हामी महिला सधैं पितृसत्ताबाट उत्पन्न निगरानीको समाजशास्त्रले पीडित छौं । तर सहअस्तित्वको खोजमा महिलाले स्वतन्त्र र मुक्त जीवनको परिकल्पना गरिरहेकै छन् ।
What you should know
त्यो नखाऊ, यो नलगाऊ, यसो नगर, उसो नगर, यहाँ जाऊ, त्यहाँ नजाऊ । अर्थात् हरेक शब्दको अगाडि– ‘न’ ।
सुरु–सुरुमा यो ‘न’ शब्द असाध्यै प्यारो लाग्छ । सोचिबस्थें– कसैले माया गरेको छ, ‘केयर’ गरेको छ । एक किसिमको सुरक्षा पाएको आभास हुन्थ्यो । कसैले प्रेम गरिरहेको छ र ध्यान दिएको छ भन्ने प्रिय अनुभूति हुन्थ्यो । तर, समय बित्दै जाँदा उसले प्रयोग गर्ने ‘न’ शब्दको ‘प्यारामिटर’ बढेर कहाँसम्म पुग्छ भने ‘म पढ्छु’ भन्दा पनि ‘नपढ्नू’, ‘जागिर खान्छु’ भन्दा पनि ‘नखानू’, ‘केही सिक्छु’ भन्दा पनि ‘नसिक्नू’ अर्थात् हरेक शब्दको पछाडि ‘न’ नै बाधक बन्छ । ‘न’ यतिसम्म बढ्छ कि पहिरन पनि कस्तो लगाउने/नलगाउने निर्णयसमेत अरूकै हातमा पुग्छ ।
महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ । काठमाडौंका विभिन्न होटलहरूमा कार्यक्रम भइरहेका छन् । हिंसा बढेको र पीडित महिलाको कथा सुन्दै आएको धेरै भयो । यसैबीच महिला हिंसाविरुद्धको अभियानको एक कार्यक्रममा भेटिएकी साथीले माथिका ‘न’ शब्दले आफूलाई दिएको पीडा पोखिन्, जुन मेरा लागि नौलो थिएन । यही समाजको एक महिला पात्र म पनि हुँ । विभेदका अनेक घटना सुन्दै, भोग्दै, देख्दै आएकी छु । ती साथीले भन्दै गइन्– अति नै बन्देज र निगरानी भएपछि के गर्नु ? अन्तिममा स्वतन्त्रता नै प्यारो लाग्यो । अनि छोरी लिएर सम्बन्धलाई पारपाचुके गर्न बाध्य भएँ ।
ती साथीको कथा हामी आम नेपाली महिलाको जीवनबाट टाढा छ भन्ने लाग्दैन । यो पितृसत्ताले जकडेको समाजमा सहअस्तित्वको खोजीमा लडिरहेका हामी महिलाले स्वतन्त्र र मुक्त जीवनको परिकल्पना गरिरहेकै छौं । चाहे त्यो घरपरिवारभित्रको दैनिक जीवनमा होस् या सामाजिक सञ्जालजस्तो डिजिटल समाजमा । महिलाहरू पितृसत्ताबाट उत्पन्न निगरानीको समाजशास्त्रबाट पीडित छन् ।
महिलाको अधिकारका लागि निरन्तर सक्रिय सञ्जोग ठकुरी भन्छन्, ‘पितृसत्ताको एउटा डरलाग्दो हतियार निगरानीको समाजशास्त्र पनि हो ।’ उनको भनाइमा समाजमा जब कुनै सीमान्तकृत, पिँधमा पारिएको समुदाय, महिला, बालबालिका वा पछाडि पारिएको वर्ग अलिकति अघि बढ्न खोज्छ, उसलाई चारैतिरबाट आवश्यकताभन्दा बढी निगरानी गरेर नियन्त्रणमा लिन खोजिन्छ । ठकुरीका अनुसार, अचम्म त यो छ कि मायाका नाममा, सुरक्षाका नाममा र संरक्षणका नाममा आफू कसैबाट नियन्त्रित भइरहेको भन्ने त्यो समुदायलाई नै पत्तो हुँदैन । र, उसले त्यो नियतिलाई सहजै स्वीकार गरेको हुन्छ ।
निगरानी भनेको हेर्नु होइन, नियन्त्रण गर्नु हो । र, नियन्त्रण भनेको कुनै पनि व्यक्तिको व्यक्तित्व कब्जा गर्नु हो । विडम्बना मान्नुपर्छ, अधिकांश महिलाले नियन्त्रणलाई सहज स्विकार्छन्, जसले गर्दा हिंसात्मक क्रियाले बढावा पाउँदै जान्छ । हालैको एक उदाहरण हेरौं न– नायिका रीमा विश्वकर्मा अहिले राजनीतिमा प्रवेश गरेकी छन् । उनले केही दिनअघि मात्रै पार्टी प्रवेश गरेको विषयमा खुलेर भाषण गरिन् । भाषण गरेको केही समयमै सामाजिक सञ्जालमा भाइरल भइन् । सञ्जालमा उनको विचारमाथिको प्रतिक्रयाभन्दा पनि बढी ‘उनको विवाह कोसँग भएको थियो ? कहिले सम्बन्धविच्छेद भयो ? किन भयो ?’ जस्ता व्यक्तिगत चरित्रमा आधारित अभिव्यक्ति र तस्बिर पोस्ट भए । यहाँसम्म कि ‘घर सम्हाल्न नसक्नेले के देश सम्हाल्न सक्छिन् ?’ भन्दै उनीमाथि शंकास्पद र अति छुद्र खालका टिप्पणी दिइयो ।
‘तिमीले यसो गर्दा समाजले के भन्छन् ? मैले गरेको दुःख तिम्रै लागि त हो नि ! धेरै पढेर के हुन्छ ? जागिर किन गर्नुपर्यो ? धेरै नबोल,’ यी सबै शब्द खासगरी हाम्रो समाजमा महिलामाथि थोपरिन्छ । यद्यपि निगरानीको समाजशास्त्रको बाछिटाबाट पुरुषहरू पनि उत्तिकै पीडित छन् । महिलामाथि हुने पितृसत्तात्मक निगरानी घरदेखि परसम्मै छ, जुन हरेक तह र तप्कामा पाइन्छ । सांस्कृतिक, धार्मिक, राजनीतिक, कानुनदेखि आर्थिक क्षेत्रमा समेत महिलालाई कमजोर वस्तुका रूपमा हेरेर निगरानी गर्ने अनि उसको अस्तित्वमा अप्रत्यक्ष रूपमा कब्जा गर्ने उद्देश्य सूक्ष्म रूपमा रहेको हुन्छ । कानुन संशोधनमा एक पटक चर्चा चलेको थियो, ‘विवाहपछि महिलाले श्रीमान्को सम्पत्ति फिर्ता गर्नुपर्नेछ ।’ त्यसविरुद्ध अधिकांश महिला अधिकारकर्मीले तत्काल विरोध पनि गरेका थिए । यो भनेको कानुनमार्फत महिलालाई निगरानी गरेर नियन्त्रणमा लिनु हो ।
सामाजिक अभियन्ता सरु जोशीका अनुसार, यसो हुनु समाजका हरेक तहमा महिलालाई दोस्रो दर्जाका रूपमा हेरिने पितृसत्तात्मक दृष्टिकोणको परिणाम हो । तर, नारीवादी आन्दोलनको निरन्तर अभियानको अर्को रूप हो– समाजमा उठिने–देखिने यस्ता पितृसत्तात्मक सोचको हतियारलाई निगरानी गरेर तुरुन्तै प्रतिवाद गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । नभए, समाजमा बारम्बार स्विकारिने गलत अभ्यास कालन्तरमा वास्तविक संस्कार बनेर बस्नेछ, जसलाई सजिलै उखेलेर फ्याँक्न असाध्यै कठिन हुनेछ ।
