सामाजिक न्याय बुझाउने तालिम अपरिहार्य

आज कसैले आफ्नो अभिव्यक्ति वा क्रियालाई ठूलो समूहमा लैजान समस्या छैन, यद्यपि सबै अभिव्यक्ति वा क्रिया ठूलो समूहमा नपुग्ने हुादा कतिपय व्यक्ति चर्चा पाउने तृष्णाले तिखो–तीतो बोल्न र विकृत क्रिया–प्रतिक्रिया जनाउन उद्यत छन् ।

पुस १७, २०८२

ध्रुवसत्य परियार

Training to explain social justice is essential

What you should know

आजभन्दा ५२ वर्षअघि सरकारी तबरबाटै धामी–झाँक्रीहरूलाई तालिम दिइएको थियो । पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र–नेपालगन्जले २०२९ असोज ८ देखि २० गतेसम्म सञ्चालन गरेको तालिममा १७ जना धामी–झाँक्री सहभागी थिए । 

तालिममा सहभागी धामी–झाँक्रीलाई ‘तपाईंको विचारमा रोगब्याधि लाग्ने कारण के हुन् ?’ भनी सोधिएको थियो । तालिमअघि १६ मध्ये पाँचले भूतप्रेत, तीनले कीटाणु र आठजनाले भूतप्रेत र कीटाणुका कारण भनी जवाफ दिएका थिए । तालिमपछि यही प्र्रश्न सोध्दा १७ मध्ये तीनले भूतप्रेत, पाँचले कीटाणु अनि नौ जनाले भूतप्रेत र कीटाणुका कारण भनी जवाफ दिएका थिए । 

तालिमपछि ‘धामी–झाँक्रीहरूको मनोवृत्ति ः एक अध्ययन’ नामक पुस्तिकासमेत प्रकाशन गरियो । तीर्थप्रसाद ज्ञवाली र रामेश्वर महतोले तयार पारेको पुस्तिका अनुसार, गाउँघरका मानिसमाथि धामी–झाँक्रीहरूको विशेष प्रभाव रहेको अवस्थालाई मध्यनजर गरी उनीहरूमा आधुनिक स्वास्थ्योपचारप्रति आस्था जगाउने उद्देश्यले सो कार्यक्रम गरिएको थियो । 

तालिम लिन तत्कालीन सुदूरपश्चिमाञ्चलका पाँच अञ्चलबाट ३५ धामी–झाँक्रीलाई बोलाइएको थियो, तर लट्टा काटिदिन्छन् भन्ने डरले कतिपय धामी–झाँक्री तालिममा सहभागी भएनन् । 

त्यसको ३३ वर्षपछि (२०६३ असारमा) राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले यस्तै खालको कार्यक्रम गरेको थियो । केन्द्रले प्रकाशन गरेको ‘अत्यावश्यक स्वास्थ्य सेवाबारे धामी–झाँक्रीहरूलाई अभिमुखीकरण प्रशिक्षण पुस्तिका’ (२०६५, पहिलो संस्करण ः २०६३) अनुसार, त्यतिबेला देशभर ६ सयदेखि आठ सयको हाराहारीमा धामी–झाँक्री तथा परम्परागत उपचार गर्ने झारफुके वा वैद्यहरू रहेको अनुमान गरिएको थियो । विभिन्न समुदायमा स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत धामी–झाँक्रीलाई अत्यावश्यक स्वास्थ्य सेवाका मुख्य तत्त्वबारे अवगत गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको पुस्तिकामा उल्लेख छ । 

पुस्तिकामा करिब एकघण्टे १० वटा सत्र उल्लेख छन्— सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, सुरक्षित गर्भपतन, परिवार नियोजन, यौनरोग तथा एचआईभी एड्स, वातावरणीय स्वास्थ्य आदि । पछिल्लो समय भने केन्द्रले धामी–झाँक्रीलाई तालिम दिन छाडेको छ । यस सम्बन्धमा केन्द्रका सूचना अधिकारी विजय श्रेष्ठले गएको पुस ९ मा मसँग मोबाइलमा भनेका थिए, ‘त्यस्तो कार्यक्रम अहिले केन्द्रले गर्दैन । पहिले पनि यस्तो कार्यक्रम केन्द्रले गर्थ्यो भन्ने मेरो जानकारीमा थिएन ।’ 

धामी–झाँक्रीहरूले जडीबुटी र तन्त्रमन्त्र प्रयोग गरी बिरामीको मानसिक अवस्थालाई प्र्रभाव पारेर अर्थात् मनोवैज्ञानिक रूपमा उपचार गर्ने गर्छन् । ‘तिमीलाई भूतप्रेत लागेको रहेछ, मैले पन्छाइदिएँ, अब तिमीलाई निको हुन्छ, यो अक्षता खानु, यो औषधि खानु’ भनी धामी–झाँक्रीले भन्दा कुनै बिरामीलाई निको हुन पनि सक्थ्यो । अशिक्षा, असुरक्षा, असुरक्षित भविष्य, असमानता आदिका कारण मनमा अनेक कुरा खेलाएर मानसिक र शारीरिक रूपमा कोही बिरामी परेको थियो भने उसका लागि कुनै धामी–झाँक्री आत्मबल प्रदान गर्ने माध्यम बन्न सक्थ्यो वा सक्छ ।

मानिसलाई मनमा अनेक कुरा खेलाउने आधार पनि समाजले नै दिन्छ । पिछडिएको समाजमा शासक तथा उच्च वर्गको दबदबा र शोषण, अन्धविश्वासका अनेक कथा, शक्तिशाली वर्गबाट आउने अनेक सूचना (जस्तो ः देशलाई अर्को ठूलो देशले खाइदिन्छ । तिम्रो नागरिकता वा लालपुर्जा बन्दैन, सरकारले तिमीहरूलाई अप्ठेरो पार्ने खालको कानुन तथा कार्यक्रम ल्याएको वा ल्याउँदै छ आदि) इत्यादि कुराले समाजका निम्न वर्ग, अशिक्षित र साना केटाकेटी बढी प्रभावित हुन पुग्छन् । यस्तो खालको अवस्था राणाकाल र पञ्चायतकालमा बढी नै थियो, दूरदराजका गाउँठाउँमा अहिले पनि छ । 

सामान्यतः मानिस प्रभावित हुने सूचना र सन्देशले नै हो । सामान्य अवस्थामा बसिरहेको व्यक्तिलाई कुनै सकारात्मक वा नकारात्मक सूचना वा सन्देश दिइयो भने ऊ तत्कालै खुसी वा दुःखी हुन सक्छ । आजको सोसल मिडियाको जमानामा, अझ भनौं रिल्स र सर्ट्सको जमानामा सकारात्मक वा नकारात्मक सूचना र सन्देशका बाढी नै आउने गर्छन् । तर, कस्तो वा केसँग सम्बन्धित सूचना वा सन्देश कसरी दिने–लिने भन्ने सम्बन्धमा हामीकहाँ बहस र तालिम कमै हुने गर्छन् । 

हिजो पञ्चायत सरकारले जसरी आधुनिक उपचार पद्धतिको अभ्यासका लागि धामी–झाँक्रीलाई माध्यम बनाउने कार्यक्रम ल्याएको थियो, त्यसैगरी आज सामाजिक न्यायबारे बुझाउन एउटा हातेपुस्तिका र त्यससँग सम्बन्धित तालिम वा कक्षा आवश्यक देखिन्छ, भूमिका लामो भए पनि यस आलेखको उद्देश्य यही हो । 

यस सोसल मिडियाको जमानामा सामाजिक तथा राजनीतिक कुनै घटना वा क्रिया भए त्यसको प्रतिक्रियास्वरूप पक्ष–विपक्ष भइदिन नेपाली समाजको एउटा तप्कालाई समय लाग्दैन । जतिसुकै गम्भीर घटना वा विषय भए पनि हलुका प्र्रतिक्रिया जनाउन त्यो तप्का सोसल मिडियामा अभ्यस्त देखिन्छ ।

आज देशका कतिपय मूलधारे मानिएका मिडिया, सोसल मिडिया र समग्र समाज नै कुनै सामाजिक (राजनीतिक पनि) घटना वा त्यससँग सम्बन्धित अभिव्यक्तिको पछि कुदेको पाइन्छ । अधिकांश ‘अनलाइन न्युज पोर्टल’ ले कुनै चर्चित नेता वा व्यक्ति २० मिनेट बोल्दा १० वटा समाचार बनाउन भ्याइसक्छन् । कुनै चर्चित व्यक्तिको फेसबुक स्टाटसको मात्रै पनि समाचार बन्छ । 

भर्खरै (२८ मंसिर) ‘मिडिया एड्भोकेसी ग्रुप’ (म्याग) ले ‘महिला राजनीतिकर्मी लक्षित लैंगिक उत्तरदायित्व सञ्चारमाध्यम प्रतिबद्धता’ विषयक छलफल गर्‍यो, विभिन्न पत्रकारबीच । महिला राजनीतिकर्मीबारे समाचार प्रकाशन वा प्रसारण गर्दा के हुनुपर्ने हो, तर के भइरहेको छ भन्ने सम्बन्धमा ‘म्याग’ ले विभिन्न चरणमा विभिन्न पक्षसँग छलफल गरिरहेको रहेछ । यसअघिका विभिन्न छलफलबाट आएका सुझावहरूलाई पनि त्यहाँ प्रस्तुत गरिएको थियो । तीमध्ये विशेषतः एउटा सुझाव उल्लेखनीय छ— पत्रकार, सम्पादक र कार्यक्रम उत्पादकहरूलाई लक्ष्य गरेर सञ्चारमाध्यमभित्र लैंगिक संवेदनशील र जिम्मेवार पत्रकारिता सम्बन्धमा समय–समयमा आन्तरिक अभिमुखीकरण तथा तालिम सञ्चालन गर्ने । 

कार्यक्रममा बोल्ने क्रममा मेरो पनि सुझाव थियो— पत्रकार र सरकारी तलब–सुविधा लिने जनप्रतिनिधिलाई सामाजिक न्यायका सम्बन्धमा तालिम दिइनुपर्छ । अहिलेका लागि विशेषतः हाम्रो संविधानले व्यवस्था गरेको मौलिक हकअन्तर्गतका ३१ वटा धारालाई बुझाउने गरी तालिम दिइन आवश्यक छ । कम्तीमा यति हुन सक्यो भने लेख्दा, बोल्दा वा सूचना दिँदा एउटा जिम्मेवार पक्ष थप जिम्मेवार हुनेछ । 

आज कसैले आफ्नो अभिव्यक्ति वा क्रियालाई ठूलो समूहमा लैजान समस्या छैन, यद्यपि सबै अभिव्यक्ति वा क्रिया ठूलो समूहमा नपुग्ने हुँदा कतिपय व्यक्ति चर्चा पाउने तृष्णाले तिखो–तीतो बोल्न र विकृत क्रिया–प्रतिक्रिया जनाउन उद्यत देखिन्छन् । कतिपय व्यावसायिक मिडिया र सोसल मिडियाका माध्यमबाट कुनै वर्ग, समुदाय, लिंग, क्षेत्र आदिबारे मनगढन्ते धारणा राख्नु हामीकहाँ सामान्यजस्तो भएको छ ।

बाल मनोविज्ञानलाई दीर्घकालीन रूपमा असर गर्ने खालका, कुल वा जात–जातिगत अहंकार वा हीनताबोध बढाउने खालका, अर्को धार्मिक वा सांस्कृतिक समुदायलाई अपमान हुने खालका, महिला हिंसालाई प्रश्रय दिने खालका, धार्मिक वा राजनीतिक द्वन्द्व निम्त्याउने खालका सामग्री आज सोसल मिडियामा छ्यापछ्याप्ती देखिन्छन् । 

अझ अचेल कसैको गरिबी वा शारीरिक र मानसिक अवस्था देखाएर सहयोग जुटाउने कर्म पनि बढ्दो छ । विशेषतः गरिब तथा असहाय बालबालिकाको भिडियो, फोटो र वास्तविक परिचय देखाएर सहयोग माग्नु उचित होइन । कतिपय अवस्थामा बाबुआमाको फोटो, भिडियो र समाचारले पनि सन्तानलाई मानसिक रूपमा असर गर्न सक्छ । यस्ता सामग्री इन्टरनेटमा रहिरहने हुँदा त्यसले उनीहरूको मानसिक घाउ बल्झाइरहन सक्छ । यो आलेख लेखिरहँदा मैले मनोविद् डा. करुणा कुँवरसँग मोबाइल फोनमा कुरा गरेको थिएँ । उनको जवाफ थियो, ‘अवश्य नै यस्ता कुराले बालबालिकाको मानसिकतामा असर गर्छ । उनीहरूको आत्मबल कमजोर हुने र समाजमा खुल्न नसक्ने अवस्था आउन सक्छ ।’ 

अचेल कसैको व्यक्तिगत सम्बन्धलाई युट्युबमा छताछुल्ल बनाइन्छ । भविष्यमा उनीहरू र उनीहरूका सन्तानलाई के–कस्तो असर गर्छ भनी ख्याल गरिँदैन । सरकारको कामकारबाही, भ्रष्टाचार, समाजको विकृति–विभेद, अपराधीका अपराध आदि देखाउनु राम्रो हो, यसले अवश्य नै राज्य र समाजलाई अग्र गतितिर लैजान्छ । तर, आफैं न्यायाधीश बनी कसैलाई अपराधी करार गर्नु न्यायोचित होइन । 

सोसल मिडियाबाट धारणा राख्नेहरू पनि अचेल बढेका छन् । अभिव्यक्ति स्वतन्त्रता मानिसको मौलिक हक हो तर यसका पनि सीमा हुन्छन् । सोसल मिडिया चलाउन कानुन नै आवश्यक छ भन्ने होइन । कानुनकै दायरामा हेर्ने हो भने आज हामी अधिकांश नेपाली अपराधी करार हुन्छौं । महिला हिंसा, बाल हिंसा, छुवाछूत, भ्रष्टाचारसम्बन्धी कानुन छन् तर यी हिंसा र विभेद समाजमा जानी–नजानी भइरहेकै छन् । त्यसैले जनचेतना फैलाउन आवश्यक छ । 

खैर, आज सोसल मिडियाका माध्यमबाट समाजका मानिसको बौद्धिक अवस्था, आर्थिक अवस्था, सभ्यता र विकासको अवस्था थाहा पाउन सहज भएको छ । अर्कोतिर, सूचना वा सन्देश प्रवाह गर्दा सामाजिक न्यायमा ध्यान दिन आवश्यक छ भन्ने महसुससमेत गराएको छ । सामाजिक न्यायका सम्बन्धमा मानिसले कति पढेको वा बुझेको छ भन्नेले त्यति अर्थ राख्दैन, जति अर्थ उसलाई के थाहा छैन भन्नेले राख्छ । कानुन थाहा नभएको भन्दैमा कसैलाई अपराध गर्ने छुट हुँदैन । 

यो परिप्रेक्ष्यमा महिला, बालबालिका, दलित, जनजाति, अल्पसंख्यक, निम्न वर्गको अधिकार र आवाजलाई एउटा पत्रकार, जनप्रतिनिधि र सरकारी कर्मचारीले बुझ्नु आवश्यक छ । आज हामीले महिलाका कुरा गरिरहँदा दलितलाई बिर्सन्छौं, दलितका कुरा गर्दा जनजाति र अल्पसंख्यकलाई बिर्सन्छौं, यी सबैको कुरा गर्दा बालबालिकालाई बिर्सन्छौं । त्यसैले सामाजिक न्यायका सम्बन्धमा एउटा हाते–पुस्तिका तयार गरी हामी अधिकांशलाई तालिम वा कक्षा दिनु आवश्यक छ । यसो हुन सक्यो भने समाजका विकृति र विभेद हटाउने चरणहरूको राम्रो सुरुवात हुन्छ भनी आशा गर्न सकिन्छ ।

ध्रुवसत्य

Link copied successfully