यो कुनै पार्टी, विचारधारा वा धर्मको होइन, विशुद्ध राष्ट्र चेतनाको उत्सव हो । यस्ता कार्यक्रमले नेपाललाई नयाँ आयामले हेर्ने ढोका खोल्छ । हामी पर्यटकलाई ‘जाग्न’ नेपाल आमन्त्रण गर्छौं । भन्ने छौं– नेपालको माटोमा ध्यानको शक्ति र बुद्धत्वको ऊर्जा छ ।
What you should know
कहिलेकाहीँ इतिहास ठूलो आवाजले होइन, गहिरो मौनताले लेखिन्छ । अहिले त्यही मौन आवाज संसारैभर गुन्जिँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ घोषणा गरेसँगै यतिबेला विश्वव्यापी रूपमै ध्यानका कार्यक्रम सञ्चालन भइरहेका छन् । यो ऐतिहासिक सफलताको जग खडा गर्न स्वामी आनन्द अरुणको अथक वैचारिक संघर्ष र निरन्तरको अन्तर्राष्ट्रिय पहलले मेरुदण्डको काम गरेको छ ।
स्वामीजीको एउटा ठूलो सपना थियो, कुनै दिन संयुक्त राष्ट्रसंघको सर्वोच्च मञ्चमा उभिएर नेपालले ध्यानको झन्डा फहराओस् । नेपाल एक सानो भूभाग मात्रै होइन, संसारकै योग भूमि, ध्यान भूमि, बुद्ध भूमि, शान्ति भूमि, आरोग्य भूमि र हिमालय भूमि हो भनेर विश्वलाई चिनाउने उहाँको त्यो सपना र दशकौं लामो अभियानले आज मूर्त रूप पाएको छ ।
स्वामीजीले दशकौंअघि कोर्नुभएको आध्यात्मिक मार्गचित्र र समग्र नेपालको साझा गौरवको प्रतिफलस्वरूप डिसेम्बर १९ मा न्युयोर्कस्थित राष्ट्रसंघको सभाहलमा नेपालका तर्फबाट एक ऐतिहासिक ‘मौन संवाद’ हुँदै छ ।
राष्ट्रसंघमा नेपालको नेतृत्व
यो गौरवमय अवसरमा न्युयोर्कस्थित यूएन हेडक्वार्टर्समा आयोजित ‘मेडिटेसन फर ग्लोबल पिस एन्ड हामोर्नी’ कार्यक्रममा नेपालको प्रतिष्ठित जीवन विज्ञान फाउन्डेसनका गुरुदेव एलपी भानु शर्मा र रमेश नेपालले विशेष सत्र नेतृत्व गर्दै हुनुहुन्छ । यो ऐतिहासिक घटनाले नेपाल केवल बुद्ध जन्मभूमि होइन, ध्यान र चेतनाको जीवित परम्पराको देश हो भन्ने सन्देश विश्वलाई दिनेछ ।
संयुक्त राष्ट्रसंघले गत वर्षदेखि डिसेम्बर–२१ लाई औपचारिक रूपमै ‘विश्व ध्यान दिवस’ घोषणा गर्नु कुनै क्यालेन्डरमा मिति थपिनु मात्र होइन, यो संसारकै प्राथमिकता परिवर्तन भएको संकेत हो, जहाँ भौतिक समृद्धिभन्दा मानसिक स्वास्थ्य र भित्री सन्तुलनलाई अत्यावश्यक ठानिन थालिएको छ । स्मरण रहोस्, गत वर्ष यो दिवस घोषणा गर्न प्रस्ताव राख्ने ६ मुलुकमध्ये नेपाल एक हो ।
ध्यान के हो ? किन जरुरी छ ?
ध्यान ‘मनको स्नान’ हो । जसरी हामी शरीर सफा राख्न दिनहुँ नुहाउँछौं, त्यसैगरी मनमा जम्मा भएका चिन्ता, डर र तनाव सफा गर्ने माध्यम हो– ध्यान । आजको भागदौडले भरिएको जिन्दगीमा मानिसको शरीर एक ठाउँमा हुन्छ, तर मन हजारतिर भौंतारिरहेको हुन्छ । ध्यानले त्यो भौंतारिएको मन शान्त बनाएर वर्तमान क्षणमा ल्याउन मद्दत गर्छ ।
ध्यान किन गर्ने ?
– तनाव कम गर्न : मनमा आउने अनावश्यक विचार कम गरेर शान्ति दिन्छ ।
– खुसी रहन : यसले भित्रैदेखि आनन्दको अनुभव गराउँछ र रिस वा आवेगलाई नियन्त्रण गर्न सिकाउँछ ।
– स्वस्थ रहन : मन शान्त भएपछि शरीरका धेरै रोग आफैं निको हुन थाल्छन् । विशेषगरी अनिद्रा, उच्च रक्तचाप र मानसिक छटपटी कम गर्न ध्यान अचूक औषधि हो ।
योगले शरीर बलियो र लचिलो बनाउँछ भने ध्यानले मन स्थिर र शान्त । योगले बाहिरी शरीर सुधार्छ भने ध्यानले भित्री आत्मा जगाउँछ । आज संसारका मानिस बाहिरबाट जति सुखी देखिए पनि भित्रबाट अशान्त छन्, त्यसैले अहिले विश्वभरि नै नेपालको यो प्राचीन पद्धति (योग र ध्यान) को खोजी भइरहेको छ । ध्यान दिवसको यो गौरवपूर्ण क्षणलाई नेपालकै राष्ट्रिय गौरवका दृष्टिले उत्सवपूर्ण मनाउनुपर्छ । कुनै एक नेपालीले संयुक्त राष्ट्रसंघको सभाहलमा ध्यानको नेतृत्व गर्नु, त्यो राष्ट्रिय चेतनाको उदात्त अभिव्यक्ति हो ।
संसार आज हिंसा, तनाव र मानसिक विघटनको चरमबिन्दुमा छ । त्यही संसारले अब नेपालतिर फर्किएर हेर्न थालेको छ । किनकि नेपालसँग तेल छैन, हतियार छैन तर गहिरो चेतना छ । त्यो चेतना हिमालजस्तै मौन, स्थिर र सर्वव्यापी छ । आज यूएनको मञ्चमा नेपाली आवाज प्रतिध्वनित हुनु नेपालको आत्माले संसारसँग संवाद गर्नु हो ।
राष्ट्र–चेतनाको उत्सव र जिम्मेवारी
म ओशोको शिष्य र ओशो ध्यानको अभियन्ता हुँ । जीवन विज्ञान समूहमार्फत संयुक्त राष्ट्रसंघमा नेपालबाट ध्यानको सन्देश जाँदै छ भन्ने कुराले उत्साहित छु । यो कुनै पार्टी, विचारधारा वा धर्मको होइन, विशुद्ध राष्ट्र चेतनाको उत्सव हो । यस्ता कार्यक्रमले नेपाललाई नयाँ आयामले हेर्ने ढोका खोल्छ । हामी पर्यटकलाई ‘जाग्न’ नेपाल आमन्त्रण गर्छौं । भन्ने छौं– नेपालको माटोमा ध्यानको शक्ति र बुद्धत्वको ऊर्जा छ ।
यो संसारलाई भौतिक थकानबाट मानसिक स्वास्थ्यको बाटोमा नेपालले डोहोर्याउन सक्छ । संसारमा हाम्रो परिचय कूटनीतिक दाउपेचमा मात्रै सीमित हुनुहुँदैन । ध्यान, योग र मानसिक सद्भावको शक्तिले युद्ध र विभाजनको संकीर्ण मानसिकता परास्त गर्न सक्छ । नेपालको भूमिका ‘चेतनाको पाठशाला’ बन्न सक्छ । प्रगतिको मापन पैसामा मात्रै सीमित हुनु हुँदैन । नेपालले विश्वलाई धन कमाउनु र शान्त रहनुबीचको असली सन्तुलन सिकाउन सक्छ ।
त्यसैले, स्वामी आनन्द अरुणको सपना र गुरुहरूले लिनुभएको यो नेतृत्वले नेपाललाई विश्वको ‘आध्यात्मिक राजधानी’ बनाउने मार्ग खोलेको छ । संयुक्त राष्ट्रसंघको भवनभित्र नेपालीको उपस्थितिमा उच्चारित ध्यानका शब्द, मौनको अभ्यास र शान्तिको अनुभूतिले संसारलाई गहन सन्देश दिनेछ– नेपाल विश्वलाई युद्ध होइन, शान्ति दिन सक्छ, विश्वलाई प्रतिस्पर्धा होइन, चेतना दिन सक्छ ।
संयुक्त राष्ट्रसंघमा नेपालको यो ऐतिहासिक उपस्थितिले भविष्यमा अझै धेरै नेपाली गुरु, साधक र आध्यात्मिक अभियानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने सशक्त मार्ग खोल्नेछ । अब विश्वको मन जित्नु र शान्तिको संवाद गर्नु नेपालको मार्ग बन्नुपर्छ ।
