वास्तवमा विगतमा राजनीतिकै कारण देशमा मौलाउँदै गएको नातावाद, कृपावाद, विभेद, कुशासन, भ्रष्टाचारजन्य विकृति र विसंगतिको अन्त्यकै लागि गत भदौमा युवा उभार सडकमा उर्लिएको थियो । जेन–जीले गरेको त्यत्रो उत्सर्ग यथास्थितिमै अर्थात् स्वार्थी पुरातनवादीबाटै राजकाज चलाउन पक्कै थिएन ।
What you should know
काठमाडौँ — संवत् २००७ देखि गत भदौको २३–२४ सम्म आइपुग्दा नेपालमा जे–जति आन्दोलन भए, ती सबै परिवर्तन एवं समृद्धिकै खातिर भए । राणाशाही विरुद्ध छातीमा गोली थाप्नेदेखि त्यसपछिका हरेकजसो आन्दोलनमा स्वस्फूर्त सहभागी हुनेमा प्रायः युवा जमातकै बाहुल्य थियो । भदौ २३–२४ को आन्दोलनमा पनि युवा पुस्ताको सहभागिता अभूतपूर्व मात्रै रहेन, दर्जनौं युवाले अमूल्य प्राणसमेत उत्सर्ग गरे ।
वास्तवमा विगतमा सत्तासीनको रवैया वा देशको राजनीतिप्रति चुलिँदै गरेको असन्तुष्टिकै कारण मुलुकमा कुनै न कुनै दिन एउटा जनविद्रोह वा यस्तै आन्दोलन अवश्यम्भावी थियो नै । जेन–जी आन्दोलनको आँधीबेहरी यसैको एक दृष्टान्त हो ।
युवाहरू परिवर्तनका सम्वाहक हुन्, भोलिका कर्णधार, राष्ट्र निर्माणका स्वप्नद्रष्टा र जागरुक एवं चेतनशील नागरिक पनि । नवीन पुस्ताको गत आन्दोलनको स्वरूपबाट यहाँ सहजै के आकलन गर्न सकिन्छ भने देशमा नयाँ सोच–चेतना भएका, राष्ट्रवादी चिन्तनशील नायकहरू जन्मिँदै छन्, जसबाट युगले कोल्टे फेर्दै छ, जसको पदचाप र घनिभूत ध्वनि सुन्न नेपाली जनता उत्तिकै लालयित छन् ।
यस अर्थमा देशका लागि अब युवाको जमात स्वयं तात्ने मात्रै नभई जाग्ने, चम्किने, अग्रसरता लिने बेलासमेत आएको छ । यसै प्रसंगमा गीतकार रत्नशमशेरको शब्दमा गायक राजेश पायल राईले गाएको यो राष्ट्रभक्ति गीतको स्मरण गरौं–
जाग लम्क चम्क हे नौ जवान हो
आफ्नै ढंगले नयाँ रंगले...
भदौको जेन–जी आन्दोलनमा जसरी युवा ताते र जागे, आसन्न निर्वाचनमार्फत देशको राजनीति सही गोरेटोमा डोर्याउन, देशलाई समृद्धिको शिखरमा पुर्याई परिवर्तनको फड्को मार्न कुनै पनि दलका किन नहोऊन्, युवा पुस्ता जाग्नै पर्ने बेला आएको छ । होइन भने समयले कसैलाई पर्खिंदैन ।
वास्तवमा विगतमा राजनीतिकै कारण देशमा मौलाउँदै गएको नातावाद, कृपावाद, विभेद, कुशासन, भ्रष्टाचारजन्य विकृति र विसंगतिको अन्त्यकै लागि गत भदौमा युवा उभार सडकमा उर्लिएको थियो । जेन–जीले गरेको त्यत्रो उत्सर्ग यथास्थितिमै अर्थात् स्वार्थी पुरातनवादीबाटै राजकाज चलाउन पक्कै थिएन ।
वास्तवमा युवाको सो उत्सर्ग र सडक आन्दोलन वास्तविक रूपमा त्याग मात्रै नभई नेपाली युवाको एक साहसिक पाइला पनि थियो । भनिन्छ– प्रत्येक पाइलाले इतिहास लेख्छ, जसको त्याग र उत्सर्ग नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने नै छ ।
अतः यस पटक देशमा निर्वाचनमय वातावरण बनाउने, निर्वाचनको उत्सव मनाउने मात्रै नभई नयाँ–नयाँ भिजन भएका ऊर्जावान, योग्य एवं इमानदार जमातको प्रतिनिधित्व पनि चयन गर्नुपर्छ । अर्थात् मतदानदेखि नेतृत्व चयनसम्मका लागि उपयुक्त माहोल बनाउने दायित्व राष्ट्रवादी युवाकै काँधमा आएको छ । यस पटकको निर्वाचनमा बढीभन्दा बढी उम्मेदवारीको अवसर युवा वर्गलाई नै दिइनुपर्छ, जुन वर्तमानको माग हो ।
स्मरण रहोस् विगतको निर्वाचनमा ५३ प्रतिशत मतदाता युवा नै रहेको भए पनि दुवै तहको संसद्का लागि मनोनयन गरिएका कुल उम्मेदवारमध्ये २५–४० वर्ष उमेर समूहका उम्मेदवारी संख्या १८५३ (३०.८२ प्रतिशत) मात्रै थियो । तर, सन्निकट निर्वाचनमा करिब ५५ प्रतिशत मतदातामा युवा नै रहनेछन् । सो आधारमा महिला–पुरुष दुवै समूहका युवा उम्मेदवारको चयन आधिकारिक संख्यामा गर्न सके परिवर्तित सन्दर्भमा आम मतदातामा समेत नयाँ आशा र भरोसा सञ्चार हुनेछ ।
आसन्न निर्वाचनमा सक्षम, योग्य, जुझारु, स्वच्छ छविका व्यक्ति चयनका लागि अब युवा पुस्ताले नै अग्रसरता लिनुपर्छ, लिने हिम्मत गर्नुपर्छ, जसका लागि युवाले नै अनुकूल माहोल बनाउन सक्नुपर्छ । चाहे ती युवा जुनसुकै दलका कार्यकर्ता किन नहुन् ! जेन–जी आन्दोलनको मुख्य सन्देश पनि यही थियो । आम मतदाताले अब मतदान गर्दा विगतबाट पाठ सिकेर यो यथार्थतालाई गम्भीरतापूर्वक लिई सुझबुझ अपनाउनु पनि आवश्यक छ ।
कुनै पनि कार्यकर्ता दलका लागि अनुशासित, आज्ञाकारी सिपाही हुन सक्छ । तर, अनुशासनका नाममा ‘त्वमशरणम् नै हुनुपर्छ र नेतृत्व तहलाई देवत्वकरण नै गर्नुपर्छ’ भन्ने छैन । भोलिका उदयमान तारा, परिवर्तनका सम्वाहक, भविष्यका बिम्ब मानिएका हर युवा–कार्यकर्ताले स्पष्ट भिजनसहित पार्टीभित्र पुरातनवादी, लोभीपापी, स्वार्थी नेतृत्व वा त्यस्ता गुटसमक्ष विमति किन नराख्ने ? दलभित्रको मोनोपोलीको प्रतिवाद किन नगर्ने ? अवसरको असमानताविरुद्ध आवश्यक परे विद्रोह नै किन नगर्ने ?
अतः आसन्न निर्वाचनका सन्दर्भमा सुक्न लागेका, मक्किएका हाँगाबिँगा क्रमशः छिमल्दै कतै ऐंजेरु उम्रिएका भए उखेल्नु जरुरी भइसकेको छ । यसरी त्यसमा काँटछाँट गर्दै र नयाँ पालुवाका लागि मलजल गर्दै देशलाई हराभरा पार्न मतदातालाई ‘कन्भिन्स’ गराउने अहम् जिम्मेवारी र अग्रसरता युवा पुस्ताले नै लिनुपर्छ ।
समयको पदचाप बुझेर आम मतदाता एवं नागरिक समाजले पनि युवा पुस्तालाई साथ दिनु जरुरी छ । अघिअघिका निर्वाचनमा दल र उम्मेदवारको अग्निपरीक्षा हुन्थ्यो भने यतिखेर मतदाता स्वयंको सुझबुझको अग्निपरीक्षा हुँदै छ ।
–आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।
