यो विद्रोह जन्मेको न लोकतन्त्रविरुद्ध हो, न त संविधान या अहिले चलेको व्यवस्थाविरुद्ध नै । यो त हो– शासन सुदृढीकरणको सपना र मात्रै असल व्यवस्थाको चाहाना ।
What you should know
पार्टीका कार्यकर्ता र जेन–जीभन्दा फरक वृत्तमा रहेर आजको राजनीतिक माहोल हेर्दा कस्तो देखिन्छ ? त्यो आँखीझ्यालबाट एकछिन वर्तमान राजनीतिलाई हेरौं ।
सरकारले जनतालाई सुविधा दिन नसक्ने, भएको सामाजिक सञ्जाल पनि बन्द गरेर कान न्यानो राख्ने प्रवृत्ति पाच्य थिएन । त्यही निहुँमा जेन–जी विद्रोह भयो । सामाजिक सञ्जाल बन्द त एउटा निहुँ मात्रै थियो– विद्रोहको । पुराना दिनदेखि नै नेता र सरकारसँग जनता रिसाएका थिए ।
२०६२/६३ सालमा जनतालाई जुन सपना देखाएर आन्दोलन गरिएको थियो, त्योभन्दा पहिले ‘जनयुद्ध’ मा कस्ता–कस्ता आशा देखाएर जनतालाई युद्धमा होमिएको थियो ? के–के प्रतिज्ञा गरेर नेताहरू प्रधानमन्त्री, मन्त्री भएका थिए ? सत्तामा पुगेपछि तिनै जनतामाथि ‘प्र्याङ्क’ मात्रै गरियो । जनताका दुःखलाई उपहास गरियो । युवाले पर्खे त दुई दशक समय । कुनै नयाँ काम भयो ? सिर्फ पैसा कुम्ल्याउने र चुनाव जित्नेबाहेक अगण्य मात्रामा काम भए । देशलाई संघीयतामा लैजानु र संविधान फेरिनुले छरेको बास्ना हावामै हरायो । युवा विदेश जाने लर्कोमा नलागी धरै पाएनन् ।
र, सबैभन्दा तीतो यथार्थ चाहिँ के भने ठूला नेता लखेटिनु, तिनका ढुकुटी सल्किनु आदि विद्रोहका प्रसंगवश घटना थिए । भौतिक संरचना भत्काइनु अवश्य नै जायज थिएन । जो जसले आ–आफ्ना रिसइबी साँध्न त्यो आगजनी गरे/गराए त्यसको अपजस आज जेन–जी विद्रोहमाथि लगाइँदै छ । र, जेन–जी विद्रोहमाथि यो वास्तवमै घोर अन्याय हुँदैछ । जेन–जी विद्रोहको आशयमाथि बाक्लो धूवाँ लगाउने काम भएको छ ।
राजनीतिक वृत्तभन्दा परै बसेर हेरिरहेको मजस्ता मानिसले अब यो सत्यलाई खुलस्त पारेर जोड्–जोड् आवाजले लेख्नुपर्यो कि, जेन–जी विद्रोहको आशय संविधान फाल्नु होइन, देश भत्काउनु त झन् हुँदै होइन, भएका नेतालाई लखेटेर शासन सत्ता हत्याएर नेता हुनु पनि होइन । उनीहरूको आवाज हो— भ्रष्टाचारमुक्त शासन होस्, स्वदेशमै स्वरोजगार निर्माण गर्ने नीति होस्, शिक्षा–स्वास्थ्यजस्ता सुविधा सर्वसाधारण जनताको पहुँचमा होस् आदि आदि ।
त्यसैले हो– नेपाली राजनीतिको मक्किएको बीसवर्षे शासन व्यवस्थालाई जेन–जी विद्रोहले हल्लाइदियो । कहिलेकाहीं राज्यसत्ता चलाएर बसेका बलिया मान्यतालाई समेत अनपेक्षित घटनाले ‘सरप्राइज’ दिन्छ । सत्ता वरपर बसेर अनदेखा गरिएका घटनाहरू नै साना–साना कारण बनेर बसेका हुन्छन्, जुन विद्रोह या क्रान्तिका रूपमा विस्फोट हुन्छ वा त्यसले अन्ततः कायापलट गरिदिन्छ । त्यो कायापलटको सम्पूर्ण दृश्य नै हो– गत भदौ २३ र २४ को जेन–जी विद्रोह, जसलाई अहिले सरकारले जनआन्दोलनको मान्यता दिएको छ । त्यो यस्तै विरलै हुने घटना हो, जसले सत्ताको आसनबाट एकाएक लामो समयसम्म पार्टीमार्फत शासन गरेकाहरूलाई मिल्काइदियो ।
सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई जेन–जी मानिन्छ । यो आन्दोलनअघि हामीले उक्त पुस्तालाई मोबाइलमा झुम्मिने पुस्ता या राजनीति र समाजप्रति कुनै चासो नभएको पुस्ता भनेर बेवास्ता गरेका थियौं । त्यही पुस्ताको अगुवाइमा भएको विद्रोहले शासनको दम्भ फट्कारिइदियो । हरेक छलफलदेखि सार्वजनिक विमर्शसम्ममा अनदेखा गरिएको त्यही पुस्ता अहिले मिडियादेखि सार्वजनिक बहस र राजनीतिसम्मै हाबी भएको छ । र, जेन–जी यस्तो पुर्खाका रूपमा दर्ज हुनेछ, जसले त्योभन्दा अघिका पुस्ताले नगरेको अदम्य साहस देखाएर क्रान्तिको बिगुल फुकेको छ । अनदेखा गरिएको प्रविधिको पुस्ताले नै बदलिँदो परिवेशमा आन्दोलनको नेतृत्व गर्यो ।
हाम्रोमा ‘आन्दोलन या विद्रोह जहिल्यै संगठित संगठन र नेताहरूको सार्वजनिक अपिलले सुरु हुन्छ र त्यसले नै त्यो आन्दोलनको बाटो देखाउँछ’ भन्ने मान्यता हाबी थियो । परिवर्तनप्रतिको हाम्रो पुरानो आँखाबाट हेर्दा हामीजस्ता मान्छेलाई यो आन्दोलनमा ‘के भइरहेको हो र किन भयो’ भन्ने प्रोसेस गर्नै धेरै समय लाग्यो । भदौ २३ को आन्दोलनमा अनपेक्षित रूपमै राज्यले विद्यार्थीको हत्या गर्यो र धेरैलाई घाइते बनायो । २३ को राज्य दमनपछि २४ भदौमा उर्लेको अनि रिसाएको भीड र आन्दोलनलाई कतिपयले बदनाम गर्ने कोसिस सार्वजनिक वृतमै जारी राखेका छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने ०६२/६३ को जनआन्दोलन–२ होस् या ०४६ को आन्दोलन— सिंगो व्यवस्था नै हटाएका ती आन्दोलनभन्दा एकैदिन धेरै विद्यार्थीहरूको हत्या गरिएपछि नै यो जेन–जी आन्दोलनमा मान्छेमा आक्रोश बढेको थियो । त्यो आक्रोशको स्वाभाविक प्रतिक्रिया भोलिपल्टको आन्दोलनमा देखिएको हो । र, केही चाहिँ एकअर्कासँगको रिस साँध्ने मौकाका रूपमा पनि प्रकट भएको हो । तसर्थ कलिला विद्यार्थीहरूले यो देशलाई भ्रष्टाचारमुक्त बनाउन र आफ्नो अभिव्यक्ति स्वतन्त्राको रक्षा चाहेका हुन् । २४ को घटना देखाएर जेन–जी विद्रोहलाई नै विद्रूप गर्ने कोसिस गरिनु वाञ्छनीय छैन ।
जेन–जी आन्दोनलका पथप्रदर्शक रक्षा बम, सुदन गुरुङ, उपार्जन चाम्लिङहरूले लोकतन्त्र र संविधान बचाएका हुन् । आन्दोलनको सुरुदेखि नै सेनासँग वार्तामा सहभागी हुनेदेखि सरकार निर्माण प्रक्रियासम्मको भूमिकामा पहल गरेका हुन्– रक्षा बम, सुदन गुरुङहरूले । यिनले ‘सरकार हत्याउने’ भनेर कदापि आन्दोलन गरेका होइनन् । बस् तिनले राजनीतिमा शुद्धीकरण र सुदृढीकरण चाहेका थिए, तर सरकारको आफ्नै हठले आन्दोलनका रूप भयानकसँग बदलियो । विद्यार्थीहरूले अनाहकमै ज्यान गुमाउनुपर्यो । दर्जनौं अंगभंग भए । यद्यपि नतिजा कायापलट भयो । यसर्थ यो आन्दोलनमा यी युवालाई परिवर्तनका संवाहक भनी एक बिम्बका रूपमा प्रयोग गरिएको हो ।
खासगरी २४ गते नेपालका राजनीतिक दलका नेताहरू सबै भागेर सेनाको ब्यारेकमा लुक्न पुगेका बेला, सेनाको हातमा शासन सत्ता रहेका बेला र देशमा अनेकखाले चलखेल भइरहँदा पनि कसरी यो पुस्ताले लोकतन्त्र–संविधान जोगाउन सक्यो ? यही यक्ष प्रश्न हो ।
हरेक मुलुकका सेना परम्परागत शक्तिका रूपमा रहन्छ । यदि यी विवेकशील युवा थिएनन् भने शासन सेनाको हातमा जान तयार थियो । जनताको स्वाभाविक मत थियो— राजा या सेनाको हातमा सत्ता जाने निश्चितै छ । यस्तो बेला, देशका प्रधानमन्त्रीदेखि सबै दलका नेताहरू ज्यान जोगाउन लुक्नुपर्ने अवस्था थियो । त्यो शून्यताको समयमा सिंहदरबारमा सेनालाई प्रश्न गर्न सक्ने यी युवा लगायतका जेन–जीहरूको आन्दोलन व्यवस्थाविरुद्ध जान होइन, बरु व्यवस्थालाई थप सुदृढ बनाउन हो । यो कुरा अब बन्ने सरकारले बिर्सनु हुँदैन ।
आजको समयमा मुख्य दलका नेताहरूको चक्रीय–शासन अब अन्त्य हुन जरुरी छ । अंग्रेजीमा एउटा भनाइ छ, ‘लिडर एन्ड डाइपर सुड बी चेन्ज अन टाइम’ अर्थात् ‘नेता जसरी राजनीतिमा लाग्छन् उसैगरी त्योबाट बिदा लिनेसमेत समय लिनुपर्छ’ । विकसित लोकतन्त्रमा हेर्ने हो भने आफूले राज्यसत्ता चलाएपछि पुनः व्यावहारिक जीवनमा फर्किने चलन एकदमै स्वाभाविक देखिएको छ, जसले गर्दा पार्टी र राजनीति दुवैलाई कलकल बग्ने खोलाजस्तै सङ्लो देखाएको छ । ठीक विपरीत नेपालमा भने एकै नेताले आजीवनै राज्यसत्ताको बागडोर लिने संस्कारले देश खोक्रो बनायो । लोकतन्त्रप्रति नै वितृष्णा पैदा गर्यो । हाम्रा नेताहरू करिब ५० को दशकदेखि नै राज्यसत्ता या त्यसलाई प्रभाव पार्ने ठाउँमा आफू मात्रै बसिरहे । यसले आम जनतामा मात्रै होइन, पार्टीभित्रै पनि तीतोपन उमार्यो । देश चलाउन विधान बलियो हुनुपर्नेमा नेता मात्रै टिकिरहे । उनीहरूले राजनीतिक सिट ओगटेर बसिरहँदा त्यसले आम मान्छेहरूलाई ‘फ्रेसनेस’ को अनुभूतिसम्म भएन । त्यसमाथि शक्तिमा टिक्न तिनले अख्तियारदेखि विभिन्न निकायसम्मलाई दलीयकरण गरेर पंगु बनाउने कामहरू गरे, जसले आम मान्छेलाई ‘फ्रस्ट्रेसन’मा पुर्यायो र त्यो ‘फ्रस्ट्रेसन’कै उपज हो– दोस्रो दिनको विद्रोह ।
अहिलेको नवोदित पुस्ताको चासो राजनीतिमा झन् बढेर गएको छ । हामीले फेरि पनि बिर्सनु हुँदैन र अरूलाई पनि सम्झाइरहनुपर्ने कुरा यो छ कि– यो विद्रोह जन्मेको न लोकतन्त्रविरुद्ध हो, न त संविधान या अहिले चलेको व्यवस्थाविरुद्ध नै । यो त हो– शासन सुदृढीकरणको सपना र मात्रै असल व्यवस्थाको चाहाना ।
व्यवस्था होइन, अवस्था परिवर्तन मागिरहेको पुस्ता हो यो । राज्यसत्ता या त्यसवरपर बस्नेहरूले जस्तोसुकै भाष्य बनाए पनि यो आन्दोलनमा सरिक भएका आमयुवाको विचार देशप्रति अत्यन्तै संवेदनशील छ, जसले विगतमा भएका आन्दोलनका उपलब्धिप्रति उत्तिकै अपनत्व राख्दछ ।
दुःखको कुरो, यी युवालाई प्रतिगामी देखाएर लुटतन्त्र मच्चाउने र लुटतन्त्र देखाएर प्रतिगमन ल्याउन खोज्ने— दुई अति भाष्यको चपेटामा परेर देशले परिवर्तनको महसुस गर्न पाएको थिएन । यो आन्दोलनले त्यस्तो परिवर्तन गरिदिएको छ । र, आन्दोलन गर्ने जेन–जीले भ्रष्टाचार नभएको देख्न चाहेका छन् । तिनले सरकारी कार्यालयले छिटोछरितो काम गरेको देख्न चाहेका छन्, संस्थाहरूमा राजनीतिक भागबन्डा होइन, योग्यताका आधारमा छनोट भएको देख्न चाहेका छन्, देशमै रोजगारीको अवसर चाहेका छन् । ती आफ्नो अभिव्यक्ति स्वतन्त्रता चाहन्छन्, त्यतिमात्रै होइन परिआयो भने यो पुस्ता प्रविधिको परिवर्तनले ल्याएका नयाँ–नयाँ खोज र विधिहरू पनि सिकाउन चाहन्छ । प्रविधिले बदलेको ज्ञानको वर्चस्व र सुसूचित नयाँ पुस्ता निर्माण गर्न चाहन्छन् जेन–जी । सूचना, सञ्चार र प्रविधिदेखि एआईसम्मको जबर्जस्त प्रभाव भएका युवालाई १२ कक्षा सक्नासाथ विदेश पठाउने होइन, अब आफ्नै देशमा सीप देखाउने वातावरण चाहिएको छ ।
नयाँ प्रविधि सबैभन्दा छिटो अँगाल्ने र तिनमा अभ्यस्त हुनेहरू जहिल्यै अग्रजभन्दा अनुज पुस्ता नै हुन्छन् । यसअघिका परिवर्तनहरू ‘टुल्स या टेक्निक’का परिवर्तन थिए, जसले ज्ञानसम्बन्धी वर्चस्वमा धेरै प्रभाव पारेको थिएन । तर, अहिलेको एआईसम्म आउँदा ज्ञानसम्बन्धी वर्चस्व पढेलेखेका बुद्धिजीवीको पेवाबाट आम मानिसको ‘एक्सेस’ मा पुगेको छ । त्यसैले अनुभवजन्य विषयबाहेक उनीहरू ज्ञानका लागि अन्यमा धेरै निर्भर हुनुपर्दैन ।
एकैपटक ‘संसारमा के भइरहेको छ ?’ भन्ने जानकारी पाउने यो पुस्ता ‘ग्लोबल भिलेज’को एउटा सानो हिस्सा हो । ‘ग्लोबल्ली’ सोच्न सक्ने पुस्ताको ज्ञानसम्बन्धी वर्चस्व पनि वैश्विक नै हुन्छ । उनीहरूलाई मार्क्स, लेनिन या गान्धीभन्दा धेरै रुचि ‘डेटा सर्भिलेन्स’मा हुन सक्छ । फ्रान्सेली क्रान्तिभन्दा धेरै चिन्ता ‘ग्लोबल वार्मिङ’ जस्ता इस्युमा हुन सक्छ । त्यसैले हाम्रा परिभाषाभित्रका ज्ञानबाहेक पनि उनीहरू बृहत् खालको नयाँ ज्ञानको खोजमा छन् । ज्ञान मात्रै नयाँ छैन, उनीहरूसँग ‘टुल्स’ पनि नयाँ–नयाँ छन् र यो नयाँ पुस्ता त्यही ‘टुल्स’मा अभ्यस्त छन् ।
हामी के बुझौं र बुझाऔं भने– आउँदो चुनावमा नव–युवालाई जिताएर एकचोटि देश चलाउन दिऔं । फागुन २१ मा चुनाव हुँदै छ, चुनावी सरगर्मी छ । हरेक पार्टीका कार्यकर्तालाई आफ्ना नेताको सम्मान, त्यो पार्टीमा बिताएको समय र लगाबको औधी माया अवश्य छ । तर, आफ्ना लागि भन्दा देशका लागि एकचोटि हरेक व्यक्तिले सोच्नुपर्ने दिन आएको छ । परीक्षाले भाग्य बदल्छ भने किताब र गुरुको माया गर्न छाडिदिऔं, स्वविवेकले निर्णय गरौं ।
चुनावपछि देश अलिअलि संविधानबाहिरको लिकबाट फेरि लिकमै फर्कनेछ । अब हामी सबैको जिम्मेवारी हुनुपर्छ— आउने निर्वाचनमा नव–युवालाई शासन सत्तामा पुर्याउने र देश तिनको हातमा सुम्पिने ।
