जलवायु परिवर्तनका असरबीच सीमान्तकृत

ईश्वरी भट्टराई लेख्छन्– जलवायु परिवर्तनको नकारात्मक प्रभावले माझी समुदायको जीविका र आयस्रोतमा त धक्का पुर्‍याएको छ नै, तिनको सामाजिक बनोट–सांस्कृतिक पक्षमा पनि प्रत्यक्ष असर पारेको छ ।

मंसिर २९, २०८२

ईश्वरी भट्टराई

Marginalized amid the impacts of climate change

What you should know

काठमाडौँ — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका इन्द्रावती नदी किनार वरपर माझी समुदायको बसोबास छ । परम्परागत रूपमा उनीहरू नदीमा आवतजावत गर्नेलाई डुंगाको सहारामा नदी तार्ने, माछा मार्ने र नदी किनारको जमिनमा खेतीपाती गर्थे । यो नै उनीहरूको मुख्य पेसा तथा जीविकाको आधार थियो ।

अर्थात्, जीवन धान्न उनीहरू पूर्ण रूपमा प्रकृतिमा निर्भर थिए । यसैबाट उनीहरूको जिन्दगी जसोतसो चलेको थियो । पुस्तौं–पुस्तासम्म यो काम निरन्तर चलिरह्यो । तर, अहिले त्यो माझी बस्ती र जीविका गम्भीर संकटमा परेको छ । विगतका वर्षमा वातावरणीय विनाश र जलवायु परिवर्तनका कारण सिर्जित बाढी, पहिरो, तापमान वृद्धिलगायत प्रत्यक्ष असर यो बस्तीले पनि भोग्नुपरेको छ ।

२०६८ मा इन्द्रावती नदीमा आएको बाढी उनीहरूको बस्तीभित्रै पस्यो । यसले माझी घरधुरीको थातथलो मात्रै उठाएन, थोरैतिनो उब्जनी हुने खेतबारी पनि सखाप पार्‍यो । खेतबारी बगरमा परिणत भयो । उनीहरू त्यहाँबाट विस्थापित भए र नजिकैको पाखो जमिनमा टहरा बनाएर बसे । बचेखुचेको पैसा अस्थायी टहरा बनाउँदै खर्च भयो । उक्त स्थानमा पनि २०७२ को भूकम्पले नोक्सान पुर्‍यायो । त्यहाँबाट पनि माझी परिवार विस्थापित भए । विस्थापित करिब ५० माझी घरपरिवारका लागि सन् २०१८–२०१९ तिर विभिन्न संघसंस्थाले एकीकृत बस्तीका नाममा स–साना घर निर्माण गरिदिए । तर, उक्त बस्तीमा पनि ११–१२ असोज २०८१ को भीषण वर्षाले क्षति पुर्‍यायो । वर्षासँगै आएको पहिरोले धेरैजसो घर चर्किए, बस्नलायक भएनन् । उनीहरू त्यहाँबाट फेरि पनि नजिकैको स्थानमा सर्न बाध्य भए ।

इन्द्रावती नदी किनार हुँदै मध्यपहाडी लोकमार्ग विस्तार भयो । उक्त लोकमार्गको माथिल्लोपट्टिको भिरालो जमिनमा तिनै माझी परिवार बसेका थिए । लोकमार्ग विस्तारका कारण त्यो भिरालो जमिनमा पनि वर्षायाममा पहिरो गयो । उनीहरू त्यहाँबाट पनि लोकमार्ग छेवैमा सार्वजनिक जमिनमा टिनका टहरा बनाएर बसे । तर, त्यो स्थान पनि सुरक्षित र बस्नलायक छैन । यसरी विगत १५–२० वर्षमा माझी परिवारहरू पटक–पटक २–३ स्थानमा सर्न बाध्य भए । पटक–पटकको विस्थापनले भौगोलिक, आर्थिक, सामाजिक, पक्षमा प्रभाव पार्‍यो । यसले उनीहरूको बालबच्चाको पठनपाठनमा समेत असर गरिरहेको छ ।

माझी समुदायसँग अहिले पनि आफू बसिरहेको जमिनको लालपुर्जा छैन । त्यहाँ खानेपानी, बिजुलीजस्ता आधारभूत सेवा उपलब्ध छैनन् । माझी परिवार आधारभूत सेवा पाउन वञ्चित छ । बिजुली जडान गरेको निकै टाढाको एक घरबाट सहयोग मागेर महिनावारी महसुल तिर्ने गरी तार जोडेर केही माझी परिवारले बिजुली उपयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको बसोबास असुरक्षित हुनुका साथै गर्मीमा बढ्दो गर्मीले र जाडोमा टिनका छाप्रा थप चिसो हुँदा बस्न गाह्रो हुने गरेको छ ।

माझी परिवारको परम्परागत पेसा, खेतीपाती र प्रकृतिमा आधारित आर्थिक क्रियाकलाप संकटमा परेपछि उनीहरू हिजोआज मुख्यतया दैनिक ज्याला–मजदुरीमा निर्भर छन् । यी काम पनि नियमित नहुने र निकै कम आम्दानी हुने भएकाले दैनिकी गुजारामुखी मात्रै छ । उनीहरूको ज्याला पूर्णतया शारीरिक श्रममा निर्भर छ र बचत पनि हुँदैन । सानोतिनो कमाइबाट भएको बचत पनि अस्थायी घरटहरा बनाउँदै खर्च हुन्छ । उनीहरूमध्ये कतिपयले ऋण लिएर टहरा बनाउने गरेका छन् । केही माझी परिवार बारम्बारको विस्थापनले पटक–पटक घर–टहरा बनाउनुपर्ने बाध्यताले अनावश्यक ऋणमा डुबेका छन् । ज्याला मजदुरीको आम्दानीको ठूलो हिस्सा लामो समयसम्म ऋण चुकाउनै लाग्छ । यसकारण, उनीहरूको खाद्यान्न र बसोबासको अवस्था नाजुक त हुने नै भयो तर उनीहरू दीर्घकालीन रूपमै आर्थिक असुरक्षाको चक्रमा फस्न बाध्य छन् ।

जलवायु परिवर्तनका कारण सिर्जित प्रभावले माझीजस्ता निम्न वर्ग, अल्पसंख्यक जाति र हिमाली क्षेत्रका बासिन्दा झन् प्रभावित हुने गरेका छन् । तर, जलवायु परिवर्तन र तिनका असरबारेका बहसले माझी बस्तीलाई छोएको छैन । जलवायु परिवर्तनको नकारात्मक प्रभावले माझी समुदायको जीविका र आयस्रोतमा त धक्का पुर्‍याएको छ नै, यसले उनीहरूको सामाजिक बनोट तथा सांस्कृतिक पक्षमै प्रत्यक्ष असर पारेको छ । नदीमा डुंगा तार्ने, माछा मार्ने र खेतीपातीसँगै चाडपर्व, उत्सव र परम्परा पनि तिनका जीवनमा अभिन्न रूपमा गाँसिएका थिए । तर, मानवजन्य क्रियाकलापले नदीको स्वरूप बदल्नुका साथै उनीहरूको बसोबास पनि छिन्नभिन्न पार्‍यो । बितेका दशकहरूमा अनियन्त्रित गिट्टी–बालुवा उत्खननले नदीको प्राकृतिक लय र स्वरूप नै बदल्यो । बग्रेल्ती खुलेका क्रसर उद्योगले नदी प्रदूषण त बढायो नै, पानीको बहाव, जल प्रणाली, माछा र पारिस्थितिकीय प्रणालीलाई नै खलबल्याइदियो । यसको सिधा असर माझीको दैनिक जीविकोपार्जनमा पर्‍यो । नदीमा माछाको संख्या घट्यो र लोप हुने स्थितिमै पुग्यो । बेलाबेला आउने भयानक बाढीले उनीहरूको थोरै खेतीयोग्य जमिन पनि बगर बनाइदियो । प्रकृतिमा आश्रित यो समुदाय आफ्नो परम्परागत थातथलो छोड्न बाध्य भए । माझी समुदायले आफ्नो घरबार मात्रै गुमाएनन्, माझी परम्परा, संस्कृति र जीविकाका साथै पहिचान पनि संकटमा पर्‍यो । माझी समुदायको विस्थापन हालका वर्षमा जलवायु परिवर्तनले निम्त्याएको संकटको असमान प्रभावहरूको ज्वलन्त उदाहरण हो ।

सामाजिक तथा आर्थिक स्थिति बलियो भएका परिवार तुलनात्मक रूपमा बसोबास सुरक्षित बनाउन विभिन्न सुरक्षाका उपाय अपनाउने वा सुरक्षित स्थानमा बसाइँसराइ गर्ने गरेका छन् । तर, निम्न वर्ग र सीमान्तकृत समुदाय न सुरक्षित स्थानमै बसाइँसराइ गर्न सकेका छन्, न बसिरहेको स्थान सुरक्षित बनाउन सकिरहेका छन् । आर्थिक समस्या र गरिबीको दुश्चक्रमा फसेर माझीजस्ता सीमान्तकृत समुदायले आफ्ना छोराछोरीको शैक्षिक स्थिति सुधार्न पनि सकेका छैनन् । माझी समुदायका बालबालिका विद्यालय तहमै पढाइ छाड्छन्, कलिलो उमेरमै विवाह गर्छन् । उनीहरूको पारिवारिक आर्थिक अवस्था यति नाजुक छ कि सुरक्षित स्थानमा बसाइँसराइ गर्ने वा अन्य स्थानमा घरजग्गा किन्न सक्ने स्थिति पनि देखिँदैन । यस्तो स्थितिले उनीहरूको आर्थिक, शैक्षिक र सामाजिक स्थिति सुधार हुने बाटो लगभग बन्दजस्तो देखिन्छ ।

जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी रूपमै पेचिलो बनिरहेको परिवेशमा नेपाल पनि यसबाट अछुतो हुने कुरै भएन । विगत केही दशकयता मानव क्रियाकलापका कारण जलवायुमा निकै द्रुत गतिमा प्रभाव देखिन थालेको धेरै अध्ययनले पुष्टि गरेका छन् । हिमालय क्षेत्रमा तापक्रम वृद्धिको दर औसतभन्दा बढी भएको अध्ययनले औंल्याएका छन् । यस्तो परिवर्तनको प्रभाव नेपालमा जल तथा मौसमी विपद्का रूपमा बाढी, पहिरो, हिमताल विस्फोट, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरीलगायतका घटनामा देखिइरहेका छन् ।

हिमाली जिल्लाका बासिन्दा सुनाउँछन्– आफ्नो बस्तीमा हालका वर्षमा हिमपातमा कमी हुँदै गएको छ, मौसम परिवर्तनको प्रत्यक्ष प्रभाव देखिँदै गएको छ । द्रुत गतिमा देखिएका यस्ता संकटमा अनुकूलन हुने मानवीय क्षमता पनि घट्दै गएको देखिन्छ । जेठ २०८२ मा हुम्ला लिमीको तिल गाउँमा गएको सुक्खा पहिरो र बाढीले गाउँ नै विस्थापित भएको उदाहरण छ । गत असोजमा इलाममा पहिरोले ठूलो जनधनको क्षति गर्‍यो । भविष्यमा यस्ता परिवर्तनशील जलवायुबाट सिर्जित विपद्का घटना कम हुनुको साटो बढ्दै जाने सम्भावना प्रबल छ । यी घटनाले सामान्यतया निश्चित वर्ग, जातजाति, समुदाय, महिला, बालबालिका, अपांगता भएका व्यक्ति, वृद्धवृद्धामा अझ बढी र असमान प्रभाव पार्ने विषयमा पनि दुविधा छैन ।

जलवायु परिवर्तनका कारण सिर्जित गतिविधिले माझी समुदायको सामाजिक बनोट, जनसांख्यिकीय संरचना र सामाजिक सम्बन्धमै परिवर्तन ल्याउने हुनाले यसको दीर्घकालीन प्रभाव हुन्छ । आर्थिक, सामाजिक र राजनीतिक पहुँच भएर संरचनात्मक लाभ लिएका जाति वा समुदायका तुलनामा संरचनात्मक विभेद भोगेका माझी समुदायलाई परिवर्तनशील जलवायुको प्रभावसँग जुध्न साधन–स्रोतको कमी छ । अझै बढी स्रोत आवश्यक पर्ने हुनाले जलवायु परिवर्तनका प्रभावले यस्तो समुदायलाई असमान प्रभाव पार्छ । त्यसैले, समयमै पर्याप्त कदम नचाले अन्ततः माझीजस्ता अल्पसंख्यक र अन्य पछाडि पारिएका समुदायको सामाजिक संरचना र पारिस्थितिकीय प्रणालीमा देखिएको प्रभाव पूर्ववत् अवस्थामै फर्काउन असम्भव हुनेछ, जसको नतिजा भयानक तथा विनाशकारी हुनेमा दुविधा छैन ।

त्यसैले यो विषयलाई एकपक्षीय ढंगले मात्रै हेर्नु हुँदैन । मानवीय र पारिस्थितिकीय प्रणालीलाई समग्रतामा ध्यान दिँदै अर्थतन्त्र र जीविकोपार्जनसँगै शिक्षा, स्वास्थ्य, वातावरणलगायत बहुआयामिक पक्ष जोडेर प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ । स्थानीयस्तरमै समावेशी योजना, सामुदायिक सहभागितामूलक प्रक्रिया अपनाई जलवायु अनुकूलन रणनीति विकास गर्दै साधन स्रोत उपलब्ध गराउनुपर्ने देखिन्छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो कार्यक्षेत्रअनुसार जलवायु परिवर्तन र अनुकूलनका पक्षको दिगोपनामा ध्यान पुर्‍याउन जरुरी छ ।

– भट्टराई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा जलवायु परिवर्तन तथा आप्रवासनसम्बन्धी अनुसन्धान गर्छन् ।

ईश्वरी

Link copied successfully