बुर्का पितृसत्ता होइन, आस्था हो । आस्थावान्का लागि आस्थामाथिको हस्तक्षेप सह्य हुँदैन । कोही महिलाले स्वेच्छाले नै आधुनिक पहिरन लगाइन् भने पनि टिकाटिप्पणी गर्ने अधिकार कसैलाई हुन्न ।
What you should know
भर्खरै बिहारका मुख्यमन्त्री नितीश कुमारले मुस्लिम डाक्टर महिला नुसरत पर्विनलाई नियुक्तिपत्र दिनेक्रममा उनको अनुहारबाट निकाब ताने । र, यो मुद्दा ठूलो विवादको विषय बनेको छ ।
उनलाई क्षमा माग्न वा राजीनामा दिन माग गरिएको छ । एक मुस्लिम महिलाको अनुहारबाट निकाब तान्नु कुनै महिलाको शरीरबाट कपडा तान्नुसरह हो ।
यस घटनाले मुस्लिमका लागि बुर्काको महत्त्वबारे प्रकाश पार्छ । यसले इंगित गर्छ– बुर्का पितृसत्ता होइन, आस्था हो । आस्थावानका लागि आस्थामाथिको हस्तक्षेप सह्य हुँदैन । महिलाको पहिरन सम्मानयोग्य हुन्छ । कोही महिलाले स्वेच्छाले नै आधुनिक पहिरन लगाइन् भने पनि टिकाटिप्पणी गर्ने अधिकार चाहिँ कसैलाई हुन्न । तर, नेपालमा बुर्का र हिजाबमाथि नकारात्मक सोच छ, जुन दुःखद छ ।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र धर्मनिरपेक्ष राष्ट्र हो । राज्यका समग्र निकायमा यसैअनुसारको संरचना हुनुपर्छ । सरकारी विद्यालयमा सबैको समान अधिकार छ । जुनसुकै धर्मका बालबालिका आफ्ना पहिरन लगाएर शिक्षा प्राप्त गर्न सक्छन् । यही विविधता हो– हाम्रो सान र गौरव । मुस्लिमको पहिरन धर्मप्रचार होइन । बुर्का लगाएर विद्यालय त के, सदनमा पनि जाने अधिकार छ । यस्तो अधिकार हरेक समुदाय र धर्मावलम्बीलाई छ । नेपालको संविधानको धारा–२६ ले सबैका लागि समान धार्मिक अधिकार सुनिश्चित गरेको छ । संविधानले १० वटा धर्मलाई सम्बोधन गरेको छ अर्थात् मान्यता दिएको छ, जसमध्ये इस्लाम नेपालको तेस्रो ठूलो धार्मिक समुदाय हो । समुदायको पहिचान र आस्था उसको पहिरनमा झल्किन्छ, पहिरनले नै उसलाई परिचित गराउँछ, अन्तरविविधताको चित्र पहिरनमै देखिन्छ । पहिरन हो— मानिसको धार्मिक र सांस्कृतिक पहिचान । सबै धर्म र समुदायलाई आ–आफ्नो संस्कृति अनुसारको पहिरन लगाउने अधिकार छ ।
बौद्ध धर्मावलम्बीले आफ्नैखालको पहिरन लगाएका हुन्छन्, जनजाति र थारू समुदायको आफ्नै भेषभूषा छ । समुदाय अनुसार आभूषणमा पनि भिन्नता हुन्छ । अनि मुस्लिमको पहिरनसँग आपत्ति किन ? मुस्लिम महिलाको पहिरन हिजाब वा बुर्कामाथि थरीथरीका टिप्पणी सुनिन्छन् । बुर्कालाई गहिरोसँग जरो गाडिएको पितृसत्ता मानिनुका साथै मुस्लिमको रुढिवादी परम्परा र महिलामाथिको दमन वा अत्याचारका रूपमा पनि लिइन्छ । र, मुस्लिम महिलामाथि सहानुभूति खन्याइन्छ । बुर्का परम्परा होइन, धर्म हो । धर्म र परम्परामा अन्तर छ । यो त कानुनले दिएको मौलिक हक हो । तर, स्वेच्छाले धर्म मान्न पाइने अधिकार सबैलाई छ । यो एक समुदाय विशेषको आस्था र इस्लामको पहिरन हो ।
यो नेपाल–भारतका मुस्लिमले मात्रै लगाएको पहिरन होइन, हरेक मुलुकका मुस्लिमले लगाउँछन्– लगाउने महिला पनि छन्, स्वेच्छाले नलगाउने पनि छन् । तर, लोकतान्त्रिक धर्मनिरपेक्ष राष्ट्रमा अरूको धर्मलाई अपमान गर्ने अधिकार कसैलाई छैन ।
बुर्का महिला–प्रगतिमा बाधक भएको भए खाडी देशका महिला उच्च पदस्थ हुँदैनथे । दुई दशक अगाडि त्यही खाडीका महिलालाई मताधिकार थिएन । महिलाले आवाज उठाए र अहिले ती ठूला–साना सबै पदमा छन्, राजनीति सम्हालेका छन्, विदेशमा राजदूतको पदमा आसीन छन् । त्यसका लागि उनीहरूले बुर्का त्याग्नुपरेन ।
यसले के दर्शाउँछ भने बुर्का पितृसत्ता भएको भए खाडीका महिला यसको विरोध गर्थे । यसलाई पितृसत्तासँग जोड्नु अनविज्ञता हो । यो धर्मले पुरुष र महिलालाई फरक छुट्याएर दिएको आदेश हो । कसैले धर्मपालना गर्नु वा नगर्नु, त्यो उसको स्वेच्छा हो । त्यसलाई उसको ‘कर्म’ का रूपमा लिइन्छ ।
आज बुर्का लगाएरै खाडीका महिला विकसित र उन्नतशील देशका नागरिक छन् । । ‘विचारका धनी’ हामी तिनकै अधीनमा कार्यरत छौं । त्यसैले मुस्लिम महिलाको पहिरन हिजाब वा बुर्कालाई बहसको विषय बनाएर पटक–पटक उठाइराख्नु उचित होइन । यसले महिलाको शिक्षा, उन्नति र प्रगतिको मार्गमा बाधा खडा गर्छ, महिलालाई निरुत्साहित गरिरहन्छ ।
