सासू–बुहारीको जुहारीमा मग्न समाज

सासू–बुहारीमा को बढी पीडित ? परिवारैपिच्छे फरक अवस्था र परिस्थिति हुन्छ । यो प्रश्नमाथि महिला–महिला जुधेर बस्ने कि शक्ति सन्तुलन र सामाजिक सद्भाव कसरी कायम गर्ने भन्नेमा गम्भीर भएर सोच्ने ?

पुस ९, २०८२

सुशीला शर्मा

Society obsessed with in-laws and daughter-in-law's wedding

What you should know

हामी महिलाले ‘सेलिब्रेसन’ गर्ने विषय, चाडपर्व, रीतिथिति थुप्रै छन् । यस्ता सेलिब्रेसनले हामीलाई एकतमासको घरेलु कामबाट ‘माइन्ड डाइभर्ट’ गराउन मद्दत पनि पुग्छ ।

विशेषगरी पहाडी मूलका महिला समुदायले एकादशीजस्ता अवसरमा हाम्रा गाउँघरमा एकै ठाउँ भेला भएर हरि भजन गाउने, नाच्ने, प्रसाद बाँड्ने गर्छन् । यहाँ सासू उमेरका र बुहारी उमेरकाको पनि जमघट देख्न सकिन्छ । भात–भान्सा, चुलो–चौको सकेर थकाइ मार्ने या व्रत बसेर भोक बिर्साउन पनि यस्ता जमघटले महिलालाई रमाइलै वातावरण दिन्छ कि ? यसरी हरिभजन गाउँदा महिलाको भजनको हरफ यस्तो हुन्छ :

कहाँ होला बैकुण्ठ भन्ने ठाउँ

हरि हरि भन्दैमा मर्न पाऊँ

इन्द्रकमल फूल

यो पापी संसारमा परे रनभूल

हुन त यिनै हरिभजनमा पनि झुम्ने, सोह्रदिने लैंगिक हिंसाविरुद्धको र्‍यालीमा पनि जाने र विभिन्न घरेलु हिंसाको प्रताडना पनि सहने महिलाहरू हरिभजनबाट केही ‘रिलिफ’ हुन यस्ता आध्यात्मिक कार्यमा सरिक भइरहेको पाउँछौं । महिलाका यी धार्मिक जीवनशैली यतै छोडेर अब सांस्कृतिक जीवनशैलीका केही झाँकीबारे कुरा गरौं ।

हाम्रो विवाह संस्कृति भिन्न छ । युवतीहरू ‘कन्यादान’ गरिन्छन् र पुरुष साथीको घर जान्छन् । प्रायः समाजमा महिलाहरू विवाहपछि पुरुषको घर जाने चलनकै निरन्तरता छ । बेहुली भित्र्याउनुअघि सासूहरू, नातेदार र छरछिमेकी महिलालाई रत्यौली खेल्ने छुट पनि दिएको छ हाम्रो संस्कृतिले । यौन लक्षितलगायतका छेडखानी गरी नाचगानले माहोल गर्माएको हुन्छ । यौन सम्बन्ध महिला र पुरुषको अझ भनौं यौन साथीको र रजामन्दीको विषय हो । र, यो विषयलाई अश्लील या छेडखानी, लाजसरमका रूपमा नलिइने भएको भए सायद महिलाले ‘रत्यौली’ मार्फत मात्रै आफ्ना यौन चेतना उजागर गर्ने थिएनन् होला । एउटै मौका रत्यौलीको छुटको दिन पाएजस्तो गरेर घरमा भित्रिएको नयाँ महिलालाई हतोत्साहित गर्नु कदापि जायज होइन । अहिले टिकटकतिर भाइरल भइरहेको छ– सासूहरूको एउटा ग्याङ रत्यौलीमा ‘बुहारीलाई छोराको एटीएममा हक जमाउन आई’ भन्ने गीत गाइरहेका छन् भने जवाफी गीतका रूपमा अन्य युवतीले ‘तिम्रो छोरालाई दाम्लोले बाँधेर राख’ भन्दै छन् । रमिता त हेर्न लायकै छ ।

पितृसत्तात्मक अनि पुरुषप्रधान सामाजिक संरचना भएको हाम्रोजस्तो समाजमा महिलाले सासू भएपछि मात्रै बल्ल आफू पनि केही अनुभवी र घरको जेठोबाठो महिला हुँ कि भन्ने सोच्छन् ? शक्तिको चलखेल हुने संसारमा आफूले पनि आफ्नो पालामा अनेक हन्डर–ठक्कर खाँदै आएकाले नयाँ आउने बुहारी सदस्यमाथि ‘यसलाई चाहिँ मलाईभन्दा चैन किन हुन दिने ?’ भन्ने मनोवैज्ञानिक आरिस पनि हुन्छ कि ? सासूलाई डर हुन सक्छ– बुहारीले छोराको कमाइमा आक्रमण गर्ने होली भनेर ।

यदि सासू पनि आर्थिक रूपमा निर्भर भएको भए यस्ता कुराले उनलाई अवश्य पनि असर पर्ने थिएन । तर पढेलेखेका, स्वाभिमानी र आत्मनिर्भर महिला विवाह गरेर बराबरीको साझेदारीको जीवन बिताउन वैवाहिक जीवनमा प्रवेश गरेका हुन्छन् नकि जीवनसाथीको एटीएममा धावा बोल्न । सासूको परिवेश, उनले भोग्नुपरेका आर्थिक पराश्रयताले पनि उनलाई ‘बुहारीले छोराको कमाइमाथि कब्जा जमाउलिन्’ भन्ने डर हुने होला । जे भए पनि छोरा, बुहारी, सासू सबैले यो कुराचाहिँ बुझ्नु–बुझाउनुपर्छ कि विवाह संस्थामा प्रवेश गर्नु भनेको श्रीमान् र श्रीमतीको हरकार्यमा साझेदारी र स्वः अस्तित्व अनि आत्मसम्मान लिएर अघि बढ्नु हो । अझ महिलाको प्रजनन अधिकारका व्यक्तिगत निर्णयलाई पनि मान्यता दिएर चल्नु हो ।

समय बदलिएको छ । सय वर्ष अघिजस्तो अत्यन्तै पीडित हुनुपर्ने, बुहार्तन सहनुपर्ने अवस्थाबाट महिलाहरू अलि हल्का भएका छन् । महिला भएरै भोग्ने संरचनात्मक विभेद त अझै कैयौं रूपमा छँदै छ । शिक्षित, आत्मनिर्भर र सशक्त महिलाहरू सासू मात्रै होइन, कुनै पनि पारिवारिक सदस्यको करकाप र अन्याय सहेर बस्दैनन् । हामीले सासूलाई पीडक र बुहारी पीडितका रूपमा सुन्दै, कतिपय ठाउँमा देख्दै पनि आएका हौं । तिनै सासूले पनि आफ्ना पालामा एउटा ‘अपरिचित’ परिवारभित्र गएर अनेक पारिवारिक, शारीरिक, सामाजिक हन्डर–ठक्कर खाएर वर्षौंको घामपानी झेलिसकेर अर्को पुस्ता परिवारमा प्रवेश गर्दासम्म आफूलाई एक अनुभवी घरमूली ठान्न थाल्नु र नयाँ मान्छेसँग असुरक्षित महसुस गर्नु हाम्रोजस्तो समाजमा अस्वाभाविक होइन ।

घरको चार दिवार वरिपरि, हेरचाह र स्याहारसुसार अनि राखनधरन र जोडजाममै एउटा विशेषज्ञता जस्तो हासिल गरेका सासू खराब पात्र नै हुन् भन्ने कुरालाई पनि हामी झन्डै सामान्यीकरण गरिदिन्छौं । सासू, बुहारी, नन्द, आमाजू, देउरानी, जेठानी सबैको अस्तित्व छ । यी एकअर्कामा मिल्नैपर्ने या अनमेल हुनैपर्ने प्राणी होइनन् । यिनीहरूबीच अस्वस्थ र अमान्य खालका दोहोरी या जुहारीले पक्कै पनि महिलाको सशक्तीकरण र विद्वत्तामा ह्रास आउँछ नै । हाम्रो सामाजिक–सांस्कृतिक संरचनात्मक विभेद र शक्तिशालीले कमजोरलाई दबाउने प्रवृत्तिबारे चाहिँ महिलाबीच बहस हुनुपर्ने हो ।

आखिर सासू र बुहारीमा को बढी पीडित ? परिवारैपिच्छे फरक अवस्था र परिस्थिति होला । यस्ता विषयमा महिला–महिला जुधेर बस्ने कि शक्ति सन्तुलन र सामाजिक सद्भाव कसरी कायम गर्ने भन्नेमा महिलाले पनि गम्भीर भएर सोच्ने ?

महिलालाई कमजोर बनाउने खालका अनेक उखान–टुक्का त विद्यमान नै छन् । यी उखानको महिलाले नै पनि भरमार प्रयोग गरिरहेको पाइन्छ । महिला नै महिलाद्वेषी गीतमा मच्चिएर नाचिरहेकै हुन्छन् । महिलालक्षित महिलाकै मन दुखाउने खालका गाना–बजाना, अश्लील वक्तव्य, सायरी, उखान प्रयोग गर्न बन्द नगरेसम्म र महिला संवेदनशीलतालाई खलल पार्ने विभिन्न रीतिथिति हाम्रा संस्कृतिबाट नहटाएसम्म महिलाले महिलालाई नै हेप्ने, छेडखानी गर्ने वातावरण रही नै रहन्छ ।

हाम्रो समाजमा एकदम थोरै मात्रै महिला आफ्नो चेतना धारिलो बनाउँदै बौद्धिक तवरले समाज र संस्कृतिमा भएका विकृति रूपान्तरणमा उदाहरणीय बनेर अगाडि बढेका छन् । यसमा राजनीतिक चेत भएका महिलाहरू पनि पर्छन् । साहित्य, राजनीतिलाई आलोचनात्मक ढंगले ग्रहण गर्दै आफ्ना धारणा र व्यवहारमै परिवर्तन ल्याएर रोल मोडेल बनेका महिला हाम्रै समाजमा छन् ।

हुन त आधुनिक किशोरकिशोरी एकातिर अंग्रेजी गीत गुनगुनाउँदै, अंग्रेजी लवजमै बात मार्ने पनि भइसकेका छन् । तर, जब अनेक थरी चाडबाड, विवाह, भोजभतेर, पार्टीका कुरा आउँछन् ती अवस्थामा भने अनेक थरीका शृंगार–प्रसाधन र विधि–विधानलाई नै मान्यता दिँदै आडम्बरी संस्कृतिमाथि टेवा पुर्‍याइरहेकै हुन्छन् । नवपुस्ताका सचेत युवतीले हामी सहभागी भइरहेका अनेक खालका भद्दा संस्कृतिलाई परिवर्तन गर्नेबारे पनि उत्तिकै चनाखो हुनुपर्ने देखिन्छ । अलिकति व्यक्तिगत स्वतन्त्रताबारे चाहिँ चाल पाउने तर समग्रमा महिलाका समस्या के–के हुन् ? के–कस्ता सामाजिक, सांस्कृतिक मूल्य मान्यताले महिलालाई पछाडि धकेलिरहेको छ भन्नेमा चाहिँ अनदेखा गर्नु महिलाका अग्रगामी यात्रा होइनन् ।

एकातिर हामी महिलावादको र महिलाको रूपान्तरणको कुरा पनि गरिरहेका छौं । महिलावादले न्यायिक समाजको कल्पना गर्छ, पुरुष–महिलाको स्वअस्तित्वको कुरा गर्छ, पितृसत्ता र पुरुषवादी हैकमको विरोध गर्छ । न्यायिकता परिवारदेखि नै सुरु हुन्छ । शक्तिको खेलको कुरा नै गर्ने हो भने शक्तिशाली र व्यक्तिवादी बुहारीले नै पनि कमजोर लाग्ने सासूलाई हेप्ने, दबाउने गर्न सक्छन् । उखानै राखेका छन्– ‘जसको शक्ति उसको भक्ति’ । यस्ता उखानअनुसार हिँड्नेले महिला हुन् या पुरुष, न्यायिकता र समानतालाई तिरस्कार गर्छन् । यदि महिलाले अन्य महिलालाई दबाउँछन्, अमान्य खालका शक्ति अर्की महिलामाथि प्रदर्शन गर्छन् भने ती ‘खराब’ महिलाका रूपमा दरिन्छन्, खराब पुरुष जस्तैगरी ।

अहिलेको विश्वसम्म आइपुग्दा पनि तुलनात्मक रूपमा पुरुषभन्दा महिला कैयौं सवालमा पछाडि पारिएका छन् । हो, यसबारे चाहिँ हामी महिलाले सुझबुझपूर्ण तरिकाले आवाज उठाउनुपर्छ । उही ‘कहाँ होला बैकुण्ठ भन्ने ठाउँ, हरिहरि भन्दैमा मर्न पाऊँ’ भन्दै भजन मात्रै जप्ने कि संसार घुम्ने–फिर्ने, आर्थिक रूपमा सक्षम हुने र न्यायिक अनि मानवतावादी बन्ने ? निर्णय हाम्रै हातमा छ ।

महिलालाई नाता–सम्बन्ध र गाली गलौजयुक्त सांस्कृतिक–सांगीतिक परिवेशबाट पनि मुक्त गर्नु आजको अपरिहार्यता भइसकेको छ । महिलाका मुद्दाबाट विमुख गराई नातागोतामै विवाद कायम राख्न पनि हाम्रा सामाजिक, पारिवारिक मूल्य मान्यताले भूमिका खेलिरहेका हुन्छन् । यसबारेमा बढी सचेत महिला नै बन्नुपर्छ ।

सुशीला शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully