइरहेको छ भन्नु अत्युक्ति हुँदैन ।

समयक्रममा स्थानीय तहले आफ्नो अधिकार र क्षमता महसुस गर्दै गएका छन् नै, परिपक्वता पनि हासिल गर्दै गएका छन् । प्रत्यक्ष निर्वाचित सरकार भएका कारण आँट पनि छ, संविधानले अधिकार पनि दिएको छ । त्यसको लाभ नागरिकले सहजै पाउने स्थिति बनेको छ । संघीय सरकारले वर्षौंदेखि फत्ते गर्न नसकेका कतिपय काममा स्थानीय सरकारले सामान्य प्रयत्नबाटै सफलता पाएका पनि छन् । यसर्थ स्थानीय सरकार अधिकार र अठोटको संयोजन पनि हुन् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully