शीतलहरको सकस

शीतलहरले वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन र सडक मजदुर बढी प्रभावित छन्।

पुस १८, २०८२

डा. प्रकाश बुढाथोकी

The cold wave

What you should know

पुस लागेसँगै हिमालमा हिमपात र तराईमा हुस्सु, कुहिरोले उचाइ लिँदै छ । परिवारको आकारअनुसार घुर ताप्नु तराई–मधेशको परम्परागत चलन हो । तर, ‘शीतलहर केही समयको मौसमी स्थिति हो’ भनेर मौन रहनु हुँदैन । यसले कृषि–व्यवसायलाई क्षति पुर्‍याएको छ, पशुपक्षी र मानिसको मृत्यु हुन थालेको छ । 

शीतलहरले तराई–मधेशका जिल्लाको जीवनशैली आक्रान्त छ । त्यहाँका जनतालाई चिसोबाट जोगाउन निःशुल्क दाउरादेखि चिया र कम्बल–लुगा वितरणसम्मको कार्यक्रम सञ्चालन गरिएको छ । उपत्यकाको जाडो छल्न आफ्ना बालबच्चा र वृद्धवृद्धालाई तराई पठाइएको भए शीतलहरले थुप्रैलाई फिर्ता बोलाउन बाध्य बनाएको छ । भनिन्छ– चिसोको हिसाबले पुस फासफुस र माघ बाघ हो । 

जोखिम वर्ग

शीतलहर र अत्यधिक चिसोका कारण हाइपोथर्मियाबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा शारीरिक रूपले कमजोर वृद्धवृद्धा तथा नवजात शिशु छन्, जो एकैठाउँ नचली बस्छन् र एक्लो जीवन बिताउँछन् । ती चिसोको अनुभूति वा सिकायत गर्न सक्दैनन् वा चिसोबाट बच्न कुनै उपाय अपनाउन सक्दैनन् ।

साधारणतया यो समस्या बाहिरी वातावरणमा काम गर्ने मजदुर, लामो दूरीका पौडीबाज, हिमाल तथा पहाडका पदयात्रीमा पनि देखिन्छ । शीतलहरका कारण गरिब, असहाय, बालबालिका र वृद्धवृद्धाको जीवन कष्टकर हुन्छ । युवा तथा प्रौढहरूले जाडो मौसममा शरीर न्यानो पार्न ‘इनर कोट’ का रूपमा अत्यधिक रक्सी सेवन गर्दा होस हराएर वा लामो समय चिसोमै बेवारिसे भइरहँदा वा शरीरका रक्तनलीहरू फुलेर ताप नोक्सान भई अकालमा तिनको ज्यान जान्छ ।

शीतांग/हाइपोथर्मिया

साधारणतया जति गरम र तातोसँग मानिस अनुकूल बन्न सक्छ, त्यति चिसोसँग हुन सक्दैन । जब बाक्लो हुस्सु, चिसो वातावरण र शीतलहर चल्छ, तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्छ । शरीरको गुदद्वारको अर्थात् भित्री तापक्रम ३५० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । यो एउटा मेडिकल इमर्जेन्सी हो, जसमा तुरुन्तै उपचारको जरुरत पर्छ ।

शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ, तर त्योभन्दा कम भए शरीर काम्नुको साटो मांसपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने, रक्तचाप अनि मुटुको चाल, श्वासप्रश्वास घट्दै जान्छ । जब गुदद्वारको तापक्रम २५० सेल्सियस वा ७७० फरेनहाइटभन्दा कम हुन्छ, तब व्यक्तिको मृत्यु हुन्छ । 

शरीरको तापक्रम कम हुने विभिन्न कारणमा शीतलहर, अत्यधिक चिसो मौसम र वातावरण पनि हो । शरीरको तापक्रम सामान्य राख्ने प्रक्रिया खलबलिनु, निमोनिया लाग्नु, हाइपोथाइरोइडिज्म हुनु र चिनी कम तथा कम हलचल कामका कारण शरीरको रासायनिक प्रक्रिया कम हुन गई आवश्यक ताप पैदा नहुनु, छालाको समस्याले शरीरको ताप नोक्सान हुनु, उमेर र मानसिक रोगका कारण चिसो महसुस नहुनु, जाडोमा राति धेरैबेर चिसोमा रहनु तथा कतिपय मानसिक रोगसम्बन्धी औषधिका कारण शरीरको तापक्रम घट्न गई हाइपोथर्मियाको स्थिति उत्पन्न हुन्छ ।

लक्षणहरू

शरीर राम्रोसँग सञ्चालन हुन र शरीरका विभिन्न रासायनिक प्रक्रिया निरन्तर चालु राख्न शरीरको तापक्रम सामान्य अवस्थामा रहनुपर्छ । तापक्रम कम हुँदा प्रमुखतया मुटु, मस्तिष्क वा गिदी जस्ता संवेदनशील अंगहरूमा सजिलै असर पर्छ ।

हाइपोथर्मिया हुँदा बिरामीले थकित महसुस गर्छ, बिरामीको इच्छा र चालचलन जस्ता कार्यहरू खलबलिन्छन् । बिरामीले चिसो महसुस गर्छ, पहेंलो, सेतो देखिन्छ, मांसपेशीहरू कडा, नचल्ने हुन्छन्, रक्तचाप, नाडीको गति र श्वासप्रश्वास दर कम हुन्छ । मांसपेशी बिग्रने, प्यान्क्रियाजमा सुजन हुने गर्छ । जब शरीरको तापक्रम ६० सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ, सुन्निन्छ, आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने ‘टेन्डन रिफलेक्स’ हराएर जान्छ । 

उपचार

शीतलहर वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारका क्रममा एकै पटक वा छिटो तताउनु हुँदैन किनभने यसो गर्दा शरीरको रक्तनली एक्कासि फुल्न गई ताप नष्ट हुन्छ र प्रभावित व्यक्ति अचेत भई मृत्यु पनि हुन सक्छ । न्यानो कोठामा राख्ने, तातो झोल–खानेकुरा पिउन दिने, न्यानो लुगा लगाइदिने, बाक्लो कपडाले ढाकिदिने र बिस्तारै तताउँदै लैजानुपर्छ ।

शरीर तताउँदा ०.५ देखि १० सेल्सियस प्रतिघण्टाका दरले तापक्रम बढाउनुपर्छ । तर, हिटर वा आगो ताप्न दिनु हुँदैन । प्लास्टिकको झोला वा स्पेस ब्लाङ्केटलाई घाँटीसम्म राखी तातो पार्न सकिन्छ । मुटुको, फोक्सोको रक्तचाप, रगतको मात्रा, हाइपोथाइराडिज्म र ड्रग ओभरडोजको ध्यान दिनुपर्छ ।

हाइपोथर्मियाका अतिरिक्त अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ चिसोले । शीतलहरले हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि ल्याउँछ । 

चिसोका कारण होस् या जुनसुकै स्थितिमा, रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्छ । तैपनि चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन धूवाँ–धूलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन–सी पर्याप्त मात्रामा भएका फलफूल सुन्तला, कागती, अमला, मौसम अनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । धूलो, धूवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउनुपर्छ ।

डा. बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।

Link copied successfully