आन्दोलनका मर्म र भावनाप्रति प्रतिबद्ध सबै जेन–जीले आफूहरूको आन्दोलनमाथि टेकेर को अग्लो हुन खोजिरहेछ भन्ने ख्याल गर्नुपर्छ ।
What you should know
आन्दोलनमा सफलता प्राप्त गर्नु जति चुनौतीपूर्ण हुन्छ, आन्दोलनको मर्म र भावनाअनुसार नै अगाडि बढिरहन सक्नु पनि उति नै चुनौतीपूर्ण हुन्छ ।
सानातिना कमजोरीले पनि समग्र आन्दोलनमाथि नै प्रश्न उठ्ने र लाञ्छना बेहोर्नुपर्ने हुन्छ । त्यसैले आन्दोलनका पक्षधरले निकै चनाखो भएर फुकीफुकी पाइला चाल्नु अपरिहार्य हुने गर्छ । भदौको आन्दोलनपछिका कतिपय सन्दर्भले जेन–जी समुदाय त्यस्तो होसियारी अपनाउन चुकिरहेको हो कि भन्ने भान दिएको छ । गत बुधबार सरकार र जेन–जीबीच भएको दसबुँदे सहमतिका एक जना हस्ताक्षरकर्ताका रूपमा भोजविक्रम थापालाई अगाडि सारिनु वा सर्नु त्यस्तै सन्दर्भ हो । थापा मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । सुशासनको चाहना राख्दै भएको आन्दोलनको सफलतालाई वैधानिकता दिने प्रयत्नस्वरूप सम्झौता गरेका जेन–जीका तर्फबाट थापा जस्ता व्यक्तिले हस्ताक्षर गर्नुले स्वयं आन्दोलनको मर्म र भावना धमिलिएको छ ।
मानिस आन्दोलनमा होमिनुका पछाडि केही तत्कालीन घटना हुन्छन् । जसले तत्कालीन समयमा उत्प्रेरकको काम गर्छन् । यद्यपि पृष्ठभूमिमा असन्तुष्टि र आक्रोश सिर्जना गरिरहेका अनेकौं घटनाका शृंखला हुन्छन् । २३ भदौका लागि आह्वान गरिएको जेन–जी आन्दोलनमा असंख्य युवा सडकसम्म आउनु र उनीहरूलाई विभिन्न क्षेत्रबाट समर्थन प्राप्त हुनुको तत्कालीन कारण थियो– सामाजिक सञ्जालमाथिको प्रतिबन्ध । पृष्ठभूमिमा भने भ्रष्टाचार, नातावाद, ढिलासुस्ती, कुशासन, बेरोजगारी, जवाफदेहिताको अभाव, शासकीय अहंकार, दण्डहीनता जस्ता कारणले आममानिसमा जागिरहेको असन्तुष्टि र आक्रोश थियो । २३ भदौमा सडकमा आएका जेन–जीले सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गरे, सुशासनको पक्षमा वकालत गरे । तर सम्झौतामा हस्ताक्षर गरेका थापाले आन्दोलनको मूलमर्मलाई बोक्न सक्छन् त ? अवश्य सक्दैनन् । जेन–जीले २३ भदौमा सडकमा लगाएका नारा र थापाले २४ मंसिरमा सिंहदरबारमा गरेको हस्ताक्षरबीच विरोधाभास देखिन्छ ।
मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ तथा सुरुङ निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन २०८० मा चार पूर्वसचिवसहित १५ व्यक्ति र तीन कम्पनीलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही क्रममा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपकार्यकारी निर्देशक (निर्माणस्थल) भोजविक्रम थापालाई पनि प्रतिवादी बनाएको थियो । उनले खानेपानी तथा सहरी विकास मन्त्रालयको उपसचिवबाट अवकाश पाएका हुन् । यद्यपि, विशेषले थापासहित केहीलाई सफाइ दिएको थियो । उक्त फैसलालाई त्रुटिपूर्ण भन्दै अख्तियारले पुनरावेदनमार्फत बदरको माग गरेको हो । अब उनी मेलम्ची प्रकरणका अभियुक्त हुन् । र, उनैको हस्ताक्षरसहितको सम्झौता यतिबेला मन्त्रिपरिषद्बाट अनुमोदन भएर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । यसबाट सम्झौताको नैतिक धरातल कमजोर भएको छ । किनकि, जो स्वयं भ्रष्टाचार प्रकरणमा मुछिएको छ, उसैको सुशासनको आकांक्षा र मार्गदर्शन बोकेको सम्झौताको ओज राख्नै सक्दैन ।
थापालाई जेन–जी आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट मारिएका इश्वतबहादुर अधिकारीको आफन्त भनिएको छ । उनले इश्वत आफ्नै संरक्षणमा रहेको बताएका थिए । परिवारजनका अनुसार थापा इश्वतका फुपाजु पर्छन् । उनी स्वयं भने यस विषयमा कुरा गर्नबाट पन्छिएका छन् । जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत/क्षतिपूर्ति र दोषीउपर कारबाही हुनुपर्ने माग उठाउन थापाले आफ्नै नेतृत्वमा ‘जेन–जी आन्दोलन सहिद परिवार संघर्ष समिति’ बनाएका थिए । संघर्ष समितिका तर्फबाट गत २३ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरी सहिद परिवारका तर्फबाट ३ मन्त्रालय सुनिश्चित गर्न माग गरिएको थियो । त्यहीअनुसार थापालाई खानेपानीमन्त्री बनाउने गरी प्रधानमन्त्री कार्यालयमा संघर्ष समितिका तर्फबाट प्रस्ताव बुझाइएको थियो । यद्यपि, त्यो दर्ता भने भएन । त्यस्तै, जेन–जी सहिदका नाममा सामाजिक काम गर्ने भन्दै थापाकै नेतृत्वमा ‘जेन–जी सहिद कल्याणकारी परिवार’ नामक गैरसरकारी संस्थासमेत दर्ता गरिएको छ ।
यतिबेला थापाको सहिद इश्वतसँगको पारिवारिक सम्बन्ध, इश्वतको परिवारको प्रतिनिधित्व उनले नै गर्नुपर्ने कारणबारे प्रश्न उठेका छन् । मन्त्री बन्न स्वयंलाई अघि सार्नेदेखि सरकार र जेन–जी सम्झौतामा हस्ताक्षर गर्नेसम्मका काममा उनी अघि सरेकाले उनीमाथि चासो पनि व्यक्त भएका छन् । यो सबैका लागि उनको सक्रियता स्वाभाविक हो कि गलत उद्देश्यद्वारा प्रेरित छ भनेर आशंका पनि व्यक्त भएका छन् । विगतमा पनि विभिन्न घटना र प्रकरणमा अधिक सक्रियता देखाउनेहरू कालान्तरमा सन्दिग्ध देखिएका उदाहरण प्रशस्तै भएकाले पनि आममानिसले उनीप्रति नजर राख्न थालेका छन् । थापा स्वयं सार्वजनिक व्यक्ति भइसकेकाले उनीबारेका जे–जी प्रश्न, आशंका र चासो छन्, त्यसबारे प्रस्ट्याउनुपर्छ । १० बुँदे सम्झौतामा तीन ठाउँमा पारदर्शिता शब्द प्रयोग गरिएको छ, एउटा मूल बुँदाको शीर्षक पनि पारदर्शिता नै छ । त्यस्तो सम्झौतामा हस्ताक्षर गर्ने व्यक्तिले आफूमाथिका प्रश्न र आशंकालाई पारदर्शी बनाउनुपर्छ ।
थापा स्वयं जेन–जी उमेर समूहमा पर्दैनन्, उनले जेन–जी सहिद परिवारको प्रत्यक्ष प्रतिनिधित्व गर्ने विषय पनि स्पष्ट छैन । तर उनी ‘जेन–जी आन्दोलन सहिद परिवार संघर्ष समिति’ वा ‘जेन–जी सहिद कल्याणकारी परिवार’ जस्ता संस्था बनाउँदै हिँडेका छन् । मन्त्री बन्न खोजे, दसबुँदे सम्झौतामा हस्ताक्षरसमेत गरे । भ्रष्टाचार प्रकरणमा मुछिएका र सहिद परिवारको प्रतिनिधित्वको विषय अप्रस्ट रहेका उनले जेन–जी आन्दोलनको विरासत बोक्नु वा आन्दोलनको मर्म र भावनाको प्रतिनिधित्व गर्नु अनौठो छ । यथास्थितिमा उनको यस किसिमको सक्रियता र संलग्नताले जेन–जी आन्दोलनकै शुद्धतामाथि प्रश्न उठाउँछ । यसकारण आन्दोलनका मर्म र भावनाप्रति प्रतिबद्ध सबै जेन–जीले आफूहरूको आन्दोलनमाथि टेकेर को अग्लो हुन खोजिरहेछ भन्ने ख्याल गर्नुपर्छ ।
